एन्टिबायोटिकको गलत प्रयोगले स्वास्थ्य जोखिम, सचेत रहन विज्ञको सुझाव


विराटनगरकी सरिता कार्कीले केही दिनअघि आठ वर्षको छोरालाई सामान्य खोकी र ज्वरो आएपछि नजिकको फार्मेसीबाट एन्टिबायोटिक किनेर दिए। दुई दिनमै निको भयो। तर केही हप्ता नबित्दै त्यही लक्षण फेरि देखियो, फेरि त्यही औषधि फार्मेसीबाट ल्याएर खुवाए, तर असर गरेन। 

ज्वरो नघटेपछि कोशी अस्पतालको बाल रोग विभागमा जँचाउन लगे, चिकित्सकले नयाँ र शक्तिशाली एन्टिबायोटिक दिए। तब छोराको ज्वरो निको भयो। अस्पतालको बाल रोग विभागको ओपिडीमा भेटिएकी सरिताले भनिन्, ‘पहिलो पटक काम गरेको औषधि यसपालि काम नगरेपछि थाहा भयो, हामी कति गलत ढंगले औषधि खाइरहेका रहेछौँ।’

मोरङको बेलबारीका ५५ वर्षका रामबहादुर राईले पनि चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक प्रयोग गर्ने बानी गरेका छन्। ‘मलाई प्राय: दाँत दुख्छ, पसल गएर एन्टिबायोटिक किन्थेँ। तीन–चार दिन खाएपछि दुखाइ हराउँथ्यो, त्यसपछि बाँकी औषधि राख्थेँ,’ राईले भने, ‘तर पछिल्लो पटक त्यही समस्या दोहोरिँदा औषधिले काम नगरेपछि दन्त चिकित्सकले यो औषधिको असर तिम्रो शरीरमा घटिसक्यो भनेर बुझाएपछि म झसंग भएँ।’

धरानकी ३२ वर्षीया विद्यार्थी रीता तामाङले औषधि फेसबुक समूहको सल्लाहमा लिने गरेको बताउँछिन्। आफूलाई समस्या भए साथीभाइसँग सल्लाह मागेर औषधि खोज्ने बानी स्वास्थ्यजस्तो गम्भीर विषयमा पनि लागू गरेको बताउँछिन्।

‘मैले फेसबुकका साथीले दिएको सल्लाहको विश्वास गरेर पनि एन्टिबायोटिक धेरै पटक खाएँ, साथीले आफूलाई त्यस्तै समस्या भएर यो एन्टिबायोटिक खाँदा तुरुन्त निको हुन्छ भनेर सुनाउँथे, म पनि त्यही प्रयोग गर्थेँ, तर पछिल्लो पटक पेट दुख्दा अस्पताल भर्ना हुनुपर्‍यो,’ रीताले भनिन्, ‘एन्टिबायोटिक आफूखुसी खाँदा सामान्य औषधिले काम नगरेको थाहा पाउँदा म छक्क परेँ।’ त्यसपछि डाक्टरको सल्लाहबिना कहिल्यै एन्टिबायोटिक नखाने निर्णय गरेको उनले बताइन्।

यी तीन उदाहरणले औषधि सजिलै पाइने र ‘छिटो निको हुने’ सोचका कारण मानिस आफैँ चिकित्सक बन्ने प्रवृत्ति बढेको देखाउँछ। चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक प्रयोग गर्ने बानीले देशभर ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर)’ नामक मौन महामारी जन्माइरहेको सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

कोशी अस्पतालका बाल रोग विभाग प्रमुख डा. रामनारायण चौधरी पछिल्ला वर्षमा सामान्य संक्रमणका औषधिले काम गर्न छोडेका बिरामी बढेको बताउँछन्। उनले भने, ‘एन्टिबायोटिकको दुरुपयोगले ब्याक्टेरिया बलियो बनाउँछ। एक पटक असर गरे पनि दोहोरिँदा काम नगर्ने हुन्छ, यो खतरनाक संकेत हो।’

सामान्य औषधिको तुलनामा एन्टिबायोटिकको जथाभाबी प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर पर्ने नोबेल मेडिकल कलेजका प्रिन्सिपल तथा फोक्सो रोग विशेषज्ञ प्रा. डा. रामहरि घिमिरे बताउँछन्। उनले भने, ‘चिकित्सकले सिफारिस गरेको औषधिको पूरा डोज नखाने, औषधि पसलेले उमेर र तौलको अनुपातमा मात्रा नमिलाउने, कतिपय चिकित्सकले कीटाणुको जाँच नगरी यस्ता औषधि दिँदा समस्या हुने गरेको हो।’

प्रा. डा. घिमिरेका अनुसार जीवाणु, भाइरस, परजीवी र फंगीजस्ता कीटाणुबाट हुने संक्रमण रोक्न प्रयोग हुने औषधि नै एन्टिमाइक्रोबियल हो। यस्ता औषधिको अवाञ्छित प्रयोगले सूक्ष्म जीवले प्रतिरोध क्षमता विकास गर्छ, जसले रोग निको नहुने र बिरामीको मृत्युसमेत हुन सक्ने भएकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने उनको सुझाव छ।

विश्वमा एन्टिमाइक्रोबियल रेजिस्टेन्स विश्वव्यापी जनस्वास्थ्य र चिकित्सा विज्ञानको प्रमुख चुनौती बनेको छ। यसले हाल उपलब्ध एन्टिबायोटिक्सलगायत एन्टिमाइक्रोबियल औषधिको प्रभावकारिता कम भएको विज्ञ बताउँछन्।

‘सकेसम्म यस्ता औषधिको प्रयोग कम गर्नुपर्छ, कहिलेकाहीँ गर्नै परे चिकित्सकको सल्लाहअनुसार कति दिन, कति पटक र कति मात्रा खाने भनेर मिलाएर खानुपर्छ,’ डा. घिमिरेले भने, ‘मात्रा नमिलाएर खाए अर्को पटक यही औषधिले काम नगर्न सक्छ।’

विराटनगरका औषधि व्यवसायी यो प्रवृत्तिबारे चिन्तित छन्। नेपाल औषधि व्यवसायी संघ मोरङ शाखाका अध्यक्ष देशबन्धु ढकाल ‘एन्टिबायोटिक रेसिस्टेन्स’ रोक्न उपभोक्ता सचेत हुनुपर्ने बताउँछन्। उनको भनाइमा धेरैजसो अवस्थामा उपभोक्ताले चिकित्सकको सल्लाहबिना औषधि माग्ने प्रवृत्ति रोकिएको छैन।

‘हामीले संघमा आबद्ध सबै सदस्यलाई लागुऔषध, मनोदिपक र एन्टिबायोटिक आफूखुसी नबेच्न बारम्बार सचेत गराएका छौँ,’ ढकालले भने, ‘संघले विराटनगर महानगरभित्रका मात्र होइन, रंगेली, उर्लाबारी, लेटाङलगायत १० भन्दा बढी स्थानका औषधि व्यवसायीलाई यस्ता औषधि बिक्री–वितरणसम्बन्धी तालिम दिएको छ।’ उनले कतिपय अवस्थामा उपभोक्ताको दबाबले बिना प्रेस्क्रिप्सन एन्टिबायोटिक बिक्री हुने समस्या रहेको बताए। ‘कहिलेकाहीँ उपभोक्ताले चिकित्सकले यही औषधि लेखिदिएका थिए, पुर्जी बिर्सिएँ भन्छन्। यस्तोमा व्यवसायीले इन्कार गर्दा उपभोक्ताबाट दबाब हुन्छ,’ उनले भने।

ढकालले यो गलत अभ्यास भएको भन्दै संघले सचेतना र अनुगमन गरिरहेको बताए। ‘यो समस्या समाधानका लागि जनचेतना र सरकारी नियमन दुवै जरुरी छन्। एन्टिबायोटिक रेसिस्टेन्स कुनै एक पक्षको जिम्मेवारी होइन। चिकित्सक, औषधि व्यवसायी, उपभोक्ता र नियामक सबैले इमान्दारीपूर्वक भूमिका निभाए मात्र यो रोक्न सकिन्छ,’ उनले भने।

एन्टिबायोटिकको गलत प्रयोग मानिसमा मात्र सीमित छैन। पशुपालन र मत्स्य क्षेत्रमा पनि यसको असर बढ्दो छ। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, कोशी प्रदेशका सूचना अधिकारी र पशु चिकित्सक विनोदकुमार शाह प्रदेशका धेरै पोल्ट्री फार्ममा चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक प्रयोग हुने गरेको बताउँछन्। डा. शाह सामान्य रोग देखिँदा किसानले आफैँ औषधि प्रयोग गर्छन्, जसले पशु र मानिसको स्वास्थ्यमा असर पार्छ। उनले भने, पशुमा प्रयोग भएको औषधिको अवशेष दूध, मासु र अण्डामार्फत मानिसको शरीरमा पुग्छ, जसले दीर्घकालीन प्रतिरोध विकास गर्छ।

‘यो ‘वन हेल्थ’ दृष्टिकोणको विषय हो, मानिस, पशु र वातावरण एक अर्कासँग जोडिएका छन्। त्यसैले समाधान पनि समग्र दृष्टिकोणबाट खोज्नुपर्छ,’ शाहले भने। निर्देशनालयले किसानलाई सचेत गराउन तालिम सञ्चालन गरिरहेको छ। ‘औषधि प्रयोगअघि पशु चिकित्सकको सल्लाह लिन, सही मात्रा र अवधि कायम राख्न, र ‘विथड्रअल पिरियड’ अर्थात् औषधि प्रयोगपछि दूध वा मासु खान नहुने समयावधि बुझ्न हामी किसानलाई सन्देश दिइरहेका छौँ,’ उनले भने।

शाहका अनुसार बजारमा एन्टिबायोटिक सजिलै उपलब्ध हुँदा दुरुपयोग रोक्न चुनौती छ। निर्देशनालयले नीति र कानुनी कडाइका लागि मन्त्रालयसँग सहकार्य गरिरहेको छ। ‘तर नियन्त्रणले मात्र होइन, चेतनाले पनि परिवर्तन ल्याउँछ,’ उनले जोड दिए।

कोशी प्रदेशमा एन्टिबायोटिक प्रतिरोधबारे जागरुकता फैलाउन स्वास्थ्य, पशु, शिक्षा र सञ्चार क्षेत्रको समन्वय आवश्यक रहेको शाहको भनाइ छ। ‘एन्टिबायोटिक बचाउनु भनेको भविष्यको स्वास्थ्य बचाउनु हो। किसान र उपभोक्ता दुवै जिम्मेवार बन्नुपर्छ,’ उनले सन्देश दिए।

विराटनगर महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक दिलीपकुमार यादव समुदायमा एन्टिबायोटिकको सही प्रयोगबारे बुझाइ कमजोर हुँदा दुरुपयोग बढेको बताउँछन्। उनले भने, ‘अब विद्यालय, महिला समूह र स्वास्थ्यकर्मीमार्फत सचेतना फैलाउनु आवश्यक छ, यसको जोखिम न्यूनीकरण गर्न कस्तो कार्यक्रम ल्याउन सकिन्छ भन्नेबारे हामी सोचिरहेका छौँ।’

एन्टिबायोटिकको बेथितिले स्वास्थ्य प्रणाली र भविष्यको पुस्तालाई जोखिममा पार्ने खतरा बढाएको छ। नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का भन्छन्, ‘एन्टिबायोटिक प्रतिरोध अब चिकित्सक र बिरामीको मात्र कुरा होइन, यो सम्पूर्ण समाजको साझा चुनौती हो।’

एन्टिबायोटिकको गलत प्रयोग रोक्न जनचेतना नै शक्तिशाली औषधि भएकाले यो अदृश्य महामारीको खतरा देखाउने र जनचेतना फैलाउने जिम्मेवारी मिडियाको पनि भएको उनले बताए। पत्रकारले तथ्य, मानवीय कथा र समाधानका कोणबाट समाचार लेखे समाजमा व्यवहार परिवर्तन ल्याउन सकिने भन्दै यो विषयमा शक्तिशाली रूपमा कलम चलाउनुपर्ने उनले बताए।

के भन्छ विश्व स्वास्थ्य संगठन?
विश्व स्वास्थ्य संगठनले एन्टिमाइक्रोबियल रेजिस्टेन्सलाई दश प्रमुख विश्वव्यापी जनस्वास्थ्य खतराको रूपमा राखेको छ। एन्टिबायोटिकले काम नगर्दा सन् २०३० सम्म थप २ करोड ४० लाख मानिस चरम गरिबीमा पुग्ने अध्ययनले देखाएको छ। यसले विश्व अर्थतन्त्रमा १०० खर्ब अमेरिकी डलरको भार पार्ने देखिएको भाइरोलोजिस्ट डा. सन्तोष दुलाल बताउँछन्। यसले सन् २०५० सम्म वार्षिक ३.८ प्रतिशत कूल गार्हस्थ्य उत्पादनमा असर गर्ने उनको भनाइ छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर एक वर्षमा करिब सात लाख मानिसको मृत्यु एन्टिमाइक्रोबियल रेजिस्टेन्सका कारण हुन्छ। यसले स्वास्थ्यका साथै आर्थिक क्षेत्रमा पनि प्रतिकूल प्रभाव पार्छ।

विश्व बैंकको सन् २०१७ को प्रतिवेदनअनुसार सन् २०३० सम्ममा एन्टिमाइक्रोबियल रेजिस्टेन्सले विश्वले वार्षिक ३.४ खर्बसम्म आर्थिक घाटा व्यहोर्नुपर्ने हुन सक्छ। यसले सन् २००८–९ को आर्थिक मन्दीभन्दा अप्ठ्यारो परिस्थिति निम्त्याउँछ। एन्टिमाइक्रोबियल रेजिस्टेन्सको फैलिँदो दर निम्न र मध्यम आय भएका देशमा उच्च छ, जसमा नेपाल पनि पर्छ।

हाल विश्वमा १३७ एन्टिबायोटिक औषधि संक्रमणको उपचारमा प्रयोग भइरहेका छन्। झन्डै ७० प्रतिशत औषधिमा एएमआर अर्थात् एन्टिबायोटिक माइक्रोबियल रेसिस्टेन्स देखिएको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाएको छ।

नेपालमा एन्टिमाइक्रोबियल रेजिस्टेन्सको अवस्था
पछिल्लो १६ वर्षदेखि ब्याक्टेरिया मार्ने नयाँ औषधिको खोज हुन सकेको छैन। त्यसअघि बनाइएका एन्टिबायोटिकलाई ब्याक्टेरियाले पचाउँदै गएका छन्, जसलाई एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) भनिन्छ। यही क्रम जारी रह्यो भने सन् २०५० मा एन्टिबायोटिकले काम नगरेर मृत्यु हुनेको सङ्ख्या प्रतिवर्ष एक करोड हुने विश्व स्वास्थ्य संगठनको अनुमान छ। यसलाई महामारीकै संज्ञा दिइएको छ। नेपालजस्ता विकासशील देश यसको चपेटामा बढी पर्ने देखिन्छ।

विश्वमा भएका मृत्युमध्ये १२ लाख २७ हजार मृत्यु एन्टिबायोटिकले काम नगरेर भएको छ। यसलाई चिकित्सकीय भाषामा एएमआर अर्थात् एन्टिबायोटिक रेसिस्टेन्स भनिएको छ। नेपालमा भने एन्टिबायोटिकको प्रभावकारिता र यसले गराएको मृत्युबारे कुनै अध्ययन भएको छैन।

नेपालमा एन्टिमाइक्रोबियल रेजिस्टेन्स बढ्दो जनस्वास्थ्य चुनौती बनेको छ। यसको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले विभिन्न नीति र कार्यान्वयन गरिरहेको छ। नेपालको संविधानले स्वास्थ्यलाई नागरिकको नैसर्गिक अधिकार बनाएको छ। सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नु सरकारको दायित्व हो।

राष्ट्रिय स्वास्थ्य नीति २०१९ ले एन्टिमाइक्रोबियल रेजिस्टेन्सलाई जनस्वास्थ्य चुनौतीका रूपमा व्याख्या गर्दै यसको रोकथाम र नियन्त्रणका लागि नेसनल एक्सन प्लानको आवश्यकता औँल्याएको छ। बनाइएका नीतिको कमजोर कार्यान्वयन, एन्टिमाइक्रोबियलको उचित प्रयोगबारे नीति–नियमको अभाव, स्वास्थ्य क्षेत्रको प्रणालीगत चुनौती, संरचनागत र सांस्कृतिक कारणले समुदायमा एन्टिमाइक्रोबियल रेजिस्टेन्सको चुनौती बढ्दो छ। जुनु भट्टराई/रासस

प्रकाशित: ८ कार्तिक २०८२ १०:३६ शनिबार





Source link

Leave a Comment