गत बिहीबार दिउँसोदेखि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि भ्रष्टाचारको मुद्दा दायर भएको समाचारले नेपालको सञ्चार क्षेत्र तरंगित भएको छ । समाचारका दृष्टिले महत्वपूर्ण भएकाले सञ्चार क्षेत्रमा हलचल पैदा हुनु त स्वाभाविकै हो, राजनीतिको उच्चतम वृत्तमा पनि कौतूहलपूर्ण सानोतिनो हुरी आएको छ । नेपालमा पहिलोपटक पूर्वप्रधानमन्त्रीविरुद्ध औपचारिक रूपमा अभियोग लागेको हुनाले पनि एकखाले विशेष हलचल देखापरेको हो । त्यसो त ज्ञानेन्द्रको १५ महिने शासनकालमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रष्टाचारको अभियोग लगाएर बन्दी बनाइएको थियो ।
पञ्चायत कालमा पनि पूर्वप्रधानमन्त्री तुलसी गिरीमाथि कार्पेट काण्डमा आरोप लागेको थियो । तर, इतिहासले देउवामाथि भएको कारबाहीलाई राजनीतिक प्रतिशोध मान्यो भने तुलसी गिरीमाथिको कारबाहीलाई ‘सुविधाअनुरूपको दरबारी स्टन्ट र त्यसैअनुरूपको सफाइ’को रूपमा लियो । आजको माधव नेपालविरुद्धको कदम के हो त ? के यो गम्भीर मामिला हो ? अथवा ‘छोरी कुटेर बुहारी तर्साउने’ चाल हो ? जवाफ सजिलो छैन । माधव नेपालविरुद्ध कारबाही सुरु हुने बित्तिकै मन्त्रिपरिषद्को नीतिगत निर्णयमा प्रश्न उठाउन नपाउने भाष्य खण्डित भएको छ ।
अब पूर्वप्रधानमन्त्री सबैका माथि तरबार झुन्डिएको वा झुन्डिनसक्ने अवस्था छ । सायद कुनै पनि जीवित पूर्वप्रधानमन्त्रीले सुरक्षित महसुस गर्नसक्ने अवस्था छैन । हेक्का रहोस्, आजका प्रधानमन्त्री पनि भोलि पूर्व हुने नै हुन् । यस हिसाबले यस खेलमा ओलीको हात छैन कि ? निकट भविष्यमै आफूतर्फ सोझिनसक्ने बन्दुकको नाललाई ओलीजस्तो चतुर पात्रले खुट्याएनन् होला र ? कतै यो कार्यपालिकालाई पंगु बनाएर व्यवस्थालाई नै ध्वस्त बनाउने कुत्सीत चाल पो हो कि ? अथवा ‘नीतिगत निर्णय’को व्याख्या गरेर कार्यकारीलाई फुक्का राँगो बनाउने खेल त होइन ? कसैको ‘खिलराज रेग्मी’ बन्ने महत्वाकांक्षाले काम गरेको छ कि ? शंका उपशंका गर्ने ठाउँ धेरै छन् । यदि, यसभित्र कुनै षड्यन्त्र लुकेको छ भने खुल्न लामो समयचाहिँ लाग्नेछैन ।
१० पुस २०६४ मा दर्ता भएको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई १८ माघ २०६६ मा माधवकुमार नेपालको मन्त्रिपरिषद्ले ८ सय १५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न स्वीकृति दिनु भनेको सामान्य विषय हुँदै होइन । स्वामी रामदेव वा आचार्य बालकृष्ण अथवा उनका उच्च पदस्थ भारतीय प्रभावशाली व्यक्तित्व वा नेपाली एजेन्टले तत्कालीन प्रधानमन्त्रीलाई राम्रै प्रभाव पारेको वा दबाब सिर्जना गरेको सजिलै बुझ्न सकिन्छ । यही बिन्दुमै निर्णयकर्ताहरूबाट आर्थिक भ्रष्टाचार भयो वा भएन यकिन साथ भन्न सकिन्न ।
व्यक्तिगत रूपमा म बहालवाला वा कुनै पनि पूर्वप्रधानमन्त्री भ्रष्टाचारी ठहर भएको वा आरोपित मात्र भएको पनि सुन्नै चाहन्नँ । प्रधानमन्त्री भ्रष्ट हुनु भनेको मेरो आस्थाको लोकतान्त्रिक व्यवस्थाको छवि स्खलित हुनु हो, धमिलिनु हो । झन् माधव नेपालजी आर्थिक भ्रष्टाचारमा लिप्त हुनु भनेको त मेरो कल्पनाभन्दा परको कुरा हो
‘योगप्रेमी’ माधव नेपाल ‘सत्कर्म र सत्कार्य’बाट प्रेरित हुनुभएको पनि हुनसक्छ । आफूलाई हक्की र जसलाई पनि ‘नो’ भन्नसक्ने व्यक्तिका रूपमा चिनाउने माधवजी आध्यात्मिक वा सत्कर्मबाट प्रेरित भएकै मानौं । तर, त्यसरी खरिद गरिएको जग्गा तत्कालै बेच्ने वा सट्टापट्टा गर्ने निर्णयमा माधवजीको सक्रियताले चाहिँ पूरापुर शंकाको सुई उहाँतर्फ मोडिन्छ । विशेष प्रयोजनका लागि विशेष निर्णय गराएर खरिद गरिएको जग्गा तत्कालै बेच्न पाउनेगरी अर्को निर्णय गर्नुबाट पतञ्जली वा यसका सञ्चालकहरूको दुर्नियत र त्यसमा माधव नेपालजीको नाजायज मिलोमतो रहेको शंका गर्ने प्रशस्तै ठाउँ रहन्छ ।
यस मुद्दाको विस्तृत कानुनी बिन्दु केलाउने काम न्यायालयले गर्ला । तर, एक सामान्य पर्यवेक्षकले यतिसम्मकै सूचनाका आधारमा माधव नेपालजीलाई ‘दालमा कालो छ’ भन्छ भने त्यो अत्युक्ति होइन ।
व्यक्तिगत रूपमा म बहालवाला वा कुनै पनि पूर्वप्रधानमन्त्री भ्रष्टाचारी ठहर भएको वा आरोपित मात्र भएको पनि सुन्नै चाहन्न । प्रधानमन्त्री भ्रष्ट हुनु भनेको मेरो आस्थाको लोकतान्त्रिक व्यवस्थाको छवि स्खलित हुनु हो धमिलिनु हो । झन् माधव नेपालजी आर्थिक भ्रष्टाचारमा लिप्त हुनु भनेको त मेरो कल्पनाभन्दा परको कुरा हो । उहाँसँग हजार वैचारिक एवं प्रक्रियागत मतभेद हुँदाहुँदै पनि मेरो मस्तिष्कमा माधव नेपाल आर्थिक रूपमा स्वच्छ छवि भएको व्यक्तिका रूपमा स्थापित हुनुहुन्छ । त्यो छवि धमिलिनु मेरा लागि पीडाको विषय हो ।
यहाँनेर स्वयं मेरा लागि र माधव नेपालजीका लागि पनि सम्भवतः सान्त्वना दिने विषय छ ! मैले यस विषयमा विगतमा पनि थोरै लेखेको छु र बोलेको छु । न्यायालयमा आर्थिक अपचलन र हिनामिनाको अभियोग साबित हुन सजिलो छैन । परिस्थितिजन्य प्रमाणले दुर्नियत वा लापरबाहीसम्म सिद्ध होला, आर्थिक भ्रष्टाचार हुन्न । आर्थिक भ्रष्टाचार साबित हुन ‘मनी ट्रेल’ अर्थात् रकम सरेको मार्ग स्पष्ट रूपमा किटान हुनुपर्छ । त्यो भनेको ‘क’ भन्ने व्यक्तिबाट ‘ख’ र ‘ग’ हुँदै वा सिधै ‘च’ वा ‘च’को भित्री व्यक्ति वा स्थानसम्म रकम सरेको देखिनुपर्छ र प्रमाणित हुनुपर्छ । आजसम्म चर्चित कैयन् काण्डमा जत्तिसुकै ठूला भनिने पुरुष वा महिलाको अत्यन्तै शंकास्पद ढंगले नाम आए पनि यो मनी ट्रेल खुट्टिन नसक्नाका कारण छुट्ने गरेको वा अभियोजनसम्म हुन नसकेका हुन् । भुटानी शरणार्थी काण्डमा मनी ट्रेल नदेखिएकै कारण पक्का शंकास्पदलाई समेत छुनसम्म नमिलेको हो ।
तर, सानो रकमको मनी ट्रेल फेला परेका कारण टेकनाथ रिजालजस्ता व्यक्ति पनि फस्न पुगे । मनी ट्रेल फेला नपरे पनि कुनै काण्डको हाराहारीको समयमा अभियुक्तको सम्पत्तिमा अस्वाभाविक वृद्धिसम्म त देखिनैपर्छ । स्रोत नखुलेको सम्पत्तिले पनि दोष स्थापित गर्न मद्दत पुग्नसक्छ । हालसम्म बाहिर आएका तथ्यलाई हेर्दा माधव नेपाललाई दोषी ठहर गर्न मनी ट्रेल वा कम्तीमा उहाँको स्रोत नखुलेको सम्पत्ति फेला परेको देखिन्न र फेला पर्ने सम्भावना कमै देखिन्छ । उहाँले भ्रष्टाचार गर्नु नै भएको भए पनि पूर्वखजाञ्ची नेताले मनी ट्रेल छोड्नु भएको होलाजस्तो लाग्दैन । तसर्थ, कामरेड माधव नेपाल हदै भए लापरबाह वा दुर्नियत निर्णयकर्तासम्म साबित हुनुहोला, भ्रष्टाचारी ठहरिनुहुन्न ! यसका लागि कामरेड माधव नेपाललाई बधाई !
थोरै प्रसंग मोडेर एउटा काल्पनिक दृश्यतर्फ जाऊँ । नेपालको कुनै गाउँका निम्न वर्गीय किसान परिवारका दुई दाजुभाइ हर्के र बिर्खेका समउमेरका छोराहरू रामे र श्यामे एसईई गरेलगत्तै काठमाडांै आउँछन् । सहरमा दुःख गरेर श्रम गरेर पढ्न थाल्छन् । एउटै कलेजमा सँगसँगै पढ्छन् र एकैपटक बीए पास गर्छन् । दुवैले सँगै लोकसेवाको तयारी गर्छन् र पास पनि गर्छन् । दुवै शाखा अधिकृत हुन्छन् । संजोगले हर्केका छोरा रामे हुलाक सेवा विभागमा पदस्थापन हुन्छन् भने बिर्खेका छोरा श्यामे भन्सार सेवा विभागमा पुग्छन् ।
२५ वर्षपछिको दृश्य हेरौं । रामे र श्यामे दुवै सहसचिब भइसकेका हुन्छन् तर दुवैको विभाग उही ! रामे गोरेटो बाटो भएको ४ आना जग्गामा बनाएको अढाई तले घरमा बस्छन् । तलको तला भाडामा लगाइएको छ । माथिको डेढ तलामा श्रीमान–श्रीमती र दुई हुर्केका छोराछोरी ! शंकरदेव र पद्मकन्यामा पढ्छन् । छोरी जिम्मा लगाउन कम्तीमा ५ लाख रुपैयाँ खर्च हुन्छ । पहाडको जग्गा बिक्दैन । उता, छोरा सानो व्यापार गर्छु भन्छ र १० लाख रुपैयाँ चाहियो भन्छ । मान्छे लायक छ । श्रीमतीचाहिँ दीर्घरोगी छे । यता, श्यामे ३ रोपनीको कम्पाउन्ड भएको घरमा बस्छ । तीन–चारवटा गाडी छन् । छोरी अस्ट्रेलियामा ‘कम्प्युटर’ पढ्दै छे । उसैले दुलाहा खोजेकी छे । यसो २० लाखजति खर्चेर सानो विवाह गरिदिनुपर्नेछ । छोरा अमेरिकाबाट तीन महिनामा फर्किन्छ । यतै विवाह गर्ने हो । रामे र श्यामेका छोराहरू दुवैको प्रस्ताव तपाईंकी छोरीका लागि आउँछ । तपाईं कसलाई रोज्नुहुन्छ ? गरिब रामेको छोरालाई कि धनी श्यामेको छोरालाई ? इमानदारीपूर्वक भन्नोस्, यो छोरीको सुख सुविधा र भविष्यको कुरो छ ।
सम्भवतः तपाईं श्यामेको छोरालाई नै चुन्नुहुन्छ ! तपाईंको रोजाइ के भयो त ? इमानदारी कि भ्रष्टाचारी ? श्यामेको चमकधमक र श्रीसम्पत्ति भ्रष्टाचारबाट आर्जेको हो भन्ने बुझ्नुभएन र ? तर, ज्वाईं त भ्रष्टाचारीको छोरा नै छान्नुभयो त ! किन ? हामी स्वभावैले वा संस्कारले नै भ्रष्टाचारका प्रशंसक पो हौं कि ? सायद हामी भ्रष्टाचारी पूजक हौं !
अब पुनः माधव नेपालजीतर्फ फर्कौं । मैले माथि भनिसकें उहाँ भ्रष्टाचारी ठहर हुने सम्भावना एकदमै कम छ । कथंकदाचित भ्रष्टाचारी ठहर नै भए पनि कामरेड माधव नेपाल आत्तिनुपर्ने अवस्था छैन । भ्रष्टाचार प्रशंसक यस समाजले उहाँलाई टाउकामा राख्नेछ । उहाँको इज्जत बढ्ने नै छ, एउटा फूली थपिने नै छ । भ्रष्टाचारी ठहर नै भए पनि बधाई छ कामरेड माधव नेपाल !
(Visited 113 times, 1 visits today)
