प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार

धेरै नेपाली समुदायका सदस्यहरूमाझ एउटा साझा जिज्ञासा हुने गर्दछ—यदि कसैले आफ्नो ग्रिनकार्ड स्वेच्छाले त्याग्छ भने, के उसले पुनः अमेरिका प्रवेश पाउँछ? अमेरिकी अध्यागमन नियमअनुसार, केही निश्चित प्रक्रियाहरू पूरा गरेर यो सम्भव छ।
सीबीपीका अनुसार यदि तपाईं आफ्नो ग्रिनकार्ड त्याग्न चाहनुहुन्छ र त्यसपछि पनि प्रवेशको अनुमति खोज्दै हुनुहुन्छ भने तपाईंले केही कदमहरू चाल्नुपर्ने हुन्छ। सबैभन्दा पहिले, ग्रिनकार्ड परित्याग गरेको आधिकारिक अभिलेख राख्नका लागि फारम आई४०७ पूर्ण रूपमा भरेर हस्ताक्षर गर्नुपर्नेछ। यो फारम युएससीआईएसको वेबसाइटमा उपलब्ध छ।
तपाईंले आफ्नो ग्रिनकार्ड सीमा सुरक्षा अधिकारीलाई बुझाउनुपर्नेछ। राहदानी वा भिसा सम्बन्धी प्रावधानमा छुट पाउनका लागि फारम आई १९३ भर्नुपर्ने हुन्छ। यो फारम भरेर, हस्ताक्षर गरी तोकिएको शुल्क बुझाउनुपर्नेछ। ग्रिनकार्ड त्याग्ने निर्णय लिनुअघि यसले भविष्यमा पार्ने कानुनी असरहरूबारे राम्रोसँग बुझ्न जरुरी छ।
यदि तपाईं अमेरिका बाहिर हुनुहुन्छ भने हुलाक मार्फत पनि यो प्रक्रिया पूरा गर्न सक्नुहुन्छ। त्यसका लागि फारम भरेर, हस्ताक्षर गरी आफ्नो ग्रिनकार्ड र उपलब्ध भए युएससीआईएसबाट प्राप्त अन्य कागजातहरू संलग्न गर्नुहोस्। यदि कार्ड हराएको छ भने फारममा त्यसबारे सूचित गर्नुपर्छ। त्यसपछि ती कागजात युएससीआईएसको तोकिएको ठेगानामा पठाउनुपर्छ।
एकपटक ग्रिनकार्ड त्यागिसकेपछि यसलाई फिर्ता लिन सकिँदैन। यदि भविष्यमा फेरि ग्रिनकार्ड चाहियो भने तपाईंले सुरुदेखि नै नयाँ प्रक्रिया थाल्नुपर्ने हुन्छ। त्यसैले यो निर्णय लिनुअघि राम्ररी सोच्न जरुरी छ।
ग्रिनकार्ड त्याग्दैमा भविष्यमा अमेरिका आउन वा पुनः अध्यागमनका लागि आवेदन दिन रोक लाग्दैन। तर, तपाईंले सामान्य आवेदक सरह सबै प्रक्रिया फेरि पूरा गर्नुपर्ने हुन्छ। यदि कुनै नाबालिगको ग्रिनकार्ड त्यागिँदै छ भने, दुवै अभिभावक, संरक्षक वा कानुनी अभिभावकले फारममा हस्ताक्षर गरी सहमति जनाउनु अनिवार्य छ।