के सम्बन्धित, के असम्बन्धित?


वर्ष १९७३।

इस्वी संवत्को सत्तरीयौं दशकमा भारतीय सिने उद्योगमा तीनजना सिनेकर्मीको त्यही साल फरक फरक महिनामा विवाह भयो। विवाहको रोचक पक्ष के थियो भने तीनै जना पुरुषका पत्नी सिनेमाका नायिका थिए, सिनेनायिका नै रहे। ती तीन देवीहरू थिए -राखी, डिम्पल र जया भादुरी।

त्यतिबेला भर्खरै भारतमा बंगाली फिल्म निर्देशक सत्यजित रेको ‘देवी’ र बलिउड स्टार देव आनन्दको ‘तीन देवीयाँ’ आएर चर्चाबाट बाहिर भइसकेका थिए। त्यही बेला वा त्यही मौसममा यी त्रिदेवीको विवाह समाचारको शीर्षकमा थियो।

सिने नायिका राखीको विवाह कवि एवं फिल्म निर्देशक गुलजारसित भएको थियो भने जया भादुरीको विवाह भर्खर उदाउँदै गरेका सिनेनायक अमिताभ बच्चनसित भएको थियो। डिम्पल कपाडियाको विवाह बलिउडका पहिलो सुपरस्टार राजेश खन्नासित भएको थियो।

राखी र जया दुवै बंगाली परिवारबाट प्रतिनिधित्व गर्थे, दुवै एकआपसमा निकट पनि थिए तर डिम्पल एक फरक परिवारबाट थिइन्, गुजराती परिवारबाट। उनी प्रसिद्ध व्यापारी चुन्नीभाइ कपाडियाकी जेठी छोरी थिइन्।

राखीको यो दोस्रो  विवाह थियो, फिल्मकार गुलजारसित तर गुलजारको पहिलो नै थियो। राखीले यसअगि बंगाली फिल्म निर्देशक अजय विश्वाससित विवाह गरेकी थिइन्। राखी त्यतिबेला बंगाली अभिनेत्री सन्ध्या मुखर्जीको अपार्टमेन्टमा पेइङ गेस्ट थिइन्।

जया भादुरी कोलकत्ताका प्रसिद्ध पत्रकार शिशिरकुमार भादुरीकी जेठी छोरी थिइन्, उनी भारतको पुणेस्थित एफटिटिआईबाट अभिनयमा डिप्लोमा गरेर हिन्दी सिनेमामा पयर जमाउँदै थिइन् र आफूभन्दा पछिल्लो चरणमा आएका एक नवनायकसित प्रेममा परिसकेकी थिइन्। अमिताभ र यिनले पहिलो फिल्म ‘जन्जिर’ मा सँगै काम गरिसकेका थिए भने दुवै मिलेर अमिया प्रोडक्सनबाट अभिमान नामक फिल्म पनि बनाइसकेका थिए। ऋषिकेश मुखर्जी निर्देशित अभिमान गुलजारले लेखेका थिए

अभिमानको सफलतापछि छुट्टी मनाउन बेलायत जान लागेका यी जोडीको विवाह अमिताभकै पिता कवि डा. हरिवंश राय बच्चनको दबाबले भएको थियो। भनिन्छ, अमिताभ र जयाको विवाह ६ जनाको जन्ती थियो, जयाको कन्यादान उनकै ससुरा कवि बच्चनले गरेका थिए भने घरमा जयालाई बुहारीका रूपमा कवि बच्चनले नै भित्र्याएका थिए। यी दुईको विवाहमा हुनुपर्ने जति चर्चा भएन। लगभग कसैलाई थाहै भएन। पत्रकारकी छोरी, कविका छोराको विवाह अपेक्षाकृत समाचार बनेन। गुलजार जो पन्जाबी परिवारबाट प्रतिनिधित्व गर्थे, उनले पनि एक बंगाली अभिनेत्रीसित विवाह गरे।

एक कविको विवाह एक सिने नायिकासित भएको भए तापनि यो पनि समाचारको शीर्षक बन्न सकेन तर राजेश खन्ना र डिम्पल कपाडियाको विवाह त्यो दशककै भव्य विवाह भयो, कैयन् पत्रिकाको शीर्षक बन्यो, विवाह अघि र विवाहपछिका घटनाहरू। किनकि राजेश खन्ना त्यतिबेला सुपरस्टार थिए, हिन्दुस्तानकै पहिलो सुपरस्टार।  

अघिल्ला दुवै नायिका राखी र जयासित राजेश खन्नाले काम गरेको भए पनि आफ्नी हुनेवाला पत्नी डिम्पलसित उनले कुनै फिल्ममा अभिनय गरेका थिएनन्। विवाहको समय डिम्पलले एउटा मात्र फिल्ममा अभिनय गरेकी थिइन्, ‘बबी’मा र यो उनको विवाहअघिको डेब्यु फिल्म मानियो।

राजेश खन्ना र डिम्पलको विवाहको मिति राजेश खन्ना र उनका काकाले तय गरेका थिए तर महाराष्ट्र पुलिसले सुरक्षाको दृष्टिकोणले सम्भव नभएको भएर मिति सार्न आग्रह गरे र प्रहरीले भनेकै मितिमा विवाहको मण्डप सजाइयो।

राजेख खन्नाको ख्याति र प्रसिद्धिलाई ध्यानमा राखेर त्यतिबेला बम्बईका सबै गल्र्स होस्टलमा छुट्टी दिइएको थियो। युवतीहरूले आत्महत्या गर्ने डरले समुद्री किनारमा तारको बार कडाइसाथ लगाइएको थियो। राजेश खन्नाको विवाहको दिन सवार हुने बाटोमा सजगतासाथ सुरक्षाकर्मी खटाइएको थियो। रुट बदल्ने अनुमति दुलहाको परिवारलाई समेत थिएन तर राजेश खन्नाले आफ्नी पूर्वप्रेमिका अञ्जु महेन्द्राको घरअगाडि केही बेर बाजा रोक्न लगाएर धेरै बेर ट्राफिक जाम गरेका थिए भनिन्छ।

राजेश खन्ना र डिम्पलको विवाहको समाचार बिबिसीले प्राथमिकतासाथ कभर गरेको थियो भने उनको विवाहको विशेषांक धेरै हिन्दी र अङ्ग्रेजी पत्रिकाले प्रकाशन गरेका थिए।

राजेश र डिम्पलको विवाह जति चर्चामा रह्यो, त्यति नै छिटो विवादको समाचार बजारमा आउन थाल्यो। पन्ध्र वर्षकी डिम्पल र दोब्बर उमेरका नायक राजेशबिचमा बिस्तारै तनाव बढ्न थाल्यो। राजेश र डिम्पलका दुई छोरी ट्विंकल र रिन्की भइसकेर पनि परिवारमा शान्ति हुन सकेन।

आफ्नो वैवाहिक जीवनमा असर पुर्‍याउनमा राजेशले बढी दोष सिबिआईलाई दिए। सिबिआई उनले आफैं नाम राखेको खुफिया एजेन्सी थियो, चुन्नी भाइ इन्फर्मेसन। चुन्नी भाइ उनका ससुरा थिए। उनका ससुरा पैसाका लागि सनसनी खोज समाचार बाहिर बेच्न थालेको उनले आरोपसमेत लगाए।

बलिउड फिल्म इन्डस्ट्रिजको बेताज बादशाह राजेश खन्नाको दाम्पत्य जीवन करिब नौ वर्षमै दुरीको दोसाँधमा आयो, डिम्पल राजेश खन्नाको आशीर्वाद बंगला छोडेर माइतीमा गएर बस्न थालिन्।

बबी फिल्ममा ऋषि कपुरसित अभिनय गरेकी डिम्पल पुनः पच्चिस वर्षको उमेरमा ऋषि कपुर र कमल हासनसित ‘सागर’ फिल्ममा कमब्याक गरिन् तर सम्बन्ध पारपाचुकेको अवस्थामा पुगेर रोकियो। दुवै पतिपत्नी अलग अलग पात्रसित रोमान्समा जीवन बिताउन थाले।

यता राखी र गुुलजारको सम्बन्ध पनि एउटी छोरी मेघनालाई जन्म दिएपछि टुट्यो। यसबारे कसैले आजसम्म केही अनुमान लगाउन सकेको छैन। उनकी छोरी मेघनासमेत अज्ञात अवस्थामा नै रहिन्।

राखीले पनि गुलजारको घर छोडेर डेरामा जीवन बिताउन थालिन्। छोरी मेघनालाई पिता गुलजारले आमा जस्तै भएर हुर्काए। राखीले गुलजारको घर छोडे पनि आफ्नो नामका पछाडि गुलजार लेख्न छोडिनन्। राखी गुलजारले यश चोपडाको फिल्म ‘कभी कभी’ बाट कमब्याक गरिन्, अमिताभ, शशि कपुर र ऋषि कपुरकै साथमा।

गुलजारले धेरै फिल्म बनाए तर राखीसित कहिल्यै काम गरेनन्। राखीले अभिनय गरेको फिल्ममा समेत गीत लेखेनन्। संयोगले अर्कै नायिकाका लागि लेखेको गीतमा राखीले अभिनय चाहिँ गरिन्। त्यो फिल्म थियो ‘बसेरा’। जसमा पहिले शर्मिला टैगोर अभिनय गर्नेवाला थिइन्।

गुलजार राखी, राजेश डिम्पल। यो जोडी छुटे पनि अमिताभ र जयाको जोडी कहिल्यै छुटेन तर कैयौं पटक छुट्याउन खोज्ने सीमारेखा नकोरिएका होइनन् तर रेखा मेटिए।

अमिताभ र जयाले विवाहपश्चात् जयाले फिल्ममा काम गर्न छोडिन्, घरपरिवार हेर्न थालिन्। फेरि जयाले पुनरागमन गरिन्, सिलसिला फिल्मबाट। यश चोपडा निर्देशित यो फिल्म अमिताभ र जयाको होइन, अमिताभ र रेखाको प्रेमकथामा बनेको थियो।

यो फिल्म फ्लप भएपछि अमिताभको बाहिर हल्ला भएको प्रेमकथा पनि यहीं सकिएको थियो भन्ने फिल्म पण्डितहरूको भनाइ छ। अमिताभ, जया र रेखाबिचको यो त्रैकोणिक कथामा फिल्म बनाउन अमिताभले नै निर्देशक यश चोपडालाई सुझाएका थिए। यसको कथा पटकथा सागर सरहदीले लेखेका थिए। यो फिल्ममा पहिले परबिन बाबी र स्मिता पाटिल थिए नायिकाको भूमिकामा। अमिताभले चोपडालाई परबिनको ठाउँमा रेखा र स्मिताको ठाउँमा जयालाई लिन दबाब दिएपछि कथाले अर्कै मोड लियो।

‘सिलसिला’ फ्लप भएपछि अमिताभ र रेखाले पनि कुनै फिल्ममा सँगै काम गरेनन् तर समाचारमा दुवैको नाम जोडिँदै आइरह्यो पछिसम्म। रेखाले मुकेश अग्रवालसित विवाह गरेर गइसकेपछि पनि यो समाचार बनिरह्यो।  

अमिताभ र जयाको वैवाहिक जीवन बचाउन रेखाको पनि हात छ भन्ने फिल्मी सूत्रधारहरूको ठोकुवा छ। त्यसमध्ये सिमी ग्रेवाल र बिना रमानीले यसलाई बढी नै तर्क दिएका छन्।

अमिताभ सफल हुँदा राजेश खन्नाको दुवै जीवन तहसनहस भइसकेको थियो, फिल्मी जीवन र दाम्पत्य जीवन। अमिताभ भर्खर माथि आउँदै गर्दा राजेश खन्नासित साथमा थिए ‘आनन्द’मा। ‘आनन्द’ फिल्म गुलजारले लेखेका थिए। ऋषिकेश मुखर्जीले निर्देशन गरेका थिए।

राजेश खन्ना र अमिताभको अन्तिम फिल्म ‘नमक हराम’ थियो। यस फिल्मलाई पनि ऋषिकेश मुखर्जीले नै निर्देशन गरेका थिए। राजेश खन्ना यसपछि नेपथ्यतिर गए। यो फिल्ममा पनि गुलजार साथमै थिए।

अमिताभ र राजेश खन्नाको जीवनका धेरै निकटवर्ती साक्षी गुलजार स्वयंले विवाहेतर सम्बन्धमा इजाजत नामक फिल्म बनाए ‘आँधी’ तर अमिताभ र गुलजारसित उनले पछि काम गरेनन्।

अन्त्यमा एउटा रमाइलो कुरा

राजेश खन्नासित छुट्टिएपछि पनि डिम्पलले कसैसित पुनः विवाह गरेनन्, जसरी राजेश पनि कसैका पति भएनन्। गुलजारसित छुट्टिएपछि न राखीले कसैसित विवाह गरे, न गुलजारले तर दुवैको सम्बन्ध अझै छोरी मेघनाका कारण र गुलजारको जन्मदिनका कारण जोडिएकै छ।

सम्बन्ध बनाउन सम्बन्ध तोड्नैपर्छ भन्ने पनि रहेनछ।  

प्रकाशित: १९ पुस २०८२ १०:४८ शनिबार





Source link

Leave a Comment