एसईई नतिजा निराशाजनक : RajdhaniDaily.com


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजानुसार ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी मात्र ११ कक्षामा भर्ना हुन पाउने भएका छन् ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षामा सहभागी ४ लाख ६४ हजार ७ सय ६५ विद्यार्थीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् । नतिजानुसार २ लाख ४२ हजार ३ सय १३ जना विद्यार्थीको नतिजामा एनजी आएको छ । यो ५२ दशमलव १४ प्रतिशत हो ।

४७ दशमलव ८६ प्रतिशत विद्यार्थी ११ कक्षा भर्ना हुन योग्य

२०७१ सालपछि पहिलोपटक पास–फेलसहितको नतिजा

परीक्षामा सहभागी कुल ४ लाख ६४ हजार ७ सय ८५ जना परीक्षार्थीमध्ये महिला २ लाख ३१ हजार ५ सय ३ जना र पुरुष २ लाख ३३ हजार २ सय ७० जना थिए । जसनुसार पुरुष १ लाख १४ हजार ४८ र महिला १ लाख २८ हजार २ सय ५७ जना गरी कुल २ लाख ४२ हजार ३ सय १३ जना विद्यार्थी अनुत्तीर्ण (एनजी) हुँदा बाँकी विद्यार्थी विभिन्न जीपीएसहित उत्तीर्ण भए । बोर्डका अनुसार उत्तीर्ण हुने विद्यार्थीमध्ये १ दशमलव ६० बाट २ सम्म जीपीए ल्याउने ६ जना रहेका छन् ।

यस्तै, जीपीए २ देखि २ दशमलव ४० ल्याउने २ हजार ९ सय ५० जना, जीपीए २ दशमलव ४० देखि २ दशमलव ८० ल्याउने ४१ हजार ४ सय ७७ जना, जीपीए २ दशमलव ८० देखि ३ दशमलव २० ल्याउने ७८ हजार ८ सय ७४, जीपीए ३ दशमलव २० देखि ३ दशमलव ६० ल्याउने ६८ हजार २ सय ५६ जना र ३ दशमलव ६० बाट ४ जीपीएसम्म ल्याउने ३१ हजार २ सय ९ जना विद्यार्थी रहेका छन् ।

नतिजानुसार ५२ दशमलव १३ प्रतिशत अनुत्तीर्ण हुँदा ४७ दशमलव ८७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

परीक्षामा महिला र पुरुषबाहेक अन्य समूहका चार जना उत्तीर्ण भएका छन् । यस्तै, आठ जना उनुत्तीर्ण भएका छन् । बोर्डका अनुसार २ दशमलव ४० देखि २ दशमलव ८० जीपीए, २ दशमलव ८० देखि ३ दशमलव २० जीपीए, ३ दशमलव २० देखि ३ दशमलव ६० जीपीए र ३ दशमलव ६० देखि ४ जीपीए ल्याएर ४ जना उत्तीर्ण भएका छन् । अन्य समूहमा परीक्षा दिएका १२ जनामध्ये ८ जना भने अनुत्तीर्ण भएको बोर्डले जनाएको छ । परीक्षा लिइएका कुल ३५ विषयको ग्रेडसहितको नतिजा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको शर्माले बताए ।

यस्तै, बोर्डले विभिन्न १३ जिल्लाका २ सय २० परीक्षार्थीको परीक्षा रद्द भएको पनि जनाएको छ । नतिजानुसार दैलेखका १, काभ्रेका २, जाजरकोटका ३, इलामका २, बझाङका २ र बाराका २ विद्यार्थीको परीक्षा रद्द भएको छ ।

यस्तै, रौतहटका १, महोत्तरीका ३९, खोटाङका ३, धनुषाका ४, सर्लाहीका ६, सप्तरीका १ सय ५४ र भोजपुरका १ परीक्षार्थीको परीक्षाफल रद्द गरिएको हो ।

यस वर्ष भने २०७१ सालपछि पहिलोपटक पास÷फेलसहितको नतिजा निकालिएको छ । लेटर ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्न थालेसँगै यसअघि ग्रेड मात्रै सार्वजनिक हुँदै आएको थियो । यस वर्षबाट भने पास र फेलकै नतिजा सार्वजनिक भएको छ । विगतमा कम अंक ल्याउनेले पनि माथिल्लो कक्षामा पढ्न पाउने व्यवस्था थियो । तर, यस पटकबाट ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू भएसँगै नतिजामा पास÷फेलको विवरण देखिन थालेको हो ।

लेटर ग्रेडिङ प्रणालीनुसार नतिजा सार्वजनिक गर्नुअघि २०७१ सालमा उत्तीर्ण प्रतिशत ४७ दशमलव ४३ प्रतिशत थियो । २०७२ सालदेखिको नतिजा लेटर ग्रेडिङनुसार हुँदै आएको थियो र विद्यार्थीहरूलाई ग्रेडनुसार नै कक्षा ११ मा पढ्न पाउने व्यवस्था गरिएको थियो ।

यस वर्ष भने सैद्धान्तिक र प्रयोगात्मकमा कम्तीमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थीको प्रमाणपत्रमा ‘एनजी’ (नन ग्रेडेड) आउनेछ । उनीहरूले कक्षा ११ मा पढ्न पाउनेछैनन् । त्यसका लागि बढीमा दुई विषयमा एनजी आएका विद्यार्थीहरूले एक महिनाभित्र हुने ग्रेड वृद्धि परीक्षामा सहभागी भएर ग्रेड वृद्धि गर्न पाउनेछन् । दुईभन्दा बढी विषयमा एनजी आएका विद्यार्थीले अर्को वर्ष हुने एसईई परीक्षामा सबै विषयको परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।

बोर्डले सार्वजनिक गरेको तथ्यांकनुसार १ लाख १५ हजार ८ सय ३४ विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । २०८० सालको नतिजानुसार २ लाख ४२ हजार ३ सय १४ विद्यार्थीको नतिजामा ‘एनजी’ आएको थियो । तीमध्ये दुई विषयमा ‘एनजी’ आएका विद्यार्थीले आगामी १८ र १९ साउनमा हुने मौका परीक्षा दिन पाउनेछन् भने बाँकीले अर्को वर्ष हुने परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।

बोर्डले सार्वजनिक गरेको तथ्यांकनुसार विषयगत आधारमा अंग्रेजीमा १, गणितमा ६७, नेपालीमा ४, विज्ञानमा १४, सामाजिकमा ५, ऐच्छिक गणितमा ७१, अर्थशास्त्रमा १३, जनसंख्यामा ७, वातावरण विज्ञानमा २, स्वास्थ्य शारीरिकमा ३, प्राविधिक विषयमा ७ र सबै विषयमा २६ जनाको परीक्षा रद्द भएको छ ।

सुदूरपश्चिमको सबैभन्दा कमजोर
प्रदेशगतनुसार हेर्दा बाग्मती प्रदेशको नतिजा सबैभन्दा राम्रो देखिएको छ । बाग्मती प्रदेशमा ६६ दशमलव ११ प्रतिशत पढ्नयोग्य देखिएका छन् । बाग्मती प्रदेशबाट ९९ हजार ८ सय ७२ जना परीक्षार्थीमध्ये ३३ हजार ८ सय ४२ जना अनुत्तीर्ण भएका छन् । साथै, सबैभन्दा कमजोर नतिजा सुदूरपश्चिम प्रदेशको देखिएको छ । सुदूरपश्चिममा ३१ दशमलव ८७ प्रतिशत मात्रै पढ्नयोग्य देखिएका छन् । सुदूरपश्चिमबाट ५३ हजार ४ सय ४६ जना परीक्षार्थी सहभागी हुँदा ३६ हजार ४ सय १० जना अनुत्तीर्ण भएका छन् ।

कोशी प्रदेशमा ४७ दशमलव ४९ प्रतिशत कक्षा ११ पढ्नयोग्य देखिएका छन् । कोशी प्रदेशबाट सहभागी कुल ७५ हजार ९ सय ८८ परीक्षार्थीमध्ये ३९ हजार ८ सय ९५ जना परीक्षार्थी अनुत्तीर्ण भएका छन् । मधेस प्रदेशमा ४६ दशमलव ८७ प्रतिशत पढ्नयोग्य देखिएका छन् । मधेस प्रदेशबाट कुल ७९ हजार ५ सय ९२ परीक्षार्थीमध्ये ४२ हजार २ सय ८६ जना अनुत्र्तीण भएका छन् । यस्तै, गण्डकी प्रदेशमा ५० प्रतिशत उत्तीर्ण भएका छन् । गण्डकी प्रदेशबाट कुल ४० हजार ५ सय २६ जना परीक्षार्थीमध्ये २० हजार २ सय ७५ जना अनुत्तीर्ण भए । लुम्बिनीबाट ८० हजार ३ सय २७ जना परीक्षार्थी सहभागी भएकामा ४९ हजार २ सय २४ जना अनुत्र्तीण भए । यसैगरी, कर्णालीबाट ३५ हजार ३४ जना परीक्षार्थी सहभागी भएकामध्ये २० हजार ३ सय ८० जना अनुत्र्तीण भए ।

ग्रेड वृद्धि परीक्षा १८ र १९ साउनमा
एसईईको ग्रेडवृद्धि परीक्षा १८ र १९ साउनमा हुने भएको छ । बिहीबार सार्वजनिक भएको नतिजानुसार २ लाख ४२ हजार विद्यार्थीको परीक्षाफलमा ‘एनजी’ आएको छ ।

जसमा दुई विषयमा एनजी आएका विद्यार्थीहरूले आगामी १८ र १९ साउनमा हुने परीक्षामार्फत ग्रेड वृद्धि परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माले बताए ।

१ लाख १५ हजार ८ सय ३४ जनाले मौका परीक्षा दिन पाउने बोर्डले जनाएको छ । जसमा ४८ हजार ३८ विद्यार्थीको एक विषयमा ‘एनजी’ आएको छ भने ६७ हजार ८ सय विद्यार्थीको दुई विषयमा एनजी आएको छ ।

नतिजासम्बन्धी विवरण वेबसाइट, एसएमएस र आईभीआरबाट प्रकाशन भएको बोर्डले जनाएको छ । बोर्डका अनुसार नेपाल टेलिकममार्फत एसएमएस र आईभीआर (१६०० सर्टकोड)मार्फत नतिजा हेर्न सकिन्छ । यस्तै, स्विफ्ट टेक्नोलोजी, जानकी टेक्नोलोजी, ईजी सर्भिस र आकाश टेकमार्फत एसएमएसमार्फत क्रमशः सर्टकोटहरू ३४४५५, ३५००१, ३४९४९, ३१००३ प्रयोग गरेर नतिजा हेर्न सकिन्छ ।

४ जीपीए ल्याउने कुन जिल्लामा कति ?
बिहीबार सार्वजनिक माध्यमिक शिक्षा परीक्षा कक्षा १० को अन्तिम परीक्षा (एसईई)को नतिजानुसार ४ जीपीए ल्याउने विद्यार्थीको संख्या १ सय ८६ छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजा विश्लेषण गर्दा सबैभन्दा बढी ४ जीपीए ल्याउने काठमाडौंका ९४ जना छन् ।

त्यसपछि कास्कीमा २१ र चितवनका १६ जना विद्यार्थीले चार जीपीए ल्याएका छन् । झापा, रामेछाप, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, मकवानपुर, रौतहट, बारा, गोरखा, तनहँु, स्याङ्जा, पर्वत, सुर्खेतबाट एक–एक जनाले चार जीपीए ल्याएका छन् । मोरङमा ८ जनाले, भक्तपुरमा ६, ललितपुरमा ७, लम्जुङमा ३, कैलालीमा ३ जनाले ४ जीपीए ल्याएका छन् । त्यस्तै, सुनसरी, धनुषा, पाल्पा, रुपन्देही, दाङ, कञ्चनपुर र नवलपुरबाट २÷२ जनाले ४ जीपीए ल्याएका छन् ।

‘एनजी’ सबैभन्दा धेरै गणित विषयमा
कक्षा १० को अन्तिम परीक्षा एसईईमा सबैभन्दा धेरै विद्यार्थीको गणितमा एनजी आएको छ । गणितमा एनजी आउने विद्यार्थीको संख्या १ लाख ७७ हजार ९ सय ८५ छ । यस्तै, विज्ञान विषयमा १ लाख २६ हजार ९ सय ३३ विद्यार्थीको एनजी आएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । अंग्रेजीमा एनजी आउने विद्यार्थीको संख्या १ लाख १ हजार ३ सय ८३ रहेको छ । सामाजिकमा ७३ हजार ८ सय ७७ विद्यार्थीको एनजी आएको छ । नेपालीमा एनजी आउने विद्यार्थीको संख्या ६९ हजार ५ सय ३२ रहेको छ । अर्थशास्त्रमा एनजी आउने विद्यार्थीको संख्या ६९ हजार ४ सय १६ छ । ऐच्छिक गणितमा २० हजार ३ सय ५२ विद्यार्थीको एनजी आएको छ ।

नतिजा चित्त नबुझे पुनर्योगका लागि के गर्ने ?
बोर्डका अनुसार नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षणसमेत गराउनसक्ने व्यवस्था छ । पुनर्योगका लागि परीक्षार्थीहरूलाई अनलाइनमार्फत् आवेदन गर्न सकिने व्यवस्था गरिएको बोर्डले सूचनामा उल्लेख गरेको छ ।

‘परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयका लागि यस कार्यालयको वेबसाइटमा गई पुनर्योग फाराम भरी आवेदन गर्नसक्नेछन्,’ बोर्डद्वारा जारी सूचनामा उल्लेख छ, ‘सोसम्बन्धी सूचना नतिजा प्रकाशन भएपछि राष्ट्रिय परीक्षा बोर्ड पनिका कक्षा १० र राष्ट्रिय परीक्षा बोर्ड केन्द्रीय कार्यालयको वेबसाइटबाट हेर्न सकिनेछ ।’

त्यस्तै उमेर, नाम र थर सच्याउका लागि पनि परीक्षार्थीले पाउनेछन् । सूचनामा भनिएको छ, ‘परीक्षार्थीहरूको उमेर, नाम र थर कुनै कारणले फरक परेमा नतिजा प्रकाशन भएको पाँच वर्षभित्र प्रवेशपत्रानुसार र प्रवेशपत्रमा समेत फरक परेको अवस्थामा सम्बन्धित प्रमुख जिल्ला अधिकारीको फैसला पर्चानुसार सच्याउन सकिने व्यवस्था रहेकाले सोहीनुसार निवेदन दिई सच्याउन सकिनेछ ।’

बोर्डले नतिजा अस्पष्ट भएको अवस्थामा के गर्ने भनेर पनि सूचना दिएको छ । ‘नतिजा प्रकाशन हुँदा परीक्षार्थीको कुनै कारणले सबै वा कुनै विषयमा नतिजा नखुलेको अवस्था रहेमा यस कार्यालयको वेबसाइटमा रहेको नतिजा खुलाउने निवेदन डाउनलोड गरी कुनकुन विषयको नतिजा नखुलेको हो सोसम्बन्धी विवरण भरी प्रवेशपत्रको प्रतिलिपि संलग्न गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमार्फत् इमेलबाट वा सोझै यस कार्यालयमा निवेदन दिनुपर्नेछ ।’

(Visited 4 times, 4 visits today)





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School