कतै तपाईंले पिउने पानी नै बिरामी पो छ कि ?


नेपालमा प्रचुर मात्रामा पानीका स्रोतहरू छन्; जुन मुख्यतया हिमनदी, नदीहरू, वर्षा, ताल, पोखरी र भूमिगत पानीबाट प्राप्त छन्। भूमिगत पानी विशेषगरी तराई र काठमाडौं उपत्यकामा पिउने पानीका स्रोतहरूका लागि महत्वपूर्ण छ। यद्यपि विशेषगरी पछिल्लो समयमा अत्यधिक दोहनले यसको स्तरलाई खतरामा पारेको देखिन्छ। साथै शहरी र ग्रामीण दुवै क्षेत्रहरूमा एक महत्वपूर्ण पानीको स्रोतका रूपमा धाराको पानी र ट्युबवेलहरू पनि रहेका छन्।

पानीको गुणस्तरले मानव स्वास्थ्य, सरसफाइ र विभिन्न गतिविधिलाई प्रत्यक्ष रूपमा असर गर्छ। विश्व स्वास्थ्य संगठनले आधारभूत मानव आवश्यकताहरूका लागि प्रतिदिन कम्तीमा दुई लिटर पानीको आवश्यकता रहने बताएको छ। पानीको गुणस्तरले यसको भौतिक, जैविक र रासायनिक गुणहरू समावेश गर्दछ, जुन प्राकृतिक र मानव गतिविधिद्वारा प्रभावित हुन्छन्।

शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रहरूमा सुरक्षित खानेपानीको पहुँच सुधारिएको भए तापनि, तीव्र शहरीकरणले पानीका स्रोतहरूमा विशेषगरी काठमाडौं जस्ता ठूला शहरहरूमा पानीको गुणस्तरमा दबाब बढाइरहेको देखिन्छ। काठमाडौं उपत्यकामा भूमिगत पानीका स्रोतहरूमा अत्यधिक निर्भरताले भूमिगत पानीको स्तर पनि घट्दै गएको पाइन्छ।

तसर्थ पानी प्रदूषणले नेपालमा गम्भीर पानीजन्य रोगको खतरा उत्पन्न गरेको छ। नदीहरूलाई प्रायः शहरी फोहोर र औद्योगिक फोहोर फाल्ने ठाउँको रूपमा प्रयोग गरिन्छ, जसले पानीको गुणस्तरलाई उल्लेखनीय रूपमा बिगार्छ र जलजन्य रोगहरूको फैलावटमा योगदान पुर्‍याउँछ। शहरी क्षेत्रहरूमा, सुख्खा मौसममा तरकारी धुने र व्यक्तिगत सरसफाइका लागि प्रदूषित नदीको पानीको प्रयोगले गम्भीर स्वास्थ्य जोखिमहरू निम्त्याउँछ। सफा पिउने पानीको अपर्याप्त पहुँचले समस्यालाई थप जटिल बनाएको छ, जसले पखाला, आउँ, हैजा र टाइफाइड जस्ता जलजन्य रोगहरूका साथै जुका संक्रमण र छालाका रोगहरू पनि देखिएको छ।

नेपाल सरकारले खानेपानीको गुणस्तर सुनिश्चित गर्न विभिन्न पानीको गुणस्तर मापदण्डहरूको संशोधन सहित राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०७९ जारी गरेको छ।

‘राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, नेपाल २०७९’

क्र.सं.प्यारामिटरएकाइअधिकतम सघन सीमाकैफियत
क. अनिवार्य प्यारामिटर
भौतिक प्यारामिटर
धमिलोपनएन.टि.युएन.एच.बि.जि.भी
पि.एच६.५-८.५एन.एच.बि.जि.भी
रंगटि.सि.युएन.एच.बि.जि.भी
स्वाद र गन्धआपत्तिजनक हुनु नहुनेएन.एच.बि.जि.भी
विद्युतीय संवाहकतामाइक्रोसिमेन्स/से.मि१५००एन.एच.बि.जि.भी
रासायनिक प्यारामिटर
आइरनमि.ग्रा./लि.०.३(३)एन.एच.बि.जि.भी
मेन्गानिजमि.ग्रा./लि.०.२एन.एच.बि.जि.भी
आर्सेनिकमि.ग्रा./लि.०.०५एन.एच.बि.जि.भी
फ्लोराइडमि.ग्रा./लि. (mg/L)०.५-१.५ (न्यूनतम-अधिकतम)एच.बि.जि.भी
१०अमोनियामि.ग्रा./लि. (mg/L)१.५एन.एच.बि.जि.भी
११क्लोराइडमि.ग्रा./लि. (mg/L)२५०एन.एच.बि.जि.भी
१२सल्फेटमि.ग्रा./लि. (mg/L)२५०एन.एच.बि.जि.भी
१३नाइट्रेटमि.ग्रा./लि. (mg/L)५०एन.एच.बि.जि.भी
१४कपरमि.ग्रा./लि. (mg/L)एन.एच.बि.जि.भी
१५जिंकमि.ग्रा./लि. (mg/L)एन.एच.बि.जि.भी
१६एल्युमिनियममि.ग्रा./लि. (mg/L)०.२एन.एच.बि.जि.भी
१७कुल हार्डनेसमि.ग्रा./लि. (mg/L)५००एन.एच.बि.जि.भी
१८क्लोरिन अवशेषमि.ग्रा./लि. (mg/L)०.१-०.५ (न्यूनतम-अधिकतम)एच.बि.जि.भी (केवल क्लोरिनेशन भएको प्रणालीको लागि)
जैविक प्यारामिटर
१९ई. कोलीसि.एफ.यु./१०० मि. लि. (CFU/100ml)एच.बि.जि.भी
ख. थप परीक्षण जोखिम र प्रासंगिकताका आधारमा
क्र.सं.प्यारामिटरएकाइअधिकतम सघनन् सीमाकैफियत
भौतिक प्यारामिटर
कुल घुलित ठोस पदार्थमि.ग्रा./लि. (mg/L)१०००एन.एच.बि.जि.भी
रासायनिक प्यारामिटर
क्याल्सियममि.ग्रा./लि. (mg/L)२००एन.एच.बि.जि.भी
लिडमि.ग्रा./लि. (mg/L)०.०१एच.बि.जि.भी
क्याडमियममि.ग्रा./लि. (mg/L)०.००३एच.बि.जि.भी
क्रोमियममि.ग्रा./लि. (mg/L)०.०५एच.बि.जि.भी
साइनाइडमि.ग्रा./लि. (mg/L)०.०७एच.बि.जि.भी
मर्करीमि.ग्रा./लि. (mg/L)०.००१एच.बि.जि.भी
नाइट्राइटमि.ग्रा./लि. (mg/L)एच.बि.जि.भी
जैविक प्यारामिटर
कुल कोलिफर्मसि.एफ.यु./१०० मि. लि. (CFU/100ml)० (९५% नमूनाहरू)एच.बि.जि.भी
नोटः एच.बि.जि.भी- स्वास्थ्य आधारित निर्देशिका मान
एन.एच.बि.जि.भी- गैर-स्वास्थ्य आधारित निर्देशिका मान

साथै पानीको गुणस्तरको मापदण्डभित्र रहन र स्वच्छ पानीको आपूर्तिका लागि हामीले आफ्नै घरमा विभिन्न पानी प्रशोधन प्रविधिहरूको प्रयोग गर्न सकिन्छ।

घरमा प्रयोग गर्न सकिने पानी प्रशोधन प्रविधिहरू

१. सोडिस (सौर्य जल कीटाणु शोधन):

  • प्रदूषकहरू:मुख्यतया ब्याक्टेरिया, भाइरस र प्रोटोजोआलाई हटाउने काम गर्दछ।
  • प्रक्रिया:पानीले भरिएको सफा बोतललाई ६ घण्टा वा सोभन्दा बढी समयसम्म प्रत्यक्ष सूर्यको प्रकाशमा राख्ने। सूर्यको यूभी विकिरणले सूक्ष्म जीवहरूलाई निष्क्रिय बनाउँछ।
  • प्रभावकारिता:अधिकांश जलजन्य रोगजनक विरुद्ध अत्यधिक प्रभावकारी रहन्छ। सरल र कम लागतको, सफा पानी, सफा बोतल र सूर्यको प्रकाशको आवश्यक पर्दछ।
  • सीमाहरू:निरन्तर सूर्यको प्रकाशमा निर्भर गर्दछ, बादल वा वर्षाको मौसममा उपयुक्त नहुन सक्छ। बोतलबाट प्लास्टिक चुहावट एक चिन्ताजनक र नकारात्मक हुन सक्छ।

२. क्लोरिन उपचार:

  • प्रदूषकहरू:मुख्यतया ब्याक्टेरिया र भाइरसलाई हटाउने काम गर्दछ।
  • प्रक्रिया:पानीमा क्लोरिन ट्याब्लेट वा तरल ब्लिच थप्ने जसले गर्दा क्लोरिनले अक्सिडेशन मार्फत सूक्ष्मजीवहरूलाई मार्छ।
  • प्रभावकारिता:अधिकांश ब्याक्टेरिया र भाइरसहरू विरुद्ध प्रभावकारी, तर केही प्रोटोजोआहरू विरुद्ध प्रभावकारी नहुन सक्छ।
  • सीमाहरू:उचित मात्रा र प्रयोग गर्ने समय पर्याप्त आवश्यक पर्दछ। क्लोरिनले नराम्रो स्वाद र गन्ध छोड्न सक्छ।

३. बायोस्यान्ड फिल्टर:

  • प्रदूषकहरू:मुख्यतया सस्पेन्डेड कणहरू, टर्बिडिटी र केही ब्याक्टेरियालाई हटाउने काम गर्दछ।
  • प्रक्रिया:बायोस्यान्ड फिल्टर एक सरल घरेलु पानी प्रशोधन उपकरण हो जुन विशेषगरी इन्टरमिटेन्ट प्रयोगको लागि डिजाइन गरिएको परम्परागत फिल्टर हो। एक बायोस्यान्ड फिल्टरमा विशेष रूपमा छनोट गरिएको र तयार गरिएको बालुवा र गिट्टीले भरिएको कङ्क्रिट वा प्लास्टिक कन्टेनर हुन्छ। पानी फिल्टरबाट बग्दा रोगजनक, फलाम, टर्बिडिटी र म्यांगनीज हटाउँछ। बालुवाको माथि सतही पानीको तह बस्छ र बायोफिल्म विकास हुन्छ।
  • प्रभावकारिता:ठूला कणहरू हटाउन र पानीको गुणस्तर सुधार गर्न प्रभावकारी रहन्छ र केही मात्रामा एमोनिया हटाउन सक्छ। तर साना कणहरू, भाइरस वा ब्याक्टेरिया विरुद्ध प्रभावकारी नहुन सक्छ।
  • सीमाहरू:फसेका कणहरू हटाउन नियमित रूपमा ब्याकवासिंग आवश्यक रहन्छ।

४. भेसल फिल्टर:

  • प्रदूषकहरू:मुख्यतया टर्बिडिटी र आइरनलाई हटाउने काम गर्दछ।
  • प्रक्रिया:पानीलाई फिल्टरिङ माध्यम भएको सिरेमिक वा छिद्रयुक्त भाँडो फिल्टरबाट हटाइन्छ।
  • प्रभावकारिता:धमिलो पन र आइरन हटाउन प्रभावकारी। ब्याक्टेरिया र प्रोटोजोआ हटाउन विरुद्ध धेरै प्रभावकारी नहुन सक्छ।
  • सीमाहरू:नियमित सफाइ र मर्मत आवश्यक छ।

५. रिवर्स ओस्मोसिस (आरओ) फिल्टर:

  • प्रदूषकहरू:ब्याक्टेरिया, भाइरस, प्रोटोजोआ, घुलेका साल्ट, भारी धातुहरू (Heavy metal) र जैविक कम्पाउन्ड लगायतका दूषित पदार्थहरूलाई हटाउने काम गर्दछ।
  • प्रक्रिया:पानीलाई दबाबमा सेमीपर्मिएबल झिल्लीबाट अशुद्धताहरूलाई हटाउने गर्दछ।
  • प्रभावकारिता:विभिन्न दूषित पदार्थहरू हटाउन अत्यधिक प्रभावकारी माध्यम हो।
  • सीमाहरू:उच्च दबाब आवश्यक पर्दछ र यसले उल्लेखनीय मात्रामा पानी खेर फाल्न सक्छ। लाभदायक खनिजहरू (Minerals) हटाउन सक्छ।

खानेपानी गुणस्तरको परीक्षण

खानेपानीको गुणस्तर परीक्षणको आवृत्ति पानीको स्रोत, सम्भावित प्रदूषणको जोखिम मूल्याङ्कन र स्थानीय तथा राष्ट्रिय नियमहरूमा निर्भर गर्दछ। सामान्यतया, सूक्ष्मजीवीय प्यारामिटरहरूको परीक्षण वार्षिक रूपमा गरिन्छ भने रासायनिक प्यारामिटरहरूको परीक्षण ६ महिनादेखि वर्ष–वर्षमा गरिन्छ। भौतिक प्यारामिटरहरूको परीक्षण मासिक वा त्रैमासिक रूपमा गर्न सकिन्छ। आफ्नो पिउने पानीको गुणस्तरको बारेमा स्थानीय स्वास्थ्य अधिकारी वा पानी गुणस्तर विशेषज्ञसँग परामर्श गर्न राम्रो रहन्छ।

अतः नेपालमा पानीको उपलब्धता भए पनि, गुणस्तरको हिसाबले धेरै चुनौती छन्। शहरीकरण, औद्योगिकीकरण र जनसंख्या वृद्धिको कारण पानी प्रदूषणको समस्या जटिल बन्दै गएको छ। यसले गर्दा पानीजन्य रोगहरूको प्रकोप बढ्दै गएको र मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको छ। हामी सबैले स्वच्छ पानी हाम्रो अधिकार हो भन्ने कुरा बुझ्नुपर्छ र यसको संरक्षणका लागि प्रतिबद्ध हुनुपर्छ।

खानेपानीको गुणस्तर सुधार गर्नका लागि सरकार, गैरसरकारी संस्थाहरू, समुदाय र हामी सबैले मिलेर काम गर्नुपर्छ। पानीका स्रोतहरूको संरक्षण, फोहोर व्यवस्थापनमा सुधार, पानी प्रशोधन प्रविधिको प्रयोग र जनचेतना अभिवृद्धि जस्ता उपायहरू अपनाएर हामी स्वच्छ खानेपानीको सुनिश्चितता गर्न सक्छौं। आफ्नो स्वच्छ र स्वस्थ भविष्य सुनिश्चितताको लागि सुरक्षित र सफा पानी पिउने बानी बसालौं।

घिमिरे नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान-नास्टको अनुसन्धान सहायक हुन् ।





Source link

Leave a Comment