क्रिसमस, ऐँजेरु र चुम्बन


ऐँजेरुको मुनि बसेको बेला

एउटा मैनबत्ती मधुरो बल्दै थियो

अबेलासम्म नाचेर थाकेकाहरू

फर्किसकेपछि पनि

अन्तिम मैनबत्ती बल्दै थियो

गहिरिँदै गएको रातको छायासँगै

कोही आई मलाई चुम्बन गर्‍यो

(‘वाल्टर डे ले मार’को ‘ऐँजेरु’ कविताबाट)

यो कविताका लेखकले पश्चिमी मुलुकहरू (मुख्यतः युरोप) को महान् पर्व क्रिसमसको बेलामा एउटी युवतीद्वारा पोखिएका वेदनाहरूको वर्णन गरेका छन्। आखिर ती युवतीलाई क्रिसमसजस्तो रमाइलो र महान् चाडमा त्यस्तो के दुःख परेको होला? यस प्रश्नको उत्तर थाहा पाउनका लागि ऐँजेरु के हो र क्रिसमसमा युरोपेली मुलुकहरूमा यसको के महत्त्व हुन्छ भन्ने जान्न आवश्यक हुन्छ।

ऐँजेरु के हो?

ऐँजेरु अरू बोटबिरुवाहरूको हाँगामा लाग्ने सदाबहार अर्धपरजीवी अथवा पूर्ण परजीवी वनस्पति हो। यो आफ्नो परपोषी बोटहरूमा आंशिक (पानी र खनिज तत्त्व) अथवा पूर्ण रूपले (खाने कुरा) आश्रित हुन्छन्, जुन एउटा विशेष प्रकारको जराको सहायताद्वारा पूर्ति गरिन्छ।

युरोपेली मुलुकमा एउटा विशेष प्रजातिको ऐँजेरुलाई क्रिसमस ऐँजेरु भनिन्छ, जसलाई ल्याटिन भाषामा ‘भिस्कम एल्बम’ को नामले चिनिन्छ र यो लोरान्थोसी वनस्पति परिवारमा पर्छ। संसारमा १३ सयभन्दा धेरै प्रजातिका ऐँजेरु पाइए तापनि नेपालमा मात्र १९ प्रजातिका ऐँजेरु पाइएको तथ्यांक छ। एकदमै पुरानो ऐंग्लो–सेक्सन भाषामा आधारित अंग्रेजीमा यिनीहरू  ‘मिसिल्टो’ नामले चिनिन्छन्।

ऐँजेरुको धार्मिक महत्त्व

क्रिसमस ऐँजेरु धेरै रुखमा परजीवीका रूपमा पाइए तापनि यो खसु्रको रुखमा बिरलै पाइन्छ, पाइयो भने यसलाई दोब्बर चामत्कारिक मानिन्छ। यसरी पाइएको ऐँजेरुलाई जर्मनवासी र पौराणिक धर्मगुरुहरूद्वारा विशेष महत्त्वसाथ पुज्ने गरिन्थ्यो।

ग्रिक र त्यसअघिका मानिसहरूले यस ऐँजेरुको रहस्यमय र अलौकिक चामत्कारिक शक्तिहरूको पहिचान गरे, जुन आज पनि धेरै युरोपेली लोक परम्परासँग गाँसिएर शताब्दीयौंदेखि मानिआएको छ। क्राइस्टलाई क्रुसीकरण गरेको बेला बनाइएको काठको क्रस पनि यसै ऐँजेरुको थियो भन्ने विश्वासले पनि यसको इसाई धर्ममा महत्त्वपूर्ण स्थान रहेको छ।

क्रिसमसमा ऐँजेरुको महत्त्व

क्रिसमसको बेला गरिएको ऐँजेरुको उच्चारणले उपस्थित मानिसको दिमागमा दुइटा कल्पना चित्रण हुन थाल्छ, ऐँजेरुसित गरिएको सजावटमुनि लुकीछिपी गरिएका चुम्बनहरू अथवा लामो सेतो दाह्री भएको धर्मगुरुले विशेष अवसरमा सुनौलो हँसियाले ठुलो खस्रुको रुखमाथिबाट ऐँजेरु काट्दै गरेको। यी दुई किसिमका परम्पराहरूले युरोपेलीहरूको दिमागमा जरा गाडिसकेको छ।

क्रिसमसका बेला ऐँजेरुमुनि चुम्बन गर्ने धार्मिक परम्परा रहेको छ। इस्वी संवतको तेस्रो शताब्दीपछि युरोपेली मुलुकमा इसाई धर्मको विस्तारपश्चात् यसको धार्मिक र रहस्यमयपूर्ण विश्वासले नयाँ विकसित हुँदै गरेको धार्मिक सभ्यतामा जरा गाडेको पाइन्छ। यसप्रतिको तथ्यलाई नकार्दै क्रिसमसको बेलामा ऐँजेरुमुनि चुम्बन गर्ने परम्पराले मानिसको प्रजनन शक्ति र गर्भधारण गर्ने क्षमताप्रतिको विश्वासले आधुनिक समयमा पनि निरन्तरता पाउन थाल्यो।

चुम्बन गर्ने प्रथाको थालनी कहिले भयो भन्ने कुराको यकिन गर्न नसके पनि यो लगभग १८औंं शताब्दीताका बेलायतबाट सुरु भएको भन्ने विश्वास रहेको छ, जुन त्यसबेला अति नै प्रचलित थियो र आजको आधुनिक युगमा पनि यसले निरन्तरता पाइरहको छ।

सन् १७९२ मा एउटा बेलायती पत्रिकाले ऐँजेरुमुनि एउटी युवतीलाई चुम्बन गर्ने परम्पराले धेरै ठाउँमा निरन्तरता पाइरहेको छ र यो निश्चितरूपले सन्तान वृद्धिको माध्यम हो भन्ने कुरा प्रकाशित गरेको थियो। यस प्रथाको सुरुवात दुइटा सम्भावित स्रोतहरूमा आधारित भएको पाइन्छ। यसको थालनी दुइटा जनविश्वासमा आधारित  छ। पहिलो यसले प्रजनन शक्ति र जीवन प्रदान शक्ति दिन्छ। अर्को प्राचीन जर्मन देवता ‘बाल्डर’ जो पछि गएर सन्त बाल्डरको नामले प्रख्यात भए, उनीसँग सम्बन्धित छ।

जसरी नेपालीहरूको महान् पर्व दसैंमा जमराको महत्त्व हुन्छ, त्यसैगरी क्रिसमसमा ऐँजेरुको महत्त्व हुन्छ। वनबाट संकलन गरी ल्याएको पाकेका गेडासहितको ऐँजेरु बेरिएको क्रिसमस रुख बजारमा ठुलो मात्रामा किनबेच हुन्छ। हरेक परिवारले आफ्नो इच्छानुसारको ठुलो अथवा सानो हाँगा किनेर विशेष प्रकारका क्रिसमसका गहना, रातो रिबन र क्रिसमस रुखको सानो हाँगासित सिँगारेर घरको मूल ढोका र भित्री कोठामा विशेष प्रकारले सजावट गरेर राखिन्छ।

यसरी सजावट गरिसकेपछि आफ्नो परिवार, नाता कुटुम्व, छिमेकी र गाउँलेहरूसँग हरेक वर्षको २४ डिसेम्बरको राति अबेरसम्म उपहार र शुभेच्छा आदानप्रदान गरी मनाइने गरिन्छ। कतिपय ठाउँमा स्थानीय युवतीहरूमाझ प्रतिस्पर्धा गराएर ‘ऐँजेरु सुन्दरी’को समेत छनोट गरिन्छ।

क्रिसमसमा सिँगारिएको ऐँजेरुको हाँगामुनि उभिएकी युवतीले आफूलाई चुम्बन गर्नबाट नकार्न सक्दिनन्। यसरी गरिएको चुम्बनले प्रगाढ प्रेमभावना, दीर्घमित्रता र शुभेक्षाको संकेत गर्छ। चुम्बन गर्ने युवायुवती प्रेमीप्रमिका हुन् भने उनीहरूको बिहे हुने प्रबल सम्भावना हुन्छ र बिहेको प्रस्तावलाई बाचा गर्दै सुखी र लामो जीवनको संकेत गर्छ।

ठिक यसविपरीत कुनै युवतीलाई चुम्बन गरिँदैन भने उनको बिहेको सम्भावना खतम हुन्छ। यसरी चुम्बन गर्दा ऐँजेरुको मर्यादा कायम गर्दै गर्नुपर्छ। जसअनुसार चुम्बन गर्ने युवा अथवा युवतीले चुम्बन गरिसकेपछि ऐँजेरुको एउटा गेडा टिप्नुपर्छ र अन्तिम गेडा सकिसकेपछि चुम्बन गर्ने कार्य रोक्नुपर्छ। अर्को साल बिहे हुने सम्भावनालाई जीवित राख्न बेलायतको कुनै ठाउँमा क्रिसमसमा प्रयोग गरेको ऐँजेरुलाई क्रिसमसपछिको १२औं रातमा बालिन्छ।

युरोपेलीहरूले क्रिसमसको यस्तो परम्परालाई विश्वास गरे पनि अथवा नगरे पनि यसले उनीहरूलाई रमाइलो र मोज मज्जा गर्ने अवसर प्रदान गर्छ।

हुन त यस्तो क्रिसमस परम्पराप्रति आस्था नराख्ने युरोपेलीहरू पनि छैनन् होलान् भन्न सकिन्न तर यो क्रिसमसको बेला गरिने रमाइलोको माध्यम हो तर हिजोआज वर्षको कुनै पनि बेला लामो बिदाको समयमा ऐँजेरुको मुनि चुम्बन गर्नबाट युरोपेलीहरूलाई कुनै पनि छेकबार छैन। यो परम्पराले युरोपेलीहरूको दिमागमा जरा गाडिसकेको हुनाले र महत्त्वपूर्ण धार्मिक परम्परा हुनाले उनीहरूले यसलाई बिर्सन पनि चाहँदैनन्।

ऐँजेरुमुनि बसेर पनि यसको चामत्कारिक शक्तिबाट कसरी ती युवती वञ्चित हुन सक्थिन् र अन्त्यमा एउटा अदृश्य शक्तिले गरेको चुम्बनको वर्णन कविले बडो रोमाञ्चित तरिकाले गरेका छन्।

हुन त यो प्रजातिको ऐँजेरु नेपालमा प्रशस्त पाइए तापनि यसलाई नेपालमा विदेशीहरूले क्रिसमसको बेलामा प्रयोग गरेको पाइँदैन। यसको धार्मिक महत्त्व मात्र नभई आधुनिक चिकित्सा विज्ञानमा पनि विकसित मुलुकमा यसको प्रयोग भएको पाइन्छ तर हामीकहाँ यसप्रतिको अनभिज्ञताले गर्दा परजीवीको रूपमा काटेर मास्ने गरेको पाइन्छ।

–ऐँजेरुविज्ञ देवकोटा अमृत क्याम्पसका प्राध्यापक हुन्।

प्रकाशित: १० पुस २०८२ ०६:११ बिहीबार





Source link

Leave a Comment