- झापा क्षेत्र नम्बर ५ मा फागुन २१ को निर्वाचनमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रधानमन्त्री दाबेदार उम्मेदवारहरू चुनावी मैदानमा छन्।
- यो क्षेत्रमा मतदाताको मुख्य समस्या सुकुम्बासीको जग्गा धनीपूर्जा नपाउनु र नागरिकता नपाउनु रहेको छ।
- सरकारले २०७३ सालमा शिलन्यास गरेको नेपाल–चीन मैत्री औद्योगिक पार्कको निर्माण प्रक्रिया सुरु नभएकाले अन्योल छ।
२९ माघ, दमक (झापा) । फागुन २१ को निर्वाचनमा झापा क्षेत्र नम्बर ५ मा पूर्वप्रधानमन्त्रीदेखि भावी प्रधानमन्त्रीसम्मका दाबेदार चुनावी मैदानमा छन् । भीआईपी उम्मेदवारका कारण यो क्षेत्रको चर्चा देशभरि छ । उम्मेदवारहरू प्रधानमन्त्री बन्ने सपना बाँडिरहेका छन् ।
आम मतदाता भने नागरिकता, सुकुम्बासी समस्या र एक छाक टार्ने धौ-धौमा अल्झिएका छन् । ‘अबकी बार बालेन सरकार’, ‘झापाको भक्का ओलीको जित पक्का’ जस्ता नारा लगाउँदै चिल्ला गाडीमा कुदिरहेका उम्मेदवारले भुँइमान्छे मतदाताका समस्या सुन्न छुटाइरहेका छन् ।
यी हुन झापा ५ का मुख्य सरोकार
लालपूर्जा
यो क्षेत्रमा मतदाताको सबैभन्दा ठूलो समस्या सुकुम्बासीकै सरोकार हो । वि.सं. २०४८ सालदेखि निरन्तर(२०६४ बाहेक) चुनाव जित्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मतदाताले सोझो प्रश्न गरिरहेका छन्, ‘हाम्रो जग्गा कहिले नम्बरी हुन्छ ?’ ओलीको जवाफ भने पुरानै छ,‘हामी आयोग बनाउँछौँ, धनीपूर्जा बाँड्न लाग्दा सरकार ढल्छ ।’
तर, तीन दशकदेखि सुकुम्बासीको समस्या जस्ताको तस्तै छ । धनीपूर्जा नभएका कारण मतदाताले वर्षौदेखि बसोबास गर्दै आएको जग्गाको स्वामित्व पाएका छैनन । स्थानीय वृद्धा देवकी ताजपुरियाको घर सुकुम्बासी बस्तीमा छ । जग्गाको धनीपूर्जा उनीसँग छैन । ‘कहिले मिल्छ थाहा छैन, म त सोध्नु मेरो धनिपूर्जा कहिले मिल्छ,’ उनले भनिन् ।
गौरादहको चैतु चोकका स्थानीय विष्णु खनालले देखेको मुख्य समस्या सुकुम्बासी हो । ‘सुकुम्बासी गरिब छन, सुविधा खोज्छन् । सुकुम्बासीको समस्या समाधान भएको छैन ।’ उनले भने ।
नागरिकता
स्थानीयको अर्को समस्या नागरिकता हो । जीवनको उत्तरार्धमा पनि स्थानीय अनागरिक छन् । ती मध्ये एक हुन्, दमक नगरपालिकामा बस्दै आएकी बुधनी मल्लिक । उनी शौचालय सफा गर्ने काम गर्छिन् । उमेरले ७० पुगेपनि उनको नागरिकता छैन । उनको छोरा र बुहारीले नागरिकता बनाएका छन्, तर आफ्नो नागरिकता नहुँदा उनले वृद्धभत्ता पाएकी छैनन् । ‘नागरिकता बनाउन कति गए कति,’ थकित हुँदै उनले भनिन्,‘सबैलाई भनिसके तर बनेनन् ।’
उनीजस्तै नागरिकता बनाउन खोज्दा पनि नपाएका नागरिक धेरै छन् । अर्की हुन् गौरीगञ्ज गाउँपालिकामा पर्ने पेरुवा खोपीकी चुटकी हास्दा सन्थाल । ७२ वर्षको उमेरमा उनले नागरिकता पाएकी छैनन् । सन्थाल बस्तीको झुप्रोमा जीवनको अन्तिम क्षण गुजारेकी उनी अनागरिक हुँदै जीवन वित्ने हो की भन्ने चिन्तामा छिन् ।आफ्नो नागरिकता नहुँदा उनीले राज्यले दिने वृद्धभत्ता पाएका छैनन् ।
बुधनी त दृष्टान्त मात्रै हुन्, समस्या धेरैको छ ।
बेरोजगारी
गौरीगञ्ज र गौरादहका बजार सुस्ताएका छन् । कारण गाउँमा युवा छैनन् । रोजगारी नपाउँदा अधिकांश युवा वैदेशिक रोजगारीमा छन् । जसले गर्दा व्यवसाय चलेको छैन । गौरीगञ्ज चोकमा २०५० सालदेखि सैलुन सञ्चालन गर्दै आएका सुनिल ठाकुर व्यवसाय नचलेका कारण चिन्तामा छन् ।
‘चुनावपछि हाम्रा छोरा भाई भतिजा झोला बोकेर विदेश दगर्नु पर्दैन की, कतै काम दिन्छन् कि गरिखाने बाटो देखाउँछन् की,’ उनले भने,‘ केस काटेर कसरी जीवन विताइरहेको छु भन्ने दुःख त मलाई मात्रै छ ।’

उनका अनुसार गाउँ बजारमा मान्छे छैनन् । जसले गर्दा व्यवसाय मन्दी छ । ‘यहाँ मान्छे छैनन्, जनसंख्या छैन, जनसंख्या नभएपछि हाम्रो व्यापार कसरी चलोस ?’ उनले भने,‘८–१० हजार मान्छे गौरीगञ्जमा थियो भने सैलुन चल्थ्यो, कपडा दोकान चल्थ्यो, सटर बन्द गरेर भाग्नु पर्दैनथ्यो,२–३ लाखको सिटी रिक्सा ५० हजारमा बेचेर हिँड्नु पर्दैनथ्यो ।’
गौरीगञ्ज १ का विनय राजवंशी रोजगारीको खोजीमा छन् । ‘पुराना धेरै देखियो, नयाँलाई पनि हेरौं भन्नेछ ,’उनले भने,‘ नेपालीमै बसेर केही गर्न पाइन्छ कि भन्ने आश छ ।’
गौरादहको चैती चोकका सुन्दर बनियाँका अनुसार बेरोजगारी ठूलो समस्या हो । अब रोजगारीको अवसर सिर्जना गर्ने उम्मेदवारको खोजीमा छन् ।
शिक्षा र स्वास्थ्य
झापा क्षेत्र नम्बर ५ मा सडक पूर्वाधार प्राय बनेका छन् । बिजुली पुगेको छ । तर, बिरामी पर्दा उपचार पाउने भरपर्दा अस्पताल छैनन् ।
स्थानीय पत्रकार मदन राजवंशीका अनुसार अस्पतालमा भवन र जनशक्ति त छन्, तर औषधि र ल्याब परीक्षणको सुविधा छैन । सरकारी विद्यालयको अवस्था पनि उस्तै छ शिक्षकको दरबन्दी पर्याप्त छ, तर विद्यार्थी छैनन् ।

विद्यालयमा विद्यार्थीको संख्या घट्नुको मुख्य कारण शिक्षाको गुणस्तरमाथि प्रश्न उठाएको छ । ‘यहाँ अस्पतालमा औषधि र ल्याब परीक्षणको मेसिन छैन, दुई अर्बको भ्युटावर किन चाहियो,’ उनी भन्छन्,‘ हाम्रो आवश्यकता अस्पताल हो कि भ्यूटावर ?’
भत्ताले पुगेन
सरकारले ज्येष्ठ नागरिकलाई मासिक ३ हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता दिन्छ । तर यो भत्ताले गरिब र असहायको जीविकोपार्जनमा समस्या कम देखिएको छ ।
‘नुन, भुटुन र चामल किन्नै पुग्दैन, १२ हजारले ३ महिना कसरी बाँच्नु ? सुकुम्बासी बस्तीकी देवकी ताजपुरियाले भनिन्,‘खेतला पनि कसैले लिदैन । चोरी डकैती गर्दा थाना चौकी हुन्छ, मागेर खायो भने लाज हुन्छ ।’

औधोगिक पार्कको अन्योल
पूर्वप्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री भएको बेला क्षेत्र नम्बर ५ मा नेपा- चीन मैत्री औद्धोगिक पार्कको शिलन्यास गरे । २०७३ सालमा शिलन्यास भएको पार्कको शिलालेख जेनजी आन्दोलनमा भत्किएको छ । सरकारले निर्माण सुरु गरेको नेपाल–चीन मैत्री औद्योगिक पार्क रतुवा खोलाको दायाँबायाँ बगर हो । पार्कका लागि सरकारले रतुवा खोला र खोलाको बगर किनिसकेको छ ।
२ हजार १०० बिघा क्षेत्रफलमा रहने भनिएको औद्योगिक पार्क निर्माणका लागि जग्गा खरिद गर्नमात्रै सरकारले १ अर्ब १८ करोड ४५ लाख ३६ हजार ८७६ रुपैयाँ खर्च गरिसकेको छ ।
यो जग्गा अधिग्रहणमा पनि विभेद भएको स्थानीयको गुनासो छ । केपी शर्मा ओली घरदैलोमा केही दिनअघि गौरादहका मतदाताले आफूहरुमाथि मुआब्जामा विभेद भएको गुनासो गरे ।
यो क्षेत्रमा दोहोरो स्वामित्वको विवाद पनि छ । सरकारी डढ्डामा ऐलानी उल्लेख भएको जग्गाको बसोबास कागज स्थानीयसँग छ । पार्क निर्माण भए उठीबास हुने चिन्ता मतदाताको छ ।
यसले दक्षिण क्षेत्रमा रतुवा र मावा खोलाको दोभान पनि भेट्छ । तराईमा झापा र मोरङको सीमा भएर बग्ने मावाभन्दा ठूलो खोला हो रतुवा । औधोगिक पार्क शिलन्यास भएपनि निर्माण प्रक्रिया सुरु नभएका कारण अघि बढ्ने नबढ्ने अन्योल छ ।

मतदाता फकाउने प्रयास
घरदैलामा कुदिरहेका दलका उम्मेदवार जनताको समस्या सुन्ने कम खादा माला लगाउने अभियानमा बढी छन् । मतदातालाई आश्वासन दिनका लागि नयाँ उम्मेदवारलाई सजिलो छ, २०४८ सालदेखि चुनाव जित्दै आएका केपी शर्मा ओलीलाई भने गाह्रो छ ।
अन्य नेताले अवसर नपाएकाले काम गर्न नपाएको बताउँछन् । ओलीभने पूर्वाधार निर्माण, रतुवा तटबन्ध लगायत मुद्दा सुनाउँछन् । सुकुम्बासी समस्या समाधानको प्रयास गरिरहेको बताउँछन् ।
ओली मतदातालाई फकाउन घरदौलामा पुगेर सन्चो बिसन्चो सोधिरहेका छन् ।

नेकपा उम्मेदवार रञ्जित तामाङ स्थानीय भएका कारण आफूले गाउँको समस्या बुझेको र समाधान गर्न सक्ने बताउँछन् । कांग्रेस उम्मेदवार मन्धरा चिमरिया महिला बालबालिकाको क्षेत्रमा काम गर्ने समाजसेवी हुन् । ३० वर्षदेखि महिला अधिकारको क्षेत्रमा काम गरिरहेकी उनी गाउँका महिला र बालबालिकाको समम्या आफूले बुझेको बताउँछिन् ।
‘म त ३०–३५ वर्षदेखि फिल्ड मै छु, जनताको सुखदुखमा पुगेको छु,’उनले भनिन्,‘यहाँका सुकुम्बासी सडक बिजुली खानेपानीको समस्या समाधान गर्नसक्ने उम्मेदवार म नै हुँ ।’
श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ जनताले नयाँ दल र उम्मेदवार आफ्नो भएको बताउँछन् । जनताको सेवक बनेर काम गर्नका लागि आएको उनी बताउँछन् । यो क्षेत्रमा १ लाख ३६ हजार मतदाता छन् ।
