प्रकाशित मिति : श्रावण १४, २०८१ सोमबार
मोरङको लोहन्द्रा खोलामा अर्को नयाँ प्रजातिको माछा फेला परेको छ । बुदुना जातको ‘गारा केम्पी होरा’ वैज्ञानिक नाम रहेको सो माछा एशियाकै रैथाने भएको अनुसन्धानकर्ताले बताएका छन् ।
अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल र रामचन्द्र अधिकारीले उक्त प्रजाति नेपालका लागि नयाँ भएको भन्दै भारतबाट प्रकाशित हुने प्रसिद्ध जर्नल ‘थ्रिटेन्ड टेक्सा’ को सन् २०२४ को जुन अङ्कमा लेख लेख्नुभएको छ ।
लिम्बूलगायतको टोलीले दुई महिनाअघि पनि लोहन्द्रा खोलामै दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने ‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ वैज्ञानिक नाम रहेको नयाँ प्रजातिको माछा फेला पारेको थियो ।
सन् २०२२ को सेप्टेम्बरदेखि २०२३ को मार्च महिनासम्म स्थलगत सर्वेक्षणमा लोहन्द्रा खोलामा ‘गारा केम्पी’ माछा भेटिएको र यसको बाहिरी बनावटको र आणविक तथा आनुवांशिक अध्ययनको विवरणबाट नेपालका लागि नयाँ भएको जानकारी अनुसन्धान कर्तामध्ये एक जसहाङ लिम्बूले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो विराटनगर–रङ्गेली रोडमा पर्ने लोहन्द्रा पुल आसपासबाट यो माछाका ३० देखि ४० ग्रामका जिउँदो नमुना सङ्कलन गरिएको थियो । यसको शरीरका १८ किसिमका नापहरू लिइयो, जसमा धेरै कुरा अरु प्रजातिभन्दा भिन्न पाइयो र नयाँ प्रजाति भनी दाबी गरियो र पुष्टि पनि भयो ।
फरक प्रजाति हो भनी पुष्टि गर्न गारा जातिका अरु १९ प्रजातिसँग आणविक बनावटको तुलना गरिएको लिम्बुले बताउनुभयो । ‘गारा केम्पी’ नेपालबाहेक पूर्वी र उत्तरी भारतमा तथा चीनका केही स्थानमा पाइने केही अन्य अनुसन्धानकर्ताले जनाउनुभएको छ ।
यसलाई स्टोन सकर पनि भनिन्छ अर्का अनुसन्धानकर्ता रामचन्द्र अधिकारीले भन्नुभयो, यो थुतुनोको सहाराले ढुङ्गाामा टाँसिएर बस्छ । यसको मुख्य बासस्थान भनेको सफा नदीको तीव्र वेग भएको ठाउँ हो । यो प्रजाति पूर्वी नेपालका कन्काइलगायत नदीमा पनि प्रशस्तै पाइने गरेको लिम्बूले बताउनुभयो ।
विश्व संरक्षण सङ्घले यसलाई खास वास्ता नगरिएको लिष्टकन्सर्न प्रजातिअन्तर्गत राखेको छ । धेरै पौष्टिक तत्व पाइने र स्वादिलो पनि हुने भएकाले स्थानीयहरूको रोजाइमा यो माछा पर्दछ ।
पुराना अनुसन्धानमा केही कमजोरी भएका कारण प्रजातिको सही पहिचान हुन नसकेको लिम्बूको दाबी छ ।
नेपालमा माछाका प्रजाति सङ्ख्या दुई सय ७३ पुगेको दाबीसमेत लिम्बूले गर्नुभयो । माछाको प्रजाति पहिचान, अस्तित्व र वितरणका विषयमा थप वैज्ञानिक अनुसन्धान गरी अभिलेखीकरण गर्न जरुरी भएको अनुसन्धानकर्ताले औँल्याएका छन् ।