कांग्रेस सभापति थापाले दिए राजीनामा 



प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार

कांग्रेस सभापति थापाले दिए राजीनामा 

नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन्। फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले पराजय बेहोरेपछि त्यसको नैतिक जिम्मेवारी लिँदै थापाले राजीनामा दिएका हुन्। उनले आफ्नो राजीनामा उपसभापति विश्वप्रकाश शर्मालाई बुझाएका छन्। तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको छैन ।

निर्वाचनको समीक्षा र भावी योजना तय गर्न चैत ६ गतेका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेसँगै सभापति थापाले राजीनामा दिएका हुन्। कांग्रेसका नेता, कार्यकर्ता, बुद्धिजीवी तथा समर्थकहरूले सभापति पदबाट राजीनामा दिएर थापाले उच्च नैतिकता प्रदर्शन गरेको भन्दै प्रशंसा गरेका छन्।

फागुन २१ को चुनावमा थापा आफैँ पनि सर्लाही–४ बाट पराजित भएका थिए। १४ औँ महाधिवेशनमा महामन्त्री पदमा अत्यधिक मतसहित विजयी थापा गत पुसमा काठमाडौँमा सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा सर्वसम्मत रूपमा निर्वाचित भएका थिए। त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्चमा अहिले पनि विचाराधीन छ । 

चुनावी नतिजा सार्वजनिक भएलगत्तै राजीनामा दिने मुड बनाएका थापालाई राजीनामा नदिन पार्टीभित्रकै अधिकांश नेता तथा कार्यकर्ताहरूले दबाब दिएका थिए। तर, कांग्रेसभित्रको शेरबहादुर देउवा पक्षले भने पार्टी पराजयको नैतिक जिम्मेवारी लिएर थापाले राजीनामा दिनुपर्ने माग गरेको थियो।

अधिकांश जिल्लामा देउवा निकटका नेताहरू चुनावी प्रचारमा नहिँडेको र अन्तर्घातमा उत्रिएको भन्दै उम्मेदवार तथा कार्यकर्ताहरूले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरिरहेका छन्। केही जिल्लाहरूमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कारबाहीका लागि सिफारिस समेत गरिएको छ।

चैत ६ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकले सभापति थापाको राजीनामाबारे निर्णय गर्ने बताइएको छ। केन्द्रीय समितिका अधिकांश पदाधिकारी र सदस्यहरू पार्टीलाई नियमित महाधिवेशनमा केन्द्रित गर्नुपर्ने बेला सभापति थापाले राजीनामा दिन नहुने अडानमा रहेकाले, केन्द्रीय समितिले उनको राजीनामा स्वीकृत गर्ने सम्भावना भने न्यून देखिन्छ।





Source link

Leave a Comment