एसियन कप छनोट : महिला फुटबलको भविष्य जोडिएको तीन खेल


यो तीन खेलपछि नेपाली महिला फुटबलले आगामी दिनमा कस्तो यात्रा तय गर्नेछ भन्ने खाका तय हुनेछ । सकरात्मक नतिजा ल्यान सके नेपाल एसिया कप हुँदै ठूलो प्रतियोगितामा पुग्नेछ र अझ माथि जान बाटो मार्ग खुल्नेछ ।

News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली महिला फुटबल टोलीले उज्वेकिस्तानमा एसियन कप छनोट खेल्न लागेको छ।
  • नेपालले उज्वेकिस्तान, लाओस र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
  • यी खेलहरू नेपालको महिला फुटबलको भविष्यको लागि नै महत्वपूर्ण रहेको छ।

१३ असार, काठमाडौं । नेपाली महिला फुटबल टिमले पछिल्लो पटक सन् १९९९ मा महिला एसियन कप खेलेको थियो । त्यो बेला नेपालले कुनै खेल त जितेन, तर फिलिपिन्समा भएको एसियन कपमा पेमा डोल्मा लामाले नेपालका लागि ऐतिहासिक गोल गरिन् ।

उनले उज्वेकिस्तान विरुद्ध ६-१ को हारमा गोल गरेकी थिइन् । त्यो चानचुने गोल थिएन । अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालले गरेको पहिलो गोल थियो । तेस्रो पटक एसियन कप खेल्दा महिला टिमले पहिलो पटक गोल गर्न सक्यो र पेमा नेपालका लागि गोल गर्ने पहिलो खेलाडी बनिन् । जुन इतिहासमा कहिले पनि मेटिने छैन ।

२६ वर्षपछि फेरि महिला एसियन कप खेल्ने लक्ष्यमा निस्केको नेपाली महिला फुटबल टोली हाल उज्वेकिस्तानमा छ । संयोगवश नेपालले पहिलो गोल गरेकै टिम टिम उज्वेकिस्तानमा गएर फेरि एसियन कपमा पुग्नका लागि कम्मर कसेर लागेको छ ।

छनोट खेल्नु चार दिन अघि नै उज्वेकिस्तान पुगेको नेपाली टोली त्यहाँको वातावरणमा घुलमिल हुन प्रयासरत छ । उज्वेकिस्तामा नेपाल भन्दा केही गर्मी भएकोले त्यहाँ माहोलमा भिज्नका लागि नेपाली टोली चाँडै गएको हो ।

छनोटको समूह एफमा रहेको नेपालले घरेलु टोली उज्वेकिस्तानसँगै लाओस र श्रीलंकासँग खेल्नेछ । समूहमा विजेता बन्ने टिमले अर्को वर्ष मार्चमा अष्ट्रेलियामा हुने महिला एसियन कपमा छनोट हुनेछ ।

सन् १९८६ मा महिला एसियन कपकमा डेब्यु गरेको नेपाली महिला टोलीले सन् ८० र ९० को दशकमा गरी तीन पटक महिला एसियन कप खेलेको थियो । तर सन् १९९९ यता नेपालले त्यसपछि फेरि खेल्न सकेको छैन । २०२२ मा भारतमा भएको महिला एसियन कपका लागि नेपालले छनोट खेलेपनि एसियन कप पुग्न सकेन । नेपाल लगातार दोस्रो पटक महिला एसियन कपका लागि छनोट खेल्दैछ ।

नेपालका लागि फेरि महिला एसियन कपमा पुग्नको लागि यो राम्रो अवसर रहेको राष्ट्रिय फुटबल टिमकी पूर्व कप्तान अनु लामा बताउँछिन् । ‘यो टिमले यतिका वर्षसम्म खेलिसक्यो । अब यो टिम जस्तो बन्न समय लाग्छ । मैले भन्दै आएको छु अर्को ५-६ वर्ष लाग्छ’ अनुले भनिन्, ‘नेपाली फुटबलमा केही गर्छ भने यही टिमले हो । किनकी जति गर्नु कोसिस हामीले पहिले नै गरेको हो । यो टिमले रिजल्ट दिन सक्छ भन्ने सबैले देखेको छ । आशा पनि छ ।’

भविष्य जोडिएको तीन खेल

नेपाली महिला फुटबलका लागि अहिले यी तीन खेल निकै महत्वपूर्ण छ । अर्को हिसाबमा भन्ने हो भने महिला फुटबलका लागि भविष्य जोडिएको छनोट प्रतियोगिता हुनेछ ।

यो तीन खेलपछि नेपाली महिला फुटबलले आगामी दिनमा कस्तो यात्रा तय गर्नेछ भन्ने खाका तय हुनेछ । सकरात्मक नतिजा ल्यान सके नेपाल एसिया कप हुँदै ठूलो प्रतियोगितामा पुग्नेछ र अझ माथि जान बाटो मार्ग खुल्नेछ । थप एक्सपोजर पाउनेछ ।

समूह चरण पार गर्न नसके नेपाली महिला फुटबलले अन्तर्राष्ट्रिय सफलताका लागि अझै कुर्नुपर्नेछ र उपलब्धि हासिल गर्न झन् कठिन हुन सक्छ ।

नेपालले लाओससँग जुन २९ मा पहिलो खेल खेल्नेछ । त्यसपछि जुलाई २ मा श्रीलंका र जुलाई ५ मा उज्वेकिस्तानसँग खेल्नेछ । यो तीन खेल अहिले नेपाली महिला फुटबल टिमका लागि निकै महत्वपूर्ण छ ।

पूर्वकप्तान अनु लामाले पनि यस पटक छनोट हुनुपर्ने र राम्रो अवसर समेत रहेको बताइन् ।

‘हाम्रो लागि अहिले गोल्डेन चान्स छ । यो पटक गर्‍यो भने गर्‍यो नभए पछि गर्छु भनेपनि झन् कठिन हुन्छ’ अनुले भनिन्, ‘पछि नयाँ टिम बनाउनुपर्छ त्यसका लागि समय लाग्छ । सिनियर खेलाडीहरुले अब १-२ वर्षमा छाड्लान् । खेलाडीको जीवनमा कतिखेर के हुन्छ भन्न सकिन्न । त्यसैले यो टिमबाटै ठूलो चान्स छ।’

एसियन कप छनोट : महिला फुटबलको भविष्य जोडिएको तीन खेल
नेपाली टोली तथा एपीएफ क्लबकी पूर्वकप्तान अनु लामा

अहिलेको नेपाली टिम एसियन कप पुग्न लायक र सक्षम रहेको पनि अनले बताइन् । ‘यो एसियन कप छनोटमा समूह चरणमा बलियो भनेको उज्वेकिस्तान नै हो । अरु हाम्रो टिमले जित्छ जस्तो लाग्छ । वरियताको आधारमा हामी भन्दा अघि उज्वेकिस्तान नै हो’ अनुले भनिन्, ‘हाम्रो टिमले अहिले जसरी खेलिराछ, ट्रेनिङ गरिराछ । नयाँ कोच पनि आउनुभाछ । त्यो हेर्दा वरियताले फरक नपार्ला ।’

टिममा भएको कमी कमजोरी सुधार गरेमा नेपालले उज्वेकिस्तानलाई फाइट दिन सक्ने अनुले बताइन् । ‘कोचले कमी कमजोरीलाई सुधार गरेर मिसनमा जानुभएक‍ो छ उज्वेकिस्तानमा एसियन कपमा छनोट हुनका लागि । त्यो देखेर चाही सबै कुरा मिलेको भएर उज्वेकिस्तानलाई हामीले कडा फाइट दिन सक्छौं जस्तो लाग्छ’ उनले भनिन् ।

नेपाल र उज्वेकिस्तान दुवैले एक आपसमा खेल्नुअघि तुलनात्मक रुपमा कमजोर टिम लाओस र श्रीलंकासँग खेलिसकेको हुनेछ । यस्तोमा दुवैले जित हात पारे अन्तिम खेल फाइनल जस्तै हुनेछ ।

त्यसका लागि नेपालले पहिलो खेल देखि नै गोलमा केन्द्रित गरेर नतिजा ल्याउनुपर्ने अनुको भनाई छ । ‘श्रीलंका र लाओस विरुद्ध फराकिलो अन्तरले जित निकाल्न सके हामीलाई एडभान्टेज हुन सक्छ । उज्वेकिस्तानसँग अन्तिम खेल भएकोले त्यस अगाडिको नतिजा राम्रो आएमा अन्तिम खेलमा बराबरी नतिजाले पनि नेपाल समूह विजेता बन्न सक्छ’ अनु भन्छिन्, ‘ सन् २०२६ मा एसियन कप खेल्ने हो भने श्रीलंका र लाओसलाई बढी गोल गरेर अन्तिम खेलमा उज्वेकिस्तानमा ड्र मा रोके पनि पुग्न सक्छ ।’ अन्तिम खेलमा कस्तो नतिजा चाहिन्छ भन्ने कुरा सुरुका दुई खेलबाट थाहा हुनेछ ।

उज्वेकिस्तान वरियतामा नेपाल भन्दा झण्ड दोब्बरले माथि छ । उज्वेकिस्तान ५१औं स्थानमा छ भने नपाल १००औं स्थानमा छ । यस्तै लाओस १०७औं र श्रीलंका १५८औं स्थानमा छ ।

यो छनोट प्रतियोगिताका नेपालका लागि कति महत्वपूर्ण छ भन्ने कुरा गोलकिपर एन्जिला तुम्बापो सुब्बा र फरवार्ड सावित्रा भण्डारी साम्बाको भनाइबाट पनि पुष्टि हुन्छ ।

एसियन कप छनोट : महिला फुटबलको भविष्य जोडिएको तीन खेल

‘अबको चार वर्षपछि हामीले खेल्ने नखेल्ने थाहा छैन । त्यसैले यो ठूलो अवसर हो । राम्रो खेलेर एसियन कपमा छनोट हुन्छौं भन्ने आशा छ’ एन्जिलाले उज्वेकिस्तान जानुअघि भनेकी थिइन् ।

यस्तै गोल मेसिनको उपनाम पाएकी सावित्राले पनि यो महत्वपूर्ण प्रतियोगिता रहेको बताइन् । ‘एसियन कप छनोट हाम्रो लागि महत्वपूर्ण छ र यो हामीलाई विश्वकप जस्तै हो’ उनले भनिन् ।

नवनियुक्त बेल्जियन मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड भने हौसिएका छैनन् । उनले हामी रियालिस्टिक बन्नुपर्ने र खेलाडीलाई धेरै दबाब नदिन आग्रह गरिरहेका छन् । उनले अपेक्षा जित्ने नै भएपनि वास्तविकता हेर्नुपर्ने बताएका थिए ।

सावित्राले नेपालले उज्वेकिस्तानसँगको खेल मात्र नभएर लाओससँगको खेल देखि नै फोकस भएर खेल्नुपर्ने बताएकी छन् ।

एन्जिलाले नेपाली टिममा सावित्रा मुख्य गोलस्कोरको रुपमा रहेपनि अन्य खेलाडीहरु पनि राम्रो रहेको बताइन् । ‘साम्बा (सावित्रा) मुख्य गोल स्कोरर हो । अरुपनि राम्रो छ । एज अ टिम राम्रो खेल्यौं भने छनोट हुन्छौं ।’

छनोट भएमा नेपालले पाउने अवसर

यदि नेपालले उज्वेकिस्तानमा समूह चरण पार गर्न सके २६ वर्षपछि एसिया कपमा पुग्नेछ । त्यो भनेको छनोट चरण पार गरेर पहिलो पटक एसियन कपमा पुग्नु हुनेछ । यसअघि तीन पटक महिला टोलीले एसियन कप फुटबल खेल्दा छनोट प्रतियोगिताको अवधारणा नै थिएन ।

यस्तै सन् २०२७ मा ब्राजिलमा हुने महिला विश्वकपको छनोटको आधार पनि महिला एसियन कपनै रहेकोले नेपालको ‘मिसन विश्वकप’मा यो पहिलो खुड्किलो समेत हुन सक्छ ।

यदि छनोट भएमा विश्वकपको लागि थप एक कदम यात्रा अघि बढाउनेछ । सन् २०२६ मा हुने एसियन कपमा १२ टिम खेल्नेछ । त्यसमा शीर्ष ६ टिम सिधै २०२७ को महिला विश्वकपमा पुग्नेछ भने २ टिमले अन्तरमहादेशिय प्लेअफ पनि खेल्ने अवसर पाउनेछ । त्यसैले एसियन कपमा पुग्ने टोलीले अर्को अवसर पाउनेछन् । यस्तै सन् २०२८ को ओलम्पिकका लागि पनि यही छनोट सुरुवाती छनोटको रुपमा रहेको छ ।

एसियन कप छनोट : महिला फुटबलको भविष्य जोडिएको तीन खेल

त्यसैले नेपालका लागि उज्वेकिस्तानमा हुने तीन खेल केवल खेल मात्र नभएर महिला फुटबलको भविष्यको यात्रा तय गर्ने अनि एक मात्र नभएर तीन मुख्य प्रतियोगिताको छनोटको आधारको रुपमा रहेनछ ।

यदि उज्वेकिस्तानमा सकारात्मक नतिजा ल्याउन नसकेमा त्यसको मूल्य भने नेपालले चुकाउनुपर्ने हुन्छ । समूह चरण पार गर्न सकेन भने नेपालले एसियन कप मात्र होइन विश्वकप र ओलम्पिकका लागि समेत अवसर गुमाउने छ ।

तीनवटै प्रतियोगिताका लागि ढोका बन्द हुनेछ । त्यसको अर्थ नेपालले २०३० को एसियन कप अघि कुनै ठूलो प्रतियोगिता खेल्न पाउनेछैन । साफमै खुम्चिनुपर्ने हनेछ ।

नेपाली महिला फुटबलले १२ अन्तर्राष्ट्रिय फाइनल खेल्न नसकेपनि कुनै उपाधि जित्न सकको छैन । एकातिर उपविजेता ट्याग हटाउन सकेको छैन भने अर्कोतर्फ ठूलो प्रतियोगिता खेल्नका लागि नेपाली महिला टिम प्रतिक्षामा छ ।

विपक्षी विरुद्ध नेपालको विगत

यस पटक नेपाल समूह एफमा छ । यस समूहमा छन् घरेलु टोली उज्वेकिस्तानसहित, लाओस र श्रीलंका ।

नेपालको समूहमा रहेको विपक्षीहरु विरुद्ध नेपालको नतिजा मिश्रित छ । दक्षिण एसियाकै टिम श्रीलंकासँग नेपाल अपराजित छ । श्रीलंकासँग खेलको ८ वटै खेल नेपालले जितेको छ ।

उज्वेकिस्तानसँग नेपाल यसअघि खेलेको तीनवटै खेलमा पराजित भएको छ । लाओससँग भने महिला टोलीको पहिलो खेल हुनेछ । पछिल्लो समय पुरुष टोलीले लाओससँग लगातार जस्तो खेल्दै आएपनि महिला टिमले भने पहिलो पटक खेल्न लागेको हो ।

उज्वेकिस्तानसँग नेपालले सन् १९९९ को महिला एसियन कपमा पहिलो पटक खेलेको थियो । त्यसको २० वर्षपछि सन् २०१९ मा कीर्गिस्तानमा भएको नादेज्दा कपमा नेपालले उज्वेकिस्तानसँग दुई खेल खेलेको थियो र दुवैमा पराजित भएको थियो ।

नेपालको खेल

नेपाल भर्सेस लाओस : जुन २९
नेपाल भर्सेस श्रीलंका : जुलाई २
नेपाल भर्सेस उज्वेकिस्तान : जुलाई ४





Source link

Leave a Comment