युवा नेताहरूले मुलुकको राजनीतिबारे विमर्श गर्दै भावी दिनप्रति आशा व्यक्त गरेका छन्। नागरिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडियाले आइतबार ललितपुरमा आयोजना गरेको ‘क्रियटर्स च्याम्पियन ३.०’ को छलफल सत्रमा सहभागी तीनवटा राजनीतिक दलका तीन नेता र एक युवा उद्यमीले यसको सांगोपांगोबारे छलफल गर्दै आगामी दिनमा आशावादी हुन सकिने बताएका हुन्। युवा नेताले मुलुक समृद्धिको दिशामा अघि बढ्नेमा आशाबादी देखिए। छलफलको सहजीकरण सञ्जोग कोइरालाले गरेका थिए।
छलफल सत्रमा नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिलाई समुद्र भन्दै राजनीतिक र सामाजिक अभियानलाई बाढीको संज्ञा दिए। विगतमा आफू पनि विभिन्न अभियानमा सहभागी भएको चर्चा गर्दै उनले भने, ‘अभियान राजनीतिसम्म पुग्दा सङ्लिँदै शान्त हुन्छ।’
उनले राजनीतिमा पुस्तान्तरण अनिवार्य भएको बताए। उनले भने, ‘नेतृत्व आर्यघाटमा पुगेपछि हस्तान्तरण हुने अभ्यास छ। हालसम्म एमाले अपवाद थियो। केही नेता बिदा भएका छन्। एमालेमा सम्मानजनक बिदाइको व्यवस्था थियो। ७० वर्ष, दुई पटक मात्रै कार्यकारी पद। विविध कारणले त्यो हटाइयो।’
उमेरहदको विषय अब राज्यकै कानुनमा व्यवस्था गर्नुपर्ने तर्क उपमहासचिव भट्टराईको छ। उनले भने, ‘अब राज्यकै कानुनमा त्यो व्यवस्था गर्नुपर्छ। राजनीतिक दलसम्बन्धी ऐनमै यो व्यवस्था गरौं। त्यसो हुँदा दलमा अनिवार्य हुन्छ, जसले लोकतान्त्रिक हुन मद्दत गर्छ।’
त्यस्तै युवा नेत्री मानुषि यमी भट्टराईले राजनीतिमा महिलाको संख्यात्मक उपस्थिति बढेको र यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताइन्। ‘राजनीतिमा महिलाहरूको संख्यात्मक उपस्थिति बढेको छ। विशेषगरी संविधानमै ३३ प्रतिशतको व्यवस्था गरिएपछि समानुपातिकबाट भए पनि महिलाले मौका पाएका छन्। तर गुणात्मक प्रतिनिधित्व हुन सकेको छैन।’
नेपालको खर्चिलो निर्वाचन प्रणालीले पनि महिला प्रत्यक्ष उम्मेदवार बन्न डराएको उनले बताइन। उनले भनिन्, ‘प्रत्यक्ष चुनाव खर्चिलो भएकाले लड्न धेरै महिलाले आँट गर्दैनन्। कतिपय पुरुष नै आँट नगरेका पनि छन्। अहिले त समानुपातिकमै पनि पैसा खर्च हुने अवस्था छ। यसले महिला र पछाडि पारिएका समुदायलाई गाह्रो पारिरहेको छ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पुकार बमले जवाफ दिने ठाउँमा पुग्दा आक्रोशभन्दा बढी जिम्मेवारी बोध भएको बताए। प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार रहेका बमले आफू अहिले देश निर्माणका लागि जिम्मेवार रुपमा प्रस्तुत भएको बताए।
बमले विगतको आक्रोश कम हुँदै गएको बताए। उनले भने, ‘२००४–२०१० सम्म अभियानमा थिएँ। त्यो बेला प्रश्न र आक्रोश बढी थियो। आरोप लगाउने बानी थियो। जिम्मेवारी कम थियो। तर बुझ्दै जाँदा गन्तव्य राजनीति रहेछ। अहिले जवाफ माग्ने ठाउँबाट जवाफ दिने ठाउँमा पुगेपछि आक्रोश कम भएर जिम्मेवारी बढी हुँदोरहेछ।’
युवा उद्यमी करण वैद्यले कर्पोरेट वा राजनीतिक नेतृत्वले जनता र विज्ञका सुझाव सुनेर मात्र निर्णय लिनुपर्ने बताए। नेतृत्वले आफूखुसी निर्णय गर्नुभन्दा सरोकारवालाको कुरा सुन्नु महŒवपूर्ण हुने उनले बताए। ‘कर्पोरेट होस् वा राजनीति, जुनसुकै नेताले पनि जनता र विषय विशेषज्ञका अनुभव सुनेर धारणा बनाउने र निर्णय दिने हो भने मात्र नतिजा प्राप्त हुन्छ’, वैद्यले भने।
नेपालमा विकासको सन्दर्भमा बारम्बार सिंगापुरको उदाहरण दिइने गरेको बताउँदै उनले त्यसको निर्माण प्रक्रियालाई बुझ्नुपर्नेमा जोड दिए। उनले भने, ‘सिंगापुरको उदाहरण नेपालमा धेरै दिइन्छ तर सिंगापुर कसरी बन्यो त्यो बुझ्नुपर्छ। लि क्वान युले गरेको कामलाई हामीले सिकाइका रूपमा लिनुपर्छ।’
नेपालमा अहिले भाषण र बोली भन्दा पनि कामको जवाफदेहिता खोजिएको उनको भनाइ थियो। उनले देशलाई अगाडि बढाउने सक्षम नेतृत्व प्राप्त हुने आशासमेत व्यक्त गरे।
योगेश भट्टराई
राजनीतिक भनेको समुद्र हो। अभियान एउटा बाढी र राजनीति समुद्र हो। अभियान राजनीतिसम्म पुग्दा संग्लिँदै शान्त हुन्छ। निश्चित समयपछि राजनीतिमा पुस्तान्तरण अनिवार्य छ । नेतृत्व आर्यघाटमा पुगेपछि हस्तान्तरण हुने अभ्यास छ। यो राम्रो अभ्यास होइन। हालसम्म एमाले अपवाद थियो। केही नेता बिदा भएका छन्। एमालेमा सम्मानजनक बिदाइको व्यवस्था थियो। ७० वर्ष , दुई पटक मात्रै कार्यकारी पद। विविध कारणले त्यो हटाइयो। यो विषयमा पार्टीको विधान भन्दा पनि राज्यको कानुन बलियो हुनुपर्छ र उमेरहदको विषय अब राज्यकै कानुनमा व्यवस्था गरी यस्ता समस्या निरुपण गर्नुपर्छ।
राज्यकै कानुनमा यस्तो व्यवस्था भयो भने सहज हुन्छ। राजनीतिक दलसम्बन्धी ऐनमै यो व्यवस्था गरौं भन्ने मेरो मान्यता छ। त्यसो हुँदा राजनीतिक दलमा अनिवार्य हुन्छ। जसले लोकतान्त्रिक हुन मद्दत गर्छ। राजनीतिमा युवा पुस्ता आउनुलाई मैले कहिल्यै अस्वाभाविक ठानिन्। अहिले पनि युवा पुस्ताले माग गरेका विषय नाजायज छैनन्। उनीहरुले उठाएका विषयलाई सम्बोधन गर्नुपर्छ भन्ने मेरो मान्यता मात्र होइन, म त्यसको पक्षधर हुँ।
मानुषि यमी भट्टराई
राजनीतिमा महिलाको संख्यात्मक उपस्थिति बढेको छ। महिलाको संख्यात्मक उपस्थितिलाई सकारात्मक रुपमा लिनुपर्छ। विशेषगरी संविधानमै ३३ प्रतिशतको व्यवस्था गरिएपछि समानुपातिकबाट भए पनि महिलाले मौका पाएका छन्। तर गुणात्मक प्रतिनिधित्व हुन सकेको छैन। नेपालको खर्चिलो निर्वाचन प्रणालीले पनि महिला प्रत्यक्ष उम्मेदवार बन्न डराएका छन्। प्रत्यक्ष चुनाव खर्चिलो भएकाले लड्न धेरै महिलाले आट गर्दैनन्। कतिपय पुरुष नै आँट नगरेका पनि छन्। अहिले त समानुपातिकमै पनि पैसा खर्च हुने अवस्था छ। यसले महिला र पछाडि पारिएका समुदायलाई कठिन भइरहेको छ।
राजनीतिक प्रणाली आफैंमा जटिल विषय व्यवस्था भएकाले नतिजा दिन नसक्दा समाजमा निराशा बढ्दै जान्छ। लोकतान्त्रिक व्यवस्थामा राज्यका संस्थाहरूको प्रभावकारी समन्वय र सञ्चालन भए मात्र नतिजा प्राप्त हुन्छ। मुलुकमा ठुला राजनीतिक परिवर्तन भए पनि बलियो संस्था निर्माणमा नेतृत्व चुकेको छ। लोकतान्त्रिक गणतन्त्र आएदेखि हामीले संस्था बनाउनतिर ध्यान दिएनौं त्यसैले व्यवस्था फेरियो तर अवस्था फेरिएन भन्ने भाष्य बनेको हो।
करण वैद्य
कर्पोरेट वा राजनीतिक नेतृत्वले जनता र विज्ञका सुझाव सुनेर मात्र निर्णय लिनुपर्छ। नेतृत्वले आफूखुसी निर्णय गर्नुभन्दा सरोकारवालाको कुरा सुन्नु महत्त्वपूर्ण हुन्छ। कर्पोरेट होस् वा राजनीति, जुनसुकै लिडरले पनि जनता र विषय विशेषज्ञका अनुभव सुनेर धारणा बनाउने र निर्णय दिने हो भने मात्र राम्रो नतिजा प्राप्त हुन्छ।
नेपालमा विकासको सन्दर्भमा बारम्बार सिंगापुरको उदाहरण दिने गरिएको छ। त्ण्सको निर्माण प्रक्रिया बुझ्नुपर्छ। निर्माण प्रक्रियामा प्रवेश नै नगरी उदाहरण दिनु सकारात्मक पक्ष होइन। सिंगापुरको उदाहरण नेपालमा धेरै दिइन्छ तर त्यो कसरी बन्यो त्यो बुझ्नुपर्छ। लि क्वान युले गरेको कामलाई हामीले सिकाइका रूपमा लिनुपर्छ। हामीले सिक्नु भन्दा पनि उदाहरणमा बढी जोड दिन थाल्यौं कि? नेपालमा अहिले भाषण र बोलीभन्दा पनि कामको जवाफदेहिता खोजिएको छ तर पनि हामी आशावादी हुनुपर्छ। देशलाई अगाडि बढाउन सक्षम नेतृत्व प्राप्त हुनेमा आशा राखौं।
पुकार बम
प्रश्न उठाउँदै गर्दा जवाफ दिने ठाउँमा पुग्दा आक्रोशभन्दा बढी जिम्मेवारीबोध भएको छ। देश निर्माणका लागि जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ। प्रश्न मात्र होइन, उत्तर पनि सँगै राख्नुपर्छ, दिनुपर्छ भन्ने बोध भएको छ। समस्या मात्र होइन समाधान पनि खोज्नुपर्छ। यसरी अघि बढ्दा आक्रोश कम हुँदै गएको छ।
२००४–२०१० सम्म अभियानमा थिएँ। त्यो बेला प्रश्न र आक्रोश बढी थियो। आरोप लगाउने बानी थियो। जिम्मेवारी कम थियो तर बुझ्दै जाँदा गन्तव्य राजनीति रहेछ। अहिले जवाफ माग्ने ठाउँबाट जवाफ दिने ठाउँमा पुगेपछि आक्रोश कम भएर जिम्मेवार बढी हुँदोरहेछ।
प्रकाशित: २२ माघ २०८२ ०८:४५ बिहीबार
