कुलिङ पिरियड : जागिरको समाप्ति कि जीवनसँग पुनर्मिलन ?


News Summary

Generated by OK AI. Editorially reviewed.

  • संघीय निजामती सेवा विधेयक पारित भएपछिको बहस र बहिष्कारको विषयमा समाज विभक्त भएको छ।
  • लेखकले रिटायर्डपछि आत्मा भेट्ने, सम्बन्ध सुधार्ने र जीवनको पुनः आरम्भ गर्न चाहन्छन्।
  • उनले आफ्नो जीवनको अनुभव र चाहनालाई व्यक्त गर्दै आत्मिक सन्तोष र स्वतन्त्रता खोज्ने इच्छा व्यक्त गरेका छन्।

संघीय निजामती सेवा विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट हालसालै पारित भएको छ। विधेयकमा भएका कैयौं विषयमा बहस र छलफलभन्दा त्यसमा समावेश भएको कुलिङ पिरियडको विषयले यतिबेला बजार तातेको छ। यस विषयको पक्ष-विपक्षमा समाज विभक्त भएको छ।

प्रायः उच्चपदस्थ कर्मचारीहरू सेवानिवृत्तिको उमेर लम्ब्याउने होडमा छन्। उनीहरूको सोच छ- केही वर्ष अझै शासन गरौं, केही सुविधा अझै जोडौं।

म भने यसको विपरीत दिशामा सोचिरहेको छु। मलाई जागिरबाट जतिसक्दो चाँडो फुर्सद ‘कुलिङ’ पिरियड चाहिएको छ। तर त्यो केवल थकाइको प्रतिक्रिया होइन, जीवनसँग पुनः सम्बन्ध गाँस्ने, आफ्नो मौलिक अस्तित्व फिर्ता ल्याउने प्रयासको लागि एउटा सुनौलो अवसर हुनेछ

जागिरले मलाई पद दिएको छ, धेरथोर सामाजिक सम्मान दिएको छ, तलब दिएको छ, देश विदेशका धेरै अवसर दिएको छ। तर यसले मेरो मूल्यवान् समय खोसेको छ, सम्बन्ध मेटाएको छ र सबैभन्दा ठूलो कुरा आफ्नै आत्मासँगैको संवाद टुटाएको छ। त्यस कारण मैले निम्न कारण रिटायर्डको समयलाई अवसर नै अवसर देखेको छु।

गाउँ र बाल्यकालसँगको सम्बन्धको पुनर्निर्माण: जागिरले सबैभन्दा ठूलो कुरा मेरो गाउँ र बाल्यकालसँगको सम्बन्ध टुटाएको छ। वर्षको एक पटक गाउँ जाने त्यही पनि हतार-हतार अफिस भेटाउन भन्दै आउनुपर्ने मेरो बानीले गाउँसँगको भावनात्मक सम्बन्धलाई टाढा बनाएको छ।

मानवशास्त्री क्लिफर्ड गिर्टजले लेखेका छन्, ‘असली संस्कृति त्यो हो, जसले बाल्यकालका स्मृतिहरूलाई व्याख्या गर्न सक्छ।’ जागिर जीवनले मलाई धेरै सम्झनाहरूबाट टाढा पुर्‍याएको छ। बुढाबुढी आमाबुबाको छेउमा सुसेलिने साँझ, गाईगोठको गोठालो गन्ध र ती पाखाहरू जहाँ म दौडन्थें, खेल्थें र कान्लै कान्ला हाम्फाल्थें। मलाई त्यहाँ जान मन छ। म रिटायर्ड भएपछि ती भूगोल होइन, ती भावहरू फिर्ता ल्याउन चाहन्छु। जहाँ म ‘म’ थिएँ, केवल एक पद वा कर्मचारी होइन। मलाई फेरि गाउँले हुन मन छ। गाउँको स्वाद चाख्न नपाएको धेरै भएको छ। मलाई फेरि मेरो वास्तविक अवतारमा फर्किन मन छ।

गाउँका बालबालिकासँग संवाद: गाउँका बालबालिकासँग संवाद गर्न नपाएको लामो समय भएको छ। उनीहरू हामीसँग कुरा गर्न समेत डराउँछन्। उनीहरूलाई म ठूलो अफिसमा काम गर्ने मान्छे हो भन्ने भ्रम परेको छ। हामी पनि बालबालिकाका खास कुरा सुन्न खोज्दैनौं।

म गाउँ फर्केर त्यहाँका बालबालिकासँग समय बिताउने छु जो अझै पनि शहरको सुविधाबाट टाढा छन्। म उनीहरूसँग बस्नेछु, उनीहरूको सपना सुन्नेछु र आफूले सिकेका कुरा बाँड्नेछु। शायद उनीहरू मबाट धेरै सिक्ने छैनन्, तर म चाहिं उनीहरूबाट निष्कपट स्वच्छ भावना र जिज्ञासाको पुनर्जन्म पाउनेछु।

देश देख्ने अधुरो सपना: मैले धेरै पटक लोकसेवाको उत्तर कापीमा लेखेको छु। नेपाल प्रकृतिको अनुपम नमूना हो। नेपालका प्राकृतिक स्रोतहरू विकासका प्रमुख आधार हुन्। तर विडम्बना, मैले सरकारी भत्ता खाएर बाहेक एकाध मात्र देशको सुन्दरता देखेको छु। म ती गन्तव्यहरूमा पुग्न चाहन्छु, जहाँ देश देख्न पाइन्छ। माटोको सुगन्ध भेटिन्छ। म माधव घिमिरेले प्रकृतिको रानी देख्ने राराको नीलोमा कविता लेख्न चाहन्छु, मुस्ताङको शीतल हावामा मौन बस्न चाहन्छु। देश देख्ने अधुरो सपना म मेरो जीवनकालमा पूरा गर्न चाहन्छु।

टुटेका सामाजिक सम्बन्धहरू जोड्ने रहर: समाजशास्त्री पियरे बोरदियुले भनेका छन्, ‘समाजको पूँजी केवल आर्थिक होइन, सम्बन्ध र विश्वास पनि हो।’ म जागिरका कारण आफ्ना आफन्तसँग टाढिएको लामो समय भएको छ। अब उनीहरू मलाई फोन गर्दैनन् किनभने उनीहरूले मलाई ‘व्यस्त मान्छे’ को सूचीमा राखेका छन्। म उनीहरूसँग फर्कन चाहन्छु गफगाफ गर्न, चुलोको परिकार चाख्न र सादा मान्छे बन्न चाहन्छु। म मेरा आफन्तसँग माफी माग्दै टुटेका मेरा सामाजिक सम्बन्धहरू जोड्न चाहन्छु।

आफ्ना सन्तानसँगको पुनःपरिचय र परिवारसँग पुनर्मिलन: बच्चासँगको सम्बन्ध केवल भौतिक उपस्थितिमा होइन, भावनात्मक संलग्नतामा आधारित हुन्छ। बाल मनोवैज्ञानिकहरू भन्छन्, ‘बाबुआमासँग बिताएको गुणस्तरीय समयले सन्तानमा आत्मबल र आत्मचिन्तन विकास गर्छ।’

मैले हिजोसम्म आफ्ना बच्चाहरूलाई केवल पढ्न पठाएको थिएँ, अब तिनीहरूसँग रमाउन चाहन्छु। उनीहरूसँग लुगा फेर्दा होस् वा होमवर्क सुल्झाउँदा होस् फेरि ‘बाबा’ बन्न चाहन्छु। केवल नागरिकता र स्कूलको फारम भर्दा नाम लेखिने बाबा होइन। मलाई हनिमुन मनाउन हिंडेका नवविवाहित जोडी जस्तै आफ्नी श्रीमतीसँग पुन: निष्फ्रिक्री घुम्न मन छ, जुन मैले जागिरको व्यस्तताले जुराउन सकेको छैन।

ध्यान र साधनाको चाहना: म लामो समयदेखि ध्यान र साधनामा रुचि भएको मान्छे हुँ। मैले करिब एक दशकभन्दा बढी समयदेखि ध्यान गर्दै आएको छु। व्यस्त जीवनशैलीले मलाई त्यसप्रति त्यति ध्यान लगाउन समय दिएको छैन। आधुनिक तनावयुक्त जीवनशैलीले मनोवैज्ञानिक विकारहरूको वृद्धि गरिरहेको छ।

डब्लूएचओका अनुसार आज प्रत्येक तेस्रो व्यक्ति तनावबाट प्रभावित छ। मलाई आत्मिक शान्ति खोज्न जस्तै विपश्यना, ओशो तपोवन जस्ता ध्यान शिविरहरूमा जान मन छ। १५ दिनको समय मिलाउन नसकेका कारण म त्यहाँ जान पाएको छैन। त्यहाँ म केवल मानसिक शुद्धि मात्र होइन, जीवनप्रति दृष्टिकोणको रूपान्तरण खोज्नु छ।

साँचो घुमन्ते बन्ने चाहना: सरकारी कामको सिलसिलामा मैले दर्जनौं देशमा पुगी नेपालीको सेवा तथा भ्रमण गरेको छु। तर कामकै सिलसिलामा होस् वा पढाइको सिलसिलामा होस् मैले ती देशहरू देख्न पाइनँ, मैले तिनका आत्मा छुने मौका पाइनँ। अब म स्वच्छन्द यात्रा गर्न चाहन्छु विना तालिका र विना जिम्मेवारी, केवल रमाइलोका लागि। पेरिसको सडकमा हिंड्दा मलाई फाइल सम्झनु नपरोस्, रोमको सङ्ग्रहालयमा म आँखा रोक्न सकूँ। दक्षिण कोरियाको जेजु आइल्यान्डको समुद्री किनारमा हाफ पेन्ट र गन्जी लगाएर उफ्रिन सकूँ, जहाँ मेरो पद–प्रतिष्ठा हुँदैन र त्यही साँचो यात्रा हुनेछ।

 

मनले चाहेका पुस्तक पढ्ने अभिलाषा: सरकारी सेवा भनेको एउटा अन्त्यहीन प्रतिस्पर्धाको मैदान हो, जहाँ पढाइ केवल परीक्षा पास गर्न, पदोन्नति हुन र प्रणालीभित्र आफूलाई योग्य सावित गर्नकै लागि हरेक समय प्रतिस्पर्धामा केन्द्रित हुनुपर्छ। यहाँ अध्ययन गर्ने विषयहरू अधिक परम्परागत र यान्त्रिक हुन्छन्। सार्वजनिक प्रशासन तथा व्यवस्थापन, सार्वजनिक नीति, प्रशासनिक योजना, कार्यसम्पादन मूल्याङ्कन आदि। यस्ता पाठ्यक्रमले ज्ञान त दिन्छ, तर त्यो ज्ञान केवल कागजका लागि हो, आत्माको तृप्तिका लागि भएन र हुन सक्दैन।

जागिरको सिलसिलामा आजसम्म सयौं फाइल, नीतिगत प्रतिवेदन, विधेयकका मस्यौदा, टिप्पणीका पाना आदि पढियो र पढिंदै छ। यी सबै पढाइ जिम्मेवारी पूरा गर्न आवश्यक तथा बाध्यकारी पनि थिए। तर मनको गहिराइमा कतै एउटा अधुरो चाहना थाती रहेको छ। मनले चाहेका पुस्तकहरू पढ्ने, जसले आत्मालाई छुन सकोस्, भावनालाई झस्काउन सकोस्, जीवन बुझ्न सहयोग गरोस्।

म श्रीमद्भागवत गीताको श्लोक-श्लोकमा जीवनको दर्शन भेट्न चाहन्थें, जहाँ कर्मको निःस्वार्थ भाव, आत्मा र शरीर बीचको सम्बन्ध र परमसत्यको खोज प्रस्तुत हुन्छ। तर यी सब पढ्ने समय मैले कहिल्यै निकाल्न सकिनँ। समय सधैं अत्यन्त जरूरी, जरूरी तथा महत्त्वपूर्ण कामहरूमा बित्यो।

जागिरका पदीय दायित्व, बैठक, तालिम तथा सरकारी लामा प्रक्रियागत कामका बीचमा मेरो सानो पुस्तकालयमा थन्किएका मेरा किताबको थाकमाथि कहिल्यै हात लगाउन पाइनँ। अब म रिटायर्ड भएपछि त्यो बाँकी काम पूरा गर्नेछु। म केवल प्रमाणपत्रका लागि होइन, आत्मा र अनुभूतिको लागि पढ्नेछु। म पढाइलाई फेरि रमाइलो बनाउनेछु, जसमा न मार्किङ हुनेछ, न रिपोर्टिङ, न पास फेलको अन्त्यहीन दौड— केवल गहिरो सोच, मौनता र आत्मसंवाद हुनेछ। म किताबसँग संवाद गर्नेछु, जुन संवाद कलम वा परीक्षा पत्रमा होइन, मुटु र चेतनामा हुनेछ।

म समय निकालेर नीतिशास्त्र पढ्नेछु, एरिस्टोटल र कान्टका विचारहरू बुझ्नेछु। म नेपाली साहित्यमा डुबेर परशु प्रधानका कथा, लैनसिंह बाङ्देलका उपन्यास र पछिल्ला समकालीन साहित्य पढ्नेछु। ती किताब जसले मलाई फरक बनाउँछन्, साँच्चिकै मानिस बनाउँछन्। रिटायर्डपछि मेरो समय तिनका लागि हुनेछ। मैले पढ्ने पढाइ अब सरकारी सेवाको माग होइन, ‘आत्मिक सेवाको पूर्ति हुनेछ। जसले मेरो जीवनलाई पूर्ण बनाउनेछ, मौन क्षणहरूलाई सार्थक र आत्मालाई जिउँदो राख्नेछ।

अब म जीवनका बाँकी दिनहरू मनले चाहेका कुरा गर्न, मनले खोजेका ठाउँहरू जान र आफूभित्रको मौनतालाई सुन्न चाहन्छु। यो निर्णय केवल करिअरको समाप्ति होइन, आत्मा भेट्ने नयाँ सुरुवात हो। यही मेरो रिटायर्ड जीवनको दर्शन हुनेछ।

रातको शान्त निद्रा: निद्रा संसारकै सबैभन्दा सरल र प्राकृतिक प्रक्रिया हो तर जीवनका केही चरणमा यो प्रक्रिया नै विलासिता जस्तो लाग्न थाल्छ। विशेषतः जब जागिरे जीवनका बोझ, जिम्मेवारीका पर्खाल र कागजी कामको असीमितता बीचमा म जकडिएको छु, त्यहाँ रातको निद्रा सजिलो छैन।

आजभोलि म बिछ्यौनामा पल्टिए पनि मन सधैं व्यग्र रहन्छ। कुन कागजमा मैले सही गरें ? त्यो निर्णय गलत त भएन ? त्यो फाइलको एउटा हरफले कतै कसैको भाग्य बिगार्ने त होइन ? सानो गल्तीले म नीतिगत भूलको दोषी त ठहरिने होइन ? यो भय साँचो निद्राको शत्रु बन्छ। शरीर सुतेको हुन्छ, तर मन अनेक शङ्का, पछुतो र अनिश्चितताको घेराभित्र हिंडिरहेको हुन्छ। निद्राले मलाई टाढैबाट हेर्छ, जसरी प्रियतमले रिसाएको प्रेमीलाई हेर्छे, नजिक आउन चाहन्छे तर म उसलाई स्वागत गर्न सक्दिनँ।

तर, जब म रिटायर्ड हुन्छु, जब मेरा काँधबाट सरकारी गह्रुँगो भारी हट्नेछ र म साँच्चिकै मुक्त हुनेछु, त्यो रात म केवल निदाउने छैन, आफूभित्रको क्लान्त शरीरलाई विश्राम दिनेछु, आत्मालाई सुस्ताउनेछु र श्वासलाई लयमा ल्याउनेछु। मेरो निद्रा कुनै डरको आलोकमा होइन, विश्रामको काखमा हुनेछ। म त्यतिबेला रातलाई केवल अँध्यारो होइन, शान्तिको उपहार ठान्नेछु।

आँखा चिम्म गर्दा कुनै फाइलको सम्झना आउने छैन, कुनै सरुवाको सिफारिस सम्झनुपर्ने छैन। त्यो रात म सपनामा पर्खाल होइन, मैदान देख्नेछु, भोगाइ होइन, अनुभव देख्नेछु। मेरा सपना न त बन्द कोठामा सीमित हुनेछन्, न त टेबल कुर्सीको चक्रव्यूहमा अड्किनेछन्। म त सपनाको बगैंचामा रमाउनेछु, जहाँ न फूल थाक्छ, न मन थाक्छ।

बिहान जब सूर्यको पहिलो किरणले झ्यालबाट मेरो अनुहार छोएर जगाउनेछ,  मुस्कानका साथ उठ्नेछु, कुनै अफिसको हतारो होइन, केवल जीवनको लयमा समर्पण लिएर। त्यो बिहान म चिया कप लिएर बिस्तारामा बसेर सोच्नेछु, ‘हो, आज म स्वतन्त्र छु शरीरले पनि, मनले पनि।

त्यस दिन मेरो मुटुमा सङ्गीत बज्नेछ, श्वास लयमा बहनेछ र निद्रा मलाई फेरि साँझ स्वागत गर्न आउँदा म उसलाई बाँसुरीको स्वरमा स्वागत गर्नेछु। यो शान्त निद्रा केवल आरामको कुरा होइन, त्यो आत्मानन्द हो। चिन्ताबाट मुक्त, पछुतोबाट टाढा र वर्तमानमा समर्पित एक न्यानो अनुभूति। यही त हो साँचो रिटायर्ड जीवनको एक सुन्दर उपहार।

सर्वसाधारण बन्ने इच्छा: सधैं अगाडि कुर्सी मिलाइदिने, लाइन छोडेर सर अगाडि जानूस् भनेर सेवा दिने र भीडमा छुट्टै बाटो खुलाइदिने यी सबै विशेष व्यवहारले मेरो बानी निकै बिग्रेको छ र यो मेरो जागिरे जीवनको हिस्सा बनेको छ। मलाई रिटायर्ड भएपछि यी सबै विशेषताको भारी मनबाट बिसाउन मन छ। अब मलाई विशेष होइन, सामान्य बन्ने रहर लागेको छ। एक सर्वसाधारण नागरिक जसको जीवन सजिलो छ, विशेष र वास्तविक छ। रिटायर्ड भएपछि म त्यो लाइनमा उभिन चाहन्छु जसमा अहिलेसम्म कहिल्यै उभिएको थिइनँ।

म अस्पतालमा पालो कुर्न चाहन्छु, त्यही कुर्सीमा जहाँ अरू सेवाग्राहीहरू चुपचाप बसेर डाक्टरको पर्खाइमा हुन्छन्। म नगरपालिकाको सानो सिफारिस पत्र बनाउने कक्षमा बस्न चाहन्छु, न नाम भन्दै सिफारिस अगाडि पारियोस्, न त ‘पहिले आउनुभएको हो’ भनेर सम्झाइयोस्। केवल पालोमा बस्ने, नम्बर आउने पर्खने, त्यो अनुभूति लिन चाहन्छु किनभने त्यो हो साँचो लोकतन्त्रको आधार, समानता र मानवीयता।

म सरकारी सवारी छोड्ने छु र सार्वजनिक यातायातमा चढेर यात्रा गर्न चाहन्छु, जहाँ सर्वसाधारण मान्छेको जीवन पनि चिन्न पाइन्छ। मैले यति वर्ष सेवा दिएँ, नीतिगत निर्णयहरू गरें, बजेट बनाएँ, सेवा वितरण गरें। तर मलाई कहिल्यै त्यो नीति लागू भएका सेवाको अनुहार हेर्ने फुर्सद मिलेन। अब मलाई सेवाग्राही भएर आफैं त्यो अनुहार हेरौं जस्तो लागेको छ। त्यो सेवा जब म आफैं प्रयोग गर्छु, तब मात्र बुझ्न सक्छु।

जब घण्टौं कुर्दा पालो आउँदैन या कुनै कर्मचारीले दिनभरि लाइन बसेपछि भोलि आउनुस् भन्छ; म त्यो पीडा बुझ्न चाहन्छु, त्यो अनुभवको गहिराइमा डुब्न चाहन्छु। मलाई अहिले पदीय धङधङीले सबै गर्न रोकिरहेको छ। म पद गुमाउन चाहन्छु, ताकि मानिस बन्न सकूँ। पदले दिएको शक्ति त केही समयको हो, तर मानिस हुनु जीवनभरको सम्पत्ति हो।

मलाई फेरि ‘नागरिक’ बन्न मन छ, न शासक, न त व्यवस्था चलाउने; केवल त्यस व्यवस्था भित्रको एउटा नाम, एउटा अनुहार, जसले सेवा लिन्छ, आलोचना गर्छ, अनि फेरि सुधारको आशा राख्छ।

त्यही भएर, म जति सक्दो चाँडो सामान्य नागरिक बन्ने सोचमा छु। किनभने यही सामान्यभित्र छ असाधारण अनुभूति जहाँ न पदको डर हुन्छ, न इज्जतको र लोभको। केवल रहन्छ जीवनको साँचो स्वाद, अनुभवको पूर्णता र सेवा लिने अधिकारको आत्मिक मूल्य। यही छ मेरो अन्तिम चाहना सर्वसाधारण बन्ने साँचो रहर।

आलोचनात्मक चेत: आजको आधुनिक समाजमा ‘म के गर्छु?’ भन्ने प्रश्नले नै ‘म को हुँ?’ भन्ने उत्तर निर्धारण गर्छ। काम, पद, जिम्मेवारी र भूमिका नै पहिचानको मूल आधार बनेको छ। यस्तो परिवेशमा व्यक्तिको आत्मा, चेतना र स्वतन्त्रता क्रमशः ओझेल पर्दै जान्छ।

विगत केही वर्षदेखि मैले महसुस गर्न थालेको छु कि, म आफ्नो कर्मभूमिमा व्यस्त छु, तर आत्मिक आवाजबाट टाढिएको छु। नतिजाविहीन फाइल तथा चिठीमा हस्ताक्षर गर्दागर्दै मैले आफ्नै भावना, अभिव्यक्ति र स्वतन्त्रतामाथि प्रतिबन्ध लगाएको छु। मेरो जीवन नीति, नियमन र प्रशासनिक उत्तरदायित्वको घेरामा कैद गरेको छु जसले मलाई एक कर्मचारी त बनायो, तर एक स्वतन्त्र व्यक्ति बन्न कहिल्यै दिएन।

बौद्ध दर्शनको मूल शिक्षामा भनिन्छ, ‘निर्वाण बाहिर होइन, भित्र हुन्छ।’ त्यही दर्शन आज मेरो अन्तर्मनले झल्काइरहेको छ। सेवानिवृत्तिको आकाङ्क्षा केवल आरामको चाहना होइन, त्यो बाहिरी होडबाजीबाट मुक्त भएर आत्मासँग पुनः भेट्ने यात्रा हो।

अब म पद, प्रतिष्ठा र परिपाटीको आवरणबाट मुक्त भएर, शुद्ध र सत्य रूपमा आफैंसँग संवाद गर्न चाहन्छु। म आत्मसंवादको त्यो न्यानो क्षण पर्खिरहेको छु, जहाँ न कोही हेरेको हुन्छ, न त कुनै भूमिकाको अपेक्षा हुने गर्छ। मात्र म र मेरो अन्तरात्माबीचको मौन वार्ता हुन्छ।

मलार्इ गहिरो अभिलाषा छ, लेख्ने र मनको आवाजलाई अक्षरमा ढाल्ने। मैले केही गीतहरू रचेको छु, केही रेकर्ड समेत भएका छन्। ती गीतहरू केवल सङ्गीत मात्र थिएनन्, ती मेरा संवेदनाका स्वर, अनुभवका लय र भावनाभित्रका गहिराइ थिए। तर त्यो सबै मैले समयको भिडभाडमा बिर्सिएको छु। जागिरको अनुशासन, तालिका र कार्यभारले मेरो सिर्जनशीलताको झिल्कोहरूलाई लुकाइदिएको छ। म त्यो झिल्को पुनः देख्न चाहन्छु, प्रकाश बनाइदिन चाहन्छु।

सेवानिवृत्त भएपछि म फेरि चाहन्छु गीत लेख्न, कविता रचना गर्न, अनुभवका डायरीहरू सजाउन। त्यो लेखाइ पुरस्कारका लागि होइन, शान्तिका लागि हुनेछ। त्यो सिर्जनशीलता प्रमाणित हुनका लागि होइन, स्वतन्त्र महसुस गर्नका लागि हुनेछ। म लेख्दै जाँदा आफैंसँग कुरा गर्नेछु, आफैंसँग रूनेछु, हाँस्नेछु र त्यो नै मेरो आत्मपुनर्स्थापनाको प्रक्रिया हुनेछ। यो आवाज शायद धेरै कर्मचारी, शिक्षक वा नीतिनिर्माताहरूको पनि साझा स्वर हो जसले आफ्नो इच्छा र सिर्जनशीलता जागिरको ढोकाभित्र थुनेका छन्।

तर, अब समय आएको छ ती ढोकाहरू खोल्ने, आत्माको उज्यालो फिर्ता ल्याउने। म अब जागिरको पद होइन, भावनाको पदमा उभिन चाहन्छु। म नीतिगत हस्ताक्षर होइन, गीतात्मक हस्ताक्षर गर्न चाहन्छु। यो मेरो फेरि आफू बन्ने यात्रा हो। जहाँ उद्देश्य जागिर होइन, जीवन हो। जहाँ अभिव्यक्ति स्वीकृति होइन, मुक्ति हो।

यही मेरो साँचो चाहना हो आफैंलाई फेरि भेट्ने, आत्मसंवाद गर्ने र सिर्जनाको नदीमा फेरि पौडिन शुरू गर्ने। यही मेरो रिटायरमेन्टको दर्शन हो, विराम होइन, जीवनको पुनः आरम्भ।

निष्कर्ष

रिटायर्ड हुनु केवल तलब रोक्नु होइन, त्यो जीवनलाई भित्रबाट पुनः जिउन शुरु गर्ने एक गहिरो यात्रा हो। यो अवस्था जिम्मेवारीको अन्त्य होइन, बरु आत्मसंवाद र आत्मखोजको सुरुवात हो।

अब म समयलाई घडीको हिसाबमा होइन, सम्बन्ध र अनुभूतिको मूल्यमा मापन गर्न चाहन्छु। जीवनको दोस्रो चरणमा म आफन्तहरूसँग बिताउने पल, अधुरा सपना पूरा गर्ने समय र आत्मासँगको सम्बन्धलाई प्राथमिकता दिन चाहन्छु। जहाँ अरूले जागिर थप्न, पद बढाउन वा भत्ताको जोहो गर्न ‘रुलिङ’ गर्ने समय मागिरहेका छन्। म भने आत्मीयता र अनुभूतिको लागि थप ‘कुलिङ’ पिरियड खोजिरहेको छु।

पद र अधिकारभन्दा अब मलाई आत्मिक सन्तोष र गहिरो सम्बन्धले नै तृप्त बनाउँछ। सेवानिवृत्तिपछि म आफैंसँगको टुटेको सम्बन्ध पुनः जोड्न, सिर्जनशीलता फिर्ता ल्याउन र स्वतन्त्र अनुभूति गर्न चाहन्छु।

अब म जीवनका बाँकी दिनहरू मनले चाहेका कुरा गर्न, मनले खोजेका ठाउँहरू जान र आफूभित्रको मौनतालाई सुन्न चाहन्छु। यो निर्णय केवल करिअरको समाप्ति होइन, आत्मा भेट्ने नयाँ सुरुवात हो। यही मेरो रिटायर्ड जीवनको दर्शन हुनेछ।

(नेपाल सरकारका शाखा अधिकृत भुसाल हाल दक्षिण कोरियामा अध्ययनरत छन्।)





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School