एप्स्टिन यौन प्रकरण: राष्ट्रपति ट्रम्पलाई शपथसहित सोधपुछ गर्न हिलारीको माग



प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार

एप्स्टिन यौन प्रकरण: राष्ट्रपति ट्रम्पलाई शपथसहित सोधपुछ गर्न हिलारीको माग

फोटो : एएफपी/रासस

अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले आफूलाई जेफ्री एप्स्टिनका आपराधिक गतिविधिबारे “कुनै जानकारी नभएको” बताएकी छिन्।

उनले पूर्व यौन अपराधी एप्स्टिनसँगको सम्बन्धबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समेत शपथसहित सोधपुछ गर्नुपर्ने माग गरेकी छन्।

कङ्ग्रेसको समितिसमक्ष घण्टौँसम्म बन्द कोठाभित्र भएको बयानपछि सञ्चारकर्मीसँग कुरा गर्दै क्लिन्टनले भनिन्, “म सत्य बाहिर आओस् भन्ने चाहन्छु।” उनले बयान सार्वजनिक नगरिएकोमा असन्तुष्टि जनाउँदै, यदि बयान सार्वजनिक गरिएको भए आफूले बाहिर आएर व्याख्या गरिरहनु पर्ने अवस्था नआउने बताइन्।

उनका पति तथा पूर्व राष्ट्रपति बिल क्लिन्टनले शुक्रबार बयान दिने कार्यक्रम रहेको छ। सुरुमा क्लिन्टन दम्पतीले समितिको समनलाई “राजनीतिक उद्देश्यले प्रेरित” भन्दै अस्वीकार गरेका थिए।

तर अदालतको अवहेलनासम्बन्धी कारबाहीको सम्भावना बढेपछि उनीहरू बयान दिन सहमत भएका हुन्। क्लिन्टन दम्पती र ट्रम्प दुवैले एप्स्टिन प्रकरणमा आफूहरूले कुनै गलत कार्य नगरेको दाबी गर्दै आएका छन्।

छ घण्टा लामो बयानपछि क्लिन्टनले समितिका अध्यक्ष जेम्स कोमरले अनुसन्धानको प्रकृतिबारे महत्त्वपूर्ण प्रश्नहरू उठाएको र आफ्ना कुराहरू सुनेकोमा सराहना गरिन्। साथै, उनले रिपब्लिकन सदस्यहरूले एप्स्टिन वा उनकी सजाय भोगिरहेकी सहयोगी घिस्लेन म्याक्सवेलबारे अरू कसैलाई सोधपुछ नगरेको भन्दै आलोचना समेत गरिन्।

बयानका क्रममा बन्द सत्रभित्र खिचिएको तस्बिर सार्वजनिक भएपछि प्रक्रिया केहीबेर रोकिएको थियो। उक्त तस्बिर कोलोराडोकी सांसद लरेन बोएबर्टले लिएको बताइएको छ। डेमोक्र्याट सदस्यहरूले यसलाई नियमविपरीत कार्य भनेका छन्।

समितिका वरिष्ठ डेमोक्र्याट सदस्य रोबर्ट गार्सियाले क्लिन्टनको पूर्ण र असम्पादित बयान २४ घण्टाभित्र सार्वजनिक गर्न माग गरे। उनले राष्ट्रपति ट्रम्पलाई पनि तत्काल समितिसमक्ष उपस्थित गराएर शपथसहित बयान लिनुपर्ने बताए।

न्याय मन्त्रालयले चरणबद्ध रूपमा सार्वजनिक गरेका कागजातमा बिल क्लिन्टनको नाम र तस्बिरहरू देखिएका छन्। तर, ती कागजातमा नाम उल्लेख हुनुले मात्र कुनै गलत कार्य पुष्टि नहुने कुरा स्पष्ट पारिएको छ।

शुक्रबार हुने बिल क्लिन्टनको बयानलाई अत्यन्त चासोका साथ हेरिएको छ। सन् १९८३ मा जेराल्ड फोर्डले कङ्ग्रेससमक्ष बयान दिएयता कुनै पूर्व राष्ट्रपतिले यसरी संसदीय समितिसमक्ष साक्ष्य दिन लागेको यो पहिलो अवसर हो।





Source link

Leave a Comment