कर्णाली याक्स एक खेलअगावै लिग चरणबाटै बाहिर : RajdhaniDaily.com


कीर्तिपुर । पोखरा एभेन्जर्ससँग पराजित भएसँगै कर्णाली याक्स एनपीएलको जारी सिजनमा लिग चरणबाटै बाहिरिने पहिलो टोली बनेकोे छ भने चितवन राइनोजलाई हराउँदै जनकपुर बोल्ट्सले प्लेअफमा पुग्ने झिनो आशा जगाएको छ ।

पहिलो जितका साथ जनकपुरको प्लेअफ पुग्ने झिनो आशा

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा भएको खेलमा कर्णालीलाई पोखरा एभेन्जर्सले ३४ रनले हरायो । ६ खेलबाट मात्र २ अंक बटुलेको कर्णालीका लागि अन्तिम खेल जिते पनि शीर्ष ४ मा रहेर प्लेअफमा पुग्ने अवस्था समाप्त भएको छ । कर्णालीले अन्तिम खेलमा जनकपुर बोल्ट्ससँग खेल्दै छ । ४–४ अंक जोडेका पोखरा र चितवन राइनोजले एक आपसमा खेल्न बाँकी छ । जसका कारण यीमध्ये एक टोलीको ६ अंक हुनेछ भने अन्तिम खेलमा जित निकाले पनि कर्णाली पहिलो चरणबाटै बाहिरिने पक्का छ । कर्णालीले ६ खेलमा एकमा जित र पाँच खेलमा हार बेहोरेको छ ।

कर्णालीविरुद्ध जित निकालेको पोखराले पाँच खेलमा दोस्रो जित दर्ता ग¥यो । जसका कारण उसको पनि ४ अंक भएको छ । अब अन्तिम दुई खेलमा उसले जित निकाले प्लेअफ पुग्ने सम्भावना हुनेछ । अब पोखराले काठमान्डु गोर्खाज र चितवन राइनोजसँग खेल्न बाँकी छ ।

सुदूरपश्चिम रोयल्सले १० अंक जोडेर प्लेअफमा स्थान बनाइसकेको छ । दोस्रो स्थानको विराटनगर किंग्स र तेस्रो स्थानको काठमान्डु गोर्खाजको ८–८ अंक छ भने उनीहरू प्लेअफनजिक छन् ।

मंगलबार एडम रोसिङटनको शतकको मद्दतमा पोखरा एभेन्जर्सले दिएको २ सय २ रनको लक्ष्य कर्णाली याक्सले भेट्टाउन नसक्दा एक खेलअगावै प्रतियोगिताबाट बाहिरिन पुगेको हो ।

कर्णालीले १९ ओभरमा १ सय ६७ रन बनाउँदा सबै विकेट गुमायो । कर्णालीका लागि ओपनिङमा आएका मार्क वाटले सर्वाधिक ५९ रन जोडे ।

३४ बलमा उनले ४ चौका र ५ छक्का प्रहार गर्दै ५९ रन बनाएका थिए । उनीबाहेक अन्य ब्याटर भने चल्न सकेनन् । वाटसँगै ओपनिङमा आएका प्रियांक पाञ्चाल १६ रनमै आउट भए । त्यसपछि आएका जयकिसन कोल्सावाला ६ रनमै सन्दीप क्षेत्रीको बलमा आउट भए । पवन सर्राफले १९ रन बनाउँदा नाजिबुल्लाह जार्दानले २४ रनको योगदान दिए । दुवै जना ऋषि धवनको बलमा आउट भए । यसैगरी, गुल्सन झा ९ रनमा आउट हुँदा दीपेन्द्र रावत १० रनमा रनआउट भए । कप्तान सोमपाल कामी १३ रन बनाएर आउट भए भने युनिस सिंह १ रनमा आउट हुँदा विपीन शर्माले रनको खाता खोल्नै सकेनन् ।

बलिङमा पोखराका लागि एनपीएलमा डेब्यु खेलाडी ऋषि धवन र धनञ्जय लक्षमले ३–३ विकेट लिए । भारतको राष्ट्रिय टोलीसहित आईपीएल टोली पञ्जाव, कोलकाता र मुम्बईबाट खेलेका धवनले ४ ओभरमा ३७ रन खर्चिएर ३ विकेट लिएका हुन् । यस्तै, लक्षमले पनि ३ विकेट लिने क्रममा ४ ओभरमा ३१ रन दिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एडम रोसिङटनको शतकको मद्दतमा पोखरा एभेन्जर्सले कर्णाली याक्ससामु २ सय २ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।

टस जितेर कर्णालीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पोखराले २ विकेटको क्षतिमा २ सय १ रन बनायो ।

जारी दोस्रो सिजनको एनपीएलमा २ सय रन कटेको यो दोस्रोपटक हो । यसअघि विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरूद्ध २ सय २० रन बनाएको थियो ।

३२ वर्षीय इंग्ल्यान्डका विकेटकिपर ब्याटर एडम रोसिङटनले ५५ बलमा शतक पूरा गरेका थिए । १ सय ८ रनमा नटआउट रहेका उनले कुल ५८ बल खेलेर ११ चौका र ७ छक्का प्रहार गरे ।

पोखराका कप्तान तथा ओपनर कुशल भुर्तेलले १८ रन जोडेका थिए । उनले १७ बलमा ३ चौका र १ छक्का प्रहार गरे । रोसिङटनसँग भुर्तेलले ३४ रनको ओपनिङ साझेदारी गरेका थिए ।

भुर्तेल आउट भएपछि क्रिजमा आएका जासन रोयसँग रोसिङटनको जोडी जम्यो । दुई जनाले १ सय २७ रनको साझेदारी गरेका थिए । एनपीएलमा डेब्यु गरेका रोय ४६ रनमा आउट भए । ३४ बलको सामना गरेका उनले २ चौका र ३ छक्का प्रहार गरे । उनी १७औं ओभरको पाँचौं बलमा नन्दन यादवको बलमा प्रियांक पाञ्चलबाट क्याच आउट भए । यस्तै, धनञ्जय लक्षनले ११ बलमा नटआउट २३ रन बनाएपछि पोखराले २ सय १ रन बनाएको थियो ।

बलिङतर्फ कर्णालीका नन्दन यादव र मार्क वाटले १–१ विकेट लिए ।

एनपीएलको जारी सिजनमा दोस्रो शतक
पोखरा एभेन्जर्सका विकेटकिपर ब्याटर एडम रोसिङटनले जारी एनपीएलमा शतक प्रहार गरेका छन् । दोस्रो संस्करणको एनपीएलमा शतक प्रहार गर्ने ३२ वर्षीय इंग्ल्यान्डका ब्याटर रोसिङटन दोस्रो खेलाडी बनेका छन् । उनले ५५ बलमा शतक पूरा गरेका थिए ।

शतक पूरा गर्न उनले ११ चौका र ६ छक्का प्रहार गरे । उनी १ सय ८ रनमा नटआउट रहँदा कुल ५८ बलमा खेलेर ११ चौका र ७ छक्का प्रहार गरे । यसअघि कर्णालीका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध शतक प्रहार गरेका थिए । अघिल्लो संस्करणमा पोखराका लागि आन्द्रेस गौसले शतक प्रहार गरेका थिए । त्यसैले, ब्याटर एडम रोसिङटनको यो शतक एनपीएलको समग्रमा तेस्रो शतक हो ।

जनकपुरको पहिलो जित
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको साविक विजेता जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ । दोस्रो संस्करणको पहिलो खेलदेखि नै लगातार पराजय बेहोर्दै आएको जनकपुरले पाँचौं खेलमा आएर पहिलो जित दर्ता गरेको हो । मंगलबार सम्पन्न खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै जनकपुरले हारको शृंखला तोड्न सफल भयो ।

यस जितले लिग चरणबाटै बाहिरिने संघारमा रहेको जनकपुरलाई केही राहत मिलेको छ । जनकपुरले पाँच खेलमा एक जित र चार हारसँगै २ अंक बनाएको छ ।

जनकपुरले अब लुम्बिनी लायन्स र कर्णाली याक्ससँग खेल्न बाँकी छ । जनकपुरले बाँकी दुवै खेल जिते पनि शीर्ष ४ मा रहेर प्लेअफमा पुग्नका लागि त्यत्ति सहज छैन । उसले अरूको खेलमा निर्भर पर्नुपर्नेछ । प्लेअफमा पुग्न चितवन र लुम्बिनी लायन्सले बाँकी सबै खेल हार्नुपर्छ ।

उता, मंगलबार जनकपुरलाई हराएको भए चितवनको प्लेअफ पुग्ने सम्भावना दरिलो हुने थियो तर हारका कारण अब चितवनले प्लेअफमा पुग्न आफूले खेल्न बाँकी रहेका दुवै खेल जित्नुपर्नेछ । चितवनले सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ । यी खेल जिते पनि चितवनले लुम्बिनीले खेल्न बाँकी रहेका खेलमा भर पर्नुपर्नेछ । लुम्बिनीले जनकपुर बोल्ट्स र विराटनगर किंग्ससँग खेल्न बाँकी छ ।

मंगलबार चितवनले दिएको १ सय ७७ रनको लक्ष्य दुई ब्याटरले विस्फोटक ब्याटिङ गरेपछि जनकपुरले १७ ओभर ४ बलमा ४ विकेटको क्षतिमा पूरा ग¥यो ।

जनकपुरका लागि माज सदाकत र अनिलकुमार साहले अर्धशतक पूरा गरे । ओपनर सदाकतले ३० बलमा ६ चौका र ४ छक्काको मद्दतमा ६३ रनको योगदान दिए भने साहले ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाए । आसिफ शेख १८ बलमा १८ रन जोडेर चितवनका कमलसिंह ऐरीको बलमा आउट भए । ऐरीले आसिफलाई छैटौं ओभरमा बोल्ड गरेका थिए । सदाकत अमसिंह रौटेलाको बलमा कुशल मल्लबाट क्याच आउट भए । आउट हुनुअघि उनले अनिल साहसँग दोस्रो विकेटका लागि ७९ रनको साझेदारी गरेका थिए ।

जनकपुरका यान निकोल लोफ्टी इटन ९ बलमा १ छक्कासहित ११ रनमा रनआउट भए । यस्तै, आदित्य महताले केवल ७ बलमा नटआउट १८ रन बनाए । यसक्रममा उनले २ चौका र १ छक्का हाने । बलिङमा चितवनका सोहेल तन्विर, अमरसिंह रौटेला र कमलसिंह ऐरीले १–१ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ४ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो । चितवनका लागि दुवै सुरुवाती ब्याटरले अर्धशतक प्रहार गरे । डेभिड मलान र अर्जुन साउद दुवैले अर्धशतक बनाए । उनीहरूले पहिलो विकेटका लागि १३ दशमलव ४ ओभरमा १ सय १२ रनको साझेदारी गरे ।

साउदले ३९ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ५२ रनको योगदान गरे । उनी यान निकोल लोफ्टी इटनको बलमा सञ्जय कृष्णमूर्तिबाट क्याच आउट भए ।

ओपनर मलानले ५४ बलमा ८० रन बनाए । १९औं ओभरमा आउट भएका मलानले ४ चौका र ५ छक्का प्रहार गरे । उनी सदाकतको बलमा एलबीडब्लूको धरापमा परेका थिए ।

चितवनका सइफ जइब ७ रन र रवि बोपारा ३ रनमै आउट भए । जइबलाई अनिल साहले कृष्णमूर्तिबाट १५औं ओभरको अन्तिम बलमा क्याच गराए । बोपारा १७औं ओभरमा रूपेश सिंहको बलमा पाकिस्तानी खेलाडी सदाकतबाट क्याच आउट भए ।

कप्तान कुशल मल्लले १४ बलमा २ चौका र २ छक्काको मद्दतमा नटआउट ३० रनको योगदान दिए । अमर रौटेला १ रनमा नटआउट रहे ।

बलिङमा जनकपुरका सदाकत, अनिल साह, रूपेश सिंह र लोफ्टी इटनले १–१ विकेट लिए ।

कुशलको छक्का प्रहारमा चियर लिडर घाइते
जनकपुर बोल्ट्ससँगको खेलमा चितवन राइनोजका कप्तान कुशल मल्लले छक्का प्रहार गरेको बलले लागेर चियर लिडर घाइते भएकी छन् ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा क्रिकेट बलले लागेर चियर लिडर शर्मिला विकको अनुहारमा चोट लागेको जिल्ला प्रहरी परिसरका एसपी एवं प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।

उनको बल्खुको बयोधा अस्पतालमा उपचार भइरहेको छ । मल्लले छक्का प्रहार गरेको बलले विकको अनुहारमा लागेपछि उनी रगताम्मे भएकी थिइन् ।

(Visited 41 times, 1 visits today)





Source link

Leave a Comment