ग्रिक ग्रन्थ ‘रिपब्लिक’मा प्लेटोले गुरु सोक्रेटसलाई सोधेका छन्– ‘गुरु, लोकतन्त्रका शत्रु के-के हुन् !’ प्रत्युत्तरमा दार्शनिक सोक्रेटस गम्भीर हुँदै भन्छन्- ‘नागरिक मोबोक्रेसी (भीडतन्त्र) बाट शासित हुनु नै लोकतन्त्रका शत्रु हुन्।’
आज वैश्विक लोकतन्त्र प्रियतावाद (पपुलिज्म), सामाजिक सञ्जाल, अन्ध राष्ट्रवाद, डिप फेक, अनर्गलवाद लगायतका भीडतन्त्रबाट शासित भएको छ। प्रियतावादका अधिनायकी (एन्टागोनिस्ट)ले शुद्ध नागरिक (अथेन्टिक)को भाष्य सृजना गरेका छन्। यस्ता नेतृत्वले आफूलाई जनताका संवेग र मनोभावसँग गाँसिएका ‘आत्मिक देवदूत’का रूपमा परिभाषित गरेका छन्।
खुला उदारवादी लोकतन्त्रको परिणाम नै प्रियतावाद हो। मायावी (डेमो फोविया) शासनको दृष्टिकोण र जनतावादी कार्यशैली हो। विश्वका वामपन्थी, दक्षिणपन्थी र लोकतन्त्रवादी सबै धारका शासक प्रियतावाद चरित्र र कार्यशैलीबाट मुक्त छैनन्। यो नवीन राजनैतिक दर्शन होइन, संयुक्त राज्य अमेरिकामा सन् १८९० मा पपुलिस्ट पार्टीले बीजारोपण गरेको अंकुरण मात्र हो। त्यसताका सम्भ्रान्त वर्गको कटाक्ष गर्दै किसानहरूको अधिकार, मौद्रिक सुधार र औद्योगिक एकाधिकारको स्वर मुखरित भएको थियो।
रूसमा ‘नारोडनिक आन्दोलन’ ले जारवादी शासन विरुद्ध ग्रामीण किसानलाई मोर्चाबन्दी बनाएको थियो। युरोपमा बेनिटो मुसोलिनी र एडोल्फ हिटलर जस्ता फासिस्ट नेताहरूले पनि जनताको प्रियताको आवरणमा मुलुकलाई खरानी बनाए। पछि २०औं शताब्दीमा पनि ल्याटिन अमेरिकी मुलुक अर्जेन्टिनामा जुआन पेरोन र ब्राजिलमा गेटुलियो वर्गास जस्ता नेताहरूले सामाजिक न्यायको भ्रम छरेर नागरिकलाई भुलभुलैयामा पारेका थिए।
शीतयुद्ध पछिको पूर्वी यूरोपमा साम्यवादको पतन भयो। सन् २००६ मा बोलिभियाका शासक इभो मोरालेस पहिलो आदिवासी समूहबाट राष्ट्रपति भए। उनले गरिब समर्थक नीति, स्रोतको राष्ट्रियकरण र सामाजिक कल्याणमा सुधारको खाका ल्याए। उनको नेतृत्वले गरिबी घट्यो र साक्षरता बढ्यो, उनी बोलिभियाली नागरिकका लागि तिलस्मी नायक बने।
हंगेरीमा विक्टर ओर्बानले राष्ट्रवादी आवरणमा वैश्विकवादको उछित्तो काढे र कडा अध्यागमन नीति लागू गरी राष्ट्रवादी चरित्रमा रूपान्तरण भए। भेनेजुएलामा समाजवादी नेता ह्युगो चाभेजले गरिब र सर्वहारा वर्गको मनमस्तिष्कबाटै नागरिकको मत बटुले। सामाजिक सुरक्षाका गरिबमुखी कल्याणकारी पुनर्वितरण नीति त ल्याए। कालान्तरमा मुलुक नै आर्थिक कंगाल बनाइदिए।
फिलिपिन्समा रोड्रिगो डुटेर्टेले अन्तर्राष्ट्रिय कानुन विरूद्ध अपराध रोक्न कडा कानुन ल्याए र भ्रष्टाचार र अपराधलाई सम्बोधन गरे। टर्कीका रेसेप तैयप एर्दोगान सन् २०१७ देखि धार्मिक रुढीवाद र आर्थिक वृद्धिमा केन्द्रित थिए र उनले इस्लामिक पहिचानमा मात्र जोड दिए। ब्राजिलका शासक लुला डा. सिल्भाले ‘बोल्सा परिवार’ जस्ता सामाजिक कल्याण कार्यक्रम मार्फत गरिबी र असमानता लागू गरिन्। यसले ब्राजिलको इतिहासमा उनलाई सबैभन्दा लोकप्रिय नेताहरूमध्ये एक बनायो।
सन् १९१९ मा एल साल्भाडोरमा नायब बुकेले अपराध नियन्त्रण र नवप्रवर्तनको प्रोपोगान्डामा प्रियतावाद राजनीतिमा अनुमोदित भए। सन् २०२२ मा इटालीमा जर्जिया मेलोनी पहिलो महिला प्रधानमन्त्री भई उनले राष्ट्रिय पहिचानको वकालत गरिन्। फ्रान्सेली शासक मरिनले पेन दक्षिणपन्थी लोकतन्त्रको वकालत गरी विश्वव्यापीकरण र युरोपेली एकीकरण विरूद्ध धावा बोलिन्। आप्रवासी विरोधी नीति लागू गरी मुलुकभित्र नवराष्ट्रवाद लागू गरिन्।
भारतमा नरेन्द्र मोदीले हिन्दु राष्ट्रवादसँग लोकतान्त्रिक मूल्यलाई संयोजन गरेका छन्। आफूलाई ‘चायवाला लड्का’ मिथकमा ईश्वरीय देनको अद्भुत पात्रको रूपमा चित्रण गरेका छन्। मोदीका सांस्कृतिक रूपान्तरण, राष्ट्रवादी, आर्थिक सुधार, भ्रष्टाचार उनका ‘मेक इन इन्डिया’ का अभियान हुन्। नोटबन्दी (२०१६) र वस्तु तथा सेवा कर (जीएसटी) जस्ता महत्त्वपूर्ण आर्थिक सुधार दोस्रो पटकको चुनावमा सहयोगी सिद्ध भए।
बेलायतको ब्रेक्सिट आन्दोलन र अमेरिकामा डोनाल्ड ट्रम्पको विजयले प्रियतावादलाई नयाँ उचाइमा पुर्याएको छ। हालसालै निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अन्ध राष्ट्रवाद, आर्थिक संरक्षणवाद र कुलीन विरोधी बयानबाजीका एजेण्डामा जनताबाट अनुमोदित भए। ‘द ट्विट मास्टर’ उपमाले चिनिएका डोनाल्ड ट्रम्प खुँखार राष्ट्रवादीका कठोर पात्र ठहरिए।
राष्ट्रिय सार्वभौमसत्तामा केन्द्रित भई मेक अमेरिका ग्रेट अगेन अभियानमा अध्यागमन नियन्त्रण, व्यापार संरक्षणवाद र व्यापार शुल्कहरू पुनर्व्याख्याको घोषणा गरेका छन्। उनले विशेष समूहको प्लेटफर्म डग ह्वीसलमा उद्घोष गरेका छन्-‘हामीले ११० वर्षअघि यसको निर्माणमा ३८ हजार मानिस गुमायौं, अब पनामा नहर फिर्ता गर्छौं।’
चुनावी रंगमञ्चमा नागरिकको सहभागितामा ‘भोट र आश’ को किनबेच भएको छ। यसैले डेमोक्रेसी शब्द त ‘डेमोक्रेजी’ (अराजक वा निष्क्रिय लोकतन्त्रको खिल्ली उडाउने शब्द)मा रूपान्तरण भएको छ।
राजनीतिक अध्येता डेभिड गुडहार्टले द पपुलिस्ट रिभोल्ट एन्ड द फ्युचर अफ पोलिटिक्स कृतिमा भनेका छन्- ‘लहडी र संवेगका स्वच्छन्द नेतृत्व फूलका गुच्छा भएर विश्वभर मूर्झाइरहेका छन्। उल्टै, लोकतन्त्र र खुला शासनका जरा कुटुकुटु खाइरहेका छन्।’ प्रियतावादी राजनीतिज्ञले लोकतन्त्रका मूल्य र मैदान उपयोग त गर्छन् तर चुनावलाई रंगमञ्चको थिएटर झैं सम्झन्छन् र निष्पक्ष निर्वाचन प्रणालीलाई भत्काउने प्रयास गर्छन्। जनसहभागिताका नाममा ‘जनताको देवदूत’ को प्रतिनिधित्व गर्ने दाबी गरे तापनि सम्भ्रान्तका स्वार्थहरू पूरा गर्छन्।
यसैले यस्तो नेतृत्वलाई ‘भोक्स पोपुली प्रिन्स’ (जनता-जनता भनेर भुकिरहने) उपमाले पनि चिनिन्छ। बाहिर सतहमा स्थापित राजनीतिक संस्थाहरू, अभिजात वर्गहरू र परम्परागत पार्टीहरूको कटाक्ष गरे पनि एलन मस्क जस्ता नवधनाढ्य शासन प्रणालीमा हावी हुन्छन्। सुधारको आवरणमा छद्मभेषी देखिएका नेतृत्वले लोकतन्त्रको निम्न पक्षमा प्रहार गर्दछन्।
पहिलो, यस्ता नेतृत्वले वैश्विक शासनको विरोध गर्दै अन्तर्राष्ट्रिय संस्थाहरूको धज्जी उडाई राष्ट्रिय सार्वभौमसत्ताको वकालत गर्छन्। राष्ट्रिय पहिचानमा नागरिकलाई गर्व र एकताबद्ध हुन अपील गर्छन्। अन्तर्राष्ट्रिय सम्झौतालाई एकतर्फी भंग गर्दै आप्रवासी विरोधी नीति जारी गर्छन्। मुलुकका आर्थिक, सामाजिक नीतिहरूमा संरक्षणवाद र कल्याणकारी सोच हाबी हुन्छ। नागरिकलाई दामासाही नगद वितरण गरी अभिभावकत्व प्रदान गरेको चटक गर्छन्।
प्रविधिका सीमाविहीन डिजिटल राष्ट्रवादको बेवास्ता गरी ध्रुवीकरण नीतिहरू लागू गर्छन्। अन्तर्राष्ट्रिय सम्बन्धलाई बहुपक्षीय भन्दा द्विपक्षीयता (सेकेन्ड ट्रयाक डिप्लोमेसी)मा प्राथमिकता दिन्छन्। राष्ट्रिय हितको पक्षमा कर, व्यापार, लगानी सम्झौताहरू पुन: परिभाषित गर्छन्। राष्ट्रिय सिमाना मात्र होइन, व्यापारमा संरक्षणवाद हावी हुन्छ। आर्थिक पुनर्वितरण वा मजदुर वर्गका लागि सब्सिडी, ज्याला वृद्धि वा सामाजिक लाभहरू घोषणा गर्छन्।
पहिचानको राजनीतिमा रमाउँदै धार्मिक वा जातीय पहिचानलाई बलियो बनाउने नीतिहरू लागू गर्छन्। बहुसांस्कृतिकता, विविधता र बहुलवादको उपेक्षा गर्छन्। अभिजात वर्ग मात्र होइन, राजनीतिक, व्यापार, मिडियाको आलोचना र बलियो शक्ति संरचना भत्काउने चेष्टा गर्छन्।
दोस्रो, समाजमा ‘शुद्ध जनता’ र ‘भ्रष्ट सम्भ्रान्त’ को दर्जा दिई ध्रुवीकरणको राजनीति गर्छन्। समाजमा एकाकारको नारा दिए पनि स्पष्ट विभाजन हुन्छ। सम्भ्रान्त सबै भ्रष्ट छन् (इलिट आर इम्मोरल) भन्दै बाहिर अभिजात वर्गप्रति कटाक्ष मात्र होइन, आक्रामक देखिन्छन्। तर भित्रभित्रै चोचोमोचो मिलाउँछन्। जनताको रटान (रेटोरिक) लिएर नीति कानुन तोड्ने र पद्धति भत्काएर सेलेब्रिटी रूप धारण गर्छन्।
साधारण नागरिकको सारथिका मात्र होइन, आफूलाई अधिनायकी शैलीमा उभ्याउँछन्। शासन र विधिमा निमुखा वर्गको नायकत्व निर्वाहको नौटंकी गर्छन्। नागरिकका रोग र शोकका जटिल मुद्दाहरूलाई सरल बनाउने र भावनालाई उत्तेजित गर्ने शब्दजाल प्रयोग गर्छन्।
यी नेतृत्वले जनशासनको भुलभुलैयामा नागरिकलाई पोलिसी पोल्टिक्समा होइन, संवेगको भुमरीमा डुबाउँछन्। लोकतन्त्रका समानता, सामाजिक न्याय र सहभागिता जस्ता मूल्यलाई तिलाञ्जली दिंदै नागरिक र सम्भ्रान्त वर्गबीच खाडल कोर्छन्। बहुमतको कदरमा निर्णय लिन्छन्। तर अल्पमत र वञ्चितीकरण वर्गलाई पल्लो कित्तामा पुर्याउँछन्। प्रतिशोधी र अहंकारी भई विपक्षीको हुर्मत लिन्छन्।
तेस्रो, नीति निर्माणका सोच र खाका दिगो र दीर्घकाली हुँदैनन्, तत्काल लाभमा केन्द्रित हुन्छन्। समाजको संवेग र भावनालाई पूँजीकृत (क्यापिटलाइज) गरी बहुसंख्यक पक्षका नीति तर्जुमा गर्छन्। तथ्य, तथ्यांक र प्रमाणमा आधारित नीति निर्माणको बेवास्ता गर्छन्। अल्पसंख्यकको अधिकारको सुनिश्चितताको भाषण त गर्छन् तर यी समुदायको उत्थानमा लगानी गर्दैनन्। नीतिहरू प्रायः अल्पकालीन र अस्थिर हुन्छन्। तर लोकतान्त्रिक मान्यता र दीर्घकालीन स्थायित्वलाई कमजोर पार्छन्।
नरेन्द्र मोदीले भारतमा नागरिक नीति तर्जुमा गर्दा गैरहिन्दुको वर्चस्व कम गर्दै बहुमतको आधारमा अल्पमतको हुर्मत लिएका छन्। नजिकका समूहलाई लाभ लिने नीतिका कारण सामाजिक र राजनीतिक तनाव सृजना हुन्छ। समानता र सामाजिक न्यायका लोकतान्त्रिक दृष्टिकोण विपरीत समाज र राजनीति ध्रुवीकरण गरिरहेका हुन्छन्। कमजोर वर्गहरूलाई लक्षित गर्दै प्रधानमन्त्री जन-धन योजना र प्रधानमन्त्री आवास योजना जस्ता विभिन्न कल्याणकारी योजनाहरू ल्याएका छन्।
अल्पसंख्यकको अधिकारको सुनिश्चितताको भाषण त गर्छन् तर यी समुदायको उत्थानमा लगानी गर्दैनन्।
चौथो, प्रियतावादी नेतृत्वले नागरिकमाझ चामत्कारिक प्रभाव छाड्ने भाष्य सृजना गरिन्छ। नागरिकका मनमस्तिष्कमा डिप फेकको ज्ञान भर्छन्। साहु र ऋणी लमसुक लेनदेन गरे झैं सरकार र जनता नगदका किस्ता बाँडफाँड गर्छन्। राज्यका स्थापित मापदण्ड विघटन गरी ध्वस्त पार्छन् र नागरिकमाझ इमोसनल इन्टेलिजेन्सबाट लोकप्रियताको अपिल गर्दछन्। जटिल समस्याहरूको द्रुत समाधानको जादुगरी वा नायत्वको नौटंकी गर्छन्।
भारतीय चुनावमा मोदीले कालो धन उत्खनन् गरी प्रत्येक नागरिकको टाउकोमा १५ लाख दिने घोषणा गरेका थिए। जनपक्षीय नीति, राष्ट्रियताको वकालत, जनतासँग प्रत्यक्ष संलग्नता, समस्या समाधान सरल उपाय भएको जादूगरी गर्छन्। भ्रष्ट वा लुटतन्त्रसँग लड्ने क्रान्तिकारी व्यक्तिको रूपमा चित्रण गर्छन्। परम्परागत शक्ति संरचनालाई भत्काएर सार्वजनिक भावनासँग बग्छन्।
पाँचौं, प्रियतावादी नेताले नागरिकसँग प्रत्यक्ष सम्बन्ध स्थापित गरी सरकारी संयन्त्र, मिडिया, विधायिकीलाई बाइपास गर्छन्। मिडियालाई नियन्त्रण गरी सामाजिक सञ्जाल र अन्य प्रत्यक्ष सञ्चार च्यानलहरू प्रयोग गर्छन्। अमेरिकामा अभियोग, करछली, यौनकाण्ड लगायत मुद्दामा मुछिएका ट्रम्पले एलन मस्कसँगको गठजोडमा ट्विटरबाटै छवि सुधारेर जनताको अभिमत पाए। मिडियाबाट ट्रोल र अदालतबाट अभियोग लागेका ट्रम्पले सामाजिक सञ्जाल ‘प्लेटफर्म ट्रुथ’ प्रयोगमा ल्याई राज्यका वैधानिक निर्णयलाई चुनौती दिए। यस्ता नेतृत्वका नीतिहरू संस्थागत हुँदैन, नेताको विचारधाराले आकार दिन्छ।
हंगेरीका भिक्टर ओर्बानले आफ्नो सरकारका निर्णयहरू एकोहोरो लाद्ने गर्छन्। भारतमा नागरिकसँग संवाद गर्न गोदी मिडिया तयार गरी मोदीले सामाजिक सञ्जाल र सार्वजनिक र्यालीहरू प्रयोग गरेका छन्। मोदीले जनतासँग जोडिन मनकी बात जस्ता प्रत्यक्ष सञ्चार प्रयोग गरेका छन्। यिनीहरू मिडिया नियन्त्रित शासनको वकालत गर्छन्। दैनिक कार्यको फेहरिस्त सोसल मिडिया मार्फत सार्वजनिक गरी सञ्चारमाध्यमको खिलाफ गर्छन्।
छैटौं, प्रियतावाद शासनकालमा लोकतान्त्रिक संस्था कमजोर हुन्छन्। राज्यका शक्तिको पृथकीकरण र सन्तुलन एकांकी हुन्छन्। अदालत र विधायिका सबैतिर वैधानिक कब्जा गर्छन्। न्याय कानूनी ढाँचा भन्दा मागको प्राथमिकतामा वितरण हुन्छ। कानूनी शासन कमजोर हुन्छ। विधायिकी कानुन निर्माणमा लग रोलिङ र भेन्यु सपिङ केन्द्रका ‘नाङ्ले पसल’ खडा गर्छन् सामान्य दीन–दु:खीको सारथि भएको अभिनय गर्छन्।
राज्य सञ्चालनमा विशेषज्ञहरूको सल्लाहलाई बेवास्ता गरिन्छ। सरकारी संयन्त्र बाहिरका सल्लाहकार (क्रोनिज) शासनमा हाबी हुन्छन्। विशेषज्ञ विनाका नीति कानुनले क्षणिक लाभ त दिनेछन्; नीति पानीका फोका (बबल) झैं क्षणिक र अस्थिर भइरहन्छन्। तर सामाजिक सुरक्षा नीतिका खराब डिजाइनका कारण भेनेजुएला र ग्रिसमा टाट पल्टिएका उदाहरण छन्। अनुदान वा कर कटौती जस्ता वितरणमुखी अनुदानले सरकारी वित्तमा दबाब सृजना हुन्छ।
टर्कीमा रेसेप तैयिप एर्दोगानले कार्यकारी शक्तिलाई केन्द्रीकृत गरेका छन्। भारतमा नरेन्द्र मोदीको कल्याणकारी योजनाहरू ग्रामीण र गरिब जनसंख्याको लागि ल्याएका छन्। सन् २०२४ का नोबेल पुरस्कार विजेता ड्यारोन एसिमाग्लु र जेम्स ए रोबिन्सले ‘राज्य किन असफल हुन्छ’ कृतिमा राज्यका संयन्त्र दोहनकारी प्रकृतिका हुँदा मेक्सिको र अफ्रिकी मुलुक ‘बनाना स्टेट’ को नियतिमा पुगेको चित्रण गरेका छन्।
सातौं, प्रियतावादी नेतृत्वले विश्वव्यापीकरणको आलोचना गर्छ। अन्तर्राष्ट्रिय सहयोग वा बहुपक्षीय सम्झौताहरूलाई उल्लंघन गर्छन्। पेरिस सम्झौता, डब्लूटीओ, आईएलओ जस्ता बहुपक्षीय संस्थाको औचित्य समाप्त भएको घोषणा गर्छन्। दिगो विकास लक्ष्य राष्ट्रसंघले लादेको विकास मोडल भएकोले मुलुक सुहाउँदो रैथाने विकासको खोजी गर्छन्। राष्ट्रिय गौरव र एकताको भावनाको खेती गर्दै विशेषगरी ग्रामीण क्षेत्रहरूमा जनसङ्ख्याको समर्थन लिन्छन् र त्यही अनुसारको जनतावादी रणनीतिहरू प्रतिबिम्बित गर्दछ। ब्राजिलको ‘बोल्सा फेमिलिया कार्यक्रम’ गरिबी घटाउने उद्देश्यले राज्यको धन अनुदानका नाममा बाँड्ने शैलीका कारण मुलुकको अर्थतन्त्र ध्वस्त भयो।
लोकतन्त्रका मान्यलाई खण्डित र क्षयीकरण गर्दै उदाएको प्रियतावादी राजनीतिको उभार बढ्दो क्रममा छ। यस्ता नेताहरू राष्ट्रियतावादी नीति र जनताको असन्तुष्टिमा प्रियतावादी धार लिंदैछन्। जनताको निराशा र कुण्ठालाई सामाजिक पूँजीमा रूपान्तरण गरेका छन्।
आठौं, यस्ता नेतृत्वले वाक् कलामा निपुणता र भाषिक दक्षता देखाउँछन्। इमोशनल इन्टिलिजेन्स र नियन्त्रणमुखी प्रस्तुति देखाउँछन्। तथ्यांक र मिथ्यांकको मिश्रण गरी नागरिकमा अन्योल सृजना गर्छन्। तर्कभन्दा संवेगमा जोड दिन्छन्। मानवअधिकार, अल्पसंख्यक र सीमान्तीकृतका अधिकारलाई अन्तर्राष्ट्रिय सम्झौता कानुनभन्दा मानवीय संवेदनाका अधारमा सम्बोधन गर्छन्। मौलिक भाषा तथा भेषभूषा पनि ब्रान्ड बन्दछन् र मोदी कोट यसको उदाहरण हो।
नवौं, यो नेतृत्व राष्ट्रियता र पहिचानको राजनीतिमा रमाउँछन्। भारतमा मोदीले जम्मू कश्मीरमा संविधानको धारा ३७० खारेजी र गैरहिन्दु निषेधको नागरिकता संशोधन ऐन (सीएए) जस्ता नीतिहरू प्रस्तुत गरेका छन्। भारतलाई ‘मेक इन इन्डिया’ को रूपमा प्रवर्धन गरी राष्ट्रवादी भावना र आत्मनिर्भरता संयोजन गरेका छन्।
‘द स्ट्रङ्गम्यान सेभियर’ उपमाले चिनिएका रोड्रिगो डुटेर्टे जस्ता नेताले अधिनायकवादी प्रवृत्ति लादेका छन्। रसियामा ‘नयाँ जार शासक’ का रूपमा भ्लादिमिर पुटिन देखिएका छन्। भारतमा ‘राष्ट्रवादका कप्तान’ भनेर नरेन्द्र मोदीलाई चिनिन्छ। अमेरिकामा डोनाल्ड ट्रम्पलाई स्वच्छन्द र अव्यवस्थित शैलीका कारण ‘द ट्रम्पस्टर’ व्यंग्य गरिएको छ।
दशौं, राज्य प्रणालीका विधि र पद्धतिको क्षयीकरण गरी व्यावसायिकतामाथि प्रहार गर्छन्। संवैधानिक र कानुनी मूल्यको तटस्थता खोज्छन्। यस नेतृत्वले आफूलाई सर्वज्ञ ठानी विशेषज्ञको अवमूल्यन गर्दा कर्मचारीतन्त्र डिफन्ट हुन्छ। नीति, बजेट र अनुदान वितरणमा राजनीति मग्न रहन्छ र कर्मचारीतन्त्र फड्के साँची बस्दछ।
सार्वजनिक प्रशासनमा योग्यताको धज्जी उडाइन्छ र पहिचान र संस्कृतिका नाममा जातीय, लिङ्ग वा अन्य कारकहरूमा आधारित कोटा प्रणाली लागू गर्छन्। मुलुकका प्रणालीहरू सन्तुलन गुम्दा निष्पक्षता र समानताको अभावमा नयाँ–नयाँ द्वन्द्व निम्त्याउन सक्छन्।
यसरी लोकतन्त्रका मान्यलाई खण्डित र क्षयीकरण गर्दै उदाएको प्रियतावादी राजनीतिको उभार बढ्दो क्रममा छ। यस्ता नेताहरू राष्ट्रियतावादी नीति र जनताको असन्तुष्टिमा प्रियतावादी धार लिंदैछन्। जनताको निराशा र कुण्ठालाई सामाजिक पूँजीमा रूपान्तरण गरेका छन्।
चुनावी रंगमञ्चमा नागरिकको सहभागितामा ‘भोट र आश’ को किनबेच भएको छ। यसैले डेमोक्रेसी शब्द त ‘डेमोक्रेजी’ (अराजक वा निष्क्रिय लोकतन्त्रको खिल्ली उडाउने शब्द)मा रूपान्तरण भएको छ। यस्ता नेतृत्वले लोकतन्त्रको संस्थागत मूल्य विकास होइन, आफ्नो व्यक्तित्व, नीति वा नेतृत्व शैलीको आधारमा छवि बनाएका छन्।