प्रकाशित मिति : मंसिर २०, २०८१ बिहीबार
क्यालिफोर्नियाको उत्तरी सकरामेन्टोमा रहेको फेदर रिभर एड्भेन्टिस्ट स्कूलमा बुधबार भएको गोलीकाण्डमा दुई बालक गम्भीर घाइते भएका छन्। उक्त विद्यालयमा भएको घटनामा पाँच र छ वर्षका दुई बालकलाई गोली लागेको थियो।
बुट काउन्टीका शेरिफ कोरी होनेका अनुसार घाइते बालबालिकाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटना पछि घटनास्थलमै शंकास्पद आक्रमणकारीको शव भेटिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार उक्त व्यक्तिले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ।
विद्यालयसँग सम्बन्धित कुनै धार्मिक कारणले आक्रमणकारीले यो आक्रमण गरेको हुनसक्ने प्रारम्भिक तथ्य भेटिएको शेरिफ होनेले बताएका छन्। उक्त व्यक्तिले विद्यालयमा एक बालकलाई भर्ना गराउन भनेर त्यहाँको प्रशासकसँग भेट गरेका थिए।
छैठौं कक्षामा अध्ययनरत विद्यार्थी जोसलिन ओरलान्डोले घटनाको विवरण दिँदै भनिन्, “मैले झ्यालबाट हतियारसहितको छायाँ देखेँ र चाँडो भाग्न सबैलाई भने।”
जोसलिनका बुबाले आफ्नो छोराछोरी निजी विद्यालयमा पठाउँदा सुरक्षित हुने विश्वास गरेको बताए। “तर यस्तो घटना भएपछि अब यस्तो ठाउँ पनि सुरक्षित छैन भन्ने महसुस भएको छ,” उनले भने।
फेदर रिभर एड्भेन्टिस्ट स्कूलमा किन्दरगार्टेनदेखि आठौं कक्षासम्मको अध्ययन हुन्छ। विद्यालयमा करिब ३५ विद्यार्थी छन्। घटनापछि बुट काउन्टीका अधिकारीहरूले उक्त चर्चसँग सम्बन्धित अन्य विद्यालयहरूलाई सतर्क रहन आग्रह गरेका छन्।
उत्तरी क्यालिफोर्नियाको सेभेन्थ-डे एड्भेन्टिस्ट सम्मेलनका सञ्चार निर्देशकले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले पीडित बालबालिका र तिनका परिवारप्रति प्रार्थना गर्न आग्रह गरेका छन्।
शंकास्पद व्यक्तिको मनोवृत्ति र उद्देश्य बुझ्न थप अनुसन्धान भइरहेको छ । घटनापछि विद्यालयका अन्य विद्यार्थीलाई नजिकैको चर्चमा अभिभावकहरूसँग पुनर्मिलन गराइएको थियो। “घटना केवल घाइते बालबालिकाका लागि मात्र नभएर सबै बालबालिकाको मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्नेछ,” बुट काउन्टीका डिस्ट्रिक्ट एटोर्नी माइक राम्सेले भने।