फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन नजिक आइरहँदा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेस आन्तरिक झमेलाबाट गुज्रियो । यहीबिचमा निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई आधिकारिकता प्रदान गरेको छ। त्यसमा तत्कालीन संस्थापन पक्षले प्रश्न उठाएको छ। र, त्यो प्रश्न सर्वोच्च अदालतसम्म पुगेर विचाराधीन छ। यही बेला मुलुकमा निर्वाचनको सरगर्मी ह्वात्तै चढेको छ। चुनावी वातावरणमा कांग्रेस विवाद र त्यसको सम्भावित जोखिमबारे नागरिककर्मी अरूण बमले कांग्रेस नेता बद्रीप्रसाद पाण्डेसँग कुराकानी छन् । प्रस्तुत छ त्यही कुराकानीको सम्पादित अंश
नेपाली कांग्रेसभित्र विकसित पछिल्ला घटनाक्रमलाई कसरी लिनुभएको छ?
हामी यो बिन्दुमा आएर यसलाई धेरै छलफलको विषय नबनाऊँ भन्नेमा छौँ। यो बेला फागुनको २१ को निर्वाचनमा अन्य प्रतिस्पर्धी दलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। यस्तोमा आन्तरिक मतभेदलाई चर्चामा ल्याउँदा चुनावी अर्जुन दृष्टिबाट ध्यान भंग हुनसक्छ भन्ने लाग्छ। तैपनि संक्षेपमा भन्नुपर्दा हाम्रो नियमित महाधिवेशन चार वर्षमा गर्नुपर्छ । त्यो भनेको मंसिरसम्म थियो। पार्टीको विधानले विशेष परिवेशमा एक वर्ष कार्यकाल थप्न मिल्ने व्यवस्था गरेको छ, केन्द्रीय कार्यसमितिको निर्णयअनुसार।
तर, भदौ २३ र २४ गतेको घटनापछि हामी निर्वाचनमा जाने कुरा अप्रत्याशित तय भयो, फागुन २१ मा। त्यसपछि निर्वाचनमा नयाँ नेतृत्व लिएर जानुपर्छ भन्ने मत पार्टीभित्र थियो। त्यसअनुसार अधिवेशनबारे दुइटा विषय चर्चामा आए। एउटा नियमित गर्ने, जुन समय पुगेको छ। नियमित पनि चुनाव अघि कि पछि गर्ने भन्ने विषय थियो। अर्को त्यहीबिचमा हस्ताक्षरकर्ताबाट विशेष अधिवेशनको माग पनि भयो। त्यो बिचमा हाम्रो बैठक लम्बियो। चाडबाड, दुई जना नेता त्यहीबिचमा दिवंगत हुनुभयो, शोक मनाउनुपर्ने समय पनि त्यसैभित्र प¥यो।
त्यो बेला सभापति(शेरबहादुर देउवा) कार्यवाहक दिएर बाहिर जानुभएको थियो। कार्यवाहक सभापति(पूर्णबहादुर खड्का) र महामन्त्रीहरू मूल नेतृत्वमा हुनुहुन्थ्यो। हामी पदाधिकारी सबै खालका छलफलमा सहभागी थिएनौँ। उहाँहरू मंसिर १५ मा मात्रै नियमित महाधिवेशनको कार्य तालिका आयो। त्यसपछि हामीलाई विशेषको बाटो छाडेर त्यतातिर लाग्यौँ भन्ने लाग्यो। तर, महाधिवेशनका सबै काम भएनन्। त्यसपछि फागुन २१ को निर्वाचनपछि महाधिवेशन गरौँ भन्ने निर्णयमा पुग्यौँ।
त्यसमा महामन्त्री द्वयको एक प्रकारको मत भयो, हामीले निर्वाचन सम्मुख विशेष महाधिवेशन गर्दा अप्ठेरो पर्छ भन्ने हाम्रो कुरा रह्यो। त्यसलाई हामीले व्यवस्थापन गर्न सकेनौँ। जसले गर्दा बहुसङ्ख्यक केन्द्रीय समितिका सदस्य बाहिर रहेकै बेला महामन्त्रीहरूको आह्वानमा विशेष अधिवेशन भयो। त्यो विवाद निर्वाचन आयोग हुँदै अहिले सर्वोच्च पुगेको छ।
आयोगले त विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता दिएको छ नि? यसबारे के छ धारणा?
निर्वाचन आयोगले एउटा निरूपण गरेको छ। सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छैन। अब सर्वोच्चको अन्तिम फैसला नगरेसम्मका लागि विशेष महाधिवेशनबाट चुनिएको गगनकुमार थापा नेतृत्वको कार्यसमितिले १६५ क्षेत्रमा टिकट वितरण गरेको छ। अहिले विवाद छोडेर अदालतले निर्णय पर्खिने गरी निर्वाचनमा जान्छौँ। त्यही कुरा सबैले रियलाइजेसन गरेका छौँ।
यो सबै घटनाक्रममा पार्टी विभाजनको चिन्ता पनि उत्कर्षमा थियो। अहिले प्राविधिक रूपमा पार्टी एक छ, भावनात्मक रूपमा चाहिँ कति एक ढिक्का छ नि?
प्राविधिक कुरा मात्रै गरिएको भए निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मानिसकेपछि १४ औँ महाधिवेशनबाट चुनिएका सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, हामी पदाधिकारीहरू जुन दुई तिहाइभन्दा ठुलो हिस्सा छ। अधिकांश प्रदेश र जिल्ला कार्यसमिति त्यसैमा गोलबद्ध हुनुहुन्छ। त्यस्तै संरचना तलैसम्म छ। त्यो संरचना संगठित भएर अर्को पार्टी बनाउनु कुनै महाभारत थिएन। हामीले प्राविधिक कुरा गरेनौँ, भावनात्मक कुरा पनि गरेका छौँ। हामी रुखभन्दा अन्त जान चाहँदैनौँ, चार तारेभन्दा अन्त जान चाहँदैनौँ। यो नेतृत्व अल्पकालीन विषय र आस्था दीर्घकालीन विषय हो।
त्यो बेला महामन्त्रीहरूले भनेको सुन्यौँ–पार्टी फुट्ने अवस्थामा म विष पिउँछु। अहिले पछिल्लो दिनमा वास्तवमा शेरबहादुर देउवालगायतका नेताहरूले विष पिएर भए पनि यो पार्टीलाई विभाजित हुन दिनुभएको छैन। त्यो कोणबाट पनि मूल्याङ्कन गर्नुपर्छ। त्यसैले हाम्रो एकताको आधार भावनात्मक नै हो। त्यो एकता फागुन २१ को निर्वाचनमा प्रयोग गर्न चाहन्छौँ। किनकि कांग्रेस जित्न जरुरी छ।

कांग्रेस नै किन जित्नु जरुरी छ र?
किनकि देश अहिले अस्थिरता र अनिश्चयतिर जान्छ कि भन्ने चिन्ता छ। यस्तो अवस्थामा देश, संविधान र लोकतन्त्र बलियो बनाउनका लागि पनि नेपाली कांग्रेस बलियो हुन जरुरी छ। कांग्रेस नेपाली एकताको प्रतीक पनि हो। राजतन्त्र भएका बेला राजालाई एकताको प्रतीक मानिन्थ्यो। तर, अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा एकताको प्रतीक कोही छ भने त्यो नेपाली कांग्रेस हो। ६ हजार ७४३ वडा कतै त्यस्तो छैन जहाँ कांग्रेस नहोस्। त्यस्तो कुनै जाति, भाषि, भूगोल छैन त्यहाँ नेपाली कांग्रेस नहोस्। नेपाली कांग्रेसले लोकतन्त्र, राष्ट्रियता र एकताको आवाज दिँदा जुरुक्क देश उठ्छ। त्यस कारण फागुन २१ को निर्वाचनमा कांग्रेस जित्न जरुरी छ। त्यसैले हामी एक ढिक्का हुन जरुरी छ।
यहाँले भावनात्मक रूपमा एक ढिक्का भएको दाबी गरे पनि त्यस्तो अवस्था साँच्चै छ र? पछिल्ला घटनाक्रम तपाईँले भनेजस्तै यति सामान्य थिए र?
केही नभएको त होइन। दरार आएकै छ, मैले ढाँटेर पनि भएन। पार्टीभित्र विशेषमा जाने को हुन? नजाने को हुन? भनेर एकले अर्कालाई टाढा नमान्ने नभएको होइन। तर, हामी के क्षमता राख्छौँ भने त्यो पार्टीभित्रको एउटा आन्तरिक कुरा थियो। अन्तसंघर्ष थियो।
हाम्रो विधानको व्याख्याका सन्दर्भमा निर्वाचन आयोग हामीभन्दा मसिनो गरी जान्दछ भन्ने हामीलाई लाग्दैन। त्यो विधान लेख्ने, अभ्यासमा ल्याउने हामी, त्यसबारे पार्टीका साथीहरूलाई प्रशिक्षित गर्ने हामी। त्यसका धारा–धारा, शब्द शब्दले बोकेको मर्म भाव सबै हामीलाई थाहा छ। तर निर्वाचन आयोगले भन्यो। त्यो संवैधानिक आयोग हो, त्यसले भनेपछि शिरोधार्य ग¥यौँ। त्यसभन्दा माथि सर्वोच्च अदालत छ, त्यहाँ गएका छौँ। त्यसैले आज आयोगले जे भन्यो मानेका छौँ, भोलि अदालत जे गर्छ त्यसलाई शिरोधार्य गर्छौँ। जसको पक्षमा आयो अर्को पक्षले मान्नुपर्छ। त्यसपछि अर्को ठाउँ १५ औँ महाधिवेशन छ त्यहाँ पनि छ। त्यहाँ वडादेखि नै यही विषयमा पनि प्रतिस्पर्धा गर्छौँ। के विशेष महाधिवेशन जरुरी थियो? वैधानिक थियो? यो कुरा क्रियाशील सदस्यकै तहबाटै छलफल गर्छौँ। त्यहाँ आन्तरिक कुरा छलफल हुन्छन्। अहिले निर्वाचनमै फोकस हुन्छौँ।
तत्कालीन संस्थापन विशेष महाधिवेशनबाट बाहिर रह्यो। तपाईँ आफै पनि विशेष महाधिवेशनमा सहभागी नभएको नेता। नयाँ कार्यसमितिको टिकट वितरणमा केही कमीकमजोरी देखिराख्नुभयो ?
टिकट बाँड्दा उहाँहरूले अर्को पक्षसँग पनि सरोकार राख्नुभएको हो। हामी समूहमा बैठक बस्न नसकेपछि सरोकारको कुरा भएको हो। विगतमा संसदीय बोर्डमा जसरी छलफल हुन्थ्यो, रात रातभर बस्थ्यौँ। त्यस्तो छलफलमा हामी सहभागी हुन पाएनौँ। उहाँहरू आफू कति छलफल गर्नुभयो थाहा भएन। मलाई लाग्छ उहाँहरूले गहन छलफल गर्नुभएको होला। यस पटक केही सहज पनि थियो। धेरैपछि १६५ ठाउँमै टिकट बाँड्न पाउनुभयो, म जस्तै तमाम नेताले पहिल्यै चुनाव लड्दिनँ भनेपछि नयाँ ल्याउन पनि सहज भयो होला।
त्यो त निर्णयको कुरा भयो, त्यसमा कति राम्रो, कति नराम्रो भयो? यहाँलाई के लाग्छ? कति राम्राले टिकट पाए? कति पाउनुपर्नेले पाएनन्?
मैले यसरी भनिहाल्नेभन्दा परिणामले बताउँछ। परिणाम प्राप्त गर्न हामी कति दत्तचित्त भएर लाग्छौँ त्यसमा भर पर्छ। यसैमा म के आग्रह गर्न चाहन्छु भने–हामीले पछिल्लो समय जे बेहो¥यौँ। त्यो आफ्नो क्षेत्रमा हाई लाइट नगरौँ। त्यो कुरालाई विस्मृतिमा राखेर नेपाली कांग्रेसका लागि भोट मागौँ। देशलाई यति बेला मेलमिलापको आवश्यकता छ, सद्भावको आवश्यकता छ।
अहिले विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापा तपाईँकै उमेर समूहका छन् । उनले विशेष महाधिवेशनको अजेन्डा उठाउँदा तपाईँले किन साथ नदिएको भन्ने प्रश्न पनि उठिरहेका छन् नि?
मैले अघि नै भनेँ, केन्द्रीय कार्यसमितिको निर्णयसहित हामी विशेष महाधिवेशनमा गएको भए म पक्षपाती हुन्थेँ। त्यसको पक्षधरता मैले लिन्थेँ। केन्द्रीय समितिबाट निर्णय पनि गराउन सकेनौँ हामीले, त्यसको दोष म भन्दा बढी तत्कालीन दुई जना महामन्त्री(गगन थापा र विश्वप्रकाश शर्मा)हरूले लिनुपर्छ भन्ने ठान्छु। केन्द्रीय समितिबाट निर्णय गराउन नसक्ने अनि आफ्नै ढंगले विशेष महाधिवेशनको आह्वान गर्ने कुरामा अहिले पनि मेरो ठुलो ‘रिजर्भेसन’ छ। किनकि महामन्त्री हाम्रो विधानअनुसार धेरै ठुलो पद हो, ठुलो पद भएकाले केन्द्रीय कार्यसमितिले नचाहँदा–नचाहँदै उहाँहरूको अग्रसरतामा विशेष महाधिवेशन सम्भव भयो। त्यसैले विशेष महाधिवेशनमा पुग्नु नै थियो भने उहाँहरूको कोसिस मंसिर १५ मा नियमित महाधिवेशनको कार्य तालिका रोकेर विशेष महाधिवेशनमा लिएर जानुपर्थ्यो। त्यसो हुँदा पार्टीभित्र यत्रो ठुलो खाडल हुने थिएन।
केन्द्रीय कार्यसमितिको बहुमत पनि कसैको तजबिजले आएको, कसैको कृपाले आएका मानिस होइन। १४ औँ महाधिवेशनको म्यान्डेटले आएको हो। सभापति, उपसभापति, हामी पदाधिकारीले म्यान्डेट पाएका छौँ। कसैको टीका लगाएर आएका होइनौँ। जब महाधिवेशन प्रतिनिधिले कार्यसमिति चुन्छन् त्यसले आफूले पाएको अधिकार प्रयोग गर्न पाउँछ। केन्द्रीय समितिको निर्णय बिनै दुई जना महामन्त्रीले गर्दा विवादको विषय हुन्छ, पार्टी विभाजनको डिलसम्म पुग्छ भनेर त्यसलाई रोकौँ भनेको हुँ। अन्तिम बिन्दुमा नीति अधिवेशनमा बदल्न सकिन्छ कि भनेर पनि अनगिन्ती प्रयत्नहरू गरेका छौँ। त्यो प्रयत्न गर्दागर्दै सफल भएन। पार्टीको परम्परा र मूल्यमान्यताअनुसार म त्यहाँ जान सकिनँ। म जहाँ थिएँ त्यहीँ उचित काम गरेको छु भन्ने लाग्छ।
मुलुकले भदौ २३ र २४ मा घटना बेहोरेको छ । जेनजी पुस्ताले सुशासन मागेका थिए। पुराना दलहरूले भ्रष्टाचार मात्रै गरे भन्ने भाष्य छ ? के कांग्रेस–एमाले–माओवादीहरूले भ्रष्टाचार मात्रै गरेका हुन्?
त्यो मात्रै सम्पूर्ण सत्य होइन। थुप्रै राम्रा काम भएका छन्। तर, नराम्रा काम मात्रै बहु प्रचारित छन्। राम्रा काम गर्नु हाम्रो कर्तव्य हो, त्यसका लागि छुट्टै प्रशंसा गरिरहनु पर्दैन। केही नराम्रो गर्दा प्रश्न गर्नु मतदाता, नागरिक र कार्यकर्ताको कर्तव्य हो। यद्यपि अहिले नराम्रा काम मात्रै बढी प्रचार भए, राम्रा काम छायामा परे। यस्तो बेला ठन्डा दिमागले सोच्नुपर्नेछ ।
अहिले प्रतिनिधिसभाको निर्वाचन आइसक्यो। अब आउने संसद्मा यस्ता विषयमा गम्भीर छलफल गर्नुपर्नेछ। संविधान बनेको १० वर्ष भयो, अब समीक्षा गर्नुपर्छ । त्यो थलोमा संविधानको कुन व्यवस्थाले सुशासन दिन असहज बनायो, त्यो बदल्नुपर्छ। अख्तियार, सतर्कता केन्द्रजस्ता निकाय किन प्रभावकारी भएनन्? किन दण्डहीनता मौलायो? यो समस्या किन बढ्यो? यो पनि संशोधन गरौँ। मनोगत भन्दा पनि उचित कुरामा राम्रो अध्ययन, अनुसन्धान, विश्लेषण गरेर जे–जे बदल्नुपर्छ बदलेर जानुपर्छ। नागरिक र राष्ट्रको पक्षमा सहमति जुटाएर अघि बढ्नुपर्छ।
अहिलेको सरकार सुशासनको जगमा बनेको भन्ने छ। यो सरकारको कामकारबाहीलाई कसरी हेर्नुभएको छ ?
यो सरकार मूलतः चुनावका लागि बनेको हो। यसले सुशासनमा पर्याप्त काम गर्न सक्छ जस्तो लाग्दैन। उसै पनि यो सरकारले केही गर्न सकेजस्तो लाग्दैन। मन्त्रालयमा बुझ्दा त्यस्तो खास काम पनि भइरहेको छैन । मलाई अचम्म त के लागिरहेको छ भने चुनाव गर्न गएका सरकारका मन्त्रीहरू आफ्नो जीवनको मूल्यवान् दायित्व बिर्सिएर कुनै न कुनै दलमा मिसिएर चुनाव लड्न जानुभयो। यसले हामी कतै सुध्रिन्नौँ कि क्या हो! भन्ने एउटा चिन्ता बढाएको छ।
तमाम संशयका बिच चुनावको सरगर्मी बढिसकेको छ। फागुन २१ मै निर्वाचन हुनेमा कति विश्वस्त हुनुहुन्छ?
अब हुन्छ जस्तो लाग्छ। हाम्रो महाधिवेशनको विषयमा पनि हामी झुक्कियौँ। सम्भवतः फागुन २१ मा चुनाव नहोला। त्यसैले हामीले पुसमा नसके माघ १५सम्म गरौँला भन्ने भयो । तर सरकारले जुन गति देखायो, हामीले सुन्यौँ–राष्ट्रपति रामचन्द्र पौडेलले पनि संवेदनशील रूपमा हेरिरहनुभएको छ। सुरक्षा निकाय र निर्वाचन आयोगले देखाएको तदारुकताले अब चुनाव हुन्छ जस्तो देखिन्छ।
पहिल्यै यो पटक चुनाव नलड्ने घोषणा गर्नुभयो । गतपालि बाजुरामा पहिलो पटक चुनाव लडेर जितेको, एक पटकमा मन भरिएको हो?
त्यसो होइन। कतिपय नेता २०४८देखि एकै क्षेत्रमा चुनाव लडिरहेको देखेका छौँ। तर अहिले राजनीतिमा प्रतिस्पर्धा धेरै छ, त्यसरी एउटैले ओगटेर राख्दा प्रतिस्पर्धाले अस्वस्थ रूप लिन्छ भन्ने मलाई लाग्छ। त्यसैले सबैले म यस पटक भएँ, पाटीलाई धन्यवाद छ। मतदाता सबैलाई धन्यवाद छ भनेर अरूलाई मौका दिनुपर्छ भन्ने लाग्यो। यत्रो लाखौँ राजनीतिकर्मीबिचमा एक जना व्यक्तिले एकै पटक मौका पाउँदा पनि धेरै ठुलो कुरा हो। दलीय व्यवस्थामा दल सुधारौँ भन्ने नै मेरो कुरा हो। दल सुध्रे राजनीति सुध्रिन्छ, राजनीति सुध्रे देश सुध्रिन्छ भनेर केही व्यक्ति दलमा काम गर्नुपर्छ भन्ने लागेर मैले यो पटक चुनाव नलड्ने निर्णय गरेको हुँ। यो सन्देश दिन जरुरी ठानेको हुँ।
आगामी संसदमा कुनै दल एकल सरकार बनाउन सक्ने अवस्था बन्छ कि बन्दैन? के देखिरहनुभएको छ नि?
अहिलेको निर्वाचन प्रणालीमा एक दलको बहुमत आउन सक्ने सम्भावना निकै कम छ। बहुमतका लागि निकै ठुलो जनमत आवश्यक हुन्छ। किनकि प्रत्यक्षमा पनि १६५ मा सय बढी र समानुपातिकमा ११० मा ४०–५० सिट ल्याउनुपर्छ, जुन निकै कठिन देखिन्छ। त्यो वातावरण बन्छ कि बन्दैन? त्यसमा हामीले पार्टी एक ढिक्का राख्न सके त्यसको नजिक पुग्न सकिन्छ भन्ने लाग्छ ।
कांग्रेसको केन्द्रीय समिति बैठकले गगन थापालाई आगामी प्रधानमन्त्रीको रूपमा अगाडि सारेको छ। त्यसलाई कसरी लिनुभएको छ?
कांग्रेसमा हामीले यस्तो अभ्यास कमै मात्र गरेका छौँ। २०५६मा कृष्णप्रसाद भट्टराई हाम्रो नेता प्रधानमन्त्री हुने भनेर तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले घोषणा गर्नुभएको थियो। त्यस बेला परिणाम सकारात्मक आएको थियो। यस पटक पनि सभापति गगन थापाले आफूलाई प्रधानमन्त्री केन्द्रीय समितिबाट घोषणा गरिसकेपछि कति उत्साह सिर्जना गर्न सक्नुहुन्छ, पार्टीभित्र कति एकता सिर्जना गर्न सक्नुहुन्छ? न्यायिक निरूपण हुन बाँकी भए पनि निवर्तमान सभापति शेरबहादुर देउवा, डा. शेखर कोइरालालगायत नेतासँग कति हार्दिक एकता निर्माण गर्न सक्नुहुन्छ? सामूहिक रूपमा कसरी अपिल गर्न सक्नुहुन्छ? त्यसमा भर पर्छ।
उहाँ(गगन)को व्यक्तित्वले त्यो सम्भव देख्नुहुन्छ?
बहुमत ल्याउन सक्ने संगठन भएको दलको सभापतिको व्यक्तित्व आफै हुन्छ नै। गगन जी आफैमा नयाँ पुस्ताको नेता भएकाले उहाँसँग अतिरिक्त आशा–भरोसा पनि छ। आफ्नो पार्टी र घर मिलाउने, पार्टीभित्रका झिना मसिना कुरा मिलाएर जान सक्ने योग्यता देखाए, नेतृत्वदायी भूमिका व्यवहारमै देखाए हामी ठुलो हैसियतसहित संसद्मा पुग्छौँ।

नयाँ दल रास्वपाबाट बालेन्द्र साह प्रधानमन्त्रीको उम्मेदवार हुनुहुन्छ। उहाँहरूको प्रतिस्पर्धालाई कसरी लिनुहुन्छ?
मेरो यसमा कडा रिजर्भेसन छ। स्थानीय तहको प्रमुख छ, कार्यकाल अझैँ बाँकी छ। त्यो व्यक्तिले यसरी बिचमा छाडेर जाने कुरा म नैतिक मान्दिनँ। म आफै गत पालि जितेको मान्छे अहिले दोहोरिन हुन्न भनेर नैतिक सन्देश पेस गर्न खोजे भने यो कुरा म राम्रो मान्दिनँ पहिलो कुरा।
दोस्रो गत निर्वाचनमा रास्वपा तेत्रो सिट जित्छ भन्ने हामीलाई लागेको थिएन। अहिले त बालेन पनि जोडिनुभयो, अरू पनि जोडिए। तैपनि त्यो दल र व्यक्तिबारे म धेरै जान्दिनँ त्यसैले धेरै भन्न सक्दिनँ। नेपाली कांग्रेसको संगठनबारे थाहा छ अनुमान लाउन सक्छु, प्रतिस्पर्धी दलबारे अनुमान लाउन सक्छु। उहाँहरूबारे यसै भन्न सक्दिनँ माहौल भए जित्नुहोला, नभए अर्को नतिजा आउला।
अहिले देशमा चरम असन्तोषको अवस्था छ। कतिपय जनताले मत किन हाल्ने भन्नेसम्मका प्रश्न गरिरहेका छन्? यस्तो बेला आम मतदाताका लागि यहाँको सन्देश के छ?
पाँच वर्षमा हुने चुनाव तीन वर्षमै आयो। मानिसहरू कति चाँडो आयो भनिरहेका छन्। धेरैले जाँगर लगाइरहेका छैनन्। तर निर्वाचनको मुखमा पुग्दा दल र उम्मेदवारको सक्रियताले मतदाताको जाँगर जगाउला भन्ने मलाई लाग्छ।
मेरो मतदातालाई के सन्देश हो भने–धेरै निराशाको खेती राजनीतिमा देखिन थालेको छ। यस्तो खेतीबाट पछ्याउने मात्र नभई यसपछाडिका आधार के हुन? समाधानका उपाय के हुन्? भनेर प्रत्येकले खोज्नुपर्छ। सम्भावनाका कुरा सबैले खोज्नुपर्छ। सबैले आफ्ना कर्तव्यमा पनि ध्यान दिनुपर्छ। सबैले आफूलाई सुधार गर्दै लगे देश बन्छ। देश बसौँ बसौँ लाग्ने बनाउन सकिन्छ। सामूहिक प्रयत्न जरुरी छ। यो नै देशभक्ति हो।
प्रकाशित: १० माघ २०८२ १८:५९ शनिबार
