राणाकालमै राणाहरूको ‘दासत्व’बाट नेपाली जनतालाई ‘उन्मुक्ति’ दिलाउने महाअभियानमा निर्मित ‘नेपाली कांग्रेस पार्टी’ भित्र यतिबेला ‘राणा प्रवृत्ति’ बाट पार्टीलाई बाहिर ल्याउन ‘एक्जिट पोलिसी’ उपर गम्भीर छलफल चल्दैछ ।
त्यसैको प्रभावले गर्दा केही दिनका लागि केन्द्रीय समितिको बैठक स्थगित छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माद्वारा प्रस्तुत ‘निर्वाचनमा गठबन्धन, एक्जिट पोलिसी र महाधिवेशनको मिति’ समेटिएको प्रतिवेदनले कांग्रेस केन्द्रीय समिति मात्र नभई सिंगो कांग्रेसमै एकप्रकारले तरंग पैदा भएको छ ।
निर्वाचनका समयमा गरिने गठबन्धनका विषयलाई लिएर चित्त दुखाउन पुगेको भनिएको माओवादीले एक चरण एमालेसँग सत्ता सहकार्य गर्दै पुनः अहिले विपक्षमा छ भने कांग्रेस–एमाले बीच अहिले सत्ता सहकार्य छ ।
गठबन्धन बेगर राष्ट्रिय राजनीतिमा दर्विलो उपस्थिति नदेखेको माओवादी यतिवेला नेकपा एस र विप्लवलाई ‘मनाउँदै’ छ । स्वयम् कांग्रेसमा पनि निश्चित नेतालाई छाडेर हेर्ने हो भने परिवर्तनलाई आत्मसात् गर्न भन्दा पनि संस्थापन पक्षमै आफूलाई ‘आत्मसमर्पण’ गरी शक्तिमा पुग्दै ‘रजगज’ गर्ने प्रवृत्तिमा बढोत्तरी आएको छ !
पार्टीभित्र नेतृत्व जाम, भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको गर्न नसकिएको महाधिवेशन, पूर्णता पाउनै नसकेको केन्द्रीय समिति तथा विभाग र मन्त्रिमण्डलमा सामेल व्यक्तिका बारे समेत ‘विमर्श’ हुनै छाडेको देखिन्छ । विमर्श केवल ‘गुट व्यवस्थापन’ का निम्ति मात्र भइरहेको छ ।
कांग्रेसको भविष्य के हुने र कांग्रेसका माध्यमबाट देशलाई कस्तो बनाउने भन्ने विषयमा केन्द्रित बन्नुपर्ने सत्तारुढ कांग्रेसको केन्द्रीय समितिको बैठक एक्लै निर्वाचनमा जाने आँट गर्ने कि नगर्ने, पार्टीको विधान र मुलुकको संविधानमै निर्दिष्ट गरिएको निर्वाचित समितिको समयावधि भित्रै राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने कि नगर्ने भन्ने अर्थहीन बहसमा छ ।
यस्तै जीवनको उत्तरार्धमा पनि पार्टीको पोजिसनमै रहनुपर्ने प्रावधान ‘विधानबाटै हटाऔं’ भनेर बहस गर्नुपर्ने ‘दुर्भाग्यपूर्ण’ अवस्थामा पनि छ आज कांग्रेस । सिंगो देशकै अभिभावकीय भूमिकामा देखा पर्नुपर्ने कांग्रेस पार्टी आज आफैंभित्रको ‘बहुमतको दम्भ’ को शिकार भएको छ ।
यसैको आडमा आफ्नै पार्टीका साथीलाई किनारा लगाउँदै जनस्तरमा बदनाम पात्रलाई मन्त्रिमण्डलमा चयन गर्दा समेत ‘प्रतिक्रियाविहीन’ रहनु चाहिं कांग्रेसको ‘वर्ग चरित्र’ हुँदै होइन । तथापि राष्ट्रिय राजनीतिमा झै कांग्रेस भित्र पनि अहिले एक प्रकारको ‘सन्नाटा’ छाएको छ !
कांग्रेससम्मुख यतिवेला कांग्रेसलाई पुनर्जीवन दिने नै हो भने ‘गगन र विश्व’ मात्रै होइन, चन्द्र भण्डारीदेखि प्रदीप पौडेलहुँदै बद्री पाण्डे र जीवन परियारका अलावा नैनसिंह महरसम्म ‘एउटै एजेण्डामा एकै ठाउँ’ उभिनै पर्ने बाध्यता छ ।
पार्टीलाई पुनर्ताजगी गर्दै छरिएर रहेका आफ्ना प्रतिबद्धता पूरा गर्नुको अलावा भोलिको चुनौतीको सामना र समाधानका खातिर पनि समयको वेगले पन्ध्रौं महाधिवेशनमा यी नेतासँगै यिनले प्रतिनिधित्व गर्ने वर्ग समयले एकैठाउँ ल्याउनेछ ।
सिंगो देशकै अभिभावकीय भूमिकामा देखा पर्नुपर्ने कांग्रेस पार्टी आज आफैंभित्रको ‘बहुमतको दम्भ’ को शिकार भएको छ ।
नेपालका वामपन्थीको वर्गीय एकता र समाजवादी मोर्चा नामक ‘सबै वाम, एकै ठाम’ भन्ने विषयले पनि कांग्रेसमा परिवर्तनको झण्डा बोक्नेहरू एकै ठाउँ उभिनै पर्ने दबाब बढ्दै गएको छ । त्यसो त ‘एक पटक, यसै पटक’ भन्ने ‘स्लोगन’ का साथ १३औं महाधिवेशनमा सभापति लडेका डा. शेखर कोइरालालाई समेत युवाकै पक्षमा उभिनै पर्ने नैतिक विषयले घेरा हालिराखेको छ ।
हुनत कांग्रेस पार्टीमा बेलाबखत ‘सिनियर र जुनियर’ को विषय पनि नउठ्ने गरेको होइन । सिनियर अर्थात् उमेरले जेठोले ‘पोजिसन’ पाउँदा मात्र राम्रो हुने भए सभापति शेरबहादुर देउवालाई सम्मानपूर्वक ‘घर पठाउन’ एक्जिट पोलिसीको विषय महामन्त्री विश्वप्रकाश शर्माले उठाउनुपर्ने नै थिएन ।
राजनीति भनेकै घोडा दौड जस्तै भएकाले जहाँ उमेरको भन्दा पनि दौडको विषय महत्वपूर्ण हुन्छ । ‘एक्जिट पोलिसी’ को सन्दर्भलाई पार्टी संस्थापन पक्षले ‘देउवा रोक्न’ भन्ने भाष्य निर्माण गर्दैछ ।
वास्तवमा ‘गगन-विश्व’ को यो प्रस्ताव देउवा रोक्ने नभई ‘दर्जनौं पटक पदमा रहिरहन चाहने देउवा’ बन्नबाट आफैंलाई रोक्न ल्याइएको हो भनेर बुझ्न कठिन छैन ।
वास्तवमा चतुर्याइँका हिसाबले नेपालका वामपन्थीको तुलनामा कांग्रेस पछाडि नै छ । वामपन्थीले इन्द्रचोकमा खरीद गरेको पीठोलाई ‘जुम्लाको अर्गानिक’ भनेर बिक्री गर्दा पनि कांग्रेस आफैंले जुम्लाबाट काठमाडौं ल्याएको ‘मार्सी चामल’ समेत ‘ब्रान्डिङ’ गरेर बिक्री गर्न सक्दैन !
कांग्रेसकै अगुवाइमा निर्मित संविधानमा कांग्रेसकै जोडबलमा राखिएको ‘समाजवाद उन्मुख’ भन्ने शब्दलाई लोकतन्त्रसँग जोड्न मात्र सकेको भए पनि नेपालमा वैदेशिक लगानी मनग्गे भित्रन सम्भव थियो ।
संविधानमा रहेको ‘समाजवाद उन्मुख’ शब्दलाई अन्तर्राष्ट्रिय समुदायले यही शब्दका आधारमा भोलि आफ्नो लगानीका कम्पनी नेपाल सरकारले राष्ट्रियकरण गर्न सम्भव देखेकै कारण लगानीकर्ता नेपालमा आकर्षित भएनन् ।
यो सवालमा कांग्रेस मज्जाले कमजोर देखिन पुग्यो । कांग्रेस लोकतान्त्रिक पार्टी भयो भन्दैमा अन्धाधुन्ध तरिकाले जनताले मत प्रकट गर्ने होइनन् । त्यसका निम्ति कांग्रेसले ‘लोकतान्त्रिक समाजवाद’ नामको विचार जनतासमक्ष पुर्याउन सक्नुपर्दछ ।
यही सन्दर्भमा एउटा ‘बजार व्यवस्थापक’ को विज्ञापनको सन्दर्भ जोडौं । विज्ञापनका अनुसार एउटा ‘फिसिङ सामग्री’ बिक्री गर्ने कम्पनीले मास्टर लेवल पास गरेको कर्मचारी आवश्यकता रहेको विज्ञापन गर्दछ । जसमा दर्जनौं निवेदन पर्दछन् । त्योमध्ये एउटा केवल एसईई पासले पनि दरखास्त हाल्न पुग्दछ ।
कांग्रेस लोकतान्त्रिक पार्टी भयो भन्दैमा अन्धाधुन्ध तरिकाले जनताले मत प्रकट गर्ने होइनन् । त्यसका निम्ति कांग्रेसले ‘लोकतान्त्रिक समाजवाद’ नामको विचार जनतासमक्ष पुर्याउन सक्नुपर्दछ ।
फिसिङ कम्पनीले अन्तर्वार्तामा बोलाउने क्रममा योग्यता नपुगे पनि एसईईवालाको धारणा सुन्न उसलाई पनि बोलाइन्छ । उनी सामेल अन्तर्वार्तामा उनलाई सुरुमै प्रश्न गरिन्छ – तिम्रो योग्यता पुग्दैन, तथापि किन निवेदन दियौ ? उनको जवाफ हुन्छ – मलाई काम गर्ने अर्थात् ‘फिसिङ सामग्री’ बेच्ने अवसर दिएर त हेर्नुस्, अनि सवाल–जवाफ गरौंला ।
नभन्दै कम्पनीले उनलाई परीक्षणकालका लागि राख्ने भयो । उनी फिसिङको सामग्री बेच्ने कम्पनीमा जिम्मेवारी सम्हाल्न पुगे । उनी पुगेकै दिन एकजना भलाद्मी उनको पसलमा पत्रिका किन्नका निम्ति पुगे । एसईईवालाले आफ्नो पसलमा पत्रिका त नभएको तर हजुर हेर्दा रिटायरवाला झंै लाग्यो, हजुरका लागि उमेर सुहाउँदो ‘फिसिङ नेट’ भएको बताएर खुसीका साथ नेट किन्न लगायो ।
नेटसँगै उनले थपे मेरो पसलमा माछालाई नजिक ल्याउने गहुँको सामग्री पनि छ । ती सज्जन दुवै सामग्री खरिद गर्न तयार भए । बिक्रेता त्यतिमा रोकिएनन् । उनले विनम्र भावमा खोला किनारामा रहँदा घाम छेक्ने अन्तर्राष्ट्रिय कम्पनीको ‘ह्याट’ पनि भएको सुनाएनन् मात्र बिक्री पनि गरे !
उनको क्षमताको क्रम रोकिएन, खोला किनारामा माछा मार्नका निम्ति रहुन्जेलसम्मका लागि ‘कोल्ड ड्रिङ्स र स्न्याक्स’ समेत बिक्री गराए । हुँदाहँुदा यी सबै सामग्री खरिद गरेका वृद्ध सज्जनले सामान लैजान सक्ने कुरै थिएन ।
ती सज्जनलाई बिक्रेताले सामान बोक्ने ट्रली समेत बिक्री गरे । क्रेता खुसी हँुदै सामग्री खरिद गरेको हेरिरहेका कम्पनी मालिकले थप सामग्री बिक्री नगर्न भन्दै एसईईवाला कर्मचारीको क्षमताको मुक्तकण्ठले प्रशंसा गरे ।
‘फिसिङ सामग्री’ बेच्ने कामदारले झैं वामपन्थीहरूको तुलनामा नेपालको इतिहासमा कांग्रेसले धेरै पटक परिवर्तनको झण्डा उठाएर जनतासामु आफूलाई पटक–पटक अग्नि परीक्षामा समेत होमिसकेको छ । तर, राजनीतिक चतुर्याईं गर्न भने वामपन्थीहरू धेरै अगाडि छन् ।
कांग्रेस वास्तवमै लोकतन्त्र चाहनेहरूको साझा संस्था थियो र छ । कांग्रेसले विरासतबाटै पाएको ‘लोकतन्त्रप्रतिको निष्ठा’ कै कारण आजसम्म कांग्रेस टिक्न सफल पनि छ । तर, सधैं हिजोको विरासतको गाथा गाएर मात्र हुने भए ‘प्रजापरिषद्’ कांगे्रस भन्दा ठूलो पार्टी बन्नेथियो ।
त्यसैले कांग्रेसले विरासतबाट प्राप्त निष्ठालाई जोगाउँदै ‘विचार र उमेर’ ले प्रौढलाई ‘एक्जिट पोलिसी’ का माध्यमबाट अभिभावकमा रूपान्तरण गर्नै पर्दछ । अन्यथा नेपालको कांग्रेस र चीनको कोमिङताङ पार्टी बीच अन्तर हुनेछन् ।
सरकार निर्माण पूर्व गरिएको सम्झौतालाई भुलेर सरकारको काम केवल ‘राजदूत र सचिव’ सरुवा मात्र गरेर बस्ने जस्तो देखिएको छ ! पार्टीहरू एकातिर प्रभावहीन बन्दै जाने, अर्कातिर ‘विचार र उमेर’ ले युवालाई ‘सरकार र पार्टी’ मा जिम्मेवारी दिनबाट रोक्दै जाने परम्पराले राष्ट्र कहाँ पुग्ला ?
फेरि ‘विचार र उमेर’ ले जाज्वल्यमान पुस्ताको उदय भएकै समय कांग्रेससँगै एमाले, माओवादी पार्टीका परम्परागत नेताले आम नेपालीको विश्वास आर्जन असम्भव कुरा हो । युवाको विदेश पलायनकै सन्दर्भमा पनि ‘युवाको भविष्य कस्तो हुनुपर्दछ र त्यसका निम्ति के गर्न सकिन्छ’ भन्ने बारेको विमर्श आजको संस्थापन पुस्ता र पक्षसँग देखिंदैन ।
यो सबै युवा नेताले आफ्ना प्रतिबद्धतालाई सार्थक तुल्याउँदै आगामी चुनौतीलाई पार लगाउने समय हो । देशबाट युवा त्यो पनि दक्ष जनशक्तिको पलायन तीव्र गतिमा भएको छ ! नेपालले समृद्धिमा फड्को मार्ने दीर्घकालीन योजना बाहिर ल्याउनै सकेन !
सुशासनका सन्दर्भमा कानुन निर्माण गरेर अख्तियारलाई बलियो बनाउनुपर्ने विधेयक संसद्मा भ्रष्टाचार छानबिनको अवधि कति भन्नेमै अलमलिएको छ ! प्रधानमन्त्री जस्तो उच्च ओहदामा रहेको व्यक्ति समेत प्राधिकरणले बक्यौता नउठाओस् भन्छन् !
सरकार निर्माण पूर्व गरिएको सम्झौतालाई भुलेर सरकारको काम केवल ‘राजदूत र सचिव’ सरुवा मात्र गरेर बस्ने जस्तो देखिएको छ ! पार्टीहरू एकातिर प्रभावहीन बन्दै जाने, अर्कातिर ‘विचार र उमेर’ ले युवालाई ‘सरकार र पार्टी’ मा जिम्मेवारी दिनबाट रोक्दै जाने परम्पराले राष्ट्र कहाँ पुग्ला ?
निर्धारित मितिमै महाधिवेशन गरौं, नेतृत्व हस्तान्तरण गरौं, एउटै व्यक्तिले एउटै पोजिसनमा कति पटक रहने भन्ने जस्ता विषय विधानमा व्यवस्था गरौं । जनताका बीच गठबन्धन गरेर होइन, राजनीतिक दलहरू आ–आफ्नो घोषणापत्र बोकेर जनताका बीच जाऔं भन्दा उल्टै संस्थापन इतर पक्षका विचार र उमेरले युवा पुस्तालाई पार्टीमा एक्लो बनाइने परम्पराले कस्तो पार्टी निर्माण गर्न खोजिएको हो भन्ने प्रश्न सतहमै आएको छ ।
जसको ‘निर्मम समीक्षा’ बेगर कांग्रेस पार्टीले ‘पार्टीको आकार’ ग्रहण गर्न त सम्भव छैन नै, आजका मितिको झैं प्रभावहीन अवस्था कायमै रहे अहिले मात्र नभई भोलि पनि कांग्रेसले आफ्नो ‘मार्सी चामल’ थाती राखी ‘पीठो बिकाइरहेको’ वामपन्थीका पछाडि नलागी सुखै छैन ।
यसको समीक्षा जारी केन्द्रीय समिति बैठकले गर्न सक्दा मात्र पार्टीले विरासतबाट प्राप्त आफ्नो वर्ग चरित्र कायम राख्न सम्भव छ । पार्टी महामन्त्रीद्वय ‘गगन–विश्व’द्वारा प्रस्तुत पार्टी पुनर्गठन सम्बन्धी माथि उल्लिखित तीनवटै मुद्दा केन्द्रीय समितिबाट अस्वीकृत भएमा कार्यकर्ता तहमा ‘बहस’ का लागि लैजानुको पनि महामन्त्रीद्वयसँग विकल्प देखिंदैन ।