हाम्रो प्रचलनमा नागपञ्चमी (श्रावण शुक्लपञ्चमी)देखि हिउँद र वसन्तपञ्चमी (माघ शुक्ल पञ्चमी)देखि ‘बर्खा लाग्छ’ भन्ने गरिन्छ । त्यसो त, साउने र माघे संक्रान्ति पनि मौसम र चाडबाडसँग सरोकार राख्ने गर्छन् । नागपञ्चमी हिउँदको मात्र नभएर चाडबाड आएको संकेत गर्ने पर्व पनि हो ।
यसपटक पनि चाडबाडले नेपाली समाजलाई ढपक्क ढाक्नै लागेको छ । तीज आउनु कहाँ हो कहाँ ? तिजेगीत छ्यापछ्याप्ती भएका छन् । विभिन्नखाले पर्वमा गरिने विशेष प्रकारका उत्सवको आफ्नै मौलिकता छ । पर्व र सामाजिक संस्कारको पृथक परम्परा र ऐतिहासिक महŒव पनि छ । तर पनि व्यवहारमा आजकल त्यो क्रमशः हराउँदै गएको देखिन्छ । हरेक पर्व विकृति, विसंगति र खर्चिला बनेर मनाउने प्रचलनका कारण तिनको मौलिकपनामा क्रमशः ह्रास आउँदै गरेको देखिन्छ । ती पर्व र चाडबाड आजकल बढी देखावटी, उत्ताउला र भड्किला बन्दै गएका छन् । यसले गर्दा हुनेखानेभन्दा ‘हुँदा खाने’लाई बढी सकस परेको देखिन्छ ।
हामीले सम्पन्न गर्ने मांगलिक कार्य आपसी एकताको माध्यम पनि हो । हाम्रो सामाजिक मनोविज्ञान संस्कृतिप्रेमी छ । सांस्कृतिक गतिविधिमा रमाउन पाउँदा हामीलाई आनन्द पनि लाग्छ । विवाह, व्रतबन्ध, मेला–महोत्सवजस्ता अवसरमा भोजभतेर र नाचगान पनि गरिन्छ । यी सबैका राम्रा पक्ष होलान् तर त्यस्ता अवसरमा ‘ऋणं कृत्वा, घृतम् पिवेत’ भनेझैं चन्दा मागेर वा ऋण गरेरै भए पनि तडकभडक प्रदर्शन गर्ने प्रवृत्ति बढ्दो छ । विवाहमा आमन्त्रण गरिने असीमित संख्या, यसमा प्रदर्शन गरिने तडकभडक र महँगो भोजभतेरका कारण कमजोर आर्थिक पृष्ठभूमि भएका व्यक्ति नराम्रोसँग प्रभावित हुने गरेको पाइन्छ ।
सकेरभन्दा पनि नक्कल गरेर, पालाको पैंचो तिर्न भनेर र सन्ततिको मनोविज्ञानमा ‘हाम्रो परिवार पनि कमजोर छैन’ भन्ने पार्नका लागि विवाहलगायत उत्सव तथा समारोहलाई हामी जबर्जस्ती महँगो बनाइरहेका छौं । कतिपय अवस्थामा विवाह गर्ने उमेर पुगेका छोराछोरी र आफ्नो आर्थिक हैसियतमा तालमेल मिलाउन नसकेर विवाहका लागि घरघडेरी नै बेच्नुपर्ने बाध्यात्मक अवस्था पनि आएको देखिन्छ । अहिले ‘आफ्नो हैसियतभन्दा बढी खर्च गर्नुहुन्न’ भन्नेमा सबैको मतैक्यता भए पनि यो सन्देश व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । बरु, पञ्चायतकालमा सामाजिक व्यवहार सुधार ऐन, २०३३ ले विवाहमा ‘फजुल खर्च गर्न नपाइने र ५१ जनाभन्दा बढी जन्ती लान नपाउने’ थिति बसालेको थियो । यद्यपि, यसको सफल कार्यान्वयन भने त्यतिबेला पनि हुन सकेको थिएन । आज पञ्चायत त छैन तर सो ऐन भने जिउँँदै छ । ऐन कार्यान्वयन खाँचो छ ।
हाम्रा सामाजिक पर्वको मौलिकता जीवित राख्नका लागि तडकभडक र आडम्बर प्रदर्शन आवश्यक छैन । विवाहको अनिवार्य प्रक्रिया सबैले स्विकारे पनि यसका देखासिकी प्रवृत्ति र नकारात्मक पक्षमा सुधार तथा नियन्त्रण आवश्यक देखिन्छ । अन्यथा, धेरै सन्तानका अभिभावकले छोराछोरीको विवाहमा जमिन बेच्दाबेच्दै अन्ततः आफैं सुकुमबासी बन्नुपर्ने स्थिति नआउला भन्न सकिन्न । अघोषित रूपमा अझै पनि जीवितै रहेको दाइजो प्रथाले नेपाली समाज नराम्रोसँग प्रताडित छ । तराई र मधेशी समुदायमा त दाइजो प्रथाले सीमा नै नाघेको छ । त्यहाँ आज पनि कयौं बुहारी दाइजो नल्याएबापत मृत्युवरण गर्न बाध्य छन् । विवाह उठान नै त्यहाँ ‘तिलक वा दाइजो’को सौदाबाजीबाट सुरु भई यसको मात्रामा गएर बैठान हुन्छ ।
यति मात्र होइन, गर्भावस्थामा माइतीपक्षले मनाइदिने सावर, विवाहको वर्षगाँठमा मनाइने विवाहोत्सव, जन्मदिनमा गरिने भोजभतेरलगायतले हाम्रो समाज कता जाँदै छ ? सोच्नुपर्ने भएको छ । हुुनेलाई त खर्च गर्ने निहुँ चाहिएको छ । यही बहानामा खर्च गर्लान्, नसक्नेले उसको पैंचो कसरी तिर्ने ? कहिले तिर्ने ? कि सधैंभर अर्काकोमा गएर खाने आफ्नोमा अरूलाई कहिल्यै आमन्त्रण नगर्ने ? यसो गर्दा दोस्रोथरी परिवारका अन्य सदस्यको मनोविज्ञानमा कस्तो प्रभाव पर्ला ? बालबालिकामा कस्तो छाप पर्ला ? यसकारण कतिपय वैयक्तिक व्यवहारलाई सामाजिकीकरण गर्दा ख्याल गर्नुपर्छ । आफ्ने परिवारभित्र बसेर जेजे गरे पनि हुन्छ । तर, टोलछिमेक र समाज प्रभावित हुनेगरी यस्ता काम गर्न निषेध नै गर्नुपर्छ । ’cause, हाम्रो सामाजिक संरचना नै एकअर्कोबाट देखासिकी गर्ने र प्रभावित हुनेखाले छ ।
कानुन के भन्छ ?
२०२० सालमा नै मुलुकी ऐन बनाएर यस्ता सामाजिक विभेद हटाउने प्रयास भएको हो । तर, सफल हुन सकेन । समाजमा देखापरेका यस्ता विकृति तथा सामाजिक चाडपर्वमा गरिने तडकभडक र फजुल खर्च रोक्नका लागि सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ लाई केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ द्वारा संशोधन गरी लागू गरिएको छ । संशोधित ऐनअनुसार विवाहमा तिलक लिनदिन नहुने र लिनेदिने गरेमा बिगो जफत गरी १२ हजारदेखि २५ हजारसम्म जरिमाना वा ३० दिनसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ । तर पनि तराईमा आज पनि ‘तिलक’का नाममा कैयन् महिला घरेलु हिंसाका सिकार बनेका छन् । दुलही पक्षले पनि आफ्ना लागि कुनै नगदी वा जिन्सी लिन नहुने, दुलहा पक्षले गहना, कपडा, नगद, जिन्सी वा जेथा दिन कर गर्न नपाइने र गरेमा जरिमाना तथा कैद हुने व्यवस्था छ । ऐनको दफा ५ ले ‘विवाहमा दुलहीले जिउमा लगाएको एकसरो गहनाबाहेक कूल परम्पराअनुसार १० हजार रुपैया“सम्म दाइजो दिनसक्ने’ व्यवस्था छ । जन्तीलाई समेत टीकाटाला गरी नगद दिन नपाइने व्यवस्था छ । विवाहमा बाजा र सहयोगीसहित ५१ जनाभन्दा बढी जन्ती लैजान नहुने कानुनी व्यवस्था छ ।
हाम्रो सामाजिक मनोविज्ञान संस्कृतिप्रेमी छ । सांस्कृतिक गतिविधिमा रमाउन पाउँदा हामीलाई आनन्द पनि लाग्छ । विवाह, व्रतबन्ध, मेला–महोत्सवजस्ता अवसरमा भोजभतेर र नाचगान पनि गरिन्छ । यी सबैका राम्रा पक्ष होलान् तर त्यस्ता अवसरमा ‘ऋणं कृत्वा, घृतम् पिवेत’ भनेझैं चन्दा मागेर वा ऋण गरेरै भए पनि तडकभडक प्रदर्शन गर्ने प्रवृत्ति बढ्दो छ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्की प्रमुख आयुक्त भएर गएपछि ११ भदौ २०७० मा आयोगले ‘चाडपर्व र भोजभतेरमा तडकभडक बढेको’ भन्दै ५१ जनाभन्दा बढी जम्मा भएर भोजभतेर नगर्न निर्देशन जारी गरेको थियो तर सुधार आउन भने सकेन । समाजमा विभेद उत्पन्न गराउन सक्नेखाले तडकभडक, दाइजो र अनावश्यक भोजभतेरमाथि अब प्रतिबन्ध नै लगाउनुपर्ने भएको छ । बढ्दो महँगीले आमनागरिकको जनजीवन कष्टकर बन्दै गएको छ भने अर्कोतिर विवाहजस्ता कार्यक्रममा आयोजक पक्षले बाध्यात्मक रूपमा गर्नुपर्ने अनावश्यक खर्चले औसत नेपालीलाई ‘घर न घाट’को बनाउन थालेको छ । अब राज्यले दाइजो प्रथा र विवाहमा गरिने फजुल खर्चसमेत गर्न नपाउने मौजुदा कानुन कडाइका साथ पालना गराउन र कानुन उल्लंघन गर्नेलाई कडा कारबाहीका लागि शून्य सहनशीलता अपनाउनैपर्ने भएको छ । खर्च गर्नेले पनि कहाँबाट कमाएर खर्च गरे ? भनेर उनीहरूको आयस्रोत देखाउन लगाउनुपर्छ । गरेको खर्चमा भ्याट (आयकर) तिर्ने व्यवस्था हुनुपर्छ ।
समाजमा सक्नेले पनि नसक्नेलाई प्रभाव पार्नेगरी सार्वजनिक रूपमा फजुल, अनावश्यक र उत्ताउलो शैलीमा खर्च गर्न, गराउन नपाउने कानुन बनाउन आवश्यक भइसकेको छ । छोरीहरूलाई शिक्षा दिने, तर दाइजो नदिने कानुनी व्यवस्था नै आजको पहिलो र अनिवार्य सर्त हुनुपर्छ । दिनेले पनि गोप्य रूपमा समाजले थाहा नपाउनेगरी दि“दा हुन्छ । ढोलक नै पिटेर दिनुपर्छ भन्ने छैन । व्यक्तिगत सम्पत्ति भन्दैमा समाजमा हुने र नहुनेबीचको वर्गीय विभेद छरपष्ट देखिनेगरी दिन र लिन पाइ“दैन । दिनेलिने दुवैथरीलाई राज्यले दण्डित गर्नुपर्छ ।
रक्षक नै भक्षक
नियम मिच्नेलाई कारबाही गर्ने सरकारी पदाधिकारी नै त्यसप्रकारको भोजभतेरमा सामेल हुने गरेका पाइन्छ । जसले फजुल खर्च गर्ने, गराउनेलाई कानुनी कारबाही गर्नुपर्ने हो, उही उपभोक्ता भएर गएपछि कसले कारबाही गर्ने ? आयोजक ‘आफू दण्डित हुन नपरोस्’ भनी खोजीखोजी यस्ता सरकारी अधिकारीलाई निम्त्याएका हुन्छन् । लिनका लागि सवारीसाधन पठाएका हुन्छन् । तसर्थ, सरकारी पक्ष पनि नियम, कानुन उल्लंघन हुनेगरी आयोजित कार्यक्रममा जान्न भन्ने हिम्मत गर्न सक्नुपर्छ । निम्ता आएपछि जहाँ पनि जाने प्रवृत्ति छाड्नुपर्छ । कार्यक्रमको इतिवृत्ति’bout पूर्वपरिचित हुन सक्नुपर्छ ।
सुधार आफैंबाट
आजकल कतिपय व्यक्तिले आफ्नो वा परिवारका सदस्यको जन्मोत्सवमा वृद्धाश्रममा गएर खाना खुवाउने, मठमन्दिरमा दान गर्ने, विद्यालयमा अक्षयकोष राखिदिने वा यस्तै अन्य रचनात्मक कार्यद्वारा जन्मोत्सव मनाएको समाचार सुन्न, पढ्न पाइन्छ । यो निकै सकारात्मक र प्रेरक कार्यको थालनी हो । यसकारण ऐन, नियम वा निषेधले भन्दा पनि स्वप्रेरित भएर अघि बढेको खण्डमा सुुधार सम्भव छ र त्यसको थालनी आफैंबाट हुनुपर्छ । मूल कुरा हाम्रो आचरण हो । सादा जीवन शैली हामी आफैंबाट अपनाउन थाल्ने हो भने यी सबैखाले तडकभडक स्वतः हटेर जानेछन् । केही साताअघि पूर्वमन्त्री एवं एमाले नेता लालबाबु पण्डितले आफ्नी जीवन संगिनीको निधनका बेला आफूलाई समवेदना दिन आउने व्यक्ति÷संघसंस्थाले समवेदना लेखिएका फ्रेम ल्याएर दिएको स्मरण गरे । उनले ती फ्रेम एकत्रित गरी थैलोमा राखेको दृश्य निकै भावुक देखिन्थ्यो । नभन्दै आज मृतकका घरमा होडबाजी नै हुन्छ, कसको मरणमा धेरै फ्रेम हुन्छन् भनेर ।
एक जमाना यस्तो थियो, विवाहमा भौतिक वस्तु दाइजो दिनैपर्ने । दुलहाका घरमा ती वस्तु राख्ने ठाउँ होस् नहोस्, तर दाइजोे दिनैपर्ने । उसको घरमा बत्ती पुुगेको होस् नहोस्, टिभी दिनैपर्ने, बाटो होस् नहोस्, मोटरसाईकल दिनैपर्ने † कतिपयले विवाहपछि सामान राख्नैका लागि भनेर कोठाभाडामा लिएका उदाहरण पनि पाइन्छन् । यही प्रवृत्ति बिर्साउनेगरी भित्तामा फ्रेम राख्ने ठाउँ होस्–नहोस् घरभरि समवेदना लेखिएका फ्रेम नै फ्रेम भएको अवस्था पनि छ । यसमा सुधार गर्न जरुरी छ ।
बरु, बिरामी छँदा भेट्न जाने, उसलाई सहानुुभूति र स्वास्थलाभका लागि प्रेरणा दिने हो भने मृत्युपछि दिइएको फ्रेमभन्दा यो कयौं गुणा बढी प्रभावकारी हुनजान्छ । आज पनि हामी रकम अभावमा औषधि किन्न नसकेर छट्पटिइरहेका बिरामी भेट्न रित्तो हात जान्छौं । उता, लाखौंको बिहे वा अन्य पार्टी आयोजना गरेको व्यक्तिकामा जाँदा खादा, माला र वरवधुलाई उपहारस्वरूप खाममा पैसा राखेर जान्छौं । जसले हजारौं जनालाई सित्तैमा भोज खुवाउन बोलाएको छ, भोज खुवाउने सामथ्र्य राख्छ, उसलाई हामी पैसा दिएर आउँछौं । जसले रकम अभावमा अस्पतालको शøयामा मृत्यु कुरिरहेको छ, उसलाई ‘औषधि गर’ भनेर एक पैसो चुहाउँदैनौं । यहाँनेर हाम्रो विवेक पनि शून्यतामा मिसिएको देखिन्छ ।
हो, उच्च मानवीय संवेदना यहाँनेर देखिन आवश्यक छ । हुनेले नहुनेलाई दिने हाम्रो वैदिक सनातन संस्कृति नै हो । यसलाई जोगाउन जरुरी छ । सरसापट, ऐंचोपैंचो र सहयोग हाम्रो जीवनशैली नै हो, यसलाई बचाउनुपर्छ । यसका लागि ऐन, कानुनका ठेलीभन्दा पनि हाम्रो आफ्नै जीवनशैली र कार्यव्यवहार बढी जिम्मेवार हुन्छ ।
(Visited 8 times, 1 visits today)
