सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको नीति तथा कार्यक्रम आइतबार संघीय संसद्का दुवै सदन(प्रतिनिधिसभा र राष्ट्रियसभा)बाट पारित भएको छ। दुवै सदनबाट पारित हुनु पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदको प्रश्नको उत्तर दिएका थिए।
प्रधानमन्त्री ओलीले पहिले प्रतिनिधिसभामा सांसदका प्रश्नको उत्तर दिँदा कर्णाली प्रदेशको विकासको प्रसङ्गबारे पनि धारणा राखे। कर्णालीको विकासका विषय उठ्दा जुम्लाको स्याउ, जुम्ली मार्सीजस्ता विषय छुट्ने कुरै भएन।
‘चन्दननाथमा एयरपोर्ट नै छ। अगाडिदेखि नै सन्त चन्दननाथले मार्सी चामल ल्याएर, मार्सी चामल अहिले व्यापक रूपमा चर्चित नै छ, मार्सी चामल कर्णाली जुम्लाको,’ प्रधानमन्त्री ओलीले भने।
संसद्मा मन्तव्य दिँदै गर्दा प्रधानमन्त्री ओली यसरी जब जुम्ली मार्सीको प्रसंगमा पुगे त्यसपछि भने संसद्को माहौल बद्लियो। त्यसपछि उपस्थित सांसदहरू चनाखो हुँदै ओलीको बोलीतर्फ केन्द्रित भए।
सांसदको चासोको चाल पाएका प्रधानमन्त्री ओलीले आफ्नै शैलीमा आफ्नो भाषण अघि बढाइदिए। ‘मैले पनि कर्णालीको मार्सी चामल चाखेको कुरो यहाँहरूलाई जानकारी नै होला,’ उनले भनेका थिए।
प्रधानमन्त्री ओलीले यत्ति भन्दा सिंगो संसद्मा हाँसोको फोहरा छुट्यो। सबै सांसद गगल्ल हाँसे। केही बेरसम्म हाँसो संसद् भवनमा गुन्जिइरह्यो।
सामान्यतया: कसैको भान्छामा के पाक्यो ? वा कसले के चाख्यो सबैलाई थाहा हुने कुरा भएन। र, कसैले मैले चाखेको तपाईँहरूलाई थाहा छ भन्ने अवस्था निकै कम आउँछ।
त्यो भनिहाले पनि हाँस्नै पर्ने अवस्था अक्सर आउँदैन। तर प्रधानमन्त्री ओलीले ‘मैले चाखेको तपाईँहरूलाई थाहा नै होला’ भन्ने अवस्था आउनु र संसद्मा हाँसोको फोहरा छुट्नुसँग एक रोचक संयोग छ।
त्यो भाइरल ‘मार्सी तस्बिर’
त्यो संयोगअनुसार नै प्रधानमन्त्री ओलीले सत्य भनेका हुन्, उनले ‘मार्सी चामल चाखेको’ अक्सर नेपालीलाई थाहा छ। जसको प्रमाण अनलाइनका भित्ताहरूमा छरपस्ट छ।
त्यो रोचक संयोग थाहा पाउन वा पुनः सम्झिन भने आठ वर्षअघि पुग्नुपर्छ। २०७४ मा सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भयो। उक्त तस्बिरमा तत्कालीन प्रधानमन्त्री रहेका केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एउटै टेबलमा बसेर मार्सी भात खाइरहेका देखिन्छन्। भातको रङले उक्त खाना मार्सीकै रहेको प्रस्टै देखिन्छ।

त्यो टेबलमा ओली र दाहाल मात्रै छैनन्, अर्का पात्र विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पनि छन्।
प्रसाईँले त्यो तस्बिर २०७४ फागुन ३ गतेको रहेको एक भाषणमा भनेका छन्। त्यो तस्बिर भक्तपुरस्थित आफ्नै घरमा रहेको पनि भन्दै आएका छन्।
‘दुई तिहाइभन्दा बढी वामपन्थी जनमत भएको देशमा छरिएर रहेका वामपन्थीहरूको एकता भए त्यसले देशलाई स्थिरता र समृद्धिको दिशामा लैजान्छ भन्ने आम नेपाली जनमत थियो,’ उनले एक भाषणमा भनेका थिए, ‘त्यही भएकाले भक्तपुरस्थित मेरै घरमा नेपाली राजनीतिका दुई हस्तीको बिचमा तीन बुँदे सम्झौता भयो। त्यो सम्झौतामा प्रत्यक्ष भूमिका निर्वाह गर्ने अवसर पाउँदा म धेरै खुसी थिएँ।’
ओली–दाहालबिच आफ्नै घरमा भएको त्यो सम्झौताकै दिन आफूले मार्सी भोज खुवाएको पनि प्रसाईँले बताउने गरेका छन्।
‘मैले उहाँहरूलाई नेपालको दुर्गम जिल्लामा उत्पादन हुने मार्सी चामलको भात खुवाएँ। भात खाँदै गरेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भयो,’ प्रसाईँले एक भाषणमा भनेका छन्।
त्यसअघि २०७४ मंसिरमा सम्पन्न निर्वाचनमा वाम गठबन्धन गरेर निर्वाचन लडेका एमाले र माओवादीले झन्डै दुई तिहाइको शक्ति हासिल गरेका थिए। लगत्तै त्यही जनमतको जगमा ओली प्रधानमन्त्री बनेका थिए।
‘भन्नेहरू भन्दै गर्छन्, आलोचना गर्नेले गर्दै गर्छन्। उहाँ(प्रसाईँ)लाई मार्सी चामल भनेर आलोचना गरे,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘तर, उहाँले मार्सीलाई ब्रान्ड बनाइदिनुभयो। हिम्मत भएको मान्छे हो दुर्गा प्रसाईँ।’
प्रसाईँले दाबी गरेअनुसार फागुनमै भएको सहमतिबमोजिम दुवै दलले पार्टी एकीकरण गरेर शक्तिशाली नेपाल कम्युनिस्ट पार्टी(नेकपा) बनाए। त्यो पार्टीको अध्यक्ष ओली र दाहाल भए।
ओली र दाहालले मार्सी भात खाएकामा त्यो तस्बिर चर्चित भएको होइन। तर जुन पात्रसँग खाँदै छन् त्यो विषयले बढी चर्चा पाएको हो।
विवादित छविका प्रसाईँ त्यो बेला मेडिकल कलेजको सम्बन्धनका लागि दौडधुपमा थिए। उनका काम र प्रवृत्ति, उनको विगत सबै विवादित नै थिए।
तस्बिरले ‘भाइरल दुर्गा’
तस्बिर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक भाइरल भयो। त्यो तस्बिर भाइरल भएपछि नै प्रसाईँले बढी चर्चा पाएका हुन्।
‘त्यही बिन्दुबाट मलाई अनर्गल खेद्ने काम सुरु भयो। मार्सी, माफिया, डनलगायतका उपनाम दिएर मेरा अगाडिपछाडि जोड्ने काम भयो,’ दुर्गाले २०७७ मा गरेको एक भाषणमा भनेका छन्।
त्यसपछि प्रसाईँ दाहाल र ओली दुवैका विश्वास पात्र बने। माओवादी पृष्ठभूमिका उनले पछि झापा जिल्ला बासी भएका नाताले ओलीसँगै ‘हजुरबा’ नाता गाँसेर सुमधुर सम्बन्ध बनाए।
उनको बाहिर जति चर्को आलोचना भए पनि शक्तिशाली नेकपा कालमा सत्ता राजनीतिमा ठुलै ‘हाई हुकुम’ बढ्यो। ब्युरोक्रेसीदेखि बैंक तथा वित्तीय क्षेत्रमा पनि उनको उस्तै रवाफ देखिन थाल्यो। यही मौकामा उनले विभिन्न बैंकबाट अर्बौँ रकम ऋण लिन सफल भएको जानकारहरू बताउने गर्छन्।
प्रसाईँको बाहिरी आलोचना हुँदा ओली र दाहाल प्रतिरक्षामा उत्रिन्थे। २०७७ को एक भाषणमा ओलीले प्रसाईँलाई ‘हिम्मत भएको मान्छे’ भन्दै धाप मारेका थिए।
‘भन्नेहरू भन्दै गर्छन्, आलोचना गर्नेले गर्दै गर्छन्। उहाँ(प्रसाईँ)लाई मार्सी चामल भनेर आलोचना गरे,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘तर, उहाँले मार्सीलाई ब्रान्ड बनाइदिनुभयो। हिम्मत भएको मान्छे हो दुर्गा प्रसाईँ।’
दुई शक्तिशाली अध्यक्षकै दरिलो आड पाएका प्रसाईँ अझैँ फुर्किँदै गए। नेकपा कालको पूर्वार्द्धतिर उनले पार्टीका ठुलै नेतालाई समेत टेर्न छाडेका थिए।
नेकपा विवाद र विभाजनपछि भने दुर्गा हजुरबा(ओली) र एमालेतिर लागे। त्यसपछि ओलीकै भित्रिया बने। कतिसम्म भने चितवन महाधिवेशनले म्यान्डेट नदिँदा पनि ओलीले उनलाई पछि मनोनीत गरेर केन्द्रीय सदस्य बनाएका थिए।
जब टिकट पाएनन्..
ओलीको आडमा मत्ताएका दुर्गाले आफूलाई एमालेको शक्तिशाली नेता दर्साउन कुनै कसर बाँकी राखेका थिएनन्। बोल्न र टुक्का हान्न ओलीजस्तै सिद्धहस्त पनि थिए, जसले उनलाई बोली बिकाउन समय लागेन।
यसपटक पनि एमालेले उनै लिङ्देनलाई सिट छाडेपछि टिकटको पत्ता काटिएका प्रसाईँ रुष्ट बने। जसको आड भरोसामा सांसददेखि मन्त्रीसम्म बन्ने सपना देखेका थिए, उनै ओलीबाट प्रसाईँले ‘धोका’ पाएको महसुस गरे।
यस्तोमा आएको ०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनले झापा–३मा निर्वाचन लड्न चाहेका थिए। ओलीसँगको निकटताले एमालेबाट टिकट पाउनेमा उनी ढुक्कै थिए। चुनावका लागि उनले अनगिन्ती पैसा पनि खर्च गरिसकेको जानकारहरू बताउँछन्।
तर, चुनावमा तत्कालीन सत्ता गठबन्धन(कांग्रेस–माओवादी केन्द्र–नेकपा एसलगायत)ले चुनावी गठबन्धन गरे। महागठबन्धनको सामना गर्न एमालेले पनि गठबन्धनको रणनीति लियो। ओली रोजाइमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) प¥यो।
ओलीले झापामा चुनाव जित्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग गठबन्धन गरे। जसअनुसार झापा–३मा एमालेले लिङ्देनलाई सघाउने भयो। जहाँ त्यसअघि २०७४ मा कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई हराउन एमालेले लिङ्देनलाई सघाइसकेको थियो।
यसपटक पनि एमालेले उनै लिङ्देनलाई सिट छाडेपछि टिकटको पत्ता काटिएका प्रसाईँ रुष्ट बने। जसको आड भरोसामा सांसददेखि मन्त्रीसम्म बन्ने सपना देखेका थिए, उनै ओलीबाट प्रसाईँले ‘धोका’ पाएको महसुस गरे।
त्यसपछि राजावादी अभियन्ता
त्यसपछि भने प्रसाईँको एमालेसँग मोहभंग भयो। उता बैंकको ऋणको बोझ पनि उनलाई सताउन थालेको थियो। यस्तोमा उनले जानेको ‘गाली’ थियो। उनले सबैको आलोचना र गाली गर्दै हिँड्न थाले।
गाली गर्न पनि राजनीतिक छहारी चाहिन्थ्यो। छहारी पूर्व राजा ज्ञानेन्द्र शाहतर्फ खोज्न थाले। राजावादी अभिव्यक्ति दिन थाले।
त्यही बेला राजावादी एजेन्डा बोक्दै हिँडेको राप्रपाका अध्यक्ष लिङ्देन गणतन्त्र ल्याउन सशस्त्र सङ्घर्ष गरेका माओवादी केन्द्रका अध्यक्ष दाहालको नेतृत्वको सरकारमा मन्त्रीको स्वाद लिन गए। जसले पूर्व राजा ज्ञानेन्द्रलाई असन्तुष्ट बनायो।
अनि त्यही बेला ठाउँको ठाउँ प्रसाईँले मौका छोपे। अनि २०७९ फागुन १ गते ज्ञानेन्द्रलाई सपरिवार झापामा उतारेर ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ अभियान’ भन्दै राजावादी अभियान र आन्दोलन थाले।

यसरी माओवादी पृष्ठभूमिबाट आएर ओली–दाहाललाई मार्सी भोज खुवाउँदै भाइरल भएका प्रसाईँ राजावादी अभियन्ताको आवरणमा उत्रिए। अनि उनै ओली–दाहालदेखि व्यवस्थाविरुद्ध उत्रिन थाले।
उनका माग पनि बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नहुनेदेखि हत्याहिंसामा उत्रिने भन्ने खालका अराजक सुनिँदै आएका छन्।
पछिल्लो समय उनै प्रसाईँको अगुवाइमा चैत १५ गते भएको तीनकुने हिंसात्मक प्रदर्शनपछि उनी फरार भएका थिए। उनलाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याइ हिरासतमा राखेको छ।

संयोग मार्सी भोज खाने ओली प्रधानमन्त्री हुँदा खुवाउने प्रसाईँ हिरासतमा छन्। सम्भवतः ओलीकै कार्यकालमा जेल पनि पुग्नेछन्। उनै प्रसाईँले खुवाएको मार्सी भोज भने प्रधानमन्त्री ओलीले संसदमा सम्झिएका छन्।
प्रकाशित: २८ वैशाख २०८२ १९:४३ आइतबार