१७ मंसिर, काठमाडौं । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको गेटमै उज्यालो नेपालको चुनाव चिन्ह ‘बत्तिको चिम’ प्रतिकात्मक रुपमा खडा गरिएको थियो । प्रज्ञा परिसरमा विभिन्न होर्डिङबोर्डहरू लगाइएका थिए, जसमा फोटो खिच्नेहरूको कमी थिएन ।
भित्तामा टाँसिएका बोर्डमा लेखिएको थियो– उज्यालो नेपाल पार्टी । त्यसको तल नारा दिइएको थियो – सुशासन, समृद्धि र सामाजिक न्याय । कार्यक्रमस्थल हरियाली थियो । हरियो झण्डा र क्याप लगाएका सहभागीहरू थिए ।
‘उज्यालो नेपाल के भन्छ ? कुलमान घिसिङ ’ले’ भन्छ’ यस्ता नारा पनि लागिरहेका थिए । कुलमान घिसिङ समर्थित दल उज्यालो नेपालको घोषणा सभा हेर्न आएका अधिकांशको भनाइ थियो– पूरानाले गरेनन्, अब नयाँलाई साथ दिने ।
कार्यक्रममा प्रमुख अतिथि कुलमान घिसिङ आइपुगेका थिएनन् । तर कार्यकर्ताले कुलमान केन्द्रित नारा लगाउन थालिसकेका थिए । कतिपयले त्यहाँ सहभागीहरूलाई क्याप बाँडिरहेका थिए ।
घोषणापत्र दिइरहेका थिए । कार्यकर्ताका मुखबाट ‘उज्यालो नेपाल’ भन्दा धेरै ‘कुलमान घिसिङ’ को नाम सुनिन्थ्यिो ।
रामेछाप माइती भएकी काभ्रेकी शशिकला दोङ लामा कार्यक्रमस्थलमा भेटिइन् । उनी माइती गाउँको दाइलाई सघाउन भन्दै कार्यक्रममा आएकी थिइन् । ‘कुलमान दाइ र हामी एउटै गाउँका हौँ । अब दाई यति राम्रो गरिरहनुभएको छ । सायद उहाँले नेतृत्व गरे देश बन्ला कि भनेर आएको । उहाँलाई साथ समर्थन रहन्छ,’ उनले भनिन् ।
त्यस्तै, अर्की पात्र थिइन्, गंगा श्रेष्ठ । संयोगले उनको माइती पनि रामेछाप नै रहेछ । अझ कुलमान घिसिङ र आफू एउटै स्कुल पढेको दाबी गर्ने उनले कार्यक्रमकै लागि भनेर घर–व्यवहार लथालिङ्ग छाडेर आइपुगेको बताइन् ।
भित्र चलिरहेको घोषणा सभा सभाहल बाहिर पनि प्रोजेक्टरमार्फत देखाइएको थियो । केही सहभागी बाहिर उभिएरै कार्यक्रम हेरिरहेका थिए ।
उनका अनुसार पुराना राजनीतिक दलले जनअपेक्षाअनुसार सोचेजस्तो काम गरेनन् । त्यसैले अब आफूले आजसम्म समर्थन गर्दै आएको नेपाली कांग्रेस छाडेर ‘माइती दाई’ कै पार्टी उज्यालो नेपाललाई सहयोग गर्ने उनको भनाई छ ।
‘आखिर कांग्रेसलाई भोट हालेर के पायौँ र ? बरु दाइले लोडसेडिङ हटाउनुभयो । अझै राम्रा काम गर्नुहुन्छ भन्ने अपेक्षा छ,’ काभ्रे पनौती घर भएकी उनले भनिन्, ‘त्यसैले त हामी धेरैजना भक्तपुरमा जम्मा भएर यहाँसम्म आयौँ । यत्रो भिड हेर्दा त दाईको पार्टीले जित्छ जस्तो लाग्छ ।’
सिन्धुलीस्थित सुनकोशी घर भएका फत योञ्जन पनि कार्यक्रममा सहभागी थिए । हाल कागेश्वरी मनोहरामा बस्ने उनी घरजग्गाको कारोबार गर्छन् । विद्युत् प्राधिकरणमा सफल भएकाले कुलमान नेतृत्वको सरकार आए व्यवसायिक वातावरण बन्ने अपेक्षा उनको थियो । आफूले आजसम्म कुनै दलमा खुलेर समर्थन नजनाएपनि अब उज्यालो नेपाललाई मौका दिएर हेर्ने उनले बताए ।
योञ्जनले अनलाइनखबरसँग भने, ‘हामीसँगैका कति विदेश गइसकेका छन् । कति जाँदै छन् । यसरी यो देशमै कोही रहँदैन । पुराना दलले यो विषयलाई गम्भीरताका साथ हेरेनन् । त्यसैले लोडसेडिङ हटाएका कुलमानले देशका अँध्यारो पनि हटाउँछन् कि भन्ने आशले आएको हुँ ।’

कार्यक्रममा विभिन्न स्थानबाट मानिसहरू आएका थिए । कति त बस नै रिजर्भ गरेर आएका थिए । काठमाडौंकै गोकर्णबाट मात्र दुई बस मान्छे कार्यक्रम स्थल आएका थिए । अन्य स्थानबाट पनि बसमा मान्छे आएका थिए ।
घोषणा सभा एक बजे सुरु हुने भनिएपनि केही ढिला थालियो । ढिलो आइपुगेका कुलमानलाई कार्यकर्ताले सिमित घेराभित्रबाट कार्यक्रमको हलमा प्रवेश गराए ।
भित्र चलिरहेको घोषणा सभा सभाहल बाहिर पनि प्रोजेक्टरमार्फत देखाइएको थियो । केही सहभागी बाहिर उभिएरै कार्यक्रम हेरिरहेका थिए ।
प्रज्ञाको हलमा भने दुवै तला भरिभराउ थियो । सुरुवातदेखि नै कार्यकर्ताको हुटिङ र तालील चलेको थियो । हलको सबै भागमा मिलाएर उज्यालो नेपालको स–साना ब्यानरहरू टाँसिएको थियो ।
उद्घोषकले बोलुन्जेसम्म पनि कार्यकर्ताले नारा लगाउन छाडेनन् । उनीहरू भनिरहेका थिए– कुलमान घिसिङ जिन्दावाद ।
केहीले भने तामाङ संस्कृति झल्कने डम्फु बजाइरहेका थिए । हल्लाखल्ला भइरहेको हललाई उद्घोषकले ‘धन्यवाद’ भन्दै केही शान्त बनाए । त्यसपछि पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले पार्टीको औपचारिक घोषणा गरे ।
पार्टी घोषणापछि पार्टीको देशको विगत, वर्तमान समेट्दै उज्यालो भविष्यको सपना दर्शाउने भिडियो देखाइयो । प्रचलित ‘गौरवपूर्ण विगतको गाथा’ सुनाउँदै वर्तमानमा व्याप्त बेथिति देखाउँदै यसको समाधान अब उज्यालो नेपाल पार्टीले नै ल्याउने दाबी गरियो ।

भिडियोकै बीचमा जेनजी आन्दोलनको चर्चित जुत्ता देखाएर युवापुस्ताको भावना क्यास गर्ने प्रयास पनि गरेको देखिन्थ्यो ।
‘ऊर्जाको निर्यात गर्दै देशलाई समृद्ध बनाउने, इगभर्नेन्सबाट चुस्तदुरुस्त सेवा दिने, आधुनिक कृषिबाट देशलाई आत्मनिर्भर बनाउने… उज्यालो नेपाल पार्टी– उज्यालो भविष्यको लागि,’ भिडियोको सन्देश थियो, ‘अब राजनीतिक परिवर्तन हैन, आर्थिक रुपान्तरण चाहिएको छ ।’
यसरी भिडियो चलिरहँदा कार्यकर्ताको हुटिङ चलिरहेको थियो । यहीक्रममा नागरिक अगुवा सुन्दरमणि दीक्षितले बोल्ने अवसर पाए । उनको भाषण कुलमान घिसिङमै केन्द्रित थियो ।
विद्युत् प्राधिकरणमा हुँदाका घिसिङको तारिफ गर्दै देशको भविष्य उनकै हातमा रहेको आशयको अभिव्यक्ति दिए । सँगसँगै सुझाव पनि दिन भ्याइहाले, ‘वर्तमान संसदीय व्यवस्था कुहिसक्यो । यो फालेर अब प्रत्यक्ष कार्यकारीको लागि सोचिदिनुस् ।’
कार्यक्रमभर जबजब ‘नोट चल्ने, भोट नचल्ने’ भन्दै विदेशमा रहेकाको मताधिकारको कुरा उठ्थ्यो, तब सहभागीले ताली र हुटिङले साथ दिन्थे ।
यदि प्रत्यक्ष कार्यकारीको व्यवस्था भए कुलमानजस्ता पात्र सिधै देशको नेतृत्व सम्हाल्ने ठाउँमा पुग्नसक्ने सम्भावना उनले सुनाए । कुलमानलाई लिएर उत्साही कार्यकर्ताले दिक्षितको आवाजमा ताली थपिहाले ।
दीक्षितको भाषणपछि पार्टीको घोषणापत्र पढ्न भन्दै रिमा विश्वकर्मालाई बोलाइयो । उनी आउँदा प्रज्ञा हलको माहोल थप तात्तियो । तालीको गड्गडाहट र हुटिङ अनवरत चलिरह्यो । चर्को आवाजमा बोल्न थालेकी रिमा भाषणमा आक्रमक सुनिइन् । ‘मलाई धेरैले राजनीतिमा किन आएको भनेर सोध्नुहुन्छ,’ ती प्रश्नकर्तालाई उल्टै प्रश्न गर्न चाहेको भन्दै उनले सोधिन्, ‘तपाईंहरू चाहिँ किन राजनीतिमा नआउनुभएको ?’

कुलमानलाई ‘जोजो’ सम्बोधन गरेकी उनले अब देश बनाउने आशा कुलमान घिसिङ नै रहेको दाबी गरिन् । हिजो लोडसेडिङ जसरी हट्यो, अब देशको अन्धकार उसैगरी हट्ने विश्वास व्यक्त गरिन् र त्यसमा आफूले साथ दिने वचन दिइन् ।
केन्द्रीय सदस्यसमेत रहेकी उनले केही बोलेपछि घोषणापत्र पढिन् । पार्टीका विभिन्न एजेन्डा समेटिएको घोषणापत्रमा जब ‘भ्रष्टाचार गरेकाको सम्पत्ति छानबिन गरिनुपर्छ’ विषय आयो, तब हुटिङ झन बढ्यो । अझ ‘विदेशमा बसेकाको मताधिकार सुनिश्चित गरिनुपर्छ’ भन्दा तालीसमेत थपिएर हलको माहोल नै गुञ्जायमान बन्यो ।
कार्यक्रमभर जबजब ‘नोट चल्ने, भोट नचल्ने’ भन्दै विदेशमा रहेकाको मताधिकारको कुरा उठ्थ्यो, तब सहभागीले ताली र हुटिङले साथ दिन्थे ।

सायद यही बुझेर होला उज्यालो नेपाल पार्टीले ‘प्रवास’ बुथ पनि कार्यक्रमस्थलमा बनाएको थियो । पार्टीको नयाँ सदस्यताको लागि रजिस्ट्रर गर्न प्रदेशअनुसार स्थान छुट्याइएको थियो । हरेकले आफ्नो प्रदेशको बुथमा गएर नाम टिपाउन सक्थे भने विदेश बस्ने तर अहिले नेपाल आएको कोही भए उनीहरूको लागि ‘प्रवास’ बुथ भनेर छुट्टै बनाइएको थियो ।
रिमा विश्वकर्माको भाषण सकिनासाथ स्टेजमा देखा परिन्– रास्वपा छाडेकी सुमना श्रेष्ठ । श्रेष्ठ गएर अनुपकुमार उपाध्याय र कुलमान घिसिङसँग हात मिलाएर आसन ग्रहण गरिन् ।
एकाएक देखिएकी सुमनालाई लिएर ‘यही पार्टीमा उनी रहेको’ टिप्पणी भयो । तर, उनी शुभकामना सन्देश दिनमात्र त्यहाँ पुगेकी रहेछिन् ।
भाषण गर्दा भक्कानिएकी सुमनाले यो पार्टीले देश विकासमा काम गरोस् भन्दै शुभकामना दिइन् । अन्य अतिथिभन्दा उनी आलोचनात्मक नै सुनिइन् । पूर्वशिक्षमन्त्रीको हैसियतमा बोलेकी उनले आफूमाथि उठेका प्रश्नबारे स्पष्ट पार्दै भनिन्, ‘सुमना कता हो भनेर धेरैले सोध्छन्, सुमना एकतामा छ ।’

यसरी कार्यक्रममा जेनजी घाइते र सहीद परिवारको प्रतिनिधित्व गर्दै गीता पाण्डे, जेनजी युवा किशोरी कार्की, अपाङ्गताको प्रतिनिधित्वमा विनिता खड्का, नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रदेश सभा सदस्य धर्म चौधरी, डा. गणेश योञ्जनले पनि भाषण गरे ।
भाषणमा सबैले कुलमानको नाम लिँदा पार्टीकै अध्यक्ष अनुपकुमार उपाध्यायलाई अरुले सम्झिएनन् ।
तर, कुलमानले आफ्नो बोल्ने पालोमा भने सुरुवातमै अनुपकुमार उपाध्यायको नाम लिए । आफूलाई कार्यक्रम हलमा छिर्दाछिर्दै केही पत्रकारले ‘किन आउनुभयो यहाँ ?’ भनेर सोधेको प्रसंग कोट्याउँदै उनले भने, ‘उज्यालो नेपालमा प्रमुख अतिथिको रुपमा बोलाउनुभयो, म आएँ । अरुले पनि बोलाउनुभयो भने जान्छु ।’

अनुपकुमार उपाध्यायको नाम लिँदै कुलमानले थपे, ‘मेरा पुराना भित्र अनुपकुमार उपाध्यायले ल्याउनुभएको हो उज्यालो नेपालको अभियान । पर्दा पछाडी काम गरेका उहाँ अध्यक्ष बनेर उज्यालो नेपाल पार्टी लिएर आउनुभएको छ । उहाँलाई बधाई दिन त म आउनैपर्यो ।’
कुलमानले उज्यालो नेपालमा प्रत्यक्ष रुपमा संलग्न रहेको खुलाएनन् । बरु भाषणको अन्तिममा आफूलाई प्रमुख अतिथिको रुपमा बोलाएको भन्दै धन्यवाद दिए ।

