कफीसँग थिग्रिएको आर्तनाद !

कफीसँग थिग्रिएको आर्तनाद !


बागबजारको एउटा गल्लीको चियापसल, म अनेक आर्तनादका शृङ्खला बीच मनभित्रका खैलाबैला महसुस गरिरहेको छु । बाहिरी एकाग्रता र मनभित्रको पीडादायी द्वन्द्वबीच कफी तान्दा निस्किएको सुरुप्प–सुरुप्पको आवाजले पनि आफैंलाई तर्साएको छ । फेरि पनि मैले मुहारमा त्रास वा पीडा देखाएको छैन ।

अभिभावक भएको परिपक्व परिवेश र सहाराविहीन यथार्थता । उफ् ! कति पेचिलो जिन्दगी । बाल्यकालमै बाबुको सहारा खोसिएको तथ्य र झन्डै १५ वर्षदेखि आमाको पारिलो काखको लागि तड्पिएको वास्तविकताले रन्थनाउँछ मलाई । टाउकोमा नाम्लोको बोझले मानिसलाई निकट खुशीको आभास मिल्छ तर मैले महसुस गरिरहेको भावशून्य बोझले निकट पीडाको अनुभूति गरिरहेको छु ।

खबर दुनियाँमा अभिभावकलाई दुत्कार्ने तथ्य हेडलाइन पढ्दा म त्यस्ता छोरा–छोरीलाई तिरस्कृत अभिवादन टक्र्याउँछु । लौरो समान उपस्थितिले पनि अभिभावकको ओझिलो र भरोसायोग्य सहारा मिल्ने तथ्य किन बुझ्दैनन् स्वार्थी छोरा–छोरीहरू !

चरिकोटबाट केही माइलको दूरीमा रहेको काठमाडौंमा छु म यतिबेला । मेरो आश्रयमा रहेको युजी (मैले घरमा पालेको कुकुर) नियास्रिएको अनुमानले म नरमाइलो मानिरहेको छु । एउटा जनावरप्रतिको मेरो लगाव, अभिभावक हुनुको इमानदार साक्षी ठान्दछु । त्यस्तै इमानदारी हरेक अभिभावकले निर्वाह गरिरहेको हुन्छ । यो परिघटनामा एउटा सन्ततिको रूपमा युजी पनि त्यतिकै इमानदार छ । म केही दिन टाढा हुने सङ्केत पाएको उसले मलाई ठुस्किएर बिदाइ गरेको झल्को मेरो आँखा वरिपरि तिरमिराइरहेको छ ।

युजीसँग भावना छ, स्नेह छ, आत्मीयता छ, इमानदारी छ र अपनत्व छ । तर धेरै अभिभावकले आफ्ना छोरा–छोरीहरूबाट युजीको जति मात्र पनि अपनत्व महसुस गर्न सकिरहेका छैनन् । अभिभावक पारिवारिक एकताको सौन्दर्य हो । आत्मीय स्नेहको कडी हो । यो सौन्दर्यमा रङ पोत्न खोज्दा आफ्नै अनुहार कुरूप बन्छ । आत्मीय एकता तोड्न खोज्दा आफैं एकाङ्की भड्खालोमा जाकिनुपर्ने हुन्छ । तर यो वास्तविकतालाई कलियुगीन छोरा–छोरीले अस्वीकार गर्दाको परिणाम हो धेरै अभिभावक उमेरको एउटा कमजोर पलमा सडकपेटी, वृद्धाश्रम र घरकै कुनै कुनामा अपहेलित जीवन गुजारिरहेको वास्तविकता ।

हामी नेपाली, अधिकांश हिन्दु धर्मप्रति आस्था राख्ने समाज छ । हिन्दु धर्मले बुबा–आमालाई भगवान्को सर्वोच्च रूप मानेको छ । तर के हामी नेपालीले हिन्दु धर्मको आस्थालाई आत्मसात् गर्न सकेका छौं ? पक्कै छैनौं । किनभने हामी धेरैले अभिभावकलाई बुबा–आमा अर्थात् अभिभावकलाई भगवान्को सर्वोच्च रूप मान्नै सकेका छैनौं । एउटा शिलामा अबिर दलेको देख्दा श्रद्धाले शिर निहुराउने हामी त्यही शिलामा आफ्ना खुशीको पसिना बगाउने अभिभावकलाई भने अपहेलना गरिरहेका हुन्छौं ।

यतिबेला म चिनियाँ समाजलाई सम्झन्छु । कुकुरको मासु खान्छ र ज्येष्ठ नागरिकलाई गोली ठोकेर मार्छ भन्ने अफवाहको बीच प्रगतिको शिखर चुम्दै गएको चीनमा अभिभावक अर्थात् ज्येष्ठ नागरिकको सम्मान लोभलाग्दो छ । अनि कुकुरलाई गरिने स्नेह इखालु लाग्छ ।

आफ्ना सन्तानको आडमा बिहानीपख सडकपेटीमा कुकुर डो¥याएर टहलिरहेका ज्येष्ठ नागरिकको सौन्दर्यले चीनको समृद्धिमा टेवा पुगेको मान्नुपर्छ । चिनियाँ सरकारले नै पनि हरेक ज्येष्ठ नागरिकको स्वास्थ्य र हेरचाहको लागि प्रत्येक समुदायमा स्वास्थ्य क्लिनिक, योग सेन्टर, जिमखाना सञ्चालन गरिदिएको छ । तर नेपालमा न परिवारका सदस्यले (सबै हैनन्) ज्येष्ठ अभिभावकको सम्मान र संरक्षण गर्न सकेका छन्, न सरकारले नै ज्येष्ठ नागरिकको लागि उपयुक्त व्यवस्थापन गरिदिन सकेको छ ।

सडकपेटी र वृद्धाश्रममा छोरा–छोरीको अपहेलना लुकाएर उनीहरूकै लागि आत्मीयताको आँसु बगाइरहने ज्येष्ठजनहरू किन चीनतिर जन्मिएनछन् भन्ने खट्को पलाउँछ मनमा । कमसेकम चीनमा ज्येष्ठ नागरिकहरूको लागि विकल्प त छ, छोरा–छोरीले नहेरे सरकार छ । तर नेपालमा त धेरै ज्येष्ठ नागरिकलाई छोरा–छोरीले हेरेको पाइँदैन, सरकारले ज्येष्ठ नागरिकलाई हेर्नुपर्छ भन्ने सोचेकै छैन ।

००० ०००

कफीको परिमाण गिलासको फेदतिर थिग्रिंदै गएको छ । मैले परिकल्पना गरेको अभिभावक परिवेशभित्रका धेरै लालाबाला विद्यालय र कलेजको पोशाकमा होटलका दायाँ–बायाँ थुप्रिंदै छन् । चियाको चुस्की र चुरोटको धुवाँसँग देश–विदेशका तथ्य–कथ्य मिसाएर गुड्डी हाँक्न तल्लीन ती छोरा–छोरीलाई मेरो एकाग्रता र ज्येष्ठजनका केही थान फोटो सहितको ‘शताब्दी व्यक्तित्व’ पुस्तकसँग कुनै सरोकार नै छैन ।

होटलको टेबलमा चुरोटको धुवाँसँग रुमलिएको ‘शताब्दी व्यक्तित्व’ पुस्तकले मलाई भने झस्काएको छ । पुस्तकको रङसँग लपेटिएको ‘राष्ट्रिय ज्येष्ठ नागरिक कोष’को पहिचानले मलाई त्यसका सभापति बसन्तराज कार्की सम्झाइदिएको छ ।

‘… प्रिय मित्र दोलखाका निष्ठावान् पत्रकार साहित्यकार श्री चिरञ्जीवी (मञ्जु) मास्केलाई सप्रेम उपहार !’ सभापति बसन्तराज कार्कीले पुस्तकको पहिलो पन्नामा लेखिदिएका रहेछन्, २०८० माघ २३ गते । नढाँटी भन्छु पुस्तक पाएदेखि यसमा मेरो ध्यानै गएको रहेनछ । म आफ्नो अभिभावकको सम्झनामा यो पुस्तकलाई एउटा निकट भरोसा ठान्न सक्ने छु । किनभने यसभित्र उमेरको निश्चित अवधि पार गरेर पनि अभिभावकीय भरोसामा अविश्राम ज्येष्ठजनको वृत्तान्त रहेको छ ।

बसन्तराज कार्की, उमेरको हिसाबले एउटा तहको मेरो अभिभावक नै हुन् । उनको क्रियाशीलता, लगनशीलता, बौद्धिकतासँग म झण्डै ३५ वर्षदेखि परिचित छु । जुनसुकै फोरमको नेतृत्व गर्दा पनि नयाँ–नयाँ काम गर्न रुचाउने उनको स्वभावकै परिणाम हुनुपर्छ ‘राष्ट्रिय ज्येष्ठ नागरिक कोष’ प्रकाशक रहेको यो पुस्तक ‘शताब्दी व्यक्तित्व’ ।

पुस्तकभित्र नुवाकोटकी १२१ वर्षीय बाटुली लामिछानेको छोरा–छोरीप्रतिको स्नेहको कहानी छ, दाङकी ११० वर्षीया जानकी डगौरा थारूको संघर्षको कथा छ र १०० वर्ष नाघेका अरू धेरै ज्येष्ठ नागरिकको संघर्ष, स्नेह र सुखद–दुःखद् संस्मरणका अभिलेखहरू छन् ।

‘शताब्दी व्यक्तित्व’ पुस्तकलाई केही थान ज्येष्ठजनको कथा– कहानीलाई शब्दले तन्काउँदै लेखिएको नोटबुक ठानियो भने पुस्तक प्रकाशनको औचित्य पुष्टि हुन सक्दैन । ती शब्दहरूमा, शब्दमा पोखिएका भावनाहरूमा र भावनाले हेलिएको तथ्यहरूमा सलबलाउँदै ज्येष्ठजनको उमेरसँग सामीप्यता खोज्यौं भने बल्ल बसन्तराज कार्कीलाई बुझ्नेछौं । उनले पुस्तक प्रकाशन गर्नुको औचित्य चाल पाउनेछौं । र कार्कीले अत्यन्त महत्वका साथ प्रकाशन गरेको पुस्तकको गरिमा बुझ्नेछौं ।

बसन्त दाइले मलाई पुस्तक थमाउँदै भनेका थिए– मञ्जु, यो पुस्तकको समीक्षा लेखिदिनु है ! त्यतिबेला आफूभन्दा अग्रजलाई मुखलाग्नु उचित ठानिनँ । तर त्यतिबेलै मनले भनिसकेको थियो– यति धेरै ज्येष्ठजनको भावना सलबलाएका पुस्तकको समीक्षा गर्ने औकात मेरो हैन । र कुनै पनि पुस्तकको समीक्षा लेख्नुपर्छ वा लेखिन्छ भन्ने मान्यताको पत्रकार म हैन । किनभने पुस्तकमा लेखकले मनलागी शब्द थोपरेको नभई कुनै पात्रको तथ्यलाई भावनात्मक तौल दिएका हुन्छन् । त्यो भावनाको तौललाई अर्को कोही लेखक÷पत्रकारले अनावश्यक फुर्का जोडेर आलोचना, टिप्पणी वा प्रशंसा गर्नु पुस्तक लेखकप्रतिको हैन पुस्तकमा प्रस्तुत भएका पात्रप्रतिको अपमान हुन सक्छ । अर्थात् लेखकले अड्कलेको भावनात्मक तौलको अपमान हुन सक्छ ।

‘शताब्दी व्यक्तित्व’ पुस्तकका हरेक पात्रसँग मैले निकट आत्मीयता पाएको छु । नुवाकोटकी १२१ वर्षीया बाटुली लामिछाने, दाङकी ११० वर्षीया जानकी डगौरा थारू मात्र हैन काठमाडौंकी अष्टमाया नगरकोटीको सक्रियता, प्युठानका गोपाल वैद्यको सेवाभाव, दोलखाका चन्द्रबहादुर सुनुवारको आर्मी कथा, इलामका श्रीनारायण खनालको धार्मिक आस्था, कैलालीकी फुलिया थरूनीको सांस्कृतिक रुझान मेरो लागि लेखनी मार्ग र स्रोत बनेको छ ।

‘शताब्दी व्यक्तित्व’ पुस्तकका पात्रको भावनासँग हेलिंदै गर्दा म अभिभावक विहीनताको यथार्थतामा उद्वेलित बनेको छु । १२१ वर्षसम्म पनि अभिभावकलाई जीवित पाउने बाटुली लामिछानेको परिवार यो संसारकै भाग्यमानी हैनन् र ? बाटुलीको छत्रछायाँमा उनको परिवारका सदस्यहरूले एकपछि अर्को उपलब्धिको शिखर चुमेको तथ्य पढ्ने रहर जागेको छ मलाई । बाटुलीको परिवारको कथाले लज्जित र आजित बन्दै सडकपेटी र वृद्धाश्रममा अभिभावक छोडेर कामको बहानामा दौडिरहने स्वार्थी सन्तानको क्षमायाचनाको सन्देश सुन्न आतुरता छ मलाई ।

ज्येष्ठजनको सम्मानमा बसन्त दाइले ‘शताब्दी व्यक्तित्व’ पुस्तक निकाले । र, पुस्तकमा समेटिएको देशभरिका ज्येष्ठजनको भावनाले अभिभावकीय सम्मानको सन्देश दिनसक्यो । अब यो सन्देशले अपहेलित जीवन बाँचिरहेका ती तमाम ज्येष्ठजनहरूको सम्मान र संरक्षण हुने अवस्था बन्नुपर्छ । कुनै दिन बसन्त दाइले शताब्दी व्यक्तित्वको सम्मान भनेर अर्को पुस्तक निकाल्ने छन् । जहाँ अपहेलित ती तमाम ज्येष्ठजनहरूलाई आफ्ना सन्ततिले क्षमायाचना सहित घर फर्काएको कहानी कोरिएको होस् । सरकारले ज्येष्ठजनको विशेष व्यवस्था सहितको योजना ल्याएको तथ्य समेटिएको होस् ।

मेरो परिकल्पनामा बसन्त दाइको मुहारले फेरो मारेको छ । गिलासमा थिग्रिंदै गएको कफीको अन्तिम चुस्की तानेर म होटल बाहिर निस्कँदैछु । शिलालाई अबिर दलेर भगवान् बनाउन पसिना बगाउने अभिभावकहरूको स्नेही महानताले अध्ययनको बहानामा होटलका चेपतिर छेलिएर चियासँग चुरोटको धुवाँ फ्याँक्न तल्लीन युवा हूलले मलाई घरी–घरी अवरोध गरिरहेको छ ।



Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School