कोइराला–चौधरीको त्यो नोकझोक र यो कारबाही


नेपाली कांग्रेसको अनुशासन समितिले सार्वजनिक गरेको ‘कारबाही’ सूचीले नेता डा. शेखर कोइराला समूहमा हलचल मच्चाएको छ। आनन्दप्रसाद ढुंगाना नेतृत्वको अनुशासन समितिले बुधबार मात्रै पार्टी १८ जना नेता कार्यकर्ताहरूलाई निष्कासन र निलम्बन गर्ने निर्णय सार्वजनिक गरेको थियो।  

जसमा गण्डकीका पूर्व मन्त्री कुमार खड्का, कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ कांग्रेसका जिल्ला सभापति विष्णुकुमार राईलगायत छन्।  कारबाहीमा परेका मुख्य नेताहरू शेखर समूह निकटकै मानिन्छन्। यसैले शेखर समूहले आफ्नो समूहका नेतामाथि संस्थापन पक्षले गुटगट ‘प्रतिशोध साँधेको’ आरोप लगाएको छ। 

यसै सन्दर्भमा समूहका नेता कोइरालाले बिहीबार बालुवाटारस्थित सम्पर्क कार्यालयमा समूहको बैठक डाँकेका थिए। जसमा कोइरालासहित उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्यहरू मीनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, बलबहादुर केसी, हृदयराम थानी, दिलेन्द्रप्रसाद बडु, चन्द्र भण्डारी, सरिता प्रसाईँ, दीपक गिरी, सञ्जय गौतम, गुरुराज घिमिरेलगायत नेता  सहभागी थिए।

उक्त बैठकले पनि कारबाहीमा परेका नेतामाथि संस्थापन पक्षले गुटगट ‘प्रतिशोध साँधेको’ नै निष्कर्ष निकालेको छ। बैठकले कारबाहीलाई प्रतिशोधपूर्ण मात्र नभई ‘अवैधानिक समेत रहेको’ निष्कर्ष निकालेको छ। 

यस्तै कारबाहीको निर्णयविरुद्ध प्रतिवाद गर्ने पनि बैठकले अर्को निष्कर्ष निकालेको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता गुरुराज घिमिरेले तीन चरणका प्रतिवादका कार्यक्रमबारे पनि सुनाए। 

घिमिरेले भनेअनुसार पहिलो चरणमा पार्टी सभापति शेरबहादुर देउवासँग  कारबाहीबारे कुरा गर्ने, दोस्रो चरणमा पार्टी अनुशासन समितिले बहुमतबाट  गरेको निर्णय अन्तिम नहुने भन्दै केन्द्रीय समितिमा प्रस्ताव जाँदा पुनरावेदनमाथि छलफल गरेर पुनरावलोकन गर्ने र तेस्रो चरणमा पार्टीभित्र प्रतिस्पर्धी समूहलाई पाखा लगाउने, पेल्ने प्रयत्न भएको भन्दै त्यसको शालीन र सभ्य रूपबाट त्यसको प्रतिवाद गर्ने निर्णय भएको घिमिरेले बताए। उनका अनुसार प्रतिवाद भेला, विज्ञप्तिलगायत प्रकारले हुने पनि बताए। 

प्रतिवादको थालनी

शेखर समूहका नेताले यो निर्णय गर्नु पूर्व र पछि मौखिक प्रतिवाद थालिसकेका छन्। समूहको बैठकमै उपसभापति धनराज गुरुङ, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, अनुशासन समितिकै सदस्य रहेका सञ्जय गौतमले असन्तुष्टि पोखे।  केसीले पार्टीमा लामो समय काम गरेका र योगदान गरेका नेतामाथि अनुशासनको कारबाही हुनु दुखद रहेको बताए। 

अनुशासन समितिका सदस्य गौतमले अनुशासन समितिमा २१ सय वटा उजुरी आएको सुनाउँदै त्यसमा पर्याप्त छलफल भएको बताए। आफूले पार्टीबाट निकाल्ने गरी नै अनुशासनको डन्डा चलाउन नहुने भन्दै असहमति राख्दा पनि बहुमतबाट कारबाही गरिएको गौतमको भनाई थियो। 

यता यो निर्णय हुनुअघि नै शेखर समूहका नेताहरूले बुधबारैदेखि सञ्चारमाध्यममा प्रतिवाद थालिसकेका थिए। जसको अग्र मोर्चामा गुरुराज घिमिरे थिए। उनले निर्वाचन भएको दुई वर्षपछि १४ औँ महाधिवेशनमा शेखर समूहकै उभिएका नेताहरूमाथि भएको कारबाही गलत नियतका साथ आएको बताएका थिए। 

१४ औँ महाधिवेशनमा शेखर समूहबाट उपसभापति लडेका नेता चन्द्र भण्डारीले बिहीबार फेसबुक स्टाटस नै राख्दै कारबाहीको निर्णय तुरुन्त फिर्ता लिन माग गरेका छन्। 

‘अनुशासनको कारबाही हो कि प्रतिशोध?,’ उनले लेखेका छन्, ‘आफ्नो पसल बन्द गराएर छिमेकीको पसल चलाउने रणनीति !’ उनले ढिलो गरी कारबाही गरेकामा पनि व्यंग्य कसेका छन्। ‘नेपाली उखान–पोहोर मरिन् सासू अहिले आए आँसु ! बेमौसमी बाजा !  गम्भीर आपत्ति! अपरिपक्व निर्णय तुरुन्त फिर्ता गर,’ भण्डारीले लेखेका छन्। 

कोइराला–चौधरीको त्यो नोकझोक र यो कारबाही

चौधरीतर्फ निशाना 

शेखर समूहले अहिलेको कारबाहीलाई अरबपति व्यवसायी समेत रहेका कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीसँग जोड्न खोजिरहेका छन्। शेखर समूहकै नेता एवं कोसी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कोइरालाले ‘कांग्रेस चौधरी ग्रुप बन्न सक्दैन’ भन्नेसम्मको टिप्पणी गर्दै ‘चन्दा कि बात करते हो !’ भनेर निसाना साँधेका छन्। 

‘कुनै समूह वा व्यक्ति चौधरी ग्रुपमा गए पनि समग्र कांग्रेस चौधरी ग्रुप हुन सक्दैन,’ कार्कीले लेखेका छन्, ‘स्व.कृष्णप्रसाद कोइराला भन्सारको ठेकेदार हुनुहुन्थ्यो, सर्वस्व गएको हो । चन्दा के बात करते हो ।’ 

कार्कीले सुवर्ण शमशेरले सम्पत्ति पार्टीलाई दिएर पार्टीमा समाहित भएर राणा शासन फाल्ने अभियानमा लागेको भनेर उल्लेख गरेका छन्। ‘पार्टीमा लामो योगदान भएकाहरू पनि सानो लोभले राजनीतिक जीवन कलंकित बनाएका छन्।  पार्टीले व्यापार र व्यवसायीको संरक्षण गर्नुपर्छ। तर व्यापारीकरण गर्न प्रयत्न गरे सहन सकिन्न,’ कार्कीले लेखेका छन्। 

त्यसपछि उनी कांग्रेसको अनुशासन समितिले केही नेतामाथि गरेको कारबाहीमा प्रवेश गरेका छन्। ‘अहिलेको कारबाही पूर्वाग्रही र व्यापारीकरणको पाइला हो,’ उनले लेखेका छन्।

कोइराला–चौधरीको त्यो नोकझोक र यो कारबाही
केदार कार्की

तल्लो तहका नेता मात्र होइन शेखर समूहका माथिल्लै स्तरका नेताले पनि चौधरीसँग यो कारबाहीलाई जोडिरहेका छन्। पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले शेखर समूहको बैठकमै त्यतातर्फ इंगित गर्दै धारणा राखे। उनले भने, ‘पार्टीमा लामो समयदेखि काम गरेका र योगदान भएकै नेताहरूमाथि अनुशासन कारबाही भएको छ, एउटा गिरोहको स्वार्थको निम्ति कतै यो कारबाही गरिएको त होइन भन्ने प्रश्न पनि उठेको छ।’ 

चौधरीमाथि यस कारण निसाना!

असार १६ गतेदेखि २३ गतेसम्म चलेको कांग्रेस केन्द्रीय समिति बैठकमा कोइराला र चौधरीबिच नोकझोक भएको थियो। बैठकको सुरुकै दिनमा आफ्नो धारणा राखेका कोइरालाले अनुशासन समितिको काममाथि प्रश्न उठाउँदै त्यसै प्रसङ्गमा चौधरीको नामै किटेर उनीबारे पनि बोलेका थिए। 

‘विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन? त्यो हेरियो? क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो?,’ कोइरालाले प्रश्न गरेका थिए, ‘सभापति ज्यूलाई स्मरण होला, पहिलो पटक गिरिजाप्रसाद कोइरालासँग उहाँ सभापतिमा प्रतिस्पर्धा गर्दै हुनुहुन्थ्यो। उक्त महाधिवेशनमा सुजाता कोइरालाले केन्द्रीय सदस्य लड्ने इच्छा व्यक्त गर्नुभयो । १० वर्ष नपुगेकोले गिरिजाबाबुले सुजातालाई उम्मेदवार बन्न दिनुभएन।’

यसरी आफू विरुद्ध कोइरालाले बैठकमा धारणा राखेपछि चौधरी पनि प्रतिवादमा उत्रिएका थिए। दोस्रो दिन असार १७ चौधरीले ‘गुटको राजनीति पनि सीमामा बसेर गर्न’ भन्दै जवाफ दिएका थिए।  ‘नेता कोइरालाले हिजो जे बोल्नुभयो त्यसलाई म सम्मान गर्छु । व्यक्तिगत रूपमा जुन तरिकाले उहाँले अनुशासन समितिमाथि र मेरो योग्यतामाथि प्रश्न उठाउनुभएको छ,’ चौधरीले जवाफ दिँदै भनेका थिए, ‘गुटको राजनीतिको पनि सीमा हुन्छ ।’

त्यसपछि चौधरी पार्टीविरुद्धमा गतिविधि गर्ने र आधिकारिक उम्मेदवारलाई हराउन लाग्नेलाई संरक्षण गर्न कोइराला लागिपरेको दाबी गरेका थिए। जसमा उनले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालको नामै लिएर उनलाई कोइराला जोगाउन लागेको भनेका थिए। ‘हिजो चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन पार्टीका शीर्षस्थ नेताहरूलाई तथानाम गाली गरेर हराउन हर प्रयास गर्ने व्यक्ति लुम्बिनी प्रदेशको महामन्त्री पदमा आसीन भएर बस्ने मान्छेलाई बोकेर हिँड्ने नेताले यो पार्टीलाई हाँक्ने हो भोलिका दिन ?,’ चौधरीले कोइरालामाथि निसाना साँधेका थिए। 

कोइराला–चौधरीको त्यो नोकझोक र यो कारबाही
विक्रम खनाल

चौधरीले कोइरालामाथि निजी क्षेत्रबाट आएका नेताको अस्तित्व नस्विकारेको, अपमान गरेको र ‘डबल स्ट्यान्डर्ड’ राख्ने नेतासमेतको आरोप लगाएका थिए। ‘यस्ता नेताको गुटगत स्वार्थको सिकार हामीले भइदिनुपर्ने ?’ भन्दै चौधरीले प्रश्न समेत राखेका थिए। 

त्यसपछि शेखर समूहका नेताहरू चौधरीमाथि खनिँदै आएका छन्। नेता गुरुराज घिमिरेले त्यति बेलै फेसबुकमा स्टाटस लेखेर चौधरीमाथि आक्रमण गरेका थिए। जसमा उनले ‘चन्दा लिएबापत नेता तपाईँलाई नेता मान्न सकिदैन्’ भनेर जवाफ फर्काएका छन्। 

सँगै उनले लुम्बिनी प्रदेशमा महामन्त्री खनालको पक्ष लिएरै चौधरीमाथि खनिएका छन्। ‘विक्रम खनाल जुँगाको रेखी नबस्तै राजनीतिमा लागेको कांग्रेसको सिनियर युवा हो’ भन्दै उनले खनालको राजनीतिक व्यवस्थापन नगरी चौधरीलाई उनको क्षेत्रमा चुनाव लड्न दिएको उल्लेख गरेका छन्। 

‘तपाईँ उहाँको निर्वाचन क्षेत्रमा चुनाव लड्न जाँदा उहाँको मर्ममा कति प्रहार भयो होला ? साथै उहाँको राजनीतिक लगानी र त्यागको कति उपहास र अवमूल्यन भयो होला ? अनुमान गर्नुभएको छ?अनि यति सहजै अन्तर्घाती भन्दिने?,’ घिमिरेले लेखेका छन्, ‘चौधरी जी, आमोद, प्रमोद, ऐश्वर्यसहितको धनकुबेरको मात्र इतिहास लेखिदैन् । संघर्ष, योगदान, त्याग र निष्ठाले भरिपूर्ण सुदामाहरूको पनि लेखिन्छ भन्ने थाहा छ कि छैन?’

शेखर समूहकै केन्द्रीय सदस्य दिनेश कोइरालाले केन्द्रीय समिति बैठकमै चन्दा दिएकै भरमा नेता हुँ भन्ने दुस्साहस नगर्न भनेका थिए। ‘मैले चन्दा दिएको छु त्यस कारण मैले ताकि ताकि छानी छानी कारबाहीको डन्डा चलाउँछु भन्न हुँदैन,’ उनले भनेका थिए, ‘प्रतिस्पर्धीलाई रोजारोजी कारबाहीको डन्डा चलाउँछु भन्न हुँदैन।’ 

यसरी केन्द्रीय समिति बैठकमै कोइराला र चौधरीबिच विवादको कारक बनेका लुम्बिनी प्रदेशका महामन्त्री खनालसहितका नेता कार्यकर्तामाथि अहिले अनुशासन समितिको कारबाही हुँदा शेखर समूहले त्यसलाई चौधरीसँग जोड्न खोजिरहेका छन्। 

प्रकाशित: २६ असार २०८२ १७:४१ बिहीबार





Source link

Leave a Comment