News Summary
Generated by OK AI. Editorially reviewed.
- एमालेको एघारौं राष्ट्रिय महाधिवेशनले अनुभवी नेतृत्व र युवाको ऊर्जा संयोजन गरी वैचारिक पुनर्जागरण र संगठनात्मक सुदृढीकरण गरेको छ।
- अखिलले चेतना, संघर्षको मर्यादा र राष्ट्रप्रतिको उत्तरदायित्वलाई मुख्य मन्त्र बनाएर वैचारिक युवा नेतृत्व तयार पारिरहेको छ।
- युवालाई भ्रम र पपुलिज्मको नयाँ अवतारबाट बच्न विचार, संगठन र कामको सन्तुलित त्रिकोणमा आधारित राजनीति अपनाउन एमालेले जोड दिएको छ।
हामी एउटा यस्तो संवेदनशील समयमा छौं, जहाँ सत्य भन्दा भ्रमको व्यापार बढी भइरहेको छ । युवा पुस्ताको भूमिकालाई लिएर अनेकन प्रश्न उब्जिएका छन् । तर कोलाहलबीच हाम्रो स्वर फरक हुनुपर्नेछ । किनकि, हामी समाजको सपना धुमिल बनाउने पंक्ति होइनौं । हामी त वैचारिक निष्ठामा अडिएको पङ्क्ति हौं ।
सामाजिक सञ्जालका क्षणिक ‘ट्रेन्ड’, भावनात्मक उक्साहट र नियोजित रूपमा ‘नायक’ बनाइएका भ्रमहरूको पछि कुद्ने भीड भन्दा हामी भिन्न छौं । विचार, संगठन र ठोस् कामको बाटो रोज्ने राजनीतिक युवा हौं । यही हाम्रो स्पष्ट पहिचान हो । अर्थात् हामी अखिलको नर्सरीबाट हुर्केको, नेकपा एमालेको विचारबाट दीक्षित र देशप्रति जिम्मेवार पुस्ता हौं । आजको युवाले बुझ्नुपर्ने प्रमुख कुरा उत्तेजनाले केही क्षणको ताली दिलाउन सक्छ, तर विचारले युगको नेतृत्व गर्न सक्छ ।
भ्रमको लहर
आजको विश्व परिवेश अत्यन्त जटिल र बहुआयामिक संकटबाट गुज्रिरहेको छ । शक्ति राष्ट्रहरूबीचको युद्ध, आर्थिक अनिश्चितता, जलवायु परिवर्तनको विनाशकारी संकट र प्रविधिले सिर्जना गरेको चरम असमानताले युवाको मनस्थितिलाई हल्लाइरहेको छ।
मूल्यहीनताको यो लहरमा छिटो चर्चित हुने, रातारात नायक बन्ने र संस्थागत राजनीति बेकार भन्ने भ्रमहरू बिक्री भइरहेका छन्। यो नेपालको मात्र समस्या होइन, विश्वव्यापी लहर हो, जसले स्थापित मूल्य र मान्यतालाई भत्काउन उद्धेलित गर्छ।
नेपालको सन्दर्भमा यो लहर अझ घातक छ। पपुलिज्मको नयाँ अवतारमा कुनै पनि वैचारिक धरातल नभएका पात्रलाई नयाँ र वैकल्पिक भन्दै मञ्च दिइँदैछ। तर स्पष्ट छ- ती अराजक शक्तिहरू हाम्रा उत्पादन होइनन् । उनीहरु न अखिलको वैचारिक नर्सरीका उपज हुन्, न एमालेको अनुशासित विद्यालयका उत्पादन हुन् ।
अनुभव र ऊर्जाको संयोजन
एमालेको एघारौं राष्ट्रिय महाधिवेशनलाई हामीले केवल एउटा प्राविधिक नेतृत्व चयनको कार्यक्रम मात्र मानेनौं । एउटा वैचारिक पुनर्जागरण, संगठनात्मक सुदृढीकरण र पुस्तान्तरणको ऐतिहासिक उपलब्धि थियो। नेपाली राजनीतिमा अक्सर नेतृत्वको टकराब देखिने गर्छ, तर एमालेले अनुभवी नेतृत्वको दूरदर्शिता र नवऊर्जाको उत्साहबीच दुर्लभ र वैज्ञानिक संयोजन प्रस्तुत गरेको छ।
अनुभवी नेतृत्वको मार्गदर्शन र युवाको आक्रामक कार्यक्षमता मिलेर देशलाई ‘सुखी नेपाली, समृद्ध नेपाल’तर्फ लैजाने संकल्प लिएका छौँ ।
यो संयोजन कुनै आकस्मिक संयोग होइन; दशकौंदेखि मैदानमा खारिएको अनुभव र अखिल-युवा आन्दोलनको भट्टीबाट हुर्किएको उर्जाको योजनाबद्ध मिलन हो । अनुभवी नेताहरूले देखाएको बाटो र युवाले भरेको गतिले पार्टीलाई अझ सबल र लक्ष्यप्रति केन्द्रित बनाएको छ ।
आजको युवा पुस्ताले के बुझ्नुपर्छ भने अनुभव बिनाको ऊर्जा दिशाहीन हुन्छ भने ऊर्जा बिनाको अनुभव निष्क्रिय हुन्छ । एमालेले यी दुई बीचको सन्तुलन मिलाएर देशको सबैभन्दा ठूलो र अनुशासित राजनीतिक शक्तिको रूपमा आफूलाई उभ्याएको छ।
हामी गर्वका साथ भन्छौँ- हामी भ्रमको भीड होइनौं, हामी चेतनाको पङ्क्ति हौं । भ्रमको बजारमा सत्यको मूल्य केही समय घट्न सक्छ, तर इतिहास सधैं सत्यकै पक्षमा उभिन्छ ।
अखिल: चेतना र संघर्षको नर्सरी
अखिल केवल एउटा विद्यार्थी संगठन मात्र होइन, यो त राज्यको भविष्य निर्माण गर्ने आधारशिला हो। अखिलको नर्सरीले हामीलाई तीन वटा मुख्य मन्त्र सिकाएको छ।
पहिलो- चेतनाको प्राथमिकता हो। यसले उच्छृङ्खलता होइन अनुशासन र भीड होइन संगठन रोज्न सिकायो।
दोस्रो- संघर्षको मर्यादा हो । सडकदेखि सदनसम्मको आन्दोलनमा कसरी संयमित हुने र तथ्यमा आधारित बहस कसरी गर्ने भन्ने शिक्षा हामीले पायौँ।
तेस्रो- राष्ट्रप्रतिको उत्तरदायित्व हो । व्यक्तिगत लाभ भन्दा माथि उठेर सार्वजनिक हित र क्षणिक लोकप्रियता भन्दा माथि उठेर दीर्घकालीन राष्ट्रिय स्थायित्वका लागि लड्नु नै हाम्रो मुख्य संस्कार हो।
हामीले सिकेको राजनीति भनेको मानिसलाई गाली गर्ने होइन, बरु मानिसहरूका समस्या समाधान गर्ने विधि हो।
विचार, संगठन र कामको त्रिकोण
एमालेको सबल पक्ष नै विचार, संगठन र कामको सन्तुलित त्रिकोण हो। माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवाद (जबज) को आलोकमा निर्देशित एमाले अन्य दल भन्दा फरक छ । विचार बिनाको संगठन दिशाहीन हुन्छ भने संगठन बिनाको काम अस्थायी हुन्छ। त्यसैगरी, काम बिनाको विचार केवल निरर्थक गफमा सीमित हुन्छ।
एमालेले यी तीनै पक्षलाई एकैसाथ अघि बढाएको छ। यही कारणले कठिन घडीमा पनि पार्टीले राज्य सञ्चालनको असाधारण क्षमता देखायो । यसले लिम्पियाधुरा–कालापानी समेटिएको चुच्चे नक्सा सार्वजनिक गर्नेदेखि सामाजिक सुरक्षा भत्ताको अवधारणा ल्याउनेसम्मका ऐतिहासिक कामहरू गर्यो । आलोचना लोकतन्त्रको सुन्दरता हो । तर भ्रम विकल्प होइन ।
नयाँको भ्रम
आज युवालाई एउटै भाष्यमा भ्रमित गरिँदैछ- सबै पुराना खराब । यो सरलीकरण खतरनाक छ। इतिहासबाट विच्छेद भएर कुनै पनि सुन्दर भविष्यको निर्माण हुन सक्दैन। नयाँ हुनु मात्रै राम्रो हुनुको ग्यारेन्टी होइन । राजनीतिमा विचार, त्याग, इतिहास र भविष्यको ठोस् योजना चाहिन्छ।
आजको समयमा गाली गलौज र सडकको अराजकतालाई क्रान्तिको नाम दिइँदैछ । तर हामीले बुझ्नुपर्छ कि भत्काउन सजिलो हुन्छ र निर्माण गर्न कठिन हुन्छ । हामी निर्माण गर्ने पुस्ता हौं । हामीले बुझेका छौँ कि लोकतन्त्रको विकल्प थप उन्नत लोकतन्त्र मात्रै हो। सडकको उत्तेजनाले केही समयका लागि ताली पाउन सक्छ, तर त्यसले देशको थाती रहेका समस्याहरू समाधान गर्न सक्दैन।
एमाले युवाको विशेषता
अखिल–एमालेको नर्सरीबाट आएको युवाको पहिचान उसको व्यक्तित्व र क्रियाकलापमा प्रष्ट देखिन्छ।
-तार्किक अभिव्यक्ति: ऊ गाली गरेर होइन, तथ्य र तर्कले आफ्नो कुरा राख्छ।
-सामाजिक मर्यादा: ऊ कुलत र दुर्व्यसनको प्रचारक होइन, सामाजिक चेतनाको संवाहक बन्छ।
-श्रमको सम्मान: ऊ लुट र ठगीलाई नायकत्व दिने होइन, इमानदार श्रम र सार्वजनिक सेवाको मूल्य स्थापित गर्छ।
-सिर्जनात्मक समाधान: ऊ सामाजिक सञ्जालमा केवल नकारात्मकता फैलाउने होइन, समाजका समस्याको समाधान खोज्छ।
-आशावादी चिन्तन: ऊ चरम निराशामा रमाउने होइन, बरु अँध्यारोमा आशा र विश्वासको दियो बाल्न तल्लीन रहन्छ।
देशलाई चाहिएको नेतृत्व
आज देशलाई चाहिएको नेतृत्व केवल ‘करिश्मा’ देखाउने र पपुलिस्ट कुरा गर्ने व्यक्ति होइन, बरु कार्यक्षमता भएको नेतृत्व हो । हामीलाई उक्साहट होइन, नीति चाहिन्छ र व्यक्तिवाद होइन संस्थागत पद्धति चाहिन्छ। यही मापदण्डमा एमालेको युवा र विद्यार्थी आन्दोलन सधैं खरो उत्रिएको छ।
हामीले केवल राजनीतिक नारा मात्र लगाइरहेका छैनौँ । शैक्षिक सुधारको बहसदेखि रोजगारी सिर्जना, उद्यमशीलता, डिजिटल साक्षरता, जलवायु न्याय, लैङ्गिक समानता र समावेशितासम्मका एजेन्डालाई वैचारिक स्पष्टताका साथ उठाइरहेका छौँ । यो प्रक्रियाले नै भविष्यको सक्षम र उत्तरदायी नेतृत्व तयार पारिरहेको छ।
समृद्धिको संकल्प र हाम्रो यात्रा
अन्त्यमा, चेतना र संगठन नै परिवर्तनको वास्तविक इन्धन हो । हामीले व्यक्ति वा नायकको पूजा गर्ने होइन, नीतिको पूजा गर्नुपर्छ । क्षणिक ट्रेन्डमा रमाउने होइन, देशका लागि दीर्घकालीन रोडम्याप तयार गर्नुपर्छ। राज्य-व्यवस्था भत्काएर होइन, यसलाई सुधारेर समृद्धि सम्भव छ । एमाले व्यवस्थाको हिमायती हो, तर अन्ध समर्थनको होइन, जिम्मेवार सुधारको पक्षधर हो।
राष्ट्रिय महाधिवेशनको मुख्य उपलब्धि नै पार्टीलाई विचारमा स्पष्ट र संगठनमा सुदृढ बनाउनु हो । अनुभवी नेतृत्वको मार्गदर्शन र युवाको आक्रामक कार्यक्षमता मिलेर देशलाई ‘सुखी नेपाली, समृद्ध नेपाल’तर्फ लैजाने संकल्प लिएका छौँ ।
हामी गर्वका साथ भन्छौँ- हामी भ्रमको भीड होइनौं, हामी चेतनाको पङ्क्ति हौं । भ्रमको बजारमा सत्यको मूल्य केही समय घट्न सक्छ, तर इतिहास सधैं सत्यकै पक्षमा उभिन्छ ।
सत्यसँग उभिँदा मात्र देश अघि बढ्छ। यही विश्वास, प्रतिबद्धता र चेतनाका साथ हामी आज पनि र भोलि पनि- समाज परिवर्तनको यात्रामा सधैं अग्रपङ्क्तिमा उभिरहनेछौँ।
