नेपाल चिकित्सक संघ चिकित्सक तथा स्वास्थ्यकर्मीसँग सम्बन्धित मात्र नभई नेपालको सबैभन्दा जेठो पेशागत संगठन हो । २००७ फागुन २० गते वीर अस्पतालमा कार्यरत डाक्टरहरुले वीर अस्पतालमा नै बैठक गरेर नेपाल चिकित्सक संघ स्थापनाको प्रक्रिया अगाडि बढाएका थिए । उक्त बैठकमा पेशागत हक, हित, प्रतिष्ठा, संगठन, एकता, तालिम एवं प्रशिक्षण र स्वास्थ्य सेवालाई नियमसंगत लगायत १३ बुँदे निर्णय सहित नेपाल चिकित्सक संघको स्थापनाका लागि निवेदन दिने तयारी भयो ।
सोही वर्षको चैत २ गते स्वास्थ्य मन्त्रालयमा निवेदन दर्ता भयो र गृह मन्त्रालयबाट आवश्यक कार्यवाही भएर डा. सिद्धिमणि आचार्य दीक्षितको अध्यक्षतामा नेपाल चिकित्सक संघ औपचारिक रुपमा पेशागत संस्थाका रुपमा स्थापित भयो । त्यस अवस्थामा नेपाल मेडिकल काउन्सिलको समेत स्थापना भएको थिएन । संघले यसको प्रमुख संरक्षक तत्कालीन राजा त्रिभुवन र स्वास्थ्य मन्त्रालय संरक्षक रहने प्रस्ताव गरेको थियो र सो स्वीकृत भएको थियो ।
२००८ फागुनमा तत्कालीन स्वास्थ्य मन्त्रालयका सचिव कुलधर्म रत्नले सल्लाहकार समितिका लागि संघलाई अनुरोध गरेका थिए । २०१४ वैशाखदेखि स्वास्थ्य मन्त्रालयको सल्लाहकार परिषदमा नेपाल चिकित्सक संघका महासचिव सदस्य हुने व्यवस्था कायम भयो । संघका लागि २०१४ साल धेरै महत्वपूर्ण थियो ।
२०१२ भन्दा अगाडि संघ काठमाडौंमा मात्र केन्द्रित थियो । २०१२ सालपछि उपत्यका बाहिर घुम्ती स्वास्थ्य सेवा टोलीका लागि प्राविधिक सहयोग गर्न थाले । विराटनगरमा संघ जस्तै समानान्तर संस्था ‘मेडिकल कन्फरेन्स’ सन् १९५२-५३ (वि. सं. २००९) मा नै डा. अवधनारायण लालले स्थापना गरेका थिए । २०१४ मंसिरमा काठमाडौमा नेपाल चिकित्सक संघ र विराटनगर मेडिकल कन्फरेन्सको संयुक्त बैठकले दुई संगठनबीच एकीकरण गर्ने निर्णय गर्यो । संघको पूर्वको शाखा विराटनगरमा, पश्चिमको शाखा नेपालगञ्जमा र केन्द्रीय कार्यालय काठमाडौंमा रहने व्यवस्था गरियो । संघको पूर्व शाखाको संयोजक डा. अवधनारायण लाल थिए । काठमाडौंका संयोजक डा. नरेन्द्रध्वज जोशी र पश्चिमका संयोजक डा. त्रिवेणीप्रसाद प्रधान तोकिए ।
२०१९ कात्तिक ७ देखि १० गतेसम्म काठमाडौंमा अखिल नेपाल चिकित्सक प्रथम सम्मेलन भयो । दोस्रो सम्मेलन २०२१ माघमा विराटनगरमा भयो । काठमाडौं बाहिरबाट प्रथम पटक छैठौं अध्यक्षका रुपमा विराटनगरका डा. अवधनारायण लाल चुनिए । डा. लालकै कार्यकालमा नेपाल चिकित्सक संघका लागि काठमाडौंको प्रदर्शनीमार्ग अगाडि दुई रोपनी जग्गा प्राप्त भयो । हाल संघको भवन सोही जग्गामा रहेको छ ।
चिकित्सक पेशा मर्यादित हुनुपर्छ, नियमसंगत हुनुपर्छ र व्यवस्थित हुनुपर्छ भन्ने मान्यता संघले राखेको थियो । त्यसैले यसको अनुगमन र व्यवस्थापनको निकाय हुन जरुरी थियो । त्यसैले डा. लालकै कार्यकालमा संघको पहलमा ‘नेपाल मेडिकल काउन्सिल ऐन २०२०’ पास भयो र संघका अध्यक्ष काउन्सिलको पदेन सदस्य रहने व्यवस्था भयो ।
नेपाल चिकित्सक संघ चिकित्सकहरुको हकहितका लागि मात्र नभएर समग्र स्वास्थ्य सेवाको गुणस्तर र सर्वसुलभताका लागि कटिबद्ध थियो । २०२० सालसम्म औषधिमा १० प्रतिशत भन्सार रहेको थियो । तत्कालीन संघका महासचिव डा. शंकरबहादुर सिंह नेतृत्व टोलीले सरकारसँग भन्सार न्यून गर्न आग्रह गरेपछि औषधिमा एक प्रतिशत मात्र भन्सार लिने व्यवस्था कायम भएको इतिहास छ । यति मात्र होइन, २०३० सालमा राष्ट्रिय पञ्चायतको २९ औं अधिवेशनमा तत्कालीन राजा वीरेन्द्रले दीर्घकालीन स्वास्थ्य नीति १९७५-१९९०) तर्जुमा गर्न संघका ५ सदस्यलाई लिएर समिति बनाएका थिए ।
नेपाल चिकित्सक संघ एउटा पेशागत संगठन हो । त्यसैले पेशागत अधिकार सुनिश्चित गर्न र नेपालमा स्वास्थ्य क्षेत्रको विकास र सुधार गर्न चिकित्सा र दन्त व्यवसायमा नैतिक अभ्यासको गुणस्तर प्रवर्द्धन गर्नु संघको प्रमुख मिसन हो । संघका सदस्यहरूको व्यावसायिक स्तर, मूल्य र स्वतन्त्रताको उत्थान र संरक्षण गर्ने, चिकित्सकहरुको ज्ञान र सीप अभिवृद्धि गर्ने, शैक्षिक गतिविधिहरु सञ्चालन गर्ने दायित्व संघले लिएको छ । यति मात्र होइन, स्वास्थ्यका विभिन्न विषयमा जनतामा चेतना अभिवृद्धि गर्ने र जनताको स्वास्थ्य स्थितिमा सुधार ल्याउन सक्ने कुनै पनि कार्यक्रममा काम गर्ने लक्ष्य संघले राखेको छ ।
मेडिकल चिकित्सकहरुबीच घनिष्ठ व्यावसायिक र वैज्ञानिक सम्बन्ध बढाउँदै, डाक्टर तथा आम नागरिकबीचको सम्बन्धलाई सुदृढ गर्दै व्यावसायिक हितको रक्षा गर्न, व्यक्तिगत सदस्यबीच सद्भाव र सहयोगको भावना प्रवर्द्धन गर्दै बिरामीको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्न संघले सिकाएको छ । विगतदेखि वर्तमानसम्म चिकित्सा र सम्बद्ध विज्ञानको ज्ञान प्राप्त गर्न अध्ययन-अनुसन्धानलाई प्रोत्साहित गर्न जर्नल लगायत अन्य प्रकाशनहरु, चिकित्सा पुस्तकालयहरूको स्थापना, गोष्ठी, सेमिनार र सम्मेलनहरू आयोजना गर्दै आएको छ । संघले उपचारात्मक र निवारक चिकित्सा सुविधाको प्रावधान विकास र विस्तार गर्न सरकारलाई समेत मद्दत पुर्याउँदै आएको विगत छ ।
पहिले विराटनगर कि काठमाडौं ?
देशको आर्थिक र राजनीतिक परिवर्तनमा मात्र होइन, सामाजिक परिवर्तनमा समेत विराटनगरको ठूलो भूमिका रहेको इतिहासले देखाउँछ । कलकारखानाको स्थापना, प्रजातन्त्र स्थापनाका लागि आन्दोलनमा मात्र नभई सामाजिक सेवामूलक संस्था लायन्सको स्थापना समेत विराटनगरबाट भएको इतिहास छ । नेपाल चिकित्सक संघ वा चिकित्सकहरु संगठित हुनेमा पनि विराटनगर कमजोर नभएको देखिएको छ । विराटनगरमा चिकित्सक संघ स्थापना हुनुमा डा. अवधनारायणको अहम् भूमिका रहेको इतिहास छ ।
सन् १९५० मा बीएस्सी र एमबीबीएसको अध्ययनपछि स्वदेश र आफ्नो गृहनगरमा नै सेवा दिने उद्देश्यले विराटनगर फर्केका डा. अवधनारायणकै पहलमा सन् १९५२ को १३ सेप्टेम्बरमा (२९ भदौ २००९) डा. एमएन चौधरीको अध्यक्षतामा सात सदस्यको समिति बनेको थियो । सो समितिमा डा. अवधनारायणलाई सचिव र कोषाध्यक्षको जिम्मेवारी रहेको थियो । सदस्यहरुमा डा. एचबी विश्वास, डा. शान्ति बनर्जी, डा. एसएन भट्टाचार्य, डा. एसबी मित्रा र डा. आईसी दत्त रहेका थिए । सन् १९५५ मे २२ मा डा. चौधरीको निधनपछि विराटनगरको सम्पूर्ण जिम्मेवारी डा. अवधनारायणले गर्नु परेको उनका छोरा तथा कोशी शाखाका पूर्वअध्यक्ष डा. नारायण कुमारले बताए ।
काठमाडौंमा चाहिं २००७ साल फागुन २० गते वीर अस्पतालमा बसेको बैठकले डा. सिद्धिमणि आचार्य दीक्षितको अध्यक्षतामा १३ जनाको समिति बनेको थियो । सो संस्थापन समितिको उपाध्यक्षमा डा. डी दास गुप्ता, जोइन्ट सेक्रेटरीमा डा. जेएस मल्ल र डा. डीएन वैद्य, एसिस्टेन्ट सेक्रेटरीमा डा. इन्द्रमान वैद्य, कोषध्यक्षमा डा. एसएल दास गुप्ता, लाइब्रेयिनमा डा. एससी मुजुम्दर र सदस्यहरुमा डा. एनएल साह, डा. एमबी वैद्य, डा. मेजर प्रकाशबहादुर बस्नेत, डा. वाईआर जोशी, डा. भवानीबहादुर सिंह, र डा. एनसी चटर्जी रहेका थिए ।
यी दुवै समितिको २०१४ मंसिरमा बसेको संयुक्त बैठकले एकता कायम गर्दै बनेको समितिको पूर्वको केन्द्र विराटनगरमा रहने र जिम्मेवारी डा. अवधनारायणलाई दिइएको तथ्य डा. लोचन कार्कीद्वारा लेखिएको ‘नेपाल चिकित्सक संघ विगतदेखि वर्तमानसम्म’ भन्ने पुस्तकमा उल्लेख गरिएको छ । सोही पुस्तक अनुसार नेपाल चिकित्सक संघको दोस्रो अधिवेशन २०२१ माघमा विराटनगरमा भएको र सो अधिवेशनले डा. अवधनारायणलाई संघको केन्द्रीय अध्यक्षको जिम्मेवारी दिइएको उल्लेख छ ।
देशभर १६ शाखा
नेपाल चिकित्सक संघका अहिले देशभरि १६ वटा शाखा छन् । मेची, कोशी, सगरमाथा, जनकपुर, नारायणी, गण्डकी, लुम्बिनी, भेरी र सेतीसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लहान, चितवन, दाङ, सुर्खेत, पाल्पा र जुम्ला शाखा छन् ।
झट्ट हेर्दा अधिंकाश साबिकका अञ्चलहरुका नाममा अञ्चल शाखा स्थापना गरिएको देखिन्छ । वास्तवमा यो राष्ट्रको भौगोलिक वा प्रशासनिक क्षेत्र विभाजनको आधारमा चिकित्सक संघका शाखा स्थापना गरिएको होइन । चिकित्सक संघ भनेको एमबीबीएस पास गरेर मेडिकल काउन्सिलमा दर्ता भइसकेका डाक्टरहरुको संगठन हो । त्यसैले यस्ता चिकित्सकहरुको संख्या धेरै भएका स्थानमा मात्रै यसका शाखा स्थापित भए । तत्कालीन अवस्थामा जिल्ला अस्पतालमा एक जना चिकित्सक हुन्थे र अञ्चल अस्पतालमा बढी चिकित्सक हुने भएकाले अञ्चल अस्पताल, मेडिकल कलेज वा अस्पतालहरु बढी भएर चिकित्सकहरुको संख्या बढ्दै गएपछि शाखाहरु स्थापना हुँदै गएका हुन् ।
देश संघीयतामा गएपछि अञ्चल खारेज भएको छ । यस अवस्थामा नेपाल चिकित्सक संघले संविधानले निर्दिष्ट गरेको प्रदेशको व्यवस्था अनुसार केन्द्रीय पदाधिकारीहरुमा परिमार्जित गरेको छ । हालको केन्द्रीय समितिमा सातवटै प्रदेशका संयोजक हुने गरी उपाध्यक्षहरु निर्वाचित भएका छन् । तिनै उपाध्यक्षहरुको संयाजकत्वमा प्रदेशभित्र रहेका हरेक शाखाका अध्यक्ष र सचिव पदेन सदस्य रहनेगरी प्रदेश समिति तोकिएको छ । त्यसैले अब अञ्चल शाखा नभनेर साबिकका अञ्चलमा रहेका जिल्लाहरु समेटेर बनेको शाखा भन्दा फरक नपर्ला ।
संघको आवश्यकता किन ?
स्वास्थ्य सेवा भनेको एकल नभई संयुक्त प्रयास हो । उपचारका लागि नर्सिङ केयर, बायोकेमेस्ट्री र माइक्रोबायोलोजीका परीक्षणहरु, औषधि र सचेतना तथा प्रवर्द्धन सबै चाहिन्छ । यी सबै मात्र होइन शुद्ध पानी, राम्रो खाना, राम्रो वातावरण, तनावरहित जीवन समेत सुस्वास्थ्यका लागि अनिवार्य कुरा हुन् ।
संघले यी सबै पक्ष बुझेकाले होला स्वास्थ्य मन्त्रालयले स्वास्थ्यका नीति तथा कार्यक्रमहरुको कल्पना गर्दा समेत संघलाई आमन्त्रित गर्ने गरेको छ । अहिले देश संघीयतामा गएको छ । अहिले विज्ञको कमी छैन । तर पनि संघीय सरकारले नेपाल चिकित्सक संघलाई साथमा लिएर नै अगाडि बढेको देखिन्छ । प्रदेश र स्थानीय सरकारसँग पनि विज्ञको कमी नहोला । तर गुणस्तरीय स्वास्थ सेवाका लागि २-४ जना विज्ञ वा २–४ किसिमका विज्ञ पर्याप्त नहुन सक्छ ।
नेपाल चिकित्सक संघ कम्युनिटी मेडिसिन (जनस्वास्थ्य) मात्र होइन सर्ने रोग, नसर्ने रोग, मातृ स्वास्थ्य, शिशु तथा बाल स्वास्थ्य, मानसिक स्वास्थ्य लगायत सम्पूर्ण विज्ञहरुको सोसाइटीहरुको छाता संगठन समेत नेपाल चिकित्सक संघ हो । त्यसैले स्वस्थ समाज निर्माणका लागि संघले तीनै तहका सरकारसँग सहकार्य गर्दै आएको छ, गर्दै जानेछ ।
(डा. साह नेपाल चिकित्सक संघ, कोशी शाखाका महासचिव हुन् ।)