प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार

सन् २०१५ मा जस्टिन ट्रुडो प्रधानमन्त्री निर्वाचित भएयता क्यानाडामा पहिलो पटक आप्रवासी आगमनमा ठूलो गिरावट आएको छ। हालै सार्वजनिक गरिएको संघीय सरकारी तथ्यांकअनुसार सन् २०२४ को तुलनामा सन् २०२५ मा क्यानाडा भित्रिने आप्रवासीको संख्यामा १९ प्रतिशतले कमी आएको छ।
सरकारी तथ्यांकअनुसार सन् २०२४ मा ४ लाख ८३ हजार ६ सय ५५ आप्रवासी क्यानाडा आएका थिए भने सन् २०२५ मा यो संख्या घटेर ३ लाख ९३ हजार ५ सय ३० मा सीमित भएको छ। कोरोना महामारीको समयलाई छाड्ने हो भने एक दशकयताकै यो सबैभन्दा न्यून स्तर हो। क्यानाडाले विगत १० वर्षदेखि अपनाउँदै आएको तीव्र आप्रवासनको नीतिमा यो एउटा ठूलो परिवर्तन मानिएको छ।
यो गिरावट क्यानाडाका विभिन्न क्षेत्रमा असमान देखिएको छ। एसोसिएसन फर क्यानेडियन स्टडीजका अनुसार एटलान्टिक क्यानाडा र प्रेरी प्रान्तहरूमा सबैभन्दा धेरै गिरावट आएको छ। प्रिन्स एडवर्ड आइल्याण्डमा ४४ प्रतिशत, सास्काचेवानमा ४० प्रतिशत र अल्बर्टामा ३२ प्रतिशतले आप्रवासी घटेका छन्। अर्कोतर्फ क्युबेक र उत्तरी क्षेत्रहरूमा भने आप्रवासीको संख्यामा सामान्य वृद्धि देखिएको छ।
आप्रवासीको श्रेणीअनुसार हेर्दा शरणार्थी कोटि सबैभन्दा बढी प्रभावित भएको छ, जसमा २३ प्रतिशतले गिरावट आएको छ। त्यस्तै आर्थिक श्रेणीका आप्रवासीमा १९ प्रतिशत र पारिवारिक प्रायोजनमा आउनेहरूमा १० प्रतिशतले कमी आएको छ। अध्ययन अनुमति पाउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्यामा पनि २५ प्रतिशतभन्दा बढीको गिरावट देखिएको छ। विशेषगरी भारतबाट आउने विद्यार्थीहरूको संख्यामा ५० प्रतिशतले कमी आएको तथ्यांकले देखाएको छ।
क्यानाडा सरकारले सन् २०२६-२०२८ का लागि नयाँ आप्रवासन योजना सार्वजनिक गर्दै संख्यालाई थप कम गर्ने र दिगो बनाउने लक्ष्य राखेको छ। क्यानाडामा बढ्दो आवास संकट र सार्वजनिक स्रोतहरूमा परेको दबाबका कारण जनमत आप्रवासनको विपक्षमा उभिएपछि सरकारले यो कठोर कदम चालेको विश्लेषण गरिएको छ। हालैको एक सर्वेक्षणअनुसार ६० प्रतिशत क्यानेडियनहरूले देशमा “धेरै धेरै” आप्रवासी भित्रिएको महसुस गरिरहेका छन्।