अमेरिकाको क्यालिफोर्नियामा रहेको प्रजनन क्लिनिक विस्फोटमा संलग्न आरोपित ड्यानियल पार्कको जेलमै मृत्यु भएको छ । यस महिनाको सुरुमा क्यालिफोर्नियाको एक प्रजनन क्लिनिकमा भएको कार बम विस्फोटमा संलग्न भएको उनीमाथि आरोप लागेको थियो ।
ड्यानियल पार्क अमेरिकी संघीय हिरासतमा रहेका थिए । उनको मृत्यु त्यही हिरासतमा भएको ब्यूरो अफ प्रिजन्सले जानकारी दिएको हो।
३२ वर्षीय ड्यानियल पार्क वाशिंगटन राज्यका बासिन्दा थिए । उनी मंगलबार लस एन्जलसको मेट्रोपोलिटन डिटेन्शन सेन्टरमा अचेत अवस्थामा फेला परेका थिए ।
ड्यानियल पार्कमाथि प्रतिबन्धित विस्फोटक उपकरण बनाउने षड्यन्त्र र आतंकवादको अभियोग लगाइएको थियो । यो आरोप गाइ एडवार्ड बार्टकससँगको सम्बन्धमा रहेको थियो ।
उनी क्यालिफोर्नियाको पाम स्प्रिंग्सस्थित एउटा प्रजनन क्लिनिकबाहिर भएको कार बम विस्फोटमा मुख्य शंका गरिएको व्यक्ति हुन्। बार्टकस विस्फोट भएको गाडीको छेउमै मृत अवस्थामा भेटिएका थिए ।
विस्फोट १७ मे २०२५ मा बिहान ११ बजे भएको थियो । विस्फोटपछि आगलागी भएको थियो । चारजना घाइते भएका थिए । पार्कलाई यस महिनाको सुरुमा न्यूयोर्कको जोन एफ केनेडी विमानस्थलबाट पक्राउ गरिएको थियो ।
उनी ३० मेमा पोल्याण्डमा समातिएका थिए । अधिकारीहरूका अनुसार विस्फोट भएको चार दिनपछि पार्क युरोप भागेका थिए ।
अधिकारीहरूका अनुसार पार्कले सिएटलबाट क्यालिफोर्नियामा बसोबास गरिरहेका बार्टकसलाई लगभग १८० पाउन्ड अमोनियम नाइट्रेट पठाएका थिए ।
जुन घरमै बम बनाउन प्रयोग हुने रसायन हो । पार्कले थप ९० पाउन्ड अमोनियम नाइट्रेट पनि खरिद गरेका थिए। पार्क र बार्टकसको कसैलाई पनि आफ्नो सहमति बिना जन्म दिनु गलत हो भन्ने मान्यता रहेको थियो ।
दुवैजनाले अनलाइन च्याट फोरममार्फत एक–अर्कालाई भेटेको अनुसन्धानमा खुलेको छ । यस घटनाले अमेरिका भित्र बढ्दो घरेलु उग्रवाद र अनलाइन अतिवादी विचारधाराले कसरी खतरनाक रूप लिइरहेको छ भन्ने देखाएको छ ।
ड्यानियल पार्कको मृत्यु अझै अनुसन्धानको विषय छ । अधिकारीहरूले घटनाको विस्तृत छानबिन गरिरहेको बताएका छन्।