६ चैत, काठमाडौं । संघीय राजधानी काठमाडौं शान्तिनगरकी चाँदनी पराजुली सोमबार नयाँबानेश्वरको एउटा खाद्य स्टोरमा काजु, बदाम, ओखर र खजुरको मूल्यबारे जानकारी लिँदै थिइन् ।
त्यो खाद्य स्टोर सञ्चालकसँग मूल्यका विषयमा उनको निकै बेर छलफल पनि भयो । पसलेले काजुको भाउ किलोको २ हजार ६ सय रुपैयाँ रहेको बताए ।
चाँदनी एकछिन अवाक भइन् । किनकि, योभन्दा सस्तोमा उनले दसैंतिहारमै किनेकी थिइन् । दसैंतिहार भनेको काजु धेरै खपत हुने समय हो ।
‘यो त साह्रै महँगो भयो, दसैंतिहारमा त योभन्दा धेरै नै सस्तो थियो,’ चाँदनीले पसलेसँग भाउबारे प्रतिवाद गरिन्, ‘यो त सरासर ठगी हो । चाडबाडका बेला केही भाउ बढ्नु ठिकै हो, तर चाडबाड नभएका बेला यस्तरी अचाक्ली भाउ महँगो त गर्न भएन नि !’
तर, पसलेले उनलाई ‘अहिलेको भाउ यति नै हो, होलसेल (थोक) मै हामीलाई महँगो परेको छ, अनि के गर्नु त ?’ भन्ने जवाफ फर्काए ।
काजुको भाउ अचाक्ली महँगो भएको भन्दै चाँदनी अन्त पनि बुझ्छु भन्दै फर्किइन् । ‘दुई हजार रुपैयाँसम्ममा पाइने रहेछ भने अलि बढी नै लैजाउँला भन्ने थियो,’ चाँदनीले अनलाइनखबरसँग गुनासो पोखिन्, ‘बच्चाहरूलाई बाहिरको चकलेट दिनुभन्दा काजु, बदाम र खजुर राम्रो हुन्छ भनेर लैजाने गरेकी थिएँ, अब त किन्नै नसकिने भयो ।’
बच्चाहरूले चकलेट मागे भने सबै किसिमका ‘ड्राई फ्रुट’ मिसाउँदै मिठाई जस्तै बनाएर दिने गरेको उनले सुनाइन् । ‘आयातित खाद्यवस्तु अलिकति महँगो हुनु त ठिकै हो । तर, सीमाबाट नै उपभोक्ता लुट्नु भनेको त अपराध हो,’ उनले आक्रोश पोखिन् ।
खुद्रा पसलैपिच्छे काजुको भाउ फरक छन् । कुनैमा २ हजार २ सय रुपैयाँ किलो त, कुनैमा २ हजार ३ सय, कुनैमा २ हजार ५ सय अनि कुनैमा २ हजार ७ सय । अधिकतम किलोको २ हजार ९ सय रुपैयाँसम्ममा काजु बेचिरहेका खुद्रा पसले पनि भेटिए ।
पहिले–पहिले चाडपर्वका बेलामात्र धेरै प्रयोग गरिने काजु, बदाम, ओखर, पिस्ता लगायत ड्राई फ्रुट स्वास्थ्यका लागि फाइदाजनक हुने भन्दै अहिले उपभोक्ताले दैनिक प्रयोग गर्न थालेका छन् । स्वास्थ्यका लागि निकै लाभकारी मानिने यी सुक्खा फल उपहार दिनदेखि भान्सासम्म प्रयोग गरिन्छ ।
त्यतिमात्र होइन, आजकल शाकाहारीदेखि मांसाहारी खानामा समेत यस्ता ड्राई फ्रुट प्रयोग हुन थालेको छ । यिनैबाट विभिन्न मिठाईका परिकार पनि तयार हुन्छन् ।
भाउ आफूखुसी तोक्दै, उपभोक्ता लुट्दै
पछिल्लो पटक खुद्रा व्यापारीहरूले काजु लगायत ड्राई फ्रुटको भाउ आफूखुसी निर्धारण गरेर उपभोक्ता लुट्ने काम गरिरहेका छन् ।
अनलाइनखबरले काठमाडौं बुद्धनगर र नयाँबानेश्वर क्षेत्रका दर्जन बढी खुद्रा पसलमा गरेको स्थलगत अध्ययन क्रममा काजु किलोको २ हजार ९ सय रुपैयाँसम्ममा बिक्री गरेको पाइयो ।
यस्ता खुद्रा पसलैपिच्छे काजुको भाउ फरक छन् । कुनैमा २ हजार २ सय रुपैयाँ किलो त, कुनैमा २ हजार ३ सय, कुनैमा २ हजार ५ सय अनि कुनैमा २ हजार ७ सय । अधिकतम किलोको २ हजार ९ सय रुपैयाँसम्ममा काजु बेचिरहेका खुद्रा पसले पनि भेटिए ।
बुद्धनगरमा ड्राई फ्रुट बेच्दै आएका एक व्यापारीले आफ्नो नाम नबताउने सर्तमा अहिले पनि काजु २ हजार ९ सय रुपैयाँसम्म बेच्दै आएको बताए ।
‘चाडबाडका बेलामा त महँगोमै बेचियो,’ उनले भने, ‘अहिले पनि लैजानेले त महँगैमा लगिराखेकै छन् ।’
जबकि, थोक (होलसेल) मा काजुको भाउ किलोको १ हजार ६ सयदेखि १ हजार ७ सय रुपैयाँ मात्रै छ । यसबाट खुद्रामा बेच्ने व्यापारीले उपभोक्तालाई हदभन्दा बढी लुटेको देखिन्छ ।
यस्तै बुद्धनगरकै हेम किराना स्टोरका सञ्चालक हेम बास्तोला थोकका व्यापारीले नै मूल्य नघटाएको हुँदा आफूहरूले अलिकति मात्रै ‘मार्जिन’ राख्दा पनि काजुको भाउ महँगो पर्न गएको बताउँछन् । उनका अनुसार थोक व्यापारीले नै भन्ने र बेच्ने मूल्य फरक–फरक राख्छन् ।
होलसेल पसलमा सोमबार काजु किलोको १ हजार ६ सय ३० देखि १ हजार ७ सय रुपैयाँ छ । यसलाई खुद्रासँग तुलना गर्दा उपभोक्ताले किलोमै अधिकतम १ हजार २ सय रुपैयाँसम्म महँगो तिरिरहेका छन् ।
उनले अहिले काजु किलोको २ हजार २ सय रुपैयाँमा बिक्री गरिरहेको बताए । ‘अहिले थोक मूल्यमा केही घटेको छ,’ उनले भने, ‘चाडबाडमा बेचेको मूल्यभन्दा अहिले धेरै घटाएर बेचेको हो ।’
सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा खबटा सहितको काजुमा सार्क राष्ट्रबाट आयात गर्दा ९ प्रतिशत र अन्य राष्ट्रबाट आयात गर्दा १० प्रतिशत अन्तःशुल्क कर लगाएको छ ।
त्यस्तै खबटा फुटाएको काजु सार्क राष्ट्र र अन्य राष्ट्रबाट आयात गर्दा समान १५–१५ प्रतिशत अन्तःशुल्क कर लगाएको छ । यसैगरी अग्रिम आयकर १.५ प्रतिशत लगाएको छ ।
व्यापारीले भने सरकारले १५ प्रतिशत कर लगाएको भन्दै मनपरी भाउ बढाएका छन् ।
खुद्रा पसलमा तिर्नुपर्ने काजुको यो भाउ होलसेल भन्दा करिब दोब्बरले धेरै भएको पाइएको छ । अनलाइनखबरले सोमबार ड्राई फ्रुटको होलसेल व्यापार हुने काठमाडौं न्युरोडस्थित मखनगल्लीका अधिकांश पसल पुगेर ड्राइ फ्रुटको होलसेल भाउ अध्ययन गरेको थियो ।
त्यहाँका होलसेल पसलमा सोमबार काजु किलोको १ हजार ६ सय ३० देखि १ हजार ७ सय रुपैयाँ छ । यसलाई खुद्रासँग तुलना गर्दा उपभोक्ताले किलोमै अधिकतम १ हजार २ सय रुपैयाँसम्म महँगो तिरिरहेका छन् ।
यसैगरी मखनगल्लीका होलसेल पसलमा बदाम (आलमन्ड) किलोको १ हजार ४ सय ५०, अन्जिर १ हजार ८ सय ५०, पिस्ता १ हजार ८ सय ५०, ओखर ४ सय २५ देखि १ हजार २ सय ५० सम्म, नरिवल ४ सय ५०, दालचिनी ५ सय, ल्वाङ १ हजार ४ सय, सुकुमेल ४ हजार ५ सयदेखि ५ हजार रुपैयाँ रहेको मखनगल्लीमा होलसेल पसल सञ्चालन गर्दै आएका शनि अग्रवालले बताए ।
उनका अनुसार चाडबाडका समयभन्दा अहिले यी वस्तुको भाउमा ३ देखि ४ सय रुपैयाँ घटेको छ ।
गएको साउनमा थोकमै काजु किलोको १ हजार ८ सय रुपैयाँ थियो । बदाम १ हजार ४ सय, सुकुमेल ३ हजार ५ सय र ल्वाङ २ हजार ३ सय रुपैयाँसम्म रहेको उनले जानकारी दिए । फेरि, दसैंतिहारमा पनि भाउ किलोमै ३ सय रुपैयाँ बढेको थियो ।
यो थोक मूल्य भए पनि खुद्रा व्यापारीले भने आफूखुसी मूल्य बढाएर ३ हजार रुपैयाँसम्म बेचेका थिए ।
काजुमा १५ प्रतिशतमात्र नाफा राख्न पाइन्छ : खुद्रा व्यापार संघ
खुद्रा व्यापारीहरूको छाता संगठन नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधर काजुमा १५ प्रतिशतसम्म नाफा राख्न पाइने बताउँछन् ।
त्यस्तै बदाम लगायत अन्य ड्राई फ्रुटमा ५ देखि १० प्रतिशतमात्र नाफा राख्न मिल्ने उनको भनाइ छ ।
होलसेल व्यापारीले नै खुद्रा व्यापारीलाई काजु र बदामको सही रेट र बिल नदिने गरेको उनले आरोप लगाए ।
‘थोक व्यापारीले किलोको १६ सय रुपैयाँमा हामीलाई काजु दिँदैनन्,’ महासचिव तुलाधरले अनलाइनखबरसँग भने, ‘उनीहरूले भन्ने रेट होला त्यो, तर बेच्ने रेट होइन । उनीहरूले भन्सारबाट ल्याउने बेला कम मूल्य राखेर ल्याउँछन्, बेच्ने बेला बढी मूल्य राख्छन् ।’
थोक व्यापारीले खुद्रा व्यापारीलाई बेच्ने काजुको मूल्य १ हजार ८ सयदेखि २ हजार रुपैयाँसम्म रहेको महासचिव तुलाधरले जानकारी दिए ।
‘काजुको क्वालिटी अनुसार मूल्य हुन्छ, टुक्रा परेको काजु नै किलोको १ हजार ५ सयमा बेचिरहेका हुन्छन्,’ उनले भने, ‘अलि राम्रो काजुलाई हामीले किन्दा १६ सयमा आउँदैन ।’

तुलाधरका अनुसार थोक व्यापारीले सही बिल माग्दा सामान छैन भनेर बेच्दैनन् । भ्याट बिल माग्दा सामान नकिन भनेर जवाफ फर्काउने गरेका छन् ।
थोक व्यापारीले गर्दा खुद्रा व्यापारीले ठूलो समस्या खेप्नुपरेको गुनासो उनको छ । उपभोक्ताको भनाइ पनि सहनुपर्ने र ठूला व्यापारीबाट पनि पेलिनुपर्ने अवस्था खुद्रा व्यापारीको रहेको उनको भनाइ छ ।
‘खुद्रा व्यापारी लाखौंको संख्यामा हुन्छन्, होलसेल भनेको हजारौं संख्यामा हुुन्छ, आयातकर्ता १०–१२ जना हुन्छन्,’ उनी भन्छन्, ‘उनीहरूकै वरिपरि मात्रै सबै बजार चलेको छ । उनीहरूलाई रोक्ने कसले ?’
उता, नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघले दालचामलको भाउमात्र हेर्ने भएकाले काजु लगायत ड्राई फ्रुटको भाउबारे थाहा नहुने जनाएको छ ।
‘हामी दालचामलको भाउमात्र हेर्छौं, काजुजस्ता ड्राई फ्रुटको भाउबारे हामीलाई थाहा हुँदैन,’ संघ उपाध्यक्ष टंकप्रसाद शेरचनले भने ।
नियमन र अनुगमन नहुँदा उपभोक्ता सधैं मारमा
उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना काजु, बदाम, किसमिस, छोकडा, जिरा, मरिचजस्ता वस्तुमा होलसेल र खुद्रा पसलको मूल्यमा धेरै नै फरक हुने बताउँछन् ।
बजारमा किनमेल गर्दा ठगिए उपभोक्ताले क्षतिपूर्ति माग्न पाउने अधिकार सुनिश्चित गर्दै सरकारले उपभोक्ता अदालत कार्यान्वयनमा ल्याएको हो
उनका अनुसार सरकारको नियमन र अनुगमन अभावको फाइदा व्यापारीले उठाएका छन् । ‘काजु, बदाम, किसमिस, छोकडा जस्ता वस्तुको मूल्य अत्यासलाग्दो नै भइसकेको छ,’ उनी भन्छन्, ‘सरकारको अनुगमन, नियमन र आपूर्ति प्रणाली कमजोर भएका कारण गर्दा नै उपभोक्ताले सधैं मार खेप्नुपरेको हो ।’
भन्सार कतिमा आएको छ, कुन देशबाट आयात भएको हो, कुन किसिमको बिलिङ हो र क्वालिटी के हो भन्ने कुरा सरकारले राम्रोसँग जाँच नगर्दा व्यापारीले उपभोक्तासँग बढी पैसा असुल गरेको तिमल्सिना बताउँछन् ।
‘मुख्य कुरा भनेको भन्सारदेखि लिएर खरिद बिलका आधारमा आयातकर्ताले कतिमा किनेको छ, होलसेलमा कतिमा बेचेको छ, होलसेलबाट खुद्रासम्म कतिमा पुगेको छ र खुद्राले उपभोक्तालाई कति मूल्यमा बेचेको छ भन्ने विषयमा जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभाग लगायत निकायले राम्रोसँग नियमन गरे मात्रै यसको जड पत्ता लाग्छ,’ उनी भन्छन् ।
भाउमा ठगिएको भए उपभोक्ता अदालतले दिन्छ न्याय
उपभोक्ताहरू ठगिने क्रम बढ्दै जान थालेपछि सरकारले २ चैदेखि उपभोक्ता अदालत कार्यान्वयनमा ल्याएको छ ।
बजारमा किनमेल गर्दा ठगिए उपभोक्ताले क्षतिपूर्ति माग्न पाउने अधिकार सुनिश्चित गर्दै सरकारले उपभोक्ता अदालत कार्यान्वयनमा ल्याएको हो ।
उपभोक्ता अदालतले संविधानको धारा ४४ अन्तर्गत उपभोक्ताको हक सुरक्षित गरेको छ । बजारमा मालवस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताले आफूलाई हानि नोक्सानी महसुस गरे उपभोक्ता अदालतमा बिलबिजक सहित अब सिधै उजुरी गर्न सक्छन् । त्यसमा उपभोक्ता अदालतले क्षतिपूर्ति भराउन सक्छ ।