ओहायोको घरमा मृत भेटिएका नेपाली भाषी दम्पत्तिको शनिबार दाहसंस्कार, घरेलु हिंशाको आशंकामा अनुसन्धान



प्रकाशित मिति : श्रावण ६, २०८१ आईतबार

ओहायोको घरमा मृत भेटिएका नेपाली भाषी दम्पत्तिको शनिबार दाहसंस्कार, घरेलु हिंशाको आशंकामा अनुसन्धान

अमेरिकाको ओहायोको रेनोल्ड्सबर्गमा नेपाली भाषी दम्पत्तिहरु घरमै मृत अवस्थामा भेटिएपछि प्रहरीले घरेलु हिंशाको आशंकामा अनुसन्धान अगाडि बढाएको छ । हत्यापछि आत्महत्याका रुपमा बयान गरिएको यो घटनामा के कारणले मृत्यु भयो भन्नेबारे प्रहरीले सार्वजनिक रूपमा अझै खुलाएको छैन ।

रोबिन्स लुप ड्राइभको ८६०० ब्लकमा रहेको घरमा ५० वर्षीय सदा धिमाल र ४० वर्षीय टिका धिमाल बुधबार विहान मृत फेला परेका थिए । दम्पतीको घरको आँगनमा सदा धिमालले आत्महत्या गरेको देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । उनलाई वेस्ट लिकिङ फायर डिपार्टमेन्टका मेडिक्सहरुले बिहान ८ बजेर ४३ मिनेटमा मृत घोषणा गरेका थिए।

प्रहरीले घरमा खोजी गर्दा माथिल्लो तलाको शयनकक्षमा टिका धिमालको शव फेला पारेका थिए । उनको टाउकोमा चोट लागेको थियो । अनुसन्धानकर्ताहरूले घटनास्थलबाट रगतले लतपतिएको एउटा ठूलो चक्कु र स्कार्फ बरामद गरेका थिए । प्रहरीले सदा धिमालका दुईवटा गाडीमा पनि तलासी गरेको जनाईएको छ ।

प्रहरीले बिहीबार दम्पतीको नाम पुष्टि गरेको मृत्युको आधिकारिक कारणमा उनीहरूको शव परीक्षण पूरा नभएसम्म सार्वजनिक नहुने भएको छ । उनीहरुको अन्त्येष्टी शनिबार रेनोल्ड्सबर्गमा गरिएको छ ।

घरमा १६, १४ र ८ वर्षका तीन छोराछोरीहरु पनि थिए । उनीहरु भने सुरक्षित अवस्थामा नै फेला परेका थिए । बच्चाहरूलाई आश्रयका लागि लिकिङ काउन्टी चिल्ड्रेन सर्भिसलाई सम्पर्क गरिएको थियो।

पछिल्लो समयमा ओहायोको नेपाली भाषी समुदायमा हत्या र आत्महत्याका घटनामा उल्लेख्य बृद्धि भएको छ । हालै अमेरिकाको ओहायोमा श्रीमति चन्द्रमाया पौडेल रिमालको हत्याको अभियोगमा ग्रान्ड जूरीले दोषी ठहर गरेका नेपाली भाषी जेम्स रिमालले जेलमै आत्महत्या गरेको बताइएको थियो ।

गत महिना नै ओहायोको समिट काउन्टीमा बस्दै आएका उद्धव कुमार विश्वले आफैले आफैलाई गोली हानेका थिए । लगत्तै उनलाई मृत घोषणा गरिएको थियो । उनी एक्रोनको योर्क स्ट्रीटमा बस्दै आएका थिए । घरको बेसमेन्टमा उनले आफैलाई गोली हानेका थिए । ३९ बर्षीय उद्धव कुमार भुटानी शरणार्थीका रुपमा अमेरिका आएका थिए ।





Source link

Leave a Comment