केपी शर्मा अर्थात् ‘चेपाङका बा’


चितवनको रत्ननगर नगरपालिका–१३ का केपीकिरण शर्मा ‘चेपाङका बा’ उपनामले परिचित छन्। शर्माले यो उपनाम त्यतिकै पाएका होइन्। चेपाङ समुदायका बालबच्चालाई शिक्षा–दीक्षा, पालनपोषण र यो समुदायको सेवामा लागेका कारण उनले ‘चेपाङका बा’ उपनाम पाएका हुन्। उनले चेपाङ समुदायका एक सय ५० बालबालिकालाई आवाशीय सुविधासहित पढाउँदै आएका छन्।

उनले रत्ननगर–११ जयमंगलामा गामबेंसी चेपाङ संरक्षण केन्द्र खोलेर चेपाङ बालबालिकालाई राखेका छन्। चितवन, धादिङ र मकवानपुरका ग्रामीण क्षेत्रमा बस्ने अतिविपन्न चेपाङ समुदायका बालबालिका केन्द्रमा आश्रित छन्।

केन्द्रमा बसेर पढेका हेमराज चेपाङ चेपाङ समुदायकै पहिलो इन्जिनियर बनेका छन्। यहाँ बसेर पढेका चेपाङ समुदायका विद्यार्थी इन्जिनियर, पशु चिकित्सक, नर्स, एचए बनेका छन्। गरिब चेपाङ समुदायका बालबालिकालाई केन्द्रमा राखेर शिक्षादीक्षा दिइरहेका शर्माले गाउँगाउँ पुगेर खाद्यान्नसमेत वितरण गरिरहेका छन्। उनी चेपाङ बालबालिकाका सहारा मात्र नभएर अभिभावक पनि हुन्।

गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ५ मा २०२८ साउन १२ गते जन्मिएका शर्माको बाल्यकाल गाउँमै बित्यो। एसएलसी दिएपछि उच्च शिक्षा लिन २०४९ सालमा काठमाडौंस्थित सरस्वती क्याम्पसमा भर्ना भएका उनले होटेलमा काम गर्दै सोही क्याम्पसबाट स्नातक तह पास गरेका थिए। उनले २०५५ सालमा पत्रकारिता तालिमसमेत लिए। ‘काठमाडौंमा ठुलो संघर्ष गरेर पढियो। होटेलमा वेटरदेखि कुकसमेत भएर काम गरियो,’ किशोरावस्था सम्झिँदै उनले भने, ‘पत्रकारिता क्षेत्रमा कलम चलाउने रुचि भएकाले तीनमहिने पत्रकारिता तालिमसमेत लिएँ। त्यो पछि काम लाग्यो पनि।’

नेपालमा भनेजस्तो नभएपछि शर्मा २०५८ सालमा वैदेशिक रोजगारीका लागि दुवई हानिए। त्यहाँ उनी २०६५ सालसम्म बसे। वैदेशिक रोजगारीमा गएका उनी त्यहाँ पनि सेवामै लागे। नेपालमा लिएको पत्रकारिता तालिमलाई उनले दुवईमा उपयोग गरे। दुवईमा नै ‘नेपाली समाचार पत्रिका’ निकाले उनले। उनी त्यसको सम्पादकसम्म भए। ‘त्यतिखेर इन्टरनेट थिएन। सूचनाको स्रोत न्यून थिए,’ उनले भने, ‘त्यतिखेर एउटा पत्रिका सय जनाभन्दा बढीले पढ्थे।’ दुवईमा केही पैसा कमाएपछि स्वदेशमै केही गर्ने हुटहुटी बोकेर उनी फर्किए।

विदेशमा जति दुःख गर्ने हो भने आफ्नै ठाउँमा कमाउन सकिने सोच बनाएर फर्किएका शर्माले साढे दुई वर्ष भिसा बाँकी रहेको पासपोर्ट त्रिभुवन विमानस्थलमै फाले। २०६५ साउन १८ गते काठमाडौं उत्रिएका शर्मा भोलिपल्ट गोरखा नगई रत्ननगर आए। उनले पत्रिका प्रकाशनका लागि क्यामरा, ल्यापटप, प्रोजेक्टरजस्ता उपकरण पनि ल्याएका थिए।

घर फर्किएपछि शर्माले दुई दिनभित्र ‘गामबेंसीको खबर’ नामक साप्ताहिक पत्रिका दर्ता गरे। पत्नी अम्बिका खनालले कालिका नगरपालिका–१२ स्थित सिद्धिको चेपाङ गाउँमा पढाउँथिन्। खनाल पत्नीले पढाउने विद्यालय हेर्न क्यामरा बोकेर पहाडी गाउँ सिद्धी उक्लिए। उनले धेरै तस्बिर खिचे। उनले गरिबीले थिचिएका बस्तीका बालबालिका खालि खुट्टा हिँडेको देखे, उनीहरूको शरीरमा कपडा पनि देखेनन्। खान नपाएका कुपोषित बालबालिका मात्रै देखे उनले। त्यसपछि आफूले बाँकी जीवन चेपाङ बस्तीका बालबालिकाका लागि सर्मपण गर्ने अठोट गरेको उनले स्मरण गरे। ‘पत्नीले पढाउने ठाउँ हेर्न सिद्धि उक्लिएँ। त्यहाँ पुगेर स्कुलका सहयोगीमो घरमा बास बसियो। त्यहाँ कसैको घरमा शौचालय थिएन। छाप्राका घर, केहीको शरीरमा कपडा नै थिएन,’ उनले भने, ‘त्यसलाई समेटेर पत्रिकामा चेपाङका कथा निकालें।’ उनले आफ्नो पत्रिकामा चेपाङका समाचार मात्र लेख्न थाले। उनी सय अंक चेपाङ विशेशांकमात्र निकालेको बताउँछन्।

शर्माले पत्नीले पढाउने स्कुलका अध्यक्ष महेन्द्र चेपाङलाई भेटेर चेपाङ बालबालिकालाई पढाउनका लागि साथ खोजे। महेन्द्रले उनलाई दरिलो साथ थिए। ‘म चेपाङ संरक्षण अभियानमा लागें। सोही गाउँबस्तीबाट २५ चेपाङ बालबालिका लिएर सहर झरें। २०६८ को वैशाखमा हालको कालिका नगरपालिकाको खोलेसिमलमा रहेको विन्देश्वरी माविको छात्रावासमा ती बालबालिकालाई राखेर पढाउने व्यवस्था मिलाएँ,’ उनले विगत सम्झँदै भने, ‘बालबालिकाका लागि हरेक दिन बोरा बोकेर गाउँगाउँमा माग्दै हिँड्न थालें। जहाँ जे पाइन्छ, त्यही संकलन गरियो।’

 पहाडबाट चेपाङ बच्चालाई ल्याएर मागेर खुवाउने भन्दै कतिपयले नराम्रो दृष्टिले हेरे पनि आफू त्यसमै रमाएको उनले सुनाए। चितवनबाट कान्तिपुरमा समाचार लेख्दै आएका विमल खतिवडाले पनि यो अभियानमा समाचार लेखेर साथ दिएको शर्मा सम्झन्छन्। ‘समाचारका लागि पत्रकार खतिवडालाई सिद्धि लगेको थिएँ। उनले सिद्धिको ओढारमा बस्दै आएका बन्दिपुरे चेपाङलगायतका थुप्रै समाचार, कथा लेखे,’ शर्मा भन्छन्, ‘समाचारको प्रभावले होला तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले चेपाङ बस्तीमा पाइला टेकेको।’ त्यसपछि शर्माले राज्यलाई चेपाङका कथा प्रत्यक्ष सुनाउन पाए।

एउटा संस्थाले विन्देश्वरी माविमा पढिरहेका बालबालिकालाई सहयोग गर्ने भएपछि शर्मा छुट्टै संरक्षण केन्द्र स्थापना गर्न लागे। २०६९ सालमा उनले दोस्रो अभियान थाले। उनले चितवनको इच्छाकामना, कालिका, राप्ती नगरपालिका, धादिङ र गोरखाका चेपाङ बस्ती पुगेर ५० जना बालबालिका ल्याए।

रत्ननगरको जयमंगलामा गामबेंसी संरक्षण केन्द्र स्थापना गरी ती बालबालिकालाई पढाउन थालेको उनले बताए। तत्कालीन प्रधानमन्त्री भट्टराईले दिएको एक लाख रूपैयाँको सहयोगबाट दोस्रो अभियान सञ्चालन गरेका शर्मा सुरुवाती महिना बोरा बोकेर गाउँघरमा सहयोग खोज्न हिँडेका थिए।

गैरआवासीय नेपाली संघका अध्यक्ष जिवा लामिछानेको हातबाट उनले गमबेंसी रक्षण केन्द्रको भवन उद्घाटनसमेत गराए। त्यतिखेर लामिछानेले उनलाई एक लाख रूपैया दिएका थिए। त्योे रकमबाट उनले दुईकोठे भवन बनाउन थाले। त्यसपछि उनले देश विदेशबाट सहयोग जुटाउन थाले। सोही वर्ष जापानमा बस्दै आएका दिपक बाबु नेपालले पाँच लाख र कतारमा रहेका घनश्याम पराजुलीले चार लाख रूपैयाँ सहयोग गरेको उनले बताए। अहिले साढे आठ करोड रूपैयाँको भौतिक संरचना तयार भइसकेको उनी बताउँछन्। रत्ननगर नगरपालिकाले उपलब्ध गराएको सार्वजनिक जमिनमा उनले भौतिक संरचना बनाएका हुन्।

क्रमशः सहयोग जुट्दै गयो। बालबालिका थपिँदै गए। अहिले छात्रबासमा एक सय ५० जना चेपाङ बालबालिका छन्। एक सय ६५ बालबालिकालाई आवासीय सुविधासहित राख्न सक्ने क्षमता छात्राबासको रहेको उनले सुनाए। ‘सुरुवाती दिनमा दुःख पनि भयो। खाद्यन्न सकिने अनि सहयोगको अपिल गर्दै फेसबुकमा लेख्नुपर्ने अवस्था आयो,’ उनले विगत सुनाए, ‘व्यवसायी तथा सबैसँग बोरा बोकेर सहयोग जुटाएँ। इमानदार भएकै होला सबैले सहयोग गरिरहनुभएको छ। ब्रतबन्धमा भिक्षा दिएको चामल पनि दिन आउनुहुन्छ,’ उनले भने, ‘विगतजस्तो अप्ठेरो अवस्था छैन अहिले।’

सहयोगी दाता जुटाउन उनले सामाजिक सञ्जाल प्रयोग गर्ने गरेका छन्। केही समस्या परे दाताहरू जुट्छन्। बेलाबेलामा चितवनकै सामाजिक संघसंस्थाले खाद्यान्नसहित शैक्षिक सामग्री दिने गरेको उनले बताए।

छात्राबासमा रहेका बालबालिका रत्ननगरका विभिन्न विद्यालयमा अध्ययनरत छन्। उनीहरू कक्षा पाँचसम्म पञ्चतेज ज्योति आधारभूत विद्यालयमा र कक्षा ६ देखिमाथि पञ्चकन्या माध्यमिक विद्यालयमा जाने गरेका छन्। शर्माले दाता खोजेर चेपाङ बालबालिकालाई इन्जिनियर, पशु चिकित्सक, नर्स बनाएका छन्। अहिलेसम्म एकजना इन्जिनियर, दुईजना पशु चिकित्सक, ११ जना नर्स बनिसकेका छन्। एकजना एचए अन्तिम वर्षमा पढ्दैछन्। ‘गरिबी र अभावका कारण यी बालबालिकाले गाउँमा खान, लाउन पाउँदैनथे,’ शर्माले भने, ‘अहिले दातासमेको सहयोगमा यत्तिको बनाउन पाउँदा पनि खुसी लागेको छ।’

अहिलेसम्म छात्रबासमा बसेर पढेका ३४ जना चेपाङले एसएलसी दिएका छन्। यहाँबाट पढेर उच्च शिक्षा लिएका बालबालिकाले समेत सहयोग गर्न थालेको शर्माले बताए। ‘इन्जिनियर बनेका हेमराज चेपाङ र पशुचिकित्सक बनेका रेशम चेपाङ अहिले इच्छाकामना गाउँपालिकामा जागिर खान्छन्। उनीहरूले मलाई सरप्राइज गरेर सात महिनाअघि ५० हजार रूपैयाँबराबरको खाद्यान्न सहयोग गरे,’ शर्माले भने, ‘मलाई निकै खुसी लाग्यो उनीहरूले यसरी सहयोग गर्दा। आँखाबाट आँशुसमेत बग्यो।’

उनले चेपाङ बालबालिकालाई शुल्क मिनाहा वा दाता जुटाएर उच्च शिक्षासम्म पढाउँदै आएका छन्।

शर्मा चेपाङ गाउँ पुगिरहन्छन्। चेपाङ अभिभावकले अन्यलाई पनि छात्राबासमा राखेर पढाउन अनुरोध गरिरहन्छन्। अवस्था हेरेर संरक्षण केन्द्रमा ल्याउने गरेको शर्माले बताए। ‘गाउँको स्कुलमा राम्रोसँग पढाइ पनि हुँदैन। कक्षा पाँच पढेका विद्यार्थीले अक्षर फुटाल्न सक्दैनन्,’ उनले भने, ‘भोकमरीका कारण एक त स्कुल जाँदैनन्। अधिकांशले सहर लगेर पढाइदिए हुन्थ्यो जस्तो गर्नुहुन्छ।’

दाताहरूसँग नगदभन्दा जिन्सी माग्ने गर्छन् शर्मा। केन्द्रमा ठुला बालबालिकाले पालो मिलाएर खाना पकाउँछन्। सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ एक हो। यो समुदाय अतिसीमान्तकृत समुदायमा पर्छ।

चितवन, धादिङ, मकवानपुर र गोरखाका विकट पहाडी भेग चेपाङको मुख्य बासस्थान हो। खोरिया फाँडेर लगाएको कोदो र मकैले सरदर तीन महिना मात्रै उनीहरूको जीवन चल्छ। त्यसपछि गिठा, भ्याकुरको भरमा जीवन गुजार्छन् उनीहरू। शर्मा चेपाङ बस्ती गइरहन्छन् र आङ ढाक्ने लुगासमेत नभएकालाई दाता खोजेर भए पनि सहयोग गरिरहन्छन्। ‘कोरोना महामारी र भूकम्पको समयमा मात्रै चेपाङ समुदायलाई १८ हजार बोरा चामल बाँडियो,’ उनले भने।

शर्माले भरतपुरबाट चिकित्सकसमेत लगेर चेपाङ समुदायको औषधोउपचार गर्दै आएका छन्। जटिल बिरामीलाई भरतपुर ल्याएर उपचारको चाँजोपाँजो मिलाउने गरेको उनले बताए।  

प्रकाशित: २९ वैशाख २०८२ ०६:२८ सोमबार





Source link

Leave a Comment