प्रकाशित मिति : जेष्ठ ३१, २०८१ बिहीबार
कुवेतमा भएको आगलागीमा परी मृत्यु हुने ४० भारतीयको परिवारलाई भारत सरकारले २/२ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कुवेतमा भएको आगलागीमा ४० भारतीयको मृत्यु भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राति सम्पूर्ण विषयमा बैठक गरेका थिए ।
प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा पछिल्लो अवस्थाबारे जानकारी लिइएको थियो । कुवेतको एक बहुतले भवनमा भएको आगलागीमा परी मृत्यु हुने ४९ जनामध्ये ४० भारतीय पनि छन् ।
समीक्षा बैठकमा मृतक भारतीयका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट २/२ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिएको थियो ।
प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भारत सरकारले कुवेत आगलागीबाट प्रभावित परिवारलाई सहयोग गर्न हरसम्भव प्रयास गर्ने बताएका छन् ।
कुवेतको दक्षिणी अहमद गभर्नरेटको मङ्गाफ क्षेत्रमा रहेको बहुमंजिला आवासीय भवनको भुइँ तल्लामा आगलागी हुँदा ४९ जनाको मृत्यु भएको छ । जसमध्ये ४० जना भारतीय थिए। यस दुर्घटनामा ५० जना घाइते भएका छन् र उनीहरुको विभिन्न पाँच अस्पतालमा उपचार भइरहेको छ ।