कुटनीतिमा पनि कमजोर ओलीका कदम



चिकित्सकीय अभ्यासमा एउटा व्यङ्ग्यात्मक भनाइ छ- द अपरेसन वाज सक्सेसफुल, द पेसन्ट इज डेड ।

खासगरी आफ्नो प्राविधिक सफलतालाई हेर्ने तर बिरामीको जीवन नजोगिने अवस्थालाई यसले गज्जबले व्याख्या गर्छ । २०८१ असारदेखि २०८२ भदौसम्म तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कुटनीतिक तानाबानाको लेखाजोखा गर्न योभन्दा ठ्याक्कै मेल खाले अरु भनाइ के होला र !

पोहोर असारमा प्रधानमन्त्री बनेका केपी शर्मा ओली भदौ ११ गते पूर्व परराष्ट्रमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाको किताब विमोचनमा पुगे । थापाले लेखेको कुटनीति र भूराजनीति नामक किताब विमोचन गर्दै तत्कालीन प्रधानमन्त्री ओलीले नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदन बुझ्न भारतलाई सार्वजनिक आह्वान गरे ।

कांग्रेसको समर्थनमा चलिरहेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारसँग नै ‘कम्फर्टेबल’ मानिरहेको निकट छिमेकी भारत नेपालका प्रधानमन्त्री ओलीले कुटनीतिक तवरबाट सल्टाउन पर्ने विषयलाई सार्वजनिक रूपमा व्यक्त गरेको भन्दै भारत सुरूमै चिढियो ।

भदौ २२ गते उनी पूर्व प्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुनः नेपाल भारत सहकार्यको दृष्टिकोण’ नामक पुस्तक विमोचनमा पुगे । त्यहाँ पनि ओलीले भारतले समय नदिएका कारण ईपीजी प्रतिवेदन बुझ्न नसकिएको दोहोर्‍याए । भारत झन चिढियो ।

ओली मन्त्रीपरिषद्की परराष्ट्रमन्त्री आरजु राणाले भारतसँग सम्बन्ध सुधारको यत्न गरिरहेका बेला सार्वजनिक रूपमा ओलीले दिएका अभिव्यक्तिहरूले उनले चाहेको जस्तो हुन सकिरहेको थिएन । बरू भारतले नेपाली पक्षसँग गर्नुपर्ने संवाद र सहकार्यको छलफल परराष्ट्रमन्त्री राणामार्फत् नै गरिरहेको थियो ।

२०८१ भदौ पहिलो साता भारत भ्रमणमा जाँदा राणालाई भारतीय पक्षले उच्च सम्मान गरेको थियो । उक्त भ्रमणका बेला राणाले प्रधानमन्त्रीकै हाराहारीको सम्मान पाएपछि कुटनीतिक क्षेत्रमा त्यसको चर्चा चलेको थियो ।

त्यही भ्रमणमा परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस. जयशंकरसँग प्रधानमन्त्री ओलीको भारत भ्रमणको व्यवस्था मिलाउन आग्रह गरेकी थिइन । त्यसबेला भारतीय पक्ष प्रधानमन्त्री ओलीलाई तत्काल दिल्लीमा स्वागत गर्न त तयार भएन तर, मोदी संयुक्त राष्ट्रसंघको साइडलाइन बैठकमा ओलीसँग भेट्न तयार भए ।

प्रधानमन्त्री ओली र मोदीबीच करिब ३० मिनेट भएको उक्त वार्ता सकरात्मक भने हुन सकेको थिएन । भेटपछि भारतले विदेश मन्त्रालयको वेबसाइटमार्फत विज्ञप्ति निकालेर संवाद भएका चार विषयबारे उल्लेख गरे पनि नेपालका तर्फबाट भने कुनै औपचारिक जानकारी समेत आएको थिएन ।

उक्त बैठकमा प्रधानमन्त्री ओलीलाई नेपालका अधिकारीहरूले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत विषयमा नबोल्न आग्रह गरे पनि मोदी र ओलीबीचको संवाद तिक्त बन्दै जाँदा ओलीले ती विषय पनि उठाएका थिए । त्यसपछि अधिकारीहरूले हतारहतार बैठक छोट्याउनुपरेको थियो ।

‘बैठकमा ओलीले नेपाल सानो देश भए पनि महत्व ठूलो रहेको धारणा राखे । मोदीले साना देशको महत्व ठूलो हुने भए पनि कहिलेकाहीँ घातकसमेत हुने भन्दै जवाफ दिए’ स्रोतले भन्यो, ‘ओलीले लिपुलेकतिर कुरा मोडेपछि संवाद सौहार्द भएन । ३० मिनेट भनिएको छलफल २० मिनेटमै सकियो ।’

ओली र मोदीबीच व्यक्तिगतस्तरमै सम्बन्ध चिसियो । प्रधानमन्त्री केपी शर्मा ओली विस्तारै चीनतिर ढल्किन थाले । राजनीतिक विश्लेषक सञ्जिव हुमागाईं कांग्रेस-एमाले गठबन्धन भएको र ओली-आरजु टिम भएकोले कुटनीतिमा उल्लेखनीय सफलता प्राप्त हुने अपेक्षा भएता पनि नतिजा भने पूरै नकरात्मक निस्किएको टिप्पणी गर्छन् ।

‘नेपालको अन्तर्राष्ट्रिय पहिचानमा नै समस्या छ । एउटा देश देखाएर अर्को तर्साउने खालको देखिन्छ । अर्को ओलीले भारत र चीनबाहेक अरू मुलुकमा कुटनीति विस्तार गर्न चाहेको पनि देखिएन,’ हुमागाईले भने, ‘सधै आफू जानेमा केन्द्रित भए । भारत र चीन बाहेकका अन्य राष्ट्र प्रमुखलाई आमन्त्रण गर्ने र कुटनीतिको दायरा फराकिलो बनाउनेमा ध्यान दिन नसक्दा नेपाललाई यो १४ महिनासम्म बिग पावर ट्रयापमा खाँद्ने काम भयो ।’

औपचारिक-अनौपचारिक संवादहरू गर्दा पनि भारतले भाउ नदिएपछि प्रधानमन्त्री बनेको ६ महिनामा ओलीको नजर चीनतिर सोझियो । उत्तरका च्यानलहरूमार्फत् ओलीले चीनतिर संवाद थाले । चीनले उनलाई भ्रमणको निम्तो पनि दिइहाल्यो । उनी मंसिर १७ गते ४ दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरे ।

चीन भ्रमणका बेला बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गर्ने प्रमुख कार्यसूची थियो । त्यसबेला भने प्रधानमन्त्री ओलीले उच्च राजनीतिक संस्कार देखाए । सत्ता साझेदार दलहरूसँग संवाद गरे, सम्झौता गर्ने विषयहरूबारे परामर्श भयो । टिममा छलफल भयो ।

कुटनीतिमा पनि कमजोर ओलीका कदम

अन्ततः मंसिर १९ गते बीआरआई फ्रेमवर्कमा सम्झौता भयो । नेपाल र चीनबीच प्राविधिक कुराहरू नमिल्दा २०१७ देखि अड्किरहेको फ्रेमवर्कले ७ वर्षपछि गति लियो । तर यसपछि अन्तर्राष्ट्रिय स्तरमा भने ओलीलाई त्यति सहज भएन ।

सुरूमा प्रधानमन्त्रीकै सरोबरीमा परराष्ट्रमन्त्री राणालाई सम्मान दिएको भारत उनीसँग समेत चिढियो । भारतका पछिल्ला भ्रमणहरूमा राणाले समेत भाउ पाइनन् ।

अर्कोतर्फ, चीनबाट फर्किएलगत्तै २०८१ पुसमा एमालेले राखेको केन्द्रीय कमिटी बैठकमा ओलीले कुटनीतिक हिसाबले असन्तुलित राजनीतिक दस्तावेज प्रस्तुत गरे । उनले चीनसँगको सम्बन्धलाई जति सौहार्द तरिकाले व्याख्या गरे, अमेरिका र भारतप्रति त्यतिनै पूर्वाग्रह राखे ।

तर, त्यसअघि नै उनले गृहनगर दमकको एक कार्यक्रममा आफूले चीन भ्रमण गरिसकेको र अब छिट्टै भारतको पनि भ्रमण गर्ने बताएका थिए ।

राजनीतिक दस्तावेजमा भने ओलीले भारत छिमेकी मुलुकहरूको सार्वभौमिकता, सरोकार र संवेदनशीलतालाई भारतले आवश्यक ध्यान नदिएको उल्लेख गरे भने चीनको खुलेर प्रशंसा गरे ।

केन्द्रीय कमिटीमा पेस भएको उक्त प्रतिवेदनमार्फत् ओलीले अमेरिकालाई पनि बाँकी राखेनन् । ताइवानका विषयमा अमेरिकाको दोहोरो र उत्तेजनात्मक भूमिकाले त्यस क्षेत्रमा तनाव बढाइरहेको उल्लेख गरे ।

केन्द्रीय कमिटीमा लिखित रूपमै प्रस्तुत भएको उक्त प्रतिवदेनका कारण पनि अमेरिका र भारत, विशेषगरि भारत प्रधानमन्त्री ओलीसँग चिढिइरहेको थियो । भारत भ्रमणमा निमित्त प्रयास पनि गरिरहने, गैरकुटनीतिक अभिव्यक्तिमार्फत भारतलाई चिढ्याई पनि रहने दोहोरो प्रवृत्तिका कारण ओली र उनले नेतृत्व गरेको सरकारमाथि विश्वास गुमिरहेको थियो ।

तथापि, परराष्ट्र मन्त्रालयमार्फत ओलीलाई भारत भ्रमणको माहौल मिलाउने प्रयास भने तीब्र भइरहेको थियो । यसका लागि परराष्ट्रमन्त्री आरजु राणाले निकै कोसिस गर्नुपर्‍यो । अन्ततः ओलीले विमस्टेक सम्मेलनको साइडलाइन बैठकमा भारतका प्रधानमन्त्री मोदीसँग भेट गरे । २२ चैत २०८१ मा भएको उक्त भेटपछि भने ओली उत्साहित थिए ।

‘मेरा प्रिय मित्र, भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग आज बैंककमा आत्मीय र सौहार्दपूर्ण संवाद भयो। हाम्रो संवाद अत्यन्त सार्थक रह्यो। हामीले नेपाल-भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्‍यौं,’ ओलीले फेसबुकमा लेखे, ‘बिम्स्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका साथै दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि यो संवाद महत्त्वपूर्ण हुनेछ ।’

भेटलगत्तै मोदीले पनि सामाजिक सञ्जाल एक्समा ओलीसँगको भेटघाट फलदायी रहेको उल्लेख गरे । दुवैले एक अर्कालाई आ-आफ्नो देशमा भ्रमणका निम्ति निम्तो दिए । तर मोदीको नेपाल आउने भन्दा पनि ओलीको भारत जाने विषयमा नै बढ्ता गृहकार्य भइरहेको थियो ।

‘बाहिर जाने विषयमै बढ्ता ध्यान भएर आन्तरिक विषयको आकलन गर्न सकिएन कि भन्ने विश्लेषण पनि छ’ स्रोतले अनलाइनखबरसँग भन्यो, ‘खासगरी प्रधानमन्त्रीको सचिवालयमा रहनुभएकाहरू र उहाँलाई सल्लाह दिनेहरूले उहाँलाई सी जिनपिङ र मोदीजस्तै बनाउने भनेर अन्तर्राष्ट्रिय मञ्चहरूमा उभ्याउन थाले । सानासाना कार्यक्रममा पनि उहाँ जान थाल्नुभयो ।’

कुटनीतिमा पनि कमजोर ओलीका कदम

१४ महिनाको अन्तरालमा ओली चीनमा दुईपटक आए भने संयुक्त राष्ट्रसंघको महासभाका लागि अमेरिका, तुर्केमिनिस्थान, थाइल्याण्ड, स्पेन लगायत देशमा गए । प्रधानमन्त्रीबाट हट्नु नपरेको भए उनी निकट भविष्यमै भारत, ब्राजिल, अजरबैजान जाने तयारीमा थिए ।

नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजाल भने ओलीका कारण अन्तराष्ट्रिय स्तरमा नेपालको छवि राम्रो भइरहेको दाबी गर्छन् । ‘अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि उच्च बनाउने काम गएको १४ महिनामा भयो,’ रिजालले भने ।

तर पछिल्लो सीमा प्रकरणपछि भने ओलीलाई भारतले निम्ता नदिने लगभग निश्चित भइसकेको थियो । भदौ १ गते नेपाल आएका विदेश सचिव विक्रम मिश्रीले ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो त दिए तर मिति भने तोकेनन् ।

त्यसअघि नै नेपाल पक्षबाट भारत भ्रमणको मिति भदौ ३१ का लागि तय भएको भनेर सार्वजनिक भइसकेको थियो । खासमा यसलाई पनि भारतीय पक्षले राम्रो मानेनन् । कुटनीतिमा दुवै पक्षको सहमति विना औपचारिक भ्रमणको मिति यसरी सार्वजनिक गर्नुलाई शिष्ट मानिन्न ।

सन् २०१२ मा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनका प्रधानमन्त्री बेन जिया बाओको नेपाल भ्रमणको मिति सुरूमै सार्वजनिक गरेपछि उनले आफ्नो भ्रमण नै छोट्याएका थिए । उनी केवल चार घण्टाका लागि नेपाल आएका थिए ।

कच्चा कुटनीतिक खेलोमेलोका कारण ओलीले चीन र भारतका बीचमा रहेर सन्तुलित व्यवहार प्रदर्शन गर्न सकेनन् ।

भारत भ्रमणको तयारी हुँदै गर्दा भदौ २ र ३ गते चीनका विदेशमन्त्री वाङ यीको भारत भ्रमण भयो । उक्त भ्रमणमा भारत र चीनले लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने सहमति गरे । उक्त सहमति १० वर्षअघि पनि भएको थियो ।

ओली प्रधानमन्त्री हुँदा ७ जेठ २०७७ मा नेपालको अतिक्रमित भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीको क्षेत्र समेटेर चुच्चे नक्सा समेटिएको थियो । ओली सांघाई को-अपरेशन अर्गनाइनेशनको शिखर सम्मेलनमा चीन भ्रमणमा जाने निश्चित भयो ।

चीन र भारत भ्रमणको पूर्वसन्ध्यामा यी दुई देशबीच भएको यो सहमतिले ओलीलाई नैतिक संकट र दबाब पर्‍यो । चीन भ्रमणका बेला उनले राष्ट्रपति सी चिनफिङसँग नक्साका विषयमा कुरा उठाए । चीनले विवादित भूमिको समस्या नेपाल र भारतले नै सल्टाउनुपर्ने जवाफ दियो ।

यहीँनिर ओलीले विश्व राजनीतिमा बदलिँदो परिस्थितिको हेक्का नराखेको विज्ञहरू बताउँछन् । ‘अमेरिकामा ट्रम्पको पुनरोदय पछिको विश्वलाई ओलीजीले बुझ्न सक्नुभएन,’ विश्लेषक हुमागाईंको टिप्पणी छ, ‘हाम्रा दुई प्रमुख छिमेकी भारत र चीन नै सघन छलफमा छन् भन्ने कुरामा उहाँले ध्यान दिनुभएन ।’

भारत भ्रमणको निम्तो कुरिरहेका बेला ओलीले सांघाई कोअपरेशनको निम्तो पाए चीन भ्रमणका लागि । त्यो कार्यक्रममा प्रधानमन्त्री नै जान्छन् भन्नेमा चिनियाँ पक्षले पनि अपेक्षा गरेको थिएन । सांघाई कोअपरेशनमा मात्र सहभागी भएर फर्किने तालिका रहे पनि ओली रेड परेडमा पनि सहभागी भए । त्यहाँ उनले सी र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेट्ने मौका पाए ।

स्वदेश फर्किएलगत्तै ओलीले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाए । संयोगवश अधिकांश सामाजिक सञ्जाल अमेरिकी थिए । त्यसले इन्टरनेटमै सक्रिय युवा पुस्तालाई थप आक्रोशित बनायो । उनीहरू आन्दोलनमा होमिए ।

मुलुकमा अहिले ओली रेड परेडमा सहभागी भएपछि भारत र पश्चिमाहरूको सक्रियतामा २४ गतेको घटना गराइएको भनेर एमालेका केही नेताहरूले अनौपचारिक रूपमा भन्दै आएका छन् । ओलीले उनलाई भेट्न गएका नेताहरूसँग पनि यही दाबी गरेका छन् ।

स्वयम् ओलीले पनि २३ गते प्रहरीले गोली नचलाएको र दुवै दिनको घटनामा षड्यन्त्र र घुसपैठ भएको सार्वजनिक अभिव्यक्ति दिएका छन् । तर उनकै भनाइलाई एकछिनका लागि सत्य मान्ने हो भने पनि चीन भ्रमणमा रेड परेडमा सहभागिता र उनले उठाएको लिपुलेकको विषय पछिमात्रै यो घटना हुन संभव थिएन । ओलीको कुटनीतिक कमजोरी प्रधानमन्त्री भएकै दिनदेखि सुरू भएको थियो ।





Source link

Leave a Comment