काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले १० बुँदे ‘भिजन’ सार्वजनिक गरेको छ । घोषणापत्रको आंशिक रूप भएको जनाउँदै कांग्रेस नेताले निर्वाचनकेन्द्रित विस्तृत घोषणापत्र भने बिहीबार (आज) काठमाडौंमा सार्वजनिक गर्ने जनाएका छन् ।
मधेश प्रदेशको राजधानी जनकपुरको तिरहुतियामा बुधबार प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रममार्फत् कांग्रेस सभापति गगनकुमार थापाले १०बुँदे ‘भिजन’ सार्वजनकि गरेका हुन् । पार्टी सभापति थापासहित निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुषाल, उपमहामन्त्री फरमुल्लाह मन्सुरसहित शीर्षनेताको सहभागितामा ‘भिजन’ सार्वजनिक गरिएको हो ।
पार्टी पदाधिकारीसहित हजारौं नेताकार्यकर्ता सहभागी कार्यक्रममा निवर्तमान सभापति शेरबहादुर देउवासहितका नेता भने अनुपस्थित थिए । काठमाडौंमै रहेका देउवासहितका समूहका नेता कार्यक्रममा सहभागी भएनन् । ‘प्रतिज्ञापत्र’ भन्दै सार्वजनिक गरिएको कांग्रेसको १०बुँदे ‘भिजन’मा ‘नेपाललाई समुन्नत र नेपालीलाई सम्मानित’ बनाउने उद्देश्य राखिएको छ ।
‘विगतका थुप्रै ऐतिहासिक उपलब्धिमाथि गर्व गर्दै र समस्त कमीकमजोरीको अनुभवबाट पाठ सिक्दै हामी देशको अवस्था बदल्ने र देशलाई सम्हाल्ने दृढ प्रतिज्ञासाथ तपाईंको घरदैलोमा आएका छौं,’ प्रतिज्ञापत्रमा उल्लेख गरिएको छ । सम्मानित भएर बाँच्न पाउने नेपाल निर्माण गर्ने लक्ष्य कांग्रेसले लिएको जनाएको छ ।
‘हाम्रो परिकल्पनाको लोकतान्त्रिक नेपालमा हरेक नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमान सुरक्षित हुनेछ । कानुनको परिधिभित्र रही इच्छाअनुसकारको काम, पेशा–व्यवसाय गर्न र स्वतन्त्रतापूर्वक जीवनयापन गर्न पाउने हरेक नागरिकको अधिकार सुनिश्चित हुनेछ । देश विदेश जहाँ भए पनि कुनै पनि नेपाली पहुँचको अभाव वा पहिचानका कारण अपमानित हुने छैनन्,’ कांग्रेसको प्रतिज्ञापत्रमा उल्लेख छ ।
त्यस्तै, कांग्रेसले सपना देख्नसक्ने नेपाल निर्माण गर्ने सम्पति र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने नेपाल निर्माण गर्ने, पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल निर्माण गर्ने, ओखती र ओत दिने नेपाल निर्माण गर्ने, छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल निर्माण गर्ने जनाएको छ । बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल निर्माण गर्ने कांग्रेसले प्रतिज्ञा गरेको छ ।
‘आमनागरिकदेखि सत्ताको जुनसुकै ओहदामा बसेका मानिस पनि कानुनको नजरमा समान हुने छन् । निमुखालाई ऐन र ठुलालाई चैन हुने विभेदकारी अवस्था अन्त्य हुनेछ । सरकारी सेवाका ढोका सबैका लागि समान रुपमा खुला रहनेछ,’ कांग्रेसको प्रतिज्ञापत्रमा उल्लेख छ । मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल निर्माण, विश्वले सम्मान गर्ने स्वभिमानी नेपाल निर्माणसहित समुन्नतिमा लम्कने नेपाल निर्माण गर्ने प्रतिज्ञा कांग्रेसले गरेको छ ।
‘हाम्रो परिकल्पनाको नेपाल विश्व समुदायमाझ एक सार्वभौम, शान्त, स्वाभिमानी राष्ट्रका रूपमा स्थापित हुनेछ । नेपालको परराष्ट्र नीति राष्ट्रिय हित र सार्वभौमिक समानताको जगमा उभिने छ,’ कांग्रेसले भनेको छ । कांग्रेसले आमनिर्वाचनबाट बहुमतसहितको लोकतान्त्रिक र लोकहितमा समर्पित सरकार बनाउने लक्ष्य लिएको जनाएको छ ।
कांग्रेसले यसपटक जिम्मेवारी, दृष्टिकोण र संकल्पको आत्मबोधबाट नेपाल संसारकै एक उत्कृष्ट देश बन्नसक्ने भावना, कार्ययोजना र आधारसहितको प्रतिज्ञापत्र सार्वजनिक गरेको प्रवक्ता देवराज चालिसेले दाबी गरे । प्रतिज्ञापत्रमा उल्लेखित योजना कार्यान्वयनका आधारमा कार्यसम्पादन मूल्यांकन हुनुपर्ने कांग्रेसको चाहना रहेको छ ।
सम्मानित भएर बाँच्न पाउने नेपालदेखि समुन्नतिमा लम्कने नेपालसम्मको योजना कांग्रेसले अघि सारेको छ । प्रतिज्ञापत्र देखाउनमात्रै नभई कार्यान्वयन गरेर समुन्नत नेपाल सम्मानित नेपालीको नारा व्यवहारमा ल्याउने प्रतिबद्धता कांग्रेसको छ । ‘नेपाली कांग्रेसले चाहेको यतिमात्र छ कि आगामी दिन आममतदाता र जनताले प्रतिज्ञापत्रको कार्यान्वयनका आधारमा पार्टी, तमाम नेता र कार्यकर्ताको कार्यसम्पादन मूल्यांकन गर्नुहुनेछ,’ कांग्रेसले भनेको छ ।
कांग्रेसले प्रतिज्ञापत्रलाई सरल शब्दावलीमा ‘भिजन टेन’ को सार–संक्षेपमा प्रस्तुत गरेको छ । जसलाई अर्को शब्दाबली कांग्रेसले ‘कांगे्रस टु प्वाइन्ट जिरो’ को जगका रूपमा व्यख्या गरेको छ । पुनरुत्थानमा सफल सुरुवात गरेको कांग्रेसले नै जनताबाट इच्छित भविष्य साकार पार्न संकल्प लिएको छ ।
५ वर्षमा गरिबी हटाउने, मधेशमा अब परिवर्तन
कांग्रेस सभापति थापाले पाँच वर्षभित्र कुशासन र गरिबी हटाउने दावी गरेका छन् । ‘टिम नेपाल’ बनाएर पाँच वर्षमा कुशासन र गरिबी हटाउने उनले बताए । मधेश प्रदेशको राजधानी जनकपुरको तिरहुतियामा आयोजित प्रतिज्ञासभामा सभापति थापाले त्यो एक्लै सम्भव नभएको बताउदै टिम नेपाल बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘टिम नेपालले यो पाँच वर्ष कुशासन, गरिबीलाई हराउँछ ।
त्यो एक्लै सम्भव हुँदैन,’ थापाले भने, ‘कांग्रेसले आजको समस्या समाधान गर्छ भोलिको विकासमा अगाडि बढाउँछ । कांग्रेसको शक्ति सबैलाई सम्हालेर समेटेर अगाडि बढाउँछ ।’ कांग्रेसको टिम नेपालमा वडादेखि केन्द्रसम्मका सरकार, सबै राजनीतिक दल हुने थापाले बताए । प्रतिज्ञापत्रमा लेखिएका अक्षर सभापतिदेखि क्रियाशील सदस्यले पालना गर्ने उनले बताए ।
उनले मधेशले देशलाई नेतृत्व गर्ने शिक्षा, स्वास्थ्य र विज्ञान र सूचना प्रविधिको क्षेत्र भएकाले मधेशले अब परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले मधेशलाई ज्ञानको केन्द्र बनाउन कांग्रेस मधेश झरेको बताए । ‘मधेशको शिक्षा नभएको भए आज पहाडमा गणित राम्रो पढाइ हुँदैनथ्यो । पहाडमा मधेशका शिक्षकले पढाएका हुन् । उनकै शिक्षाले देश शिक्षित भएको छ ।
तर, धेशको शिक्षा, स्वास्थ्यबिनाको अवस्था जर्जर छ, यहाँ किसान, उखु किसानको अवस्था, पर्यावरणको अवस्था भयावह छ । खानेपानी समस्या समाधान गर्न म मधेश आएको हुँ,’ उनले भने, ‘मधेशले सिंगा देशलाई पाल्न सक्ने तागत बोक्न सक्ने बनाउने प्रतिज्ञा गर्छु ।’ थापाले मधेशका या देशका जुनसुकै युवा विदेशमा भए त्यहाँ दूतावास राखेर भए पनि नेपालीको हेरचाह गर्ने व्यवस्था गर्ने बताए । थापा आफै सर्लाही–४ बाट उम्मेदवारी दिएका छन् ।
कांग्रेसले व्यवस्था बचाउँछ : निधि
कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले वर्तमान व्यवस्था बचाउन २१ फागुनको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दावी गरेका छन् । निधिले पार्टीलाई जिताउन निर्वाचनमा सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । उनले अहिले नेपालमा जननिर्वाचित संसद् र सरकार नभएकाले त्यो बचाउनका लागि लोकतन्त्रवादी पार्टीले जित्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
‘अहिले नेपालमा जननिर्वाचित सरकार र संसद् छैन् । तसर्थ, निर्वाचनमार्फत जनताका प्रतिनिधि निर्वाचित गरेर तीनै प्रतिनिधिमार्फत सरकार निर्माण गर्नुछ । वर्तमान शासन व्यवस्था कांग्रेसले बचाउनुछ,’ निधिले भने । वर्तमान संविधान नेपाली कांग्रेसको नेतृत्वमा बनेको बताउँदै निधिले संविधानसभामार्फत बनेको संविधानमा सबैका अधिकार समेटिएकाले यो संविधानलाई बनाउन कांग्रेसको बहुमत आउनुपर्ने जिकिर गरे ।
रास्वपाको नीति र नेतृत्व गलत : शर्मा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी संस्थापक मधेश प्रदेश अध्यक्ष ममता शर्मा कांग्रेस प्रवेश गरेकी छन् । कांग्रेस प्रवेश गर्दै उनले रास्वपाको नीति र नेतृत्व गलत भएको टिप्पणी गरेकी छन् । ‘कुनै पार्टीको नीति गलत नेतृत्वका कारण बिग्रिन्छ । अहिले रास्वपामा त्यही भएको छ । रास्वपाको नारा बदलिएको छ ।
रास्वपाको नारा थियो, जान्नेलाई छान्ने, अब पालो युवाको, अब पालो नयाँको भन्ने नारा परिवर्तन भएर दागवालालाई छान्ने, चाङका चाङ मुद्दा लागेका छान्ने भएको छ,’ गलत नेतृत्वका कारण रास्वपाको नारा पनि फेरिएको बताउँदै शर्माले भनिन् । शर्माले ८० वर्ष पुरानो पार्टीका सभापतिमाथि आक्रमण भएको, पार्टी कार्यालय जलाइएको बेलामा नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने थापाको आटलाई ‘मान्नुपर्छ’ भन्दै सभापति प्रशंसा गरिन् ।
(Visited 18 times, 1 visits today)
