प्रकाशित मिति : चैत्र २९, २०८१ शुक्रबार
अमेरिकाको कोलम्बिया विश्वविद्यालयका पूर्वविद्यार्थी महमूद खलिललाई देश निकाला गर्न ट्रम्प प्रशासनलाई अदालतले अनुमति दिएको छ ।
अमेरिकी न्यायाधीशले कोलम्बिया विश्वविद्यालयका स्नातक र प्यालेस्टाइनी अधिकारका पक्षमा बोल्दै आएका महमूद खलिललाई अमेरिका बाट निर्वासित गर्न ट्रम्प प्रशासनलाई अनुमति दिएका हुन ।
खलिललाई गत महिना गिरफ्तार गरिएको थियो । तर उनलाई कुनै पनि आपराधिक अभियोग लगाइएको छैन ।
३० वर्षीय खलिल ग्रीन कार्ड होल्डर हुन् । उनी गत वर्ष गाजामा भएको युद्ध विरुद्धमा आयोजित विरोध प्रदर्शनहरूमा कोलम्बिया विश्वविद्यालयमा नेतृत्वदायी भूमिकामा रहेका थिए ।
उनलाई ८ मार्चदेखि लुइसियानाको एक आप्रवासन केन्द्रमा राखिएको छ । उनलाई त्यही दिन आप्रवासन अधिकारीहरूले गाजामा युद्ध विरोधी प्रदर्शनमा भाग लिएको आरोप लगाउँदै गिरफ्तार गरेका थिए ।
सरकारले १९५२ मा पारित पुरानो आप्रवासन कानुन प्रयोग गर्दै खलिललाई देश निकाला गरेको हो । अमेरिकी वैदेशिक नीतिमा प्रतिकूल असर पार्ने भन्दै खलिललाई सरकारले देश निकाला प्रक्रिया अघि बढाएको थियो ।
न्यायाधीशले सरकारको दावीलाई सामान्य रूपमा तर्कसंगत भन्दै मान्यता दिएका छन् । तर खलिलका वकिलहरूले यो निर्णयविरुद्ध २३ अप्रिलसम्म अपिल गर्न सक्नेछन् । त्यसअघि उनी तुरुन्तै देश निकाला हुने छैनन् ।
निर्णयपछि खलिलले अदालतलाई सम्बोधन गर्दै न्याय र मौलिक निष्पक्षता भन्दा महत्वपूर्ण केही छैन भन्दै आज जुन निर्णय गरिएको छ त्यसमा यी कुनै पनि मूल्य देखिएनन् भन्दै असन्तुष्टि जनाएका छन ।
अमेरिकी नागरिक स्वतन्त्रता संघ ले यो निर्णयलाई पहिल्यै लेखिएको भन्दै आलोचना गरेको छ ।
विदेशमन्त्री मार्को रुबियोले खलिलका गतिविधि वैधानिक भए पनि यहूदी विद्यार्थीहरूको सुरक्षाका लागि उनलाई देश निकाला गर्नुपर्ने अबस्था आएको बताएका छन ।