सेलिब्रिटी भनेर चर्चित एवं लोकप्रिय व्यक्तित्वलाई नै भन्ने गरिन्छ । सामान्यतया सेलिब्रिटीको दर्जा कलाकार, खेलाडी र राजनीतिक व्यक्तित्वहरूले नै पाउने गरेका छन् । अरू क्षेत्रबाट सेलिब्रिटी पैदा नै नहुने भन्ने चाहिँ हुन्न । कैयन्ले सञ्चार जगत्बाट वा अन्य क्षेत्रबाट पनि सेलिब्रिटीको दर्जा हासिल नगरेका होइनन् । तर, अधिकांश सेलिब्रिटीहरू माथि उल्लिखित तीन क्षेत्रका नै देखिन्छन् । आआफ्नो क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेका व्यक्तिको लोकप्रियता पनि चुलीमा पुग्यो भने त्यस्तालाई सायद सेलिब्रिटी भनिन्छ । तर, यहाँ अलि अनौठो पारा पनि देखिन्छ । आफ्नो क्षेत्रको उत्कृष्ट उपलब्धिबाहेक त्यससँग नितान्त असम्बन्धित कारणले पनि व्यक्ति लोकप्रिय बनेका छन् । त्यस्ता लोकप्रिय व्यक्तिको सेलिब्रिटी दर्जा कति प्रतिशत क्षेत्रगत उत्कृष्टताका कारणले हो र कति प्रतिशत ‘अन्य’ कारणले हो भन्ने छुट्याउनै कठिन भइदिने अवस्थासमेत आएका कैयन् उदाहरण छन् ।
सन् १९८० को दशकमा अमेरिकामा जिम्मी कार्टर राष्ट्रपति बन्नुभएको थियो । उहाँ झन्डै सय वर्षको उमेर पुगिसक्नुभएको छ र अझै जीवित हुनुहुन्छ । उहाँ निश्चित रूपमा कुशल राजनीतिज्ञ हुनुहुन्थ्यो । तर, राष्ट्रपति निर्वाचनका समयमा उहाँको मुस्कान अर्थात् ‘कार्टर स्माइल’ प्रसिद्ध भएको थियो । त्यसबेला कतिपय सर्भेक्षणहरूले अमेरिकी युवा–युवतीबीच कार्टरको मुस्कान अत्यन्तै लोकप्रिय भएको र त्यसैकारण निकै मत आएको बताएका थिए । हिन्दी सिनेजगतका पहिलो सुपरस्टार मानिने राजेश खन्नाको लोकप्रियता चरमचुलीमा पुगेको थियो । उनको पार्क गरिराखेको सेतो कार युवतीहरूले चुम्दाचुम्दा लिपस्टिकको रङले गर्दा रातै हुन्थ्यो रे ! कैयन् युवतीहरूले उनको तस्बिरसँग विवाहसमेत गरेको कथा सुनिएको थियो । राजेश खन्ना निश्चित रूपमा एक उत्कृष्ट कलाकार थिए । तर, उनको चरम लोकप्रियता अब्बल कलाकारिताका कारण थियो कि युवा–युवतीहरूले उनको व्यक्तित्वमा देखेको कामोत्तेजक आकर्षणले थियो ? छुट्याउन कठिन होला । राजेशको लोकप्रियतामा यो ‘अन्य’ कारण धेरै हदसम्म जिम्मेवार थियो भन्नु अनुपयुक्त नहोला । त्यसो त, कामोत्तेजक व्यक्तित्व प्रदर्शन नै उनको कलाकारिताको उत्कृष्ट प्रदर्शन थियो र त्यसकारण कलाकै अंग हो भन्ने तर्क प्रस्तुत गर्न सकिन्छ । म्याडोना वा जेनिफर लोपेजको लोकप्रियतामा कति प्रतिशत कला र कति प्रतिशत कामुकताको प्रदर्शन थियो वा छ भन्ने पनि खुट्याउन गाह्रो विषय हुनसक्छ । हिन्दी सिनेजगतका सर्वाधिक सर्वकालीन लोकप्रिय व्यक्तित्वका रूपमा लता मंगेसकरलाई लिन सकिन्छ । उनको लोकप्रियताका पछाडि चाहिँ यस्तो ‘अन्य’ कारण नहोला । यस्ता अत्यन्तै लोकप्रिय सेलिब्रिटीहरूले विभिन्न ब्रान्ड वा फेसनलाई लोकप्रिय बनाइदिएका छन् र त्यो फेसन वा ब्रान्डले सेलिब्रिटीलाई थप लोकप्रिय भने बनाइदिन्छन् ।
मेस्सीको ट्याटुले उनलाई थप लोकप्रिय बनायो वा मेस्सीले ट्याटुलाई लोकप्रिय बनाए ? लता मंगेसकरकै पनि हीराको गहना प्रेम पहिचान बनेको थियो । सायद उनको यस पहिचानले उनको लोकप्रियतामा वृद्धि गरेको थियो । बीपी कोइरालाको चुच्चे टोपी वा लक्ष्मीप्रसाद देवकोटाको टोपीरहित दौरा सुरुवाल उहाँहरूको पहिचान बनेको थियो । हेक्का रहोस्, लताको हीरा, बीपीको टोपी र देवकोटाको मुडुलो शिरले उहाँहरूको लोकप्रियतामा थोरै वृद्धि ग¥यो होला । तर, त्यसभन्दा बढी उहाँहरूकै कारण यी फेसन लोकप्रिय भएका हुन् ।
उल्लिखित तीनै जना व्यक्तित्वहरू आआफ्नो क्षेत्रका प्राधिकारी नहुनुभएको भए हीरा वा टोपीजस्ता पहिचानले निधनको वर्षौंपश्चात् पनि उहाँहरूलाई जनताको मानसपटलमा ज्यूँदै राख्ने थिएन । उपलब्धि शून्य वा अत्यन्तै थोरै उपलब्धिका भरमा फगत अतिरिक्त क्रियाकलाप वा मैले माथि उल्लेख गरेका ‘अन्य’ कारणले आर्जेको सेलिब्रिटी दर्जाले तत्कालका लागि आँधी बेहरी वा हंगामा सिर्जना गर्नसक्छ । तर, तुफान शान्त भएपछि र सच्चाइ खुलेपछि पैदा हुने नैराश्यता थामिनसक्नुको हुन्छ ।
‘अन्य’ कारणले सेलिब्रिटी दर्जा हासिल गरेका व्यक्तिका अनुयायी जमातमा अन्धभक्ति देखिन थालेपछि चाहिँ त्यो अत्यन्तै खतरनाक हुन्छ । अमृतमन्थनबाट निस्केको हलाहल पिएर लोककल्याण गर्ने सदाशिवको भक्ति त त्यस जमातले गर्छ, तर विष, भाङ, धतुरो सेवनलाई अत्यन्तै जायज मान्दै महादेवको नशालाई अनुकरणीय र प्रश्न गर्नै नमिल्ने बनाउँछ । श्रीमद्भागवत गीताजस्तो ज्ञानको भण्डार प्रदान गर्ने योगेश्वर श्रीकृष्णलाई १६ हजार गोपिनीसँग रासलीला गर्ने व्यक्तिका रूपमा सम्झन थाल्दछ र आफ्ना कुनै ‘आदर्श व्यक्ति’लाई ‘मर्दको दुईचारवटी हुन्छ’ भन्दै कृष्णावतार भनिदिन्छन् । अन्धभक्तिले छोपेपछि भक्तहरूका लागि जे पनि जायज हुन्छ र त्यो जमात हिंसक पनि बन्नसक्छ । कसैले कसैलाई मन पराउन सक्छ । त्यस व्यक्तिको पहिरन वा अनुहार मन पराउन पनि सक्छ । अनुहार वा पहिरन मन परेर भोट दिन्छन् भने पनि कसैको केही लाग्दैन । तर, फगत अनुहार वा पहिरन मन परेकै कारण अन्धभक्त बन्नपुग्छ र त्यसका जायज नाजायज जे कुराको पनि समर्थन गर्न पुग्छ भने त्यो चाहिँ अत्यन्तै खतरनाक हो ।
हाम्रो देशमा पनि सेलिब्रिटी छन् । राजनीतिक क्षेत्रमा पनि सेलिब्रिटी छन् । पछिल्ला दिनहरूमा त राजनीतिक उपलब्धि वा भरपर्दा विश्वासिला वाचा कवोल भन्दा ‘अन्य’ आधारका कारणले उदाएका मात्र होइन, सेलिब्रिटी दर्जा पाएर पदका दृष्टिले सफलताको शिखर नै चुमेका व्यक्तिहरू देखापरेका छन् । कुनै आकर्षक कद, शरीर र अनुहार भएका उच्च माध्यमिक तह उत्तीर्ण महत्वाकांक्षी व्यक्ति कनिकुथी पत्रकारिता गर्छन् । एउटी कलिली केटीलाई प्रेमजालमा पार्छन् र विवाह गर्छन् ।
त्यसपछि दुनियाँभरि कसरत गरेर अमेरिका पुग्छन् अनि त्यहाँको कानुनको छिद्रलाई खोजेर नागरिकता प्राप्त गर्छन् । सानोतिनो खुद्रा व्यापार गर्छन् । नेपालमा छोरीसहित छोडेका श्रीमतीलाई पत्तै नदिई परस्त्री उल्लासमा लाग्छन् । केही अन्तरालमा नेपाल आएर अर्की छोरी जन्माउँछन् र अलि समयपश्चात् श्रीमती र दुई छोरीलाई अमेरिका लैजान्छन् । घरमा श्रीमती हुँदाहुँदै कुनै विदेशी महिलाबाट छोरा जन्माउँछन् । अनि, श्रीमतीलाई पारपाचुके दिन्छन् ।
अमेरिकी नागरिककै हैसियतले नेपाल आउँछन् र नियमानुसार समर्पण गर्नुपर्ने पुरानो नेपाली नागरिकताको प्रमाणपत्र देखाएर जागिर खान्छन्, नेपाली पासपोर्ट लिन्छन् र टेलिभिजनमा सेयर प्राप्त गर्छन् अनि प्रबन्ध निर्देशक पनि बन्छन् । टेलिभिजनबाट कामुक व्यक्तित्व र मादक वक्तृत्वकलाको प्रदर्शन गर्दै थरीथरीका स्टन्टबाजी गर्छन् । तर, रमाइलो पक्ष के थियो भने यिनको व्यापारको सुरु पुँजीदेखि लिएर महँगो सञ्चालन खर्च (यिनको आफ्नै ५ लाख मासिक तलब)सम्म सोझासाझा नेपालीको बचत भएको सहकारी संस्थाहरूबाट अपचलन गरी ल्याइएको हुन्छ । टेलिभिजनको यथेष्ट दुरुपयोगपछि यिनको महत्वाकांक्षा अझै जाग्छ । पार्टी खोल्छन् र निर्वाचनमा होमिन्छन् ।
राजनीतिक सिद्धान्त र विचार शून्य हुँदाहुँदै पनि कामुक व्यक्तित्व र मादक वक्तृत्वका आधारमा यिनलाई कृष्णावतार मान्ने ‘धर्मभीरू’ प्रौढहरू (विशेषतः महिलावर्ग) र तात्कालीन आवेग र उत्तेजनामा बग्ने युवा–युवतीको जमात तयार भइसकेका थिए । निर्वाचनमा यी आफू त जित्छन् नै फगत यिनको आकर्षणमा अडेको यिनको पार्टीले २० सिट जितेर चौथो पार्टी बन्नपुग्छ । त्यसपछि त एकैपटक उपप्रधान तथा गृहमन्त्री ! तर नेपाली नागरिकता नभएको मुद्दामा यिनलाई अदालतले विस्थापित गरिदिन्छ । तर, फेरि जस्केलाबाट छिरेर नागरिकता प्राप्त गर्छन् र पुनः आफू मात्र होइन, एक धेरै पढेलेखेका अधैर्य मनुवालाई पनि जिताएर ल्याउँछन् । केही समयपछि पुनः उपप्रधान एवं गृहमन्त्री !
अहिले त झन् अचम्म भएको छ । लामो हल्लीखल्ली र हंगामापछि यिनीमाथि संसदीय समितिले छनबिन गर्छ र स्पष्ट शब्दमा सहकारीको रकम अपचलनमा कारबाही गर्न सरकारलाई सिफारिश गर्छ । किर्ते र अन्य जालसाजीमा संलग्न भएको संशयसमेत व्यक्त गर्छ । तर, अचम्म ! तत्कालै नेताज्यू र उनका अनुयायी उपनेताहरूले स्याल हुइँया सुरु गर्छन्– नेताज्यूले सफाइ पाउनु भो ! राम्रै पढेलेखेका र नाम कहलिएकालाई पनि आँखामा पट्टी लगाइएका एकोहोरो गधा बनाइसकिएको रहेछ । मैले माथि उल्लेख गरेका ‘धर्मभीरू’ प्रौढ एवं उत्तेजक युवा–युवतीको एउटा जमात त छँदै थियो । कुनै गुण छैन, राजनीतिक विचार छैन ! तर नेताज्यूको जिन पाइन्ट, कुर्ता, इस्टकोट, जेलले ठाडो पारेको कपाल र छाँटिएका दाह्री ! क्या मनमोहक रूप ! साक्षात् कृष्ण भगवान् वा रक स्टार ! अनि बोली त कुरै भएन ! मादकताले भरिएको वाणी ! हाईहाई भन्ने भक्तजनको जमातले ‘क्लिन चिट’को स्याल हुइँया चलाएको चलायै छ । यो सेलिब्रिटी दर्जा सोह्रै आना झूठमा आधारित छ र यसलाई मैले झिल्के नाम दिएको छु । झिल्के आफैं त खतरनाक छ नै झिल्केका अन्धभक्त अनुयायी झनै खतरनाक हुन सक्छन्, किनकि उनीहरू पुरै अन्धा छन्, नेताजीलाई अपार माया र श्रद्धा गर्छन् र त्यसैकारण हिंस्रक पनि हुनसक्छन् ।
(Visited 22 times, 1 visits today)