प्रकाशित मिति : कार्तिक १३, २०८१ मंगलबार
क्यानाडाको सरकारले मङ्गलबार हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीका नजिकका सहयोगी रहेका भारतीय गृह मन्त्री अमित शाह क्यानाडामा सिख पृथकतावादीलाई लक्षित गर्ने योजनाहरूको पछाडि रहेको आरोप लगाएको छ। भारतीय सरकारले क्यानाडाको यस अगाडिको आरोपलाई आधारहीन भन्दै कुनै संलग्नता नभएको बताउँदै आएको छ ।
क्यानाडाका अधिकारीहरूले भारतीय गृहमन्त्री शाहलाई क्यानडामा सिख पृथकतावादीलाई लक्षित गर्ने हिंसा र आतंकित गर्ने अभियानको पछाडि संलग्न रहेको आरोप लगाएका छन्। क्यानाडाका उप विदेश मन्त्री डेविड मोरिसनले मङ्गलबार एक संसदीय प्यानललाई शाह योजनाको पछाडि संलग्न रहेको बताएका थिए। ओट्टावा स्थित भारतीय उच्च आयोग र भारतीय विदेश मन्त्रालयले यसबारे तत्काल टिप्पणी गरेको छैन ।
यसैबीच अमेरिकाले पनि पूर्व भारतीय गुप्तचर अधिकृत विकाश यादवलाई पक्राउ गरेको थियो, जसले न्युयोर्क सिटीमा सिख पृथकतावादी नेता गुरुपतवन्त सिङ्ग पन्नुनको हत्या गर्न असफल प्रयासको निर्देशन दिएको आरोप छ। पन्नुन न्युयोर्क सिटी निवासी अमेरिका र क्यानडाको दोहोरो नागरिकता भएका भारतीय आलोचक हुन्।
एफबीआईले अमेरिकी बासिन्दालाई लक्षित गर्ने यस्तो गतिविधिविरुद्ध चेतावनी दिएको छ। भारतले नोभेम्बर २०२३ मा अमेरिका द्वारा लगाइएका आरोपको औपचारिक अनुसन्धान गर्ने निर्णय गरेपछि सार्वजनिक रूपमा धेरै कुरा भनेको छैन।
क्यानडाले हालै आपराधिक संलग्नताको आरोपमा भारतीय कूटनीतिज्ञहरूलाई निष्कासन गरेको थियो । क्यानाडाली सिख पृथकतावादीहरूलाई धम्की दिने र उत्पीडन गर्ने लक्ष्यका साथ भारत सरकार र यसका एजेन्टहरूले क्यानाडामा व्यापक आपराधिक नेटवर्क चलाइरहेको क्यानाडाका अधिकारीहरूले बताएका थिए ।
फिरौती र हत्या सहित गतिविधिमा संलग्न भएको आरोप लगाउँदै भारतका उच्च कूटनीतिज्ञ वर्मासहितका अन्य कूटनीतिज्ञहरूलाई क्यानडाबाट निष्कासन गरिएको थियो । भारत सरकारले भने चरमपन्थ र हिंसाको वातावरणका कारण आफ्ना कूटनीतिज्ञहरूको सुरक्षालाई खतरामा पारेको कूटनीतिज्ञहरूलाई क्यानडाबाट फिर्ता बोलाएको बताएको थियो ।
भारत सरकारले दूतावासका दोस्रो उच्च श्रेणीका कूटनीतिज्ञ स्टीवर्ट ह्वीलर सहित छ जना क्यानाडाली कूटनीतिज्ञहरूलाई भारतबाट निष्कासन गरेको थियो । जुन २०२३ मा क्यानडाको ब्रिटिश कोलम्बियामा क्यानाडाली सिख धर्मगुरुको हत्या पछि दुई देशहरूबीच गहिरो विवाद जारी छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको सरकारले उक्त हत्या भारत सरकारले गराएको बताएको थियो।
क्यानाडामा ठूलो संख्यामा सिख समुदायको बस्दै आएको छ । भारतले क्यानडाका केही सिखहरू पृथकतावादी आन्दोलनमा सक्रिय रूपमा संलग्न रहेको आरोप लगाउँदै आएको छ । भारत सरकारले धर्मगुरुको हत्यामा संलग्न रहेको आरोपलाई कडाइका साथ अस्वीकार गरेको छ र प्रधानमन्त्री ट्रुडोले राजनीतिक लाभका लागि क्यानडाको ठूलो सिख समुदायलाई चलाइरहेको दाबी गरेको छ।
ब्रिटिश कोलम्बियाको सरेमा रहेको एक सिख मन्दिरका प्रमुख सिख नेता र अध्यक्ष ४५ वर्षीय हरदीप सिंह निज्जर गत वर्ष मन्दिर बाहिर मारिएका धर्मगुरु थिए। यो घटनामा तीन भारतीय नागरिकलाई पक्राउ गरी अनुसन्धान जारी रहेको छ ।
प्रधानमन्त्री जस्टिन ट्रुडोले हालै आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा क्यानडामा सिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्याको मुद्दा उठाएका थिए । मोदीले निज्जरको हत्यामा भारतको भूमिकालाई अस्वीकार गरेका छन् । दुई नेताले पछिल्लो पटक नयाँ दिल्लीमा यस महिनाको सुरुमा जी २० शिखर सम्मेलनमा व्यक्तिगत रूपमा भेटेका थिए।
भारतले सिख पृथकतावादीलाई आतंकवादी भन्दै आफ्नो सुरक्षाका लागि खतरा भएको बताउँदै आएको छ । सिख पृथकतावादीले भारतबाट अलग भएर खालिस्तान नामको स्वतन्त्र भूमिको माग गर्छन् । सन् १९८० र ९० को दशकमा भारतमा भएको यो विद्रोहले हजारौंको ज्यान लिएको थियो। त्यस अवधिमा १९८४ को सिख विरोधी दङ्गामा हजारौंको मृत्यु भएको थियो, जुन समय तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको सिख अंगरक्षकले हत्या गरेपछि भएको थियो। उनले सिख पृथकतावादीलाई निकाल्नका लागि सुरक्षाकर्मीलाई पवित्र सिख मन्दिरमा प्रवेश गर्न आदेश दिएकी थिइन्।
के हो खलिस्तान आन्दोलन?
क्यानडामा सिख पृथकतावादी नेता निज्जरको हत्याले खलिस्तान नामक स्वतन्त्र सिख मातृभूमिको निर्माणको लागि दशकौं पुरानो अभियान चर्चामा आएको थियो। हरदीप सिंह निज्जरले समर्थन गरेको आन्दोलनले भारतबाट स्वतन्त्र सिख राज्य चाहन्छ। सन् १९४७ मा भारत र पाकिस्तानको स्वतन्त्रताको समयमा दुई नयाँ देशहरू बीच पञ्जाब क्षेत्रको विभाजन अघिको वार्तामा यो विचार अगाडि बढाइएको थियो।
सिख धर्म १५ औं शताब्दीको उत्तरार्धमा पञ्जाबमा स्थापित भएको थियो र हाल संसारभरि लगभग २५ मिलियन अनुयायीहरू छन्। सिखहरू पञ्जाबको जनसंख्याको बहुसंख्यक छन् तर भारतमा अल्पसंख्यक छन्, जसको १ दशमलव ४ बिलियन जनसंख्याको २ प्रतिशत छ। सिख पृथकतावादीहरूले आफ्नो मातृभूमि खालिस्तान पञ्जाबबाट अलग गर्न माग गरेका छन्। यो माग धेरै पटक सतहमा आएको थियो । सबैभन्दा प्रमुख रूपमा सन् १९७० र १९८० को दशकमा भएको हिंसात्मक विद्रोहको समयमा आयो, जसले पञ्जाबलाई एक दशकभन्दा बढी समयसम्म पक्षाघात बनाएको थियो।
खलिस्तान आन्दोलनलाई भारत सरकारले सुरक्षा खतरा मानेको छ। सरकार र सिख पृथकतावादीहरू बीचको द्वन्द्वको सबैभन्दा रक्तपातपूर्ण घटना १९८४ मा भएको थियो । तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको सिख गार्डहरूले गरेको हत्यापछि सिख विद्रोहीहरूविरुद्ध ठूलो सरकारी कारवाही गरिएको थियो ।
४५ वर्षीय निज्जरलाई भारतले आतंकवादी भनेर घोषणा गरेको तीन वर्षपछि गोली हानी हत्या गरिएको थियो। निज्जरले भारतको उत्तरी राज्य पञ्जाबमा पाकिस्तानसँग सीमा जोडिएको सिखको मातृभूमिको पृथकतावादी मागलाई समर्थन गर्दै आएका थिए । यो मृत्युको समयमा उनले स्वतन्त्र सिख राष्ट्रको लागि भारतमा अनौपचारिक जनमत संग्रहको आयोजना गरिरहेको बताइएको थियो ।
भारतीय अधिकारीहरूले निज्जरलाई भारतमा एक हिन्दू पुजारीमाथि भएको कथित आक्रमणमा संलग्न भएको आरोप लगाउँदै पक्राउ गर्नका लागि जानकारी दिनेलाई नगद पुरस्कारको घोषणा गरेका थिए। निज्जरको जन्म १९७७ मा भारतको उत्तरी राज्य पञ्जाबको जालन्धर जिल्लामा भएको थियो र सन् १९९७ मा क्यानाडा सरेका थिए । क्यानडामा उनले प्लम्बरको रूपमा काम गरेका थिए ।
उनी सुरुमा बब्बर खालसा इन्टरनेशनल सिख पृथकतावादी समूहसँग सम्बद्ध थिए । नयाँ दिल्लीले बब्बर खालसा इन्टरनेशनललाई आतंकवादी संगठनको रूपमा सूचीबद्ध गरेको छ र यसलाई पाकिस्तानको जासूस एजेन्सी इन्टर सर्भिसेस इन्टेलिजेन्स आईएसआईद्वारा वित्त पोषित गरेको भारतीय आरोप छ, जुन आरोपको पाकिस्तानले भने अस्वीकार गर्दछ। निज्जर पछि खालिस्तान टाइगर फोर्स समूहको प्रमुख बने र यसका सदस्यहरूलाई सक्रिय रूपमा सञ्चालन, नेटवर्किङ, प्रशिक्षण र वित्तपोषणमा संलग्न थिए ।
नयाँ दिल्लीले आधिकारिक रूपमा उनलाई आतंकवादीको रूपमा वर्गीकृत गर्दै देशद्रोह र विद्रोहको आरोप लगाउनुका साथै विभिन्न समुदायहरू बीच असमानता सिर्जना गर्ने प्रयासमा संलग्न रहेको आरोप लगाएको थियो । खालिस्तानको तथाकथित स्वतन्त्र सिख राज्यको माग गर्ने समर्थकहरूका लागि भने निज्जर एक प्रमुख नेता र बलियो आवाज थिए। उनी बस्ने भ्यानकुभर उपनगर सरेमा रहेको सिख पूजास्थल गुरु नानक सिख गुरुद्वाराको प्रमुख चुनिएका थिए। उनको मृत्युको समयमा उनी यही पदमा थिए ।
खालिस्तानका बारेमा पञ्जाबमा अहिले कुनै सक्रिय विद्रोह छैन, तर अझै पनि खालिस्तान आन्दोलनका केही समर्थकहरू भने छन् । साथसाथै विदेशमा रहेका ठूलो सिख डायस्पोरामा पनि यसका समर्थकहरु छन् । भारत सरकारले सिख पृथकतावादीहरूले पुनरागमन गर्ने प्रयास गरिरहेको भन्दै वर्षौंदेखि बारम्बार चेतावनी दिँदै आएको छ। मोदीको सरकारले सिख पृथकतावादीहरूको खोजीलाई पनि तीब्र बनाएको छ र आन्दोलनसँग सम्बन्धित कथित विभिन्न संगठनका दर्जनौं नेताहरूलाई गिरफ्तार गरेको छ। यद्यपी सिख पृथकतावादी आन्दोलन दशकौंदेखि अस्तित्वमा छैन।
भारतले क्यानडा, अष्ट्रेलिया र युनाइटेड किंगडम जस्ता देशहरूलाई सिख कार्यकर्ताहरू विरुद्ध कानुनी कारबाही गर्न आग्रह गर्दै आएको छ। यसले विशेष गरी क्यानडासँग यी चिन्ताहरू उठाएको छ, जहाँ सिखहरू देशको जनसंख्याको लगभग २ प्रतिशत छन्। गतबर्ष लन्डनमा रहेको देशको उच्चायोगमा सिख प्रदर्शनकारीहरूले भारतीय झण्डा तल झारेका थिए । खालिस्तानको लागि आह्वान गर्ने ३० वर्षीय पृथकतावादी नेता अमृतपाल सिंहलाई गिरफ्तार गर्ने कदमको बिरूद्ध आक्रोशको प्रदर्शनमा भवनको झ्याल फुटाएका थिए । जसले पञ्जाबमा हिंसाको डर पैदा भएको थियो ।
प्रदर्शनकारीहरूले सान फ्रान्सिस्कोस्थित भारतीय वाणिज्य दूतावासको झ्यालहरू पनि तोडफोड गरेका थिए भने दूतावासका कर्मचारीहरूसँग झडप गरेका थिए । भारतले घटनाहरूको निन्दा गर्नुका साथै नयाँ दिल्लीमा बेलायतको उप(च्चायुक्तलाई बोलाएर लन्डनस्थित दूतावासमा सुरक्षाको उल्लङ्घन भएको बताएको थियो । भारत सरकारले क्यानडामा खलिस्तान समर्थकहरूलाई भारत विरोधी भित्ते चित्रहरु बनाएर हिन्दू मन्दिरहरू तोडफोड गरेको र ओटावामा रहेको भारतीय उच्चायोगको कार्यालयमा मार्चमा प्रदर्शनको क्रममा आक्रमण गरेको आरोप पनि लगाएको छ।
२ बर्ष अगाडि सिख पृथकतावादी नेता र खालिस्तान कमाण्डो फोर्सका प्रमुख परमजीत सिंह पञ्जवारलाई पाकिस्तानमा गोली हानी मारिएको थियो।