प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार

फोटो : एएफपी/रासस
क्युबाको तट नजिकै भएको गोलीकाण्डमा कम्तीमा एक जना अमेरिकी नागरिकको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। घटनामा अर्का एक जना घाइते भएका छन्। अमेरिकी अधिकारीका अनुसार फ्लोरिडामा दर्ता गरिएको स्पिडबोट लाई अवरोध गर्ने क्रममा क्युबाली सीमा सुरक्षाकर्मीहरूले गोली चलाएका थिए।
क्युबाली अधिकारीहरूका अनुसार उक्त स्पिडबोटमा सवार १० जनामध्ये चार जनाको मृत्यु भएको छ भने बाँकी ६ जना घाइते भएका छन्। क्युबाले ती व्यक्तिहरू “आतङ्ककारी उद्देश्यसहित घुसपैठ” गर्न आएको दाबी गर्दै उनीहरूले नै पहिले गोली चलाएको जनाएको छ।
अमेरिकी अधिकारीले मृतकमध्ये एक जना अमेरिकी नागरिक भएको पुष्टि गरेका छन्। अर्का एक जना अमेरिकी नागरिकका मंगेतरका लागि दिइने ‘के-१’ भिसामा रहेका व्यक्ति थिए। यद्यपि, डुङ्गाका मालिकले भने उक्त स्पिडबोट आफ्नै एक कर्मचारीले चोरी गरेको आरोप लगाएका छन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो ले यस घटनालाई “अत्यन्त असामान्य” भन्दै अमेरिकाले अनुसन्धान गरिरहेको बताएका छन्। उनले यो कुनै अमेरिकी सरकारी अपरेशन नभएको र अमेरिकी सरकारी कर्मचारी संलग्न नभएको स्पष्ट पारे।
क्युबाली अधिकारीहरूले भने सबै १० जना अमेरिकामा बसोबास गर्ने क्युबाली नागरिक रहेको बताएका छन्। साथै, उनीहरूले घटनामा संलग्न भएको स्वीकार गरेको भन्दै एक जना ११ औँ व्यक्तिलाई पनि पक्राउ गरिएको जनाएका छन्।
क्युबाली पक्षले स्पिडबोटबाट ह्यान्डगन, असल्ट राइफल, अस्थायी विस्फोटक उपकरण लगायतका हतियार बरामद गरिएको दाबी गरेको छ। साथै, अधिकांश यात्रुहरूको आपराधिक तथा हिंसात्मक गतिविधिसँग सम्बन्धित पुरानो रेकर्ड रहेको पनि बताइएको छ।
यो घटना अमेरिका र क्युबाबीच बढ्दो तनावका बीच भएको हो। केही समयअघि अमेरिकी सैन्य कारबाहीमा भेनेजुएलाका नेता निकोलस मदुरो पक्राउ परेका थिए।
त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई “सम्झौता गर” नभए परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए। उनले क्युबातर्फ जाने तेल आपूर्ति रोकिने पनि बताएका थिए।