एक मैत्रीपूर्ण खेल र १२ दिनको बन्द प्रशिक्षणबाट नेपाल जारी एएफसी एसियन कप छनोटको तेस्रो चरणमा पहिलो जित निकाल्ने लक्ष्यमा छ।
एसियन कप छनोटको तेस्रो चरणमा दुई खेल सकिँदा समूह ‘एफ’ को जितविहीन नेपाल पुछारमा छ। छनोटको दुई खेलमा नेपालले लाओस र मलेसियासँग हार बेहोरिसकेको छ। तर, नेपाली टोली तेस्रो चरणको खेलमा भने जित निकाल्ने लक्ष्यमा छ। नेपालले छनोटको तेस्रो चरणअन्तर्गत आगामी अक्टोबर ९ र १४ मा भियतनामसँग पहिलो र दोस्रो लेग खेल्दै छ। यसपल्ट तयारी प्रभावकारी भएकाले नेपाली टोली बलियो आत्मबलका साथ भियतनामको घरेलु मैदानमा उत्रँदै छ। नेपाली राष्ट्रिय फुटबल टोलीका उपकप्तान रोहित चन्दले भियतनामसँग बलियो भए पनि शतप्रतिशतका साथ खेल्द नतिजा ल्याउने आशा व्यक्त गरेका छन्।
नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले पनि भियतनामसँगको खेलका लागि राम्रो तयारी गरेको र अंक प्राप्त गर्ने आशा देखाए। टोलीलाई हरेक अवस्थाका लागि तयार गराएको उनी बताउँछन्। भियतनाम जानुअघि सोमबार भएको पत्रकार सम्मेलनमा रोहितले तयारी राम्रो गरे पनि खेल सहज भने नहुने उल्लेख गरेका छन्। उनले समूहका दुवै खेल नेपालका लागि महत्वपूर्ण रहेको र त्यहीअनुरूप तयारी पनि गरेको उल्लेख गरेका छन्। उनले आसियान क्षेत्रमा केही समय खेलेको उल्लेख गर्दै भियतनाम निकै बलियो टोली रहेको बताएका छन्। त्यसैले भियतनामसँग खेल्न सहज नहुने उनको बुझाइ छ। तर, प्रतिद्वन्द्वीको रणनीतिअनुसार आफ्नो टोलीले पनि तयारी गरिरहेको रोहित बताउँछन्। मैदानमा आफ्नो टोलीले शतप्रतिशत दिएर खेल्ने उनको विश्वास छ।
रोहितले गोल निस्कन कठिन हुनु नेपालको समस्या रहेको स्वीकार गरेका छन्। यद्यपि, त्यसमा प्रशिक्षकले पनि काम गरिरहेको उनले बताएका छन्। गोल निस्कन गाह्रो हुनुको पछाडि धेरै कारणहरूमध्ये नियमित रूपमा घरेलु लिग नहुनु पनि रहेको उनको बुझाइ छ। यसले खेलाडीको फिटनेसमा पनि समस्या भएको उनी बताउँछन्। तर, टोलीले यसमा केही समयदेखि काम गरेको उनी बताउँछन्। तर, समग्रमा प्रशिक्षण राम्रै भएकाले भियतनामसँगको खेलमा सुखद प्रदर्शन गर्ने रोहितको विश्वास छ। छनोटमा दोस्रो लेगको खेल नेपालमा हुनुपर्ने थियो। तर, एएफसीले एक मात्र अन्तर्राष्ट्रिय दशरथ रंगशाला खेल्न अयोग्य रहेको ठहर गरेपछि नेपालले होम म्याच गुमाउँदै आएको छ।
नेपालका उपकप्तान रोहितले होम म्याच कुनै पनि टोलीका लागि फाइदा हुने र तर त्यो अवसरबाट नेपाल वञ्चित भइरहेको बताएका छन्। आगामी होम म्याच पनि गुमाउने सम्भावना देखेको उनी बताउँछन्। तर, अवे मैदानमा खेल भए पनि शतप्रतिशत दिएर खेल्ने आत्मविश्वास रहेको उनले उल्लेख गरे। रोहितले कुनै पनि सरकारले नेपाली खेलकुद प्राथमिकतामा नराख्दा अहिले अन्तर्राष्ट्रिय फुटबल रंगशालाको अभाव भोग्नुपरेको बताएका छन्। अब आउने सरकारले व्यवस्थित रंगशाला बनाउनेछ भन्ने आशामा आफूहरू रहेको उनी बताउँछन्। नियमित घरेलु लिग नहुँदा राष्ट्रिय टोलीमा पनि त्यसको असर पर्ने उनको बुझाइ छ। अब लिग हुन्छ भन्ने आशामा नेपाली फुटबलर रहेको रोहित बताउँछन्।
लिग हुँदा खेलाडीको फिटनेससँगै आर्थिक अवस्था पनि राम्रो हुने उनको विश्वास छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले १२ दिनको बन्द प्रशिक्षणबाट आइतबार नै २३ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरिसकेका छन्। उनै अस्ट्रेलियन प्रशिक्षक रसले भियतनामसँगको खेलका लागि राम्रो तयारी गरेको र त्यो खेलबाट अंक प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्। उनले टोलीलाई हरेक अवस्थाका लागि तयार गराएको बताएका छन्। मलेसियासँग खेलको नतिजा उल्टन सक्ने भएकाले केही सुखद पक्ष पनि रहेको उनको भनाइ छ। बंगलादेशसँगको खेलमा खेलाडीको प्रदर्शनबाट सन्तुष्ट हुने ठाउँ रहेको र टोली सन्तुलित बनेको अस्ट्रेलियन प्रशिक्षक रसको विश्वास छ।
उनले केही खेलाडीहरू अन्तिम केही दिन मात्र टोलीमा जोडिने उल्लेख गरेका छन्। प्रशिक्षक रसले खेलाडीहरू मानसिक र शारीरिक रूपमा पनि यो खेलका लागि तयार रहेको बताएका छन्। बंगलादेशसँगको मैत्रीपूर्ण खेलका ६ खेलाडी बाहिरिँदा समान सदस्यले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीमा पुनरागमन गरेका छन्। तर, उनले नेपाली टोलीमा खेलेका खेलाडीले नै पुनरागमन गरेकाले तालमेल अभाव नहुने उल्लेख गरेका छन्। प्रशिक्षक रसले तीनवटा मैत्रीपूर्ण खेल नेपाली टोलीका लागि महत्वपूर्ण रहेको पनि बताएका छन्। उनले हरेक ठूलो टोलीले पनि गोल गर्न संघर्ष गर्न सक्ने र नेपाली टोलीमा पनि त्यो समस्या देखिएको स्वीकार गरेका छन्। तर, त्यसमा काम भएको र आगामी खेलमा सुधार हुने उनको विश्वास छ।
प्रशिक्षक रसले पनि घरेलु लिग नहुँदा केही सम्भावना बोकेका खेलाडीबारे बुझ्न नपाएको बताएका छन्। दसैंको बीचमा दुई दिन खेलाडीलाई आराम गर्न दिएर तयारी गरेको बताउँछन्। होम म्याच खेल्न नपाए पनि त्यसका लागि आफ्ना खेलाडी पहिलेदेखि नै तयार रहेको र प्रदर्शनमा कुनै असर नपर्ने उनको विश्वास छ। मुख्य प्रशिक्षक म्याट रसले पछिल्लो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका ६ सदस्यलाई बाहिर राख्दै टोली घोषणा गरेका छन्। यही खेलको आधारमा उनले गत सेप्टेम्बर २३ मा ३३ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका थिए। यहाँबाट १० खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाउन सकेनन्। गत सेप्टेम्बर ६ मा नेपालले घरेलु मैदानमा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो।
पहिलो खेल बराबरीमा टुङ्गिँदा दोस्रो खेल भने जेनजीको आन्दोलनका कारण प्रभावित हुन पुग्यो। यसै मैत्रीपूर्ण खेलका ६ खेलाडी भियतनामसँग हुने दुई लेगको खेलका राष्ट्रिय टोलीमा अटाउन सकेनन्। प्रशिक्षक रसले प्रारम्भिक टोलीमा नै दुई खेलाडी बाहिर राखेका थिए र अहिले थप चार खेलाडी बाहिरिएका छन्। डिफेन्डर रन्दीप पौडेल र अट्यकिङ मिडफिल्डर सृजनराज गौतम प्रारम्भिक छनोटमै परेका थिएनन्। यी दुईसँगै बंगलादेशविरुद्धको खेलमा अमित लामा, आदित्य शाक्य, समीर तामाङ र टिकेन्द्र थापा थिए। थप चार खेलाडीलेपनि राष्ट्रिय टोलीमा स्थान बनाउन सकेनन्। साथै समान ६ सदस्यले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्।
नेपाली राष्ट्रिय टोलीमा गोलकिपर विशाल सुनार, डिफेन्डरत्रय विमल पाण्डे, सनिस श्रेष्ठ र सुमित श्रेष्ठले पुनरागमन गरेका छन्। साथै अट्याकिङ मिडफिल्डरद्वय कृतीशरत्न छुन्जु र आयुष घलानले पनि पुनरागमन गरेका छन्। यी ६ खेलाडी नै एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत लाओससँगको खेलमा नेपाली टोलीमा थिए। बंगलादेशको खेलमा सुमित, कृतीश र आयुष नेपाली यु–२३ टोलीमा थिए। यो युवा टोलीले ताजकिस्तानमा एसियन कप छनोट खेल्दा तीन सदस्य राष्ट्रिय टोलीमा थिएनन्। सनिस भने घाइते थिए।
दोस्रो खेलमा नेपालले तुलनात्मक रूपमा कमजोर मानिएको लाओसविरुद्ध २–१ को हार बेहोरेको थियो। त्यसअघि नेपालले मलेसियासँगको खेलमा २–० को नतिजा सुम्पिएको थियो। तर, विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नेपाल र भियतनामसँगको खेलमा फर्जी कागज पेस गरेर अयोग्य खेलाडी खेलाएको भन्दै मलेसिया फुटबल संघमाथि कारबाही गरेको छ। त्यसैले नेपालले तीन अंक पाउने सम्भावना पनि छ। फिफा अनुशासन समितिले फिफाको अनुशासन संहिता (एफडिसी)को धारा २२ को उल्लंघन गरेको भन्दै मलेसिया फुटबल संघलाई कारबाही गरेको हो।
समूहमा शीर्ष स्थानमा रहेको मलेसियाले भियतनाम र नेपालसँग जित निकालेको खेलका नतिजा उल्टन पनि सक्नेछन्। समूहको शीर्ष स्थानको टोलीले सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपको १९औं संस्करणमा स्थान बनाउनेछ। अब भियतनामसँग पहिलो लेगमा हार सामना गरेमा नेपालको एसियन कप पुग्ने चुनौती सकिनेछ। तर, नेपाली टोली जित निकाल्ने लक्ष्यमा छ।
प्रकाशित: २१ आश्विन २०८२ ०९:५२ मंगलबार
