कर्णाली, तिम्रो प्रेमले म मान्छे बनेको छु

कर्णाली, तिम्रो प्रेमले म मान्छे बनेको छु


नेपालगञ्ज पाक्दै थियो गर्मीले। हामी त्यही गर्मीले उसिन्निएर राँझा एअरपोर्ट पुग्यौं। टिकटको लाइनमा उभियौं। प्रतीक्षा लामो थियो तर टिकट पाइएन।

“टिकट सकियो, भोलि आउनुस्! कतै मिल्यो भने मिलाउँला” रात्रि बसको टिकट काट्न गए झैं ‘भोलि’ भनेर फर्काइदिए एअरलाइन्सका कर्मचारीले। बगरको बालुवा जस्तो खस्रैखस्रो बोलीले हामी यात्रुहरू मुर्मुरियौं। उनीहरूलाई यस्तो लाग्थ्यो− हामीले सित्तैंमा टिकट माग्न गएका थियौं। अझ भनौं, भिख माग्न गएका थियौं।

कर्णालीका अग्ला पहाड छिचोलेर आफ्नो मुकाम पुग्न हामीले सधैं यस्तै व्यवहार खेप्यौं। ठूलो आशा बोकेर विमानस्थलमा जान्थ्यौं र कर्मचारीको रुखो वचनले थलिएर फर्किन्थ्यौं। टिकट नपाउनुको दुःखमा कर्मचारीको व्यवहार नुन–खुर्सानी जस्तो हुन्थ्यो। यस्तो लाग्थ्यो− यात्रुहरूले दुःख पाएको देखेर ती कर्मचारीलाई चरमोत्कर्ष प्राप्त हुन्छ।

हामीलाई जसरी पनि उड्नु थियो किनकि अर्को विकल्प थिएन। उड्नलाई जहाज थिएन। जतिबेला जहाज थियो, मौसम अनुकूल थिएन। सबै अनुकूल हुँदा टिकट थिएन। भनेको बेला टिकट नपाइए यात्रुलाई महाभारत हुन्छ। एकदिन मात्र उड्न पाइएन भने २-३ हजार फजुल खर्च हुन्छ। त्यो पनि सामान्य होटलमा बस्दा मात्र। पैसासँगै पूरै दैनिकी उथलपुथल हुन्छ। विमानस्थलभित्रको हर्कत देखेर रिसले सीमा नाघ्छ। तर, हामी नेपाली नागरिक न हौं। रिसले जति दाँत पिसिए पनि सहेर बस्न नेपाली जति कसैले सक्दैन। रिसाएर पाखुरा सुर्किने हो भने भोलि टिकट लिन उनीहरूकै अघि हात पसार्नुपर्छ। राज्य प्रणाली नै कमजोर भएपछि मान्छे (यात्रु) कसरी बलियो हुन्छ ? यस्तो लाग्छ− विमानस्थलभित्रको सरकार कर्मचारीहरूले चलाइरहेका छन्।

हुनत नेपालगञ्ज र सुर्खेतबाट कर्णाली जाने नियमित यात्रुका लागि यो नौलो विषय होइन। उनीहरू यो समस्याका भुक्तभोगी हुन्। पहिलो पटक जानेलाई अनौठो लाग्छ। यो समस्या दीर्घरोग जस्तो भएको छ। कर्णालीवासीले वर्षौंदेखि यो नियति भोग्दै आएका छन्। आज टिकट लिएर भोलि उड्न पाउनु भनेको त ठूलो चिट्ठा परे झैं हो। कुनै युद्ध जिते जस्तै हो। कर्णालीवासीहरूले यो लडाइँ दशकौंदेखि लडिरहेका छन्। शायद अझै दशकौंसम्म लडिरहनेछन्।

विशेषगरी माथिल्लो हुम्ला र डोल्पाका बासिन्दाले यो समस्या बढी भोग्नुपर्छ। अरू जिल्लामा त गतिलो नभए पनि बाटो त पुगेको छ। जिते (कालीकोट)देखि सिमकोट (हुम्ला)सम्मको ट्रयाक अन्तिम अवस्थामा पुग्दैछ। बाटो पुगेपछि धेरै राहत मिल्छ। कर्णालीवासीको घाउमा मल्हम लगाउने बाटो यही हो। यो ट्रयाक शुभारम्भ हुने बेला म कालीकोटमै थिएँ। कर्णाली छोडेको पनि ७ वर्ष भएछ।

यो दशैं मनाउन हुम्ला सदरमुकाम सिमकोटबाट काठमाडौं आउनुपर्ने थियो एक जना हुम्लाकै साथीलाई। उनी शिक्षक हुन्। उनका परिवार काठमाडौं बस्छन्। काठमाडौंबाट परिवारलाई हुम्ला बोलाउँदा साह्रै खर्चिलो पर्छ। त्यसमा पनि टिकटको महाभारत। त्योभन्दा आफैं काठमाडौं जान सस्तो पर्ने भएकोले उनी दशैं मनाउन जाँदै थिए। सिमकोटबाट सामान्यतया सीधै काठमाडौं जानुपर्ने हो। कहिलेकाहीं नेपालगञ्ज अथवा सुर्खेत भएर जान्छन्। त्यो नै नियमित उडानको रुट हो। तर, उनी धनगढी भएर काठमाडौं पुगे, महँगो भाडा तिरेर। पूरै रुट नै उल्टो घुमे। यहीं हुन्छ एयर मोनोपोली (एकाधिकार)। ´खाए खा, नखाए घिच्´ भयो उनलाई। जेहोस्, साथीले दशैं मनाउन चाहिं पाए।

कर्णालीका पाँच जिल्लाका आफ्नै मौलिक विशेषता छन्। हुम्लाका लिमी भ्याली, रलिङ गुम्बा र यालबाङ गुम्बा; मुगुका रारा, छायानाथ; डोल्पाको शे-फोक्सुण्डो, जुम्लाका सिंजा, चन्दननाथ र तातोपानी; कालीकोटको पाँचाल झरना केही नमूना नाम हुन्

कर्णालीको दशैं-तिहार सधैं महँगो हुन्छ। टिकटको निश्चित मूल्य हुँदैन। चाडपर्वमा भाडाले जूनतारा छुन्छ। अझैसम्म ई-टिकट काट्ने व्यवस्था हुनसकेको छैन कर्णालीमा। ई-टिकट हुन्थ्यो भने यात्रुहरूले ठूलै राहत पाउँथे। एअरपोर्ट धाइरहनुपर्दैनथ्यो। ती दुष्ट कर्मचारीको जी–हजुरी गर्नुपर्दैनथ्यो। कसैको पापड बेल्नुपर्दैनथ्यो। आफ्नो अनुकूलतामा टिकट काट्न पाउँथे यात्रुले। यस्तो व्यवस्था गर्न कुन कानुनको कुन व्यवस्थाले रोकेको होला ?

सस्तो उडान नेपाल एअरलाइन्सको हुन्छ। सहुलियतमा उड्न पाइन्छ भनेर कुर्नेको लर्को लामो हुन्छ। तर, यसको उडान निश्चित हुँदैन। सरकारीमा फाइदा-घाटा सरकारले नै बेहोर्छ, लिन्छ। निजीले जस्तो तनाव सरकारले लिंदैन, त्यसैले नियमित उडान भर्दैन। उडान भए पनि, नभए पनि पाउनेले तलब र भत्ता पाइरहेकै हुन्छ। नेपाल एअरलाइन्स नउडेपछि निजीको विकल्प हुँदैन। उनीहरूले जतिसुकै महँगो भाडा तोके पनि चुपचाप तमासा हेर्नुपर्छ। यो घाउको ओखती कहिले बन्ने हो ?

टिकटको लागि ठूलो शक्ति र भक्तिको खेल हुन्छ। शक्ति र भक्ति नहुनेहरू महिनौं एअरपोर्टमा अलपत्र पर्छन्। सामान्य मान्छेले सजिलै टिकट पाउन त निधार अलि ठूलै हुनुपर्छ। जहाजको टिकट पाउँदा पनि चुनावकै टिकट पाए झैं खुसी लाग्छ।

नेपाल एअरलाइन्सले सेड्युलमा कर्णालीका लागि साताका दुई फ्लाइट राखे पनि उडान अपवादमै हुन्छ। टिकट पनि विभिन्न कोटा प्रणाली अनुसार हुन्छ। जहाजमा जम्मा ११ सिट हुन्छ। त्यसमा ६ वटा नागरिकलाई र बाँकी कोटामा बाँडिन्छ। कोटाको सही प्रयोग भए/नभएको नियमन र अनुगमन गर्ने निकाय नै छैन। कर्मचारीले आफ्नो तरिकाले बेच्छन्। म कर्णाली झन्डै एक दशक बसें। सयौं पटक उडें। एकपटक पनि नेपाल एयरलाइन्समा उड्ने सौभाग्य पाइनँ। सधैं निजी र सधैं महँगोमा परें।

दशैं र तिहारको बेला जहाजहरू पूर्वतिर पर्यटक बोक्न जान्छन्। प्रायः जोमसोमतिरै व्यस्त हुन्छन्। महिनौं उतै हराउँछन्। लुक्लाको उडान भर्दाभर्दै कर्णाली आउने समय नै हुँदैन। जता धेरै पैसा आउँछ, उतै उड्छन्। व्यापार न हो। जहाजले यस्तो बेला एकछत्र राज गर्छन्। सुर्खेत र नेपालगञ्ज एयरपोर्ट माछाबजार जस्तै देखिन्छन्। सधैं उस्तै भीडभाड र ठेलमठेल हुन्छ। यस्ता एअरपोर्टमा ठ्याक्कै देशको अनुहार देखिन्छ। एअरपोर्ट पनि देश जस्तै अलपत्र छन्।

चाडपर्व आउन लाग्दा सपना पनि फेरिन्छन्। झिलिमिली र रौनकले मन फुरुंग हुनुपर्ने हो। तर, त्यतिबेला हरेक क्षण टिकटकै चटारो हुन्छ। धेरै सपनाहरू टिकटकै मारमुंग्रीमा बिथोलिन्छन्। उही ठेलमठेल, उही बार्गेनिङ, उही भनसुन। हामी त चाहेर पनि खुसीका सपना देख्न पाउँदैनौं।

युरोप, अमेरिकातिर चाडबाडमा विशेष छुटका फ्लाइट सुविधा दिन्छन् एअरलाइन्सले। सस्तो टिकट पाएपछि मान्छेहरू छुट्टी मनाउन परिवारका साथ घुम्न निस्कन्छन्। हामीकहाँ उल्टो छ। चाडबाडमा एअरलाइन्सहरू मोटाउँछन्। उनीहरूको मनोमानी थेगिनसक्नु हुन्छ। उनीहरूको मनपरीलाई राज्यले धाप मारेर सघाइरहन्छ।

जसोतसो टिकटको महाभारतलाई छिचोलियो भने प्रकृतिले दिने प्रताडनाले सताउँछ। बिहान कुहिरो लाग्छ। दिउँसो हावा चल्छ। हावा चल्यो भने टिनका डब्बा जस्ता जहाज उड्दैनन्। छिसिक्क कुहिरो र बादल लाग्यो भने जहाज मस्तले एअरपोर्टमै सुत्छन्।

कर्णालीको अनाजलाई मात्र बजारमा पुर्‍याउन सक्ने हो भने धेरै केही गर्नै पर्दैन। कर्णालीका स्याउ, सिमी, कोदो, फापर, उवा, चिनो, आलु र ओखर मात्र पनि तराईमा नियमित झार्न सकियो भने कर्णालीलाई अरूको अगाडि दाँत देखाउनुपर्दैन।

कुनै बेला १४ दिन नेपालगञ्ज बसेर हुम्लाको सिमकोट उडेको सम्झना आइरहन्छ। नेपालगञ्जको कारकादो चोकमा फुपूको क्वार्टर थियो। त्यसैले मेरो बस्ने र खाने पैसा जोगियो। मानसिक र शारीरिक तनाव चाहिं सगरमाथा जस्तै थियो। दिनहुँ गाडी र रिक्सा चढ्नुपर्थ्यो राँझा एअरपोर्टको लागि। एअरलाइन्सले बिहानै ६ बजे बोलाउँथ्यो। कहिले मौसम खराब हुन्थ्यो। कहिले जहाज खराब हुन्थ्यो। फ्लाइट सधैं क्यान्सिल हुन्थे। फुपाजुले मेरो दु:ख देखेर आफ्नो साइकल दिनुभयो। साइकल लगेर एअरपोर्ट जान सल्लाह दिनुभयो। गाडीको भर नहुने, रिक्सा साह्रै महँगो। साइकल एअरपोर्ट नजिकैको होटलमा राख्थें। जहाजले मलाई उडायो भने फुपाजु आएर साइकल लैजाने सल्लाह भएको थियो। बिहानै झिसमिसेमा ५ किलोमिटर दिनहुँ झन्डै १२ दिन साइकल चलाएँ। १४औं दिनको दिन म सिमकोट उडें। महँगैमा भए पनि यती एअरलाइन्सले मलाई उडायो।

धेरै तनाव र संघर्षपछि हुम्ला पुगें। सिमकोट पुग्नासाथ तनाव कम भयो। गर्मीबाट चिसोमा आउनासाथ सबै ठन्डा भयो। दिमाग पूरै चंगा भयो। तनावजति सबै सिमकोटको सौन्दर्यले खिचेर लग्यो। चारैतिर हिमाल देखेपछि मन त्यतिकै लट्ठियो। स्वर्गको अर्को कुनै नाम छ भने सायद यही हो जस्तो लाग्यो। पहिलो प्रेम बस्यो हुम्लासँग। चिन्दै नचिनेर माया बस्यो। विस्तारै चिनजान बढ्यो। कर्णालीका चार जिल्ला बस्ने सौभाग्य पाएँ। डोल्पा जाने साइत जुरेन। एकपटक जुर्ला जस्तो थियो, मौसमले साथ दिएन। त्यसपछि अहिलेसम्म जुरेको छैन। डोल्पा पुग्ने सपना अधुरै छ। इच्छा अझै उस्तै छ मेरो। मेरो बुवा दुईपटक डोल्पा बस्नुभएको थियो। उहाँ राष्ट्रसेवक कर्मचारी हुनुहुन्थ्यो। म पनि हुम्ला तीन पटक र अरू जिल्ला एक-एक पटक बसेको छु। बाहिर बसेर कर्णालीको तस्बिर बेग्लै हुन्छ। त्यहाँ पुग्दा बिल्कुलै फरक पाइन्छ। हामीले मनमनै बनाएको चित्र जस्तो छैन कर्णाली। कर्णालीको आफ्नै विशाल महिमा छ। सुन्दर छ। यसलाई छुट्टै फुलबुट्टा भर्नै पर्दैन। कर्णाली अकबरी सुन हो। कसी लगाउनुपर्दैन।

कर्णाली आउँदाको कष्ट यहाँको सौन्दर्यले बिर्साइदिन्छ। यहाँको हावापानी, रहनसहन, भेषभूषा, संस्कृति र इतिहासले सबै प्रताडनाहरू मत्थर हुन्छन्। कर्णाली आउनुमा पश्चात्ताप होइन, गर्व लाग्छ। किनकि, जो-कसैले कर्णाली सजिलै भ्रमण गर्न सक्दैनन्। यो अवसर पाउँदैनन्।

कर्णालीका पाँच जिल्लाका आफ्नै मौलिक विशेषता छन्। हुम्लाका लिमी भ्याली, रलिङ गुम्बा र यालबाङ गुम्बा; मुगुका रारा, छायानाथ; डोल्पाको शे-फोक्सुण्डो, जुम्लाका सिंजा, चन्दननाथ र तातोपानी; कालीकोटको पाँचाल झरना केही नमूना नाम हुन्। यी ठाउँले सबैको मन लोभ्याउँछ। डाँफेले मन हरक्कै बनाउँछ। अर्गानिक जडीबुटीमा कर्णाली जति धनी कोही छ जस्तो लाग्दैन। सयौं जडीबुटी छन्। एउटा यार्चागुन्बु मात्रै काफी छ। असली यार्चागुन्बु पाउने ठाउँ नै डोल्पा हो। राज्यले सही तरिकाले नियन्त्रणमा लिएर बिक्री-वितरण गर्न सक्ने हो भने यसबाट ठूलो राजस्व उठ्छ। यसको बिक्री-वितरणमा निजी कम्पनी नै हावी छन्। राज्यकोषमा न्यून राजस्व आउँछ।

चीनको कैलाश मानसरोवर नेपाल भएर जाने प्रमुख बाटो नै हुम्ला हो। त्यसैले हुम्ला धेरै व्यस्त र पर्यटनको दृष्टिकोणले धनी मानिन्छ। मानसरोवर जाने बेला हुम्लाको एअरपोर्ट नयाँ बेहुली झैं सजिएको हुन्छ। दिनमा सयौं फ्लाइट हुन्छन्। त्यसमा पनि अधिकतम चार्टर्ड फ्लाइट हुन्छन्। हेलिकोप्टर र जहाजले एअरपोर्ट भरिएको हुन्छ। जन्ती जान तयार बसेका बस जस्तै। मानसरोवर जाँदा हुम्लामा बस्नुपर्ने वा केही समय बिताउनुपर्ने भएकै कारण पर्यटकले केही खर्च गर्छन्। त्यसबाट जिल्लाको राजस्वमा टेवा पुग्छ। ट्रेकिङ मन पर्ने पर्यटकहरू सिमकोटबाट गाइड लिएर हिंड्दै मानसरोवर जान्छन्।

कर्णालीको अनाजलाई मात्र बजारमा पुर्‍याउन सक्ने हो भने धेरै केही गर्नै पर्दैन। कर्णालीका स्याउ, सिमी, कोदो, फापर, उवा, चिनो, आलु र ओखर मात्र पनि तराईमा नियमित झार्न सकियो भने कर्णालीलाई अरूको अगाडि दाँत देखाउनुपर्दैन। मैले प्रत्यक्ष देखेको छु- स्याउ बिक्री नभएर बस्तुभाउलाई खुवाएको। आधुनिक मसिन नहुँदा स्याउको चाना (सुकुटी) पनि व्यावसायिक हुनसकेको छैन। जुम्लामा भने व्यावसायिक रूपमा राम्रो छ। यसको प्रमुख कारण बाटो नै हो। जुम्लामा बाटो पुगेको छ। सामान ढुवानी सस्तो पर्छ। डोल्पा र हुम्लामा छैन। मुगुको स्याउले अझै राम्रो बजार पाएको छैन। चीन र भारतबाट आएको स्याउले बजार खाएको छ। यसमा राज्यको चासै छैन। राज्यले थोरै मात्र टेवा दिने हो भने कर्णालीको स्याउले बजार पाउँछ। राज्यको आँखा सरकार टिकाउन र कुर्सी बचाउनमा मात्रै केन्द्रित छ। कर्णालीबाट ट्रकमा स्याउ, सिमी, कोदो, फापर, उवा, चिनो, आलु र ओखर लगेर जाने अनि फर्किंदा कर्णालीमा नपाइने खाद्यान्न लिएर आउने मात्र गर्ने हो भने दोहोरो व्यापारले अर्थव्यवस्थामा सकारात्मक ऊर्जा भर्थ्यो।

ए कर्णाली !

यता परदेशमा कतै राता स्याउ देखें भने तिम्रो याद आउँछ।

स्याउ जस्ता राम्रा मान्छे देखें भने म तिमीलाई सम्झिन्छु। 

दाँते ओखर देख्दा मलाई तिम्रो झझल्को आउँछ।

कतै खोला देखें भने म तिमीमा बगेको सम्झिन्छु।

हाइकिङ जाँदा कतै सेता हिमाल देख्दा मलाई तिम्रो छातीमा उभिएका ती अजंगका हिमाल याद आउँछन्।

सायद तिम्रो याद नआएको कुनै दिन हुँदैन। तिम्रो प्रेमले म मान्छे बनेको छु। यसपटक यस्तै भयो, आउन पाइनँ। ढुकी बस ल, राराको मिलीचौरमा। अर्को पटक बसेर माया साटौंला।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School