ओमानमा २१ हजार भन्दा बढी नेपाली कार्यरत रहेको सरकारी तथ्याङ्क , काठमाडौँमा दूतावास खोल्न आग्रह



प्रकाशित मिति : श्रावण २३, २०८१ बुधबार

सरकारले ओमान सरकारसँग काठमाडौँमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ । परराष्ट्र सचिव सेवा लम्सालले ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा त्यस्तो आग्रह गर्नुभएको हो ।

नेपाल–ओमान द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा परराष्ट्र सचिव लम्सालले २१ हजारभन्दा बढी नेपाली ओमानमा कार्यरत रहेका बताउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य गर्न आवश्यक भएको बताउनुभयो ।

मस्कटस्थित नेपाली राजदूतावासका अनुसार बैठकमा नेपाल–ओमान सम्बन्धका सबै पक्षमा छलफल भएको थियो ।

बैठकमा दुवै पक्षले सन् १९७७ मा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता आपसी सहकार्य र साझेदारी हुँदै आएको चर्चा गर्दै उच्चस्तरीय भ्रमण आदानप्रदान, व्यापार, लगानी, आर्थिक सहयोग, कृषि, ऊर्जा, पर्यटन, श्रम, वैदेशिक रोजगारी, संस्कृति, शिक्षा, सिधा हवाई सम्पर्कलगायत सबै क्षेत्रमा सहकार्य गर्न सहमति जनाएका छन् ।

बैठकमा दुवै पक्षले जनस्तरको सम्बन्ध अभिवृद्धि तथा पारस्परिक लाभका खातिर आर्थिक लाभका अवसरहरूको उपयोग गर्ने सम्बन्धमा पनि सहमति जनाएका छन् ।

परराष्ट्र सचिव लम्सालले नेपालीलाई रोजगारीका अवसर प्रदान गरेकामा ओमान सरकारप्रति कृतज्ञता ज्ञापन गर्दै ओमानका नरेशको ‘२०४० दृष्टिकोण र रणनीति’का सन्दर्भमा थप अवसरहरूको खोजीका निम्ति आग्रह गर्नुभयो ।

उहाँले आपसी सहकार्यका नयाँ क्षेत्रहरू पहिचान गर्दै निजी क्षेत्रसँग मिलेर आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा अर्थपूर्ण साझेदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालमा लगानीका पर्याप्त क्षेत्र रहेका बताउँदै पराष्ट्र सचिवले जलविद्युत्, पर्यटन, हरित हाइड्रोजनलगायत क्षेत्रमा पुँजी परिचालन गर्न आग्रह गर्नुभयो ।

ओमानमा २१ हजार भन्दा बढी नेपाली कार्यरत रहेको सरकारी तथ्याङ्क , काठमाडौँमा दूतावास खोल्न आग्रह

ओमानी प्रतिनिधिमण्डलका नेता शेख खलिफा बिन अलि बिन इसा अलहार्थीले सहमति गरिएका क्षेत्रमा नेपालसँग मिलेर काम गर्न तथा सझदारी गर्न बाँकी विषयलाई टुङ्ग्याउन ओमान सकारात्मक रहेको जानकारी दिनुभयो ।

परराष्ट्र सचिव लम्सालले बुधबार नै ओमानका श्रममन्त्री डा महद बिन सइद बिन अली वाओइनसँग शिष्टाचार भेट गर्नुभयो ।

त्यस अवसरमा उहाँहरूबीच श्रमिक आपूर्ति तथा श्रम क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरका साथै रोजगारीका अवसर उपलब्ध गराउनेबारेमा छलफल भएको थियो । सन् २०१७ मा नेपाल र ओमानबीच द्विपक्षीय परामर्श संयन्त्र गठन भएको हो ।

संयन्त्रको अर्को बैठक दुवै पक्षलाई अनुकूल हुने समयमा काठमाडौँमा आयोजना गरिनेछ ।





Source link

Leave a Comment