आधुनिक नेपालका हरेक क्रान्ति र आन्दोलनको नेतृत्व गर्दै आएको नेपालको पुरानो र देश–विदेशले मानेको एक मात्र प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसमा महाधिवेशनको विवाद र प्रतिस्पर्धा सुरु भएको छ । तर, महाधिवेशन कहिले हुन्छ भन्ने टुंगो छैन । यसैमा पनि प्रतिस्पर्धा चलिरहेको देखिन्छ ।
सभापति शेरबहादुर देउवा २०८४ मा हुने संघीय संसद्को निर्वाचनका लागि पनि आफ्नै हातबाट टिकट दिन पाए हुन्थ्यो भनेर महाधिवेशनको समयलाई पछि धकेल्ने प्रयत्नमा लागेको चर्चा छ भने उनका प्रतिस्पर्धीहरू २०८४ को निर्वाचनअगाडि नै उनलाई बिदा गरेर पार्टीको नेतृत्व आफ्ना हातमा लिने दाउमा छन् । पार्टीहरूको महाधिवेशन कहिले गराउने भन्ने आफ्नै पार्टीका विधान र देशको संवैधानिक व्यवस्थाअनुसार खासै विवाद गर्ने ठाउँ देखिँदैन । तापनि नेपालका ठूला पार्टीहरू विधान र संवैधानिक व्यवस्थाको पालन आफ्नो अनुकूलताका आधारमा गर्ने गरेका छन् । आफ्नो अनुकूल नभए अध्यादेश ल्याएर पनि काइते उपाय निकाल्ने गर्छन् । त्यसैले बारम्बार कुन मितिमा गर्ने भन्ने विवाद चल्ने गरेको छ ।
राजनीतिक पार्टी भनेको निश्चित सिद्धान्त, नीति, नेतृत्व, संगठन र कार्यक्रमको सन्तुलनमा चल्ने गर्छ । तर, नेपालका कुनै पनि पार्टीमा नीति र कार्यक्रमका आधारमा प्रतिस्पर्धा हुने र नेता छानिने अवस्था छैन । त्यसैले शक्तिका आडमा अस्वस्थ प्रतिस्पर्धाका लागि यस्ता अवैधानिक र अनैतिक तरिका अपनाउनु सामान्य र स्वाभाविकजस्तो हुन थालेको छ । यस्तो परिवेशमा क्रान्तिमा जो छ त्यसैको पक्ष बलियो हुने निश्चितजस्तै हुन्छ ।
कांग्रेसमा मात्रै होइन हरेक पार्टीमा अनेक गुट र उपगुटहरू छन् तर सिद्धान्त र नीतिका आधारमा त्यस्ता गुटहरू नबनेकाले तिनको कुनै स्थायी चरित्र हुँदैन । कुन बेला कसलाई कुन गुटमा लाग्दा फाइदा हुन्छ त्यतै लाग्ने हुनाले ओहोरदोहोर भइरहनु स्वाभाविक हुन्छ । कांग्रेसका अहिलेका स्वार्थ समूहहरूमा सभापति शेरबहादुर देउवा पक्ष सबैभन्दा बलियो छ । त्यसलाई परास्त गर्न सबै इतर पक्ष एकताबद्ध हुनुपर्नेमा त्यस्तो देखिँदैन । जब राजनीतिक पार्टीको नेतृत्वको छनोट नीति र कार्यक्रमका आधारमा हुँदैन । तब क्षेत्रीय, जातीय र साम्प्रदायिक समूहहरू बनेर प्रतिस्पर्धा हुन थाल्दो रहेछ । यतिबेला नेतृत्व परिवर्तनको उमेर समूह’bout बहस र विवाद चलिरहेको छ ।
यतिबेला हरेक पार्टीमा नेतृत्व युवामा आउनुपर्छ भन्ने माग चर्को रूपमा उठ्ने गरेको छ । तर, यसमा के स्पष्ट छैन भने युवा भनेको छोरा पुस्तामा भनेको हो कि नाति पुस्तालाई भनेको हो ? छोरा पुस्ता हो भने अब लगभग निश्चितजस्तै छ । शेरबहादुरको पुस्ताले शारीरिक र मानसिक दुवै अवस्थाले अब सक्दैन । यो स्वाभाविक र प्राकृतिक नियम हो । सुकेको पात खस्छ र त्यसको ठाउँ नयाँ पातले लिन्छ । शेरबहादुर जे गरेर भए पनि आफ्नो उत्तराधिकारीका रूपमा आफ्नी पत्नी र छोरालाई स्थापित नगरुन्जेल पार्टीको नेतृत्व नछोड्ने पक्षमा छन् भन्ने अनुमान होइन, प्रस्ट छ । तर यतिबेला उनी छोराभन्दा पनि पत्नी आरजु राणा देउवालाई स्थापित गर्ने प्रयासमा छन् । तर त्यति सजिलो छैन ।
शेरबहादुर देउवा जे गरेर भए पनि आफ्नो उत्तराधिकारीका रूपमा आफ्नी पत्नी र छोरालाई स्थापित नगरुन्जेल पार्टीको नेतृत्व नछोड्ने पक्षमा छन् भन्ने अनुमान होइन, प्रस्ट छ । तर यतिबेला उनी छोराभन्दा पनि पत्नी आरजु राणा देउवालाई स्थापित गर्ने प्रयासमा छन् । तर त्यति सजिलो छैन
सबभन्दा पहिलो कुरा त आरजु राणा कांग्रेसी परिवार र कांग्रेसको संस्कार र परम्पराबाट होइन कांग्रेसको विरोधी विचार, संस्कार र परम्पराबाट आएकी हुन् । उनी शक्तिको कारणले बाहेक पार्टीभित्र र पार्टीबाहिर पनि लोकप्रिय छैनन् । उनीमाथि भ्रष्टाचारलगायतका अनेक आरोप लागेका छन् । जसले गर्दा उनी असुरक्षित अवस्थामा छन् । शेरबहादुर सोझो, सीधाजस्तो लागे पनि आफ्नो स्थार्थलाई दस कोस परबाट सुँघेर थाहा पाउने मानिस हुन् । हुन त अहिले नै कांग्रेस नेतृत्व उनको हातमा पु¥याउँछु भन्ने कुरा असम्भव छ । यति कुरा शेरबहादुरले नबुझ्ने प्रश्नै छैन । त्यसैले उनले यतिबेला यस्तो मानिसका हातमा नेतृत्व राखिदिन चाहन्छन् जसले आरजुलाई सुरक्षित ठाउँ दिएर अर्कोपटक नेतृत्वमा पु¥याउन सकोस् । त्यस्तो पात्र को हुन सक्छ, त्यस विषयमा फेरि चर्चा गरौंला । यसप्रकारको प्रयोग कांग्रेसमा पहिले पनि भइसकेको छ ।
बीपी कोइरालापछि कांग्रेसको नेतृत्वका लागि हरेक दृष्टिले सक्षम थिइन् शैलजा आचार्य । तर उनी आफ्नो अडान नछोड्ने र निश्चित मूल्यमान्यतामा सम्झौता नगर्ने स्वभावकी थिइन् । बीपीको अवसानपछि गिरिजाप्रसादपछिको नेतृत्व उनको हातमा गयो भने हाम्रो परिवारको नेतृत्व उत्तराधिकार सुरक्षित नहुन सक्छ भनेर शैलजासँग तुलना नै हुन नसक्ने सुशील कोइरालालाई नेतृत्वमा ल्याइयो । जसले गर्दा शैलजा निराश हुन पुगिन् र उनका अन्तिम दिनहरू निकै कष्टप्रद हुन पुगे । त्यति गर्दा पनि कोइराला परिवारबाट नेतृत्व शेरबहादुरमा पुग्यो । शेरबहादुरमा नेतृत्व पुग्नु त्यति अस्वाभाविक भएन किनकि शेरबहादुर पनि कांग्रेसकै उत्पादन थिए । जुन कुरा आरजुमा लागु हुँदैन ।
नेपालको राजनीतिमा विराटनगरको कोइराला परिवारमा प्रजातन्त्र हाम्रो नेतृत्वमा आएको हो त्यसैले प्रतिफलमा पनि हाम्रो अग्राधिकार हुनुपर्छ भन्ने मनोभावना छ भन्ने जति पनि पुराना कांग्रेस छन् तिनीहरू पनि कोइरालाबिनाको कांग्रेस नुनबिनाको तरकारीजस्तो मान्छन् । शशांकजस्तो मानिसले पटकपटक चुनाव जित्नुको कारण त्यही सहानुभूतिको भावना नै हो ।
तर, विगत ५ वर्षयताका क्रियाकलापले कोइराला परिवारको उत्तराधिकारीका रूपमा शेखर कोइरालाले अरू परिवारका सबैलाई उछिनेका छन् । यदि शेखर कोइरालाले दुई जना कांग्रेसको नेतृत्वको शिखरमा पुगेका गणेशमान सिंह पुत्र प्रकाशमान सिंह र कांग्रेसका मधेशका शिखर पुरुष महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र निधिलाई पनि एक ठाउँमा लाउन सके, त्यसले सबैभन्दा बढी भावनात्मक वैधता पाउने निश्चित छ । त्यसलाई पराजित गर्न शेरबहादुरका लागि निकै कठिन हुनेछ । अझ त्यसमा कोइराला परिवार पनि एकताबद्ध भयो भने त दुर्भेद्य किल्ला बन्न सक्छ । तर सिद्धान्तहीन अवसरवादी राजनीतिमा यस्तो गठबन्धन बन्न निकै कठिन छ । तथापि शेखर कोइरालाको चुनौती शेरबहादुरका निम्ति त्यति सजिलो हुनेछैन । हुन त प्रकाशमान र विमलेन्द्र शेरबहादुरसँग सभापतिमा प्रतिस्पर्धा गरेर पराजित भएपछि शेरबहादुर खेमामै गएका थिए । यी कता लाग्छन् भन्ने कुराले निकै ठूलो महŒव राख्छ किनकि यी नेतापुत्र मात्रै होइनन्, स्वयं पनि प्रजातान्त्रिक आन्दोलनको मैदानमा ठूलो संघर्ष गरेर आएका हुन् । जबकि बीपीका छोरामा प्रकाश कोइरालाबाहेक अरू कोइरालाहरू संघर्षको बेलामा डाक्टर पढ्दै थिए ।
तेस्रो पक्ष छ कांग्रेसका दुई जना युवा महामन्त्री । दुवै जना राम्रा वक्ता र अपेक्षाकृत अरूभन्दा लोकप्रिय पनि छन् । यो छोरा पुस्ता होइन नाति पुस्ताजस्तो हो । तर, अहिले युवामा नेतृत्व आउनुपर्छ भन्ने नारालाई तीव्र बनाइएको छ र यीमध्ये पनि गगनकुमार थापाले नेतृत्वको दाबी प्रस्तुत गरिसकेका छन् । गगनकुमार थापा दुर्गम पहाडको एउटा कर्मचारीको छोरा– जसको राजकाजमा समाउने र टेक्ने कुनै हाँगा थिएन । केवल आफ्नो क्षमताका बलमा त्यही उमेरमा कांग्रेसको महामन्त्रीमा अत्यधिक मत ल्याएर जित्नु सामान्य कुरा होइन । अझ नेपाली कांग्रेसको इतिहासमा संस्थापना पक्षको निरन्तर विरोधमा बसेर टिक्न सक्नु अचम्मको कुरा हो । उनी आजसम्म संस्थापन पक्षमा कहिले पनि रहेनन् । गिरिजाप्रसादजस्तो जसले कृष्णप्रसाद र गणेशमानलाई समेत पार्टीमा टिक्न दिएनन्, तिनको पनि विपक्षमा रहेर कांग्रेसको महामन्त्री हुनु चमत्कार नै हो । हुन त केही समययता उनको लोकप्रियतामा कमी आउँदै गएको छ भन्नेहरू पनि छन् । त्यसैकारणले हो कि के हो सधैं प्रतिपक्षमा बसेका गगन यसपटक शेरबहादुरको नजिक हुन पुगेका छन् भन्ने सुनिन्छ ।
जेहोस् छोरा पुस्तामा जाओस् वा नाति पुस्तामा जाओस् यसपटक कांग्रेसको नेतृत्वमा पुस्तान्तरण हुँदै छ । कांग्रेसका कार्यकर्ताहरू जो प्रजातन्त्र स्थापनापछि बसाइ–सराइ गरेर आएका छन् अपवादबाहेक तिनको कतै पनि प्रतिबद्धता पाइँदैन । जो संघर्षबाट आएका छन् तिनीहरू कति त राजनीतिबाटै विस्थापित भइसकेका छन् भने कति शारीरिक रूपले पनि सक्रिय हुन सक्ने अवस्थामा छैनन् । तिनीहरूमध्येका कति जना अहिले शेरबहादुरसँगै भए पनि अनेक कारणले खुलेर बोल्न नसक्लान् । तर अन्तरमनले आरजुकहाँ कांग्रेस नेतृत्व जानुलाई बेजातमा गएको मान्छन् र मौका पाउनासाथ विपक्षमा जान सक्छन् । यी र यस्तै कारणले नेपाली कांग्रेसको आगामी महाधिवेशन निकै चाखलाग्दो हुनेछ । तर, देशको अवस्था सामान्य छैन, भोलि हुने कुनै पनि कुरालाई ढुक्क भएर आजै अनुमान गर्न सक्ने अवस्था छैन । भविष्यका कुरा भविष्यकै गर्भमा रहन दिऊँ ।
(Visited 14 times, 1 visits today)