ओली र बालेनबीच ‘वाकयुद्ध’ : RajdhaniDaily.com

ओली र बालेनबीच ‘वाकयुद्ध’ : RajdhaniDaily.com


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरका मेयर बालेन (बालेन्द्र) शाहका बीचमा ‘वाकयुद्ध’ चलेको छ । एकले अर्कोलाई गम्भिर आरोप लगाउदै कडारुपमा विरोधमा उत्रेका छन् ।

काठमाडौं महनगरको मेयरमा बिजयी भएपछि शाहले बिभिन्न पार्टीका शीर्ष नेताहरुलाई बिभिन्न खाले आरोप लगाउदै आएका छन् । कहिले सिंहदरबार जलाईदिने त कहिले सिंहदरबार, पार्टी कार्यालयको फोहर नउठाउने चेतावनी दिदै आएका शाहले मन्त्रीहरुलाई ट्रकमा फोहर पठाएर उपहार दिएको बताउँछन् ।

सडक निर्माण नगरेको भन्दै सडक विभाग (सरकारी कार्यालय) अगाडी फोहर फ्याल्ने देखी लिएर महानगरका चालक पक्राउपछि मन्त्रीलाई समेत नछोडने चेतावनीले बालेनको अहिलेको चौतर्फी चर्चा छ । कसैले राम्रो त कसैले नराम्रो रुपमा उनको टिप्पणी गरिरहेका छन् । तर दिनैपिच्छे बालेनले नेताहरुको आलोचना र आरोप सहितको स्टाट सार्वजनिक गर्दै आएका छन् ।

सोमबार बालेनले एमाले अध्यक्ष ओलीमाथि आक्रोश सहितको गम्भिर आरोप लगाउदै एक स्टाटस सार्वजनिक गरेका छन् । जसको पक्ष र विपक्षमा चर्चा भईरहेको छ । बालेनले गिरीबन्धुको टि–स्टेटको जग्गा हिनामिना प्रकरणमा ओलीलाई जोड्दै पीडितको बैना फिर्ता गर्न भनेका छन् ।

बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाएको भन्दै बालेनले फेसबुकमा लेखेका छन्, ‘समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो ।’

गिरीबन्धु चिया बगानको जग्गामा भएको नीतिगत भ्रष्टाचारमा ओलीको संलग्नता नहोला भन्न नसकिने बालेनको भनाई रहेको छ । ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू’ बालेनले लेखेका छन्, ‘गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।’

न्युरोडको फुटपाथ क्षेत्र बढाउन काठमाडौं महानगरपालिकाले गरेको प्रयासमा सरकारले गरेको असहयोगप्रति बालेन असन्तुष्ट छन् । महानगरपालिकाले पिच भत्काइसकेकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभागले पिच गरिदिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री एमाले सचिव रघुबीर महासेठ छन् । यसमै बालेनले एमाले अध्यक्ष ओलीलाई समेत जोड्दै फेसबुकमा आक्रोश पोखेका छन् । ‘१० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ’ बालेनले लेखेका छन्, ‘अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो ।’

बालेनले न्युरोडको साटो काठमाडौंको रिङरोड र बुटवल–चितवन खण्डको सडक बनाउन शक्ति लगाउन पनि ओलीलाई सुझाव दिएका छन् । यही विषयमा वडाध्यक्ष र बालेनबीच कार्यपालिका बैठकमै भनाभन समेत भएको थियो ।

बालेनले ओलीलाई गिरीबन्धु टिस्टेटसंग जोडेर यस अघि पनि नितिगत भ्रष्टाचार गरेको आरोप लगाएका थिए । ओलीले समेत बालेनलाई राजनीतिक संस्कार नभएको, काम गर्ने ढंग नपुगेको भन्दै टिप्पणी गरेका थिए । यस अघि पनि ओली र बालेनका बीचमा कडारुपमा आरोपप्रत्यारोप चल्दै आएको छ । एकअर्काका बिरुद्धमा कडारुपमा आलोचना र विरोधको श्रृंखला भने जारी नै रहेको छ ।

बालेनले यस अघि भौतिक पूर्वाधार मन्त्री महासेठलाई कलंकीदेखी महाराजगन्जसम्मको रिङरोड बनाउँन नसकेको र त्यसका कारण महानगरबासी र सर्वसधारणले धुलोबाट पीडित भएको भन्दै ट्रकमा लोड गरिएको फोहर उपहार पठाएका थिए ।

‘तपाईंको ठाडो आदेशले भईरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ बर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ’ बालेनले आफ्नो फेसबुक पेजमा लेखेका थिए, ‘काठमाडौमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ ।’

‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्विकार्नु होला’ बालेनले भनेका थिए । र बालेनले मन्त्री महासेठलाई ट्रकमा फोहर उपहार समेत पठाएका थिए ।

एक अर्को प्रसंगमा बालेनले पार्टी कार्यालय, नेताहरुको घरको फोहर नउठाउने चेतावनी दिदै कसैलाई बाँकी छाडिन भन्दै आक्रोश पोखेका थिए ।

‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौँमा फोहोर बोक्ने ४ चालकलाई समाउनु भएछ यो सरकारले’ बालेनले लेखेका छन्, ‘जब सम्म स–सम्मान चालकहरु रिहा हुन्नन सिँहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाकिँ छाडिदैन !’

चालक पक्राउ पछि चेतावनी दिएका बालेनले ति चालक छुटेपछि पनि चेतावनी सहितको धन्यावाद दिएका थिए । उनले हरेक बिषयमा नेताहरुलाई धम्क्याउने, चेतावनी दिने काम गर्दै आएकोमा नेताहरुले आलोचना समेत गरिरहेका छन् ।

‘फोहोरको गाडी चलाउने चालकलाई स–सम्मान छोडेको खबर पाए । जो कोहीले यत्ति बुझ्नुहोला – पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । काठमाण्डौ महानगर यसमा संवेदनशील छ । अझ आफ्नो कर्तव्य निभाई रहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन । बुझेर कदम चाल्नुहोला’ चालक रिहापछि बालेनले फेसबुकमा लेखेका छन् ।

केही समय अघि कबाडी व्यवसायीको गोदाममा डोजर लगाएर बालेन उनीहरुलाई हटाउन खोजे । अदालतले बालेनको यो कार्यमा रोक लगायो । तर उनले मानेनन् । डोजर निरन्तर रुपमा कबाडी व्यवसायीको गोदाममा लगाएर दुख दिन थालेपछि कबाडी व्यवसायी बालेनका बिरुद्धमा प्रदर्शन समेत गरे । सुरक्षाको माग गर्दै कबाड व्यवसायी कहिले प्रधानमन्त्री प्रचण्ड र कहिले गृहमन्त्री रवि लामिछानेकोमा समेत पुगेका छन् ।

आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले बालेनको यो कार्यको कडा रुपमा विरोध गर्दै प्रतिकारमा उत्रिन आह्वान समेत गरे । कवाड व्यवसायीको सुरक्षाको जिम्मेवारी लिदै प्रभु साहले अदालतको आदेश विपरित काम गर्ने बालेनको आलोचना गर्दै भृकुटीमण्डमा आयोजित कार्यक्रम मार्फत महानगरको कार्यालयमा प्रभु साहको डोजर चलाउने चेतावनी समेत दिए । त्यसयता प्रभु र बालेनका बीचमा समेत दोहोरी चलि नै रहेको छ । सोमबार प्रभु साहले कबाड व्यवसायी सहित गृहमन्त्री लामिछानेसंग समेत भेटघाट गरेका छन् ।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई काम गर्न दिनुपर्ने बताएका छन् । आरोपप्रत्यारोप चलिरहेकै बेला सोमबार प्रतिनिधिसभा बैठकपछि संसद भवन नयाँ बानेश्वर परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै सांसद भण्डारीले काठमाडौंका मेयर बालेनले गरिरहेका काममा अवरोध गर्न नहुने बताए ।

एमाले अध्यक्ष ओलीले काठमाडौंको न्युरोडमा सडकपेटी विस्तार गर्न नदिएको आरोप लगाइरहेका बेला कांग्रेस सांसद भण्डारीले मेयर शाहलाई काम गर्ने कुरामा निरुत्साहित गर्न नहुने टिप्पणी गरे । सांसद भण्डारीले मेयर शाहमा केही गरौँ भन्ने हुटहुटी रहेकाले काम गर्न दिनुपर्ने बताए । ‘बालेनमा केही गरौँ भन्ने हुटहुटी छ । हामीले त्यो काम गर्न दिनुपर्छ । आफूले पनि नगर्ने, नजिक भएको फोहोर नदेख्ने । अनि, बालेनले विश्वको शहरजस्तो बनाउँछु भन्छ भने हामीले निरुत्साहित गर्नु हुँदैन । र, काम गर्न दिनुपर्छ’ उनले भने ।

सांसद भण्डारीले आफू नयाँ पुस्तालाई काम गर्न दिनुपर्छ भन्ने पक्षमा रहेको बताए । सांसद भण्डारीले गिरीबन्धु टी–इस्टेट प्रकरण छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने पनि बताए ।

(Visited 1 times, 1 visits today)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School