गगन थापाको प्रतिष्ठासँग जोडिएको सर्लाही–४ को चुनावी गणित



१३ माघ, काठमाडौं । मधेश प्रदेशअन्तर्गत पर्ने सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–४ नेपाली कांग्रेस सभापति गगन थापाले समेत उम्मेदवारी दिएपछि राष्ट्रिय चर्चामा छ ।

०७९ सालको निर्वाचनमा कांग्रेस छाडेर बागी उम्मेदवारी दिएका डा. अमरेशकुमार सिंहले कांग्रेसका आधिकारिक उम्मेदवारलाई नै हराउँदै जित हात पारेका थिए । अहिले उनै निवर्तमान स्वतन्त्र सांसद सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनावी मैदानमा छन् । उनले मनोनयन दर्ताको अघिल्लो दिनमात्रै रास्वपा प्रवेश गरेर टिकट हात पारेका हुन् ।

त्यस्तै, नेकपा एमालेबाट अमनिशकुमार यादव, नेपाली कम्युनिस्ट पार्टीबाट रजनीश राय र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रामेश्वर राय यादव पनि चुनावी मैदानमा छन् । त्यसैगरी, जनमत पार्टीबाट राकेश मिश्र उठेका छन् ।

यसरी, यो क्षेत्रमा तेस्रो र चौथो हुनेले पनि ८/१० हजार मत ल्याउने गरेकोले यहाँ कुनै दुई उम्मेदवारका बीचमा मात्र होइन, बहुप्रतिस्पर्धा नै हुने गरेको छ ।

अघिल्ला चुनावका आँकडा

कांग्रेसले टिकट नदिएपछि चुनाव चिह्न ‘माछा’ बाट प्रतिस्पर्धामा उत्रिएका सिंह ०७९ सालमा कांग्रेसकै उम्मेदवारलाई १७ सय ६४ मतान्तरले पछि पार्दै विजयी बनेका थिए । सिंहले २० हजार १७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५३ मत पाएका थिए । तत्कालीन सत्ता गठबन्धनबाट टिकट पाएका नागेन्द्रलाई तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ थियो ।

तेस्रो मत पाएकी स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादव १४ हजार ६२२ मत पाउँदा उनलाई जसपा नेपालका राजेशकुमार मिश्रले ५ हजार ८१३ मतसहित पछ्याएका थिए । उक्त चुनावमा रास्वपा उम्मेदवार धिरज ठाकुर ३१८ मत पाएर नवौं स्थानमा पुगेका थिए ।

यसपटक सर्लाही–४ मा ८ हजार ७३१ मतदाता थपिएसँगै कुल मतदाताको संख्या १ लाख २१ हजार २३१ पुगेको छ । विगतको मतदानको प्रकृति हेर्दा यसपालि करिब ७५ हजार सदर मत खस्ने अनुमान छ, जसलाई आफ्नो पक्षमा पार्न काठमाडौंबाट झरेका ‘हेभीवेट’ उम्मेदवार र स्थानीय शक्तिहरूबीच रस्साकस्सी सुरु भएको छ ।

निर्वाचन आयोगको तथ्यांकअनुसार, सर्लाही–४ मा अघिल्लो निर्वाचनमा १ लाख १२ हजार ५०० मतदाता थिए । तीमध्ये प्रतिनिधिसभा निर्वाचन–२०७९ मा समानुपातिकतर्फ ६४.८४ प्रतिशत अर्थात् ७२ हजार ९३७ मत खसेको थियो ।

कुल खसेकोमध्ये ३.५५ प्रतिशत अर्थात् २ हजार ५८९ मत बदर हुँदा ७० हजार ३४८ मत सदर भएको आयोगको तथ्यांकले देखाउँछ ।

यस्तै, प्रत्यक्षतर्फ यो क्षेत्रमा कुल मतदाता संख्यामध्ये ६४.७६ प्रतिशत अर्थात् ७२ हजार ८५५ मत खसेकोमा ४.९० प्रतिशत अर्थात् ३ हजार ५७२ मत बदर भएको थियो । आयोगका अनुसार, प्रत्यक्षतर्फ खसेको कुल मतमध्ये ६९ हजार २८३ मत सदर भएको थियो ।

सर्लाही–४ मा पर्ने पालिका र मतसंख्या

७ पालिकाका ५१ वटा वडाहरू समेटिएर बनेको सर्लाही–४ का बनेको छ । यो क्षेत्रमा बरहथवा नगरपालिकाका १, २, ३, ४, १३, १४, र १५ वडाहरू समेटिएका छन् । त्यस्तै, बसबरिया गाउँपालिकाका १, २ र ३ नम्बर वडा यस क्षेत्रमा पर्छन् । विष्णु गाउँपालिकाका १, २, ३ र ४ नम्बर वडाहरू यस निर्वाचन क्षेत्रभित्र पर्छन् । धनकौल र रामनगर गाउँपालिकाका सबै ७/७ वडाहरूसँगै बलारा र गोडैटा नगरपालिकाका क्रमश: ११ र १२ वटै वडाहरू यस निर्वाचन क्षेत्रमा समेटिएका छन् ।

पालिकाअनुसार मतदाता संख्या

वडागत मत र विगतको नतिजा

सर्लाही–४ का ५१ वडाहरूमा कांग्रेसबाट सबैभन्दा बढी १९ वडाध्यक्षहरू निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन–२०७९ को मतपरिणाम अनुसार, यहाँ नेकपा माओवादी र तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट ११–११ जना वडाध्यक्षमा विजयी भएका थिए ।

सर्लाही–४ मा पर्ने वडामध्ये लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका ८ र जनता समाजावदी पार्टी (जसपा) नेपालका दुई जना वडाध्यक्षहरू पनि स्थानीय तह निर्वाचनमा विजयी भएका थिए ।

सर्लाही–४ मा धनकौल गाउँपालिका, रामनगर गाउँपालिका, बलरा नगरपालिका र गोडैटा नगरपालिका गरी ४ पालिकाको सिंगो भूगोल पर्दछ । स्थानीय तह निर्वाचन–२०७९ का मतपरिणामअनुसार ती ४ पालिका मध्ये दुईमा माओवादी केन्द्र र बाँकी २ मा कांग्रेस तथा लोसपाले जितेका थिए ।

निर्वाचन आयोगका अनुसार, रामनगर गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका राजाबाबु यादव विजयी हुँदा कांग्रेसका हरिनन्दन यादव दोस्रो भएका थिए । विजयी राजाबाबुले ४ हजार ८१ र निकटतम प्रतिद्वन्द्वी हरिनन्दनले २ हजार ३९२ मत पाएका थिए । तेस्रो भएका एमाले उम्मेदवार पुरुषोत्तम प्रसाद चौधरीको पक्षमा १ हजार ६३४ मत खसेको थियो ।

गगन थापाको प्रतिष्ठासँग जोडिएको सर्लाही–४ को चुनावी गणित

बलरा नगरपालिकामा पनि माओवादी केन्द्रका उम्मेदवार रामाशंकरप्रसाद कुशवाहा मेयरमा विजयी भएका थिए । यहाँ कांग्रेस तेस्रो भएको थियो । कुशवाहा ४ हजार ६४३ मतसहित नगर प्रमुखमा विजयी भएका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी अभयकुमार सिंह (लोसपा) ले ३ हजार ६३१ मत पाएका थिए । तेस्रो भएका कांग्रेस उम्मेदवार कौशलकिशोर सिंहको पक्षमा २ हजार ६८१ मत आएको थियो ।

गोडैटा नगरपालिकामा लोसपा नेता देवेन्द्रकुमार यादव प्रमुखमा विजयी भएका थिए । यादव ५ हजार २९४ मतका साथ नगर प्रमुखमा विजयी भए ।

कांग्रेस उम्मेदवार उपेन्द्रप्रसाद कुशवाहा ४ हजार ७५२ मतसहित दोस्रो भएका थिए । माओवादीका अनितादेवी ३ हजार ८७८ मत ल्याएर तेस्रो र एमालेका श्यामबाबु शाह ३ हजार ६५२ मत पाएर चौथो भएका थिए ।

सर्लाही–४ मा सिंगो भूगोल पर्ने ५ पालिकामध्ये कांग्रेस एक पालिकामा मात्रै प्रमुख पदमा जित निकालेको थियो । कांग्रेसका तर्फबाट धनकौल गाउँपालिकाका अध्यक्षमा विजयी रामआश्रम शाहले ४ हजार ४७७ मत पाएका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका फकिरा महतोले ३ हजार ३७९ मत ल्याउँदा १ हजार ६०७ मत पाएका एमाले उम्मेदवार अजयकुमार सिंह तेस्रो भएका थिए ।

सर्लाही–४ मा बरहथवा नगरपालिकाका ७ वटा वडाहरू पर्दछन् । जसमध्ये ४ वडामा एमालेका तर्फबाट वडाध्यक्ष विजयी हुँदा कांग्रेस, जसपा र लोसपाले एक–एक वडा जितेका थिए ।

बसबरिया गाउँपालिकामा ३ वडामध्ये कांग्रेसले २ र जसपाले १ वडामा जित हात पारेको थियो । विष्णु गाउँपालिकाका ४ वडामा कांग्रेसले दुई, माओवादीले १ र लोसपाले १ वडामा जित निकालेको थियो ।

वडागत मतसंख्या र गत चुनावको नतिजा

गगन थापाको प्रतिष्ठासँग जोडिएको सर्लाही–४ को चुनावी गणित

प्रदेशतर्फ कसको मत कति ?

सर्लाही–४ मा गत प्रदेशसभा निर्वाचनमा भने सर्लाही–४ (क) बाट कांग्रेस उम्मेदवार वीरेन्द्रप्रसाद सिंह १५ हजार ६९३ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार रामबाबु रायले १४ हजार ६१६ मत ल्याउँदा जनमत पार्टीका उम्मेदवार प्रमोदकुमार रायको पक्षमा २ हजार ३८८ मत खसेको थियो ।

यस्तै सर्लाही–४ (ख) मा कांग्रेससँगको सहकार्यमा तत्कालीन माओवादी केन्द्रका फकिरा महतो ८ हजार ३३ मतका साथ प्रदेशसभा सदस्यमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अनिता देवीले ७ हजार ६७६ मत र तेस्रो भएका जनमतका सञ्जयकुमार सिंह ५ हजार १४७ मत पाएका थिए ।

कति खस्ला भोट ?

निर्वाचन आयोगले १२ पुसमा आफ्नो वेबसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार, यसपालि सर्लाही–४ मा ८ हजार ७३१ मतदाता थपिएका छन् । जसअनुसार अब यो क्षेत्रमा मतदाताको संख्या १ लाख २१ हजार २३१ देखिन्छ ।

गत चुनावमा प्रत्यक्षतर्फ खसेको ६४ दशमलव ६७ प्रतिशत हाराहारी मत खसेको अवस्थामा पनि सर्लाही–४ मा २१ फागुनमा हुने निर्वाचनमा लगभग ७८ हजार ८०० मत खस्न सक्छ । गत चुनावकै बदर मत प्रतिशत घटाउँदा यसपालि करिब ७५ हजार मत सदर हुने आकलन गर्न सकिन्छ ।

अग्निपरीक्षामा गगन

कांगे्रस सभापति थापाले मनोनयन दर्ता गरेपछि सर्लाही–४ फेरि चुनावी मैदानका प्रमुख ‘हटस्पट’ बनेको छ । अघिल्ला तीन निर्वाचनमा थापाले काठमाडौं–४ बाट प्रत्यक्षतर्फ चुनाव जितेका थिए ।

थापाको यसपालिको उम्मेदवारीलाई उपसभापति विश्वप्रकाश शर्मा समग्र मधेसप्रतिको सम्मानका रूपमा अर्थ्याउँछन् । उनले थापालाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै केन्द्रीय कार्यसमिति बैठकमा भनेका थिए, ‘मधेशबाट उम्मेदवार बनाउनु भनेको एकातर्फ मधेश र मधेशका मतदाताप्रति नेपाली कांग्रेसले सम्मान प्रकट गरेको हो, अर्कातर्फ मधेशको माटोबाट विजयी गराएर त्यहाँको भावनासँगै सिंगो देशको भावनालाई सही र सबल ढंगले नेतृत्व गर्ने संकल्प पनि हो ।’

गगन थापाको प्रतिष्ठासँग जोडिएको सर्लाही–४ को चुनावी गणित

महामन्त्री प्रदीप पौडेल सबै नेपालीको भावना प्रतिनिधित्व गर्नका लागि आसन्न निर्वाचनमा सभापति थापालाई सर्लाही–४ बाट उम्मेदवार प्रस्ताव गरेको बताउँछन् । ‘नेपालभित्र सबै नेपालीको भावना प्रतिनिधित्व गर्नका लागि यो निर्वाचनमा हामीले नेपाली कांग्रेसको सभापतिलाई सर्लाही–४ बाट उम्मेदवार प्रस्ताव गरेका छौं,’ उनले केन्द्रीय कार्यसमिति बैठककै दिन सञ्चारकर्मीसँग भनेका थिए ।

विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व सम्हाल्न पुगेका थापाका लागि यो निर्वाचन उनको पछिल्लो राजनीतिक कदम र रणनीतिको कडा परीक्षा हुनेछ । पार्टीले उनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरिसकेको सन्दर्भमा, सर्लाही–४ को यो जटिल चुनावी गणित र त्यसबाट आउने नतिजाले नै उनको आगामी राजनीतिक भविष्य र उचाइ तय गर्ने देखिन्छ ।





Source link

Leave a Comment