३० चैत, काठमाडौं । नेपाल पुलिस क्लबका रविन चन्द र उषा भण्डारी वर्षको उत्कृष्ट भलिबल खेलाडी घोषित भएका छन् ।
नेपाल भलिबल संघ (एनभीए) ले आयोजना गरेको चौथो एनभीए अवार्डमा रविन पुरुषतर्फ र उषा महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन् । पुलिसका क्लबका दुवैले समान ५० हजार र ट्रफी पाए ।
यस्तै नेपाल पुलिस महिला टिमका प्रशिक्षक रुपेश विष्टले महिला टिमको प्रशिक्षकतर्फको अवार्ड पाए भने पुरुषतर्फ गण्डकीका रमेश केसी उत्कृष्ट प्रशिक्षक घोषित भए । दुवैले ट्रफी र समान ५० हजार प्राप्त गरे ।
एपिएफका हेमन्त बहादुर मल्ल र न्युडायमण्डकी प्रगती नाथले उत्कृष्ट उदियमान खेलाडीको अवार्ड जिते । उनीहरुले पनि ट्रफीसहित नगद ५० हजार प्राप्त गरे ।
टिमतर्फ गण्डकी प्रदेशको पुरुष टिम र नेपाल पुलिस क्लबको महिला टिम उत्कृष्ट टिम घोषित भएको छ । उत्कृष्ट टिम घोषित भएका दुवैले समान २ लाख र ट्रफी प्राप्त गरे ।
अवार्ड समारोहमै नेपाली राष्ट्रिय पुरुष टिमका पूर्व कप्तान इम बहादुर मगरलाई पनि संघले नगद ५० हजारसहित सम्मान गरेको छ । नेपाली भलिबलमा पुर्याएको योगदानको कदर गर्दै संघले उनलाई सम्मान गरेको हो ।
सोही अवसरमा राष्ट्रिय वाणिज्य बैंकका पूर्व सिइओ किरण श्रेष्ठलाई पनि कदरपत्रसहित सम्मान गरिएको थियो । यसैगरी हाम्रो खेलकुद डटकमाप्रधान सम्पादक रहेका खेलपत्रकार प्रकाश तिमल्सिना पनि नगद ५० हजार रुपैयाँबाट सम्मानित भए ।
नेपाल भलिबल संघले वर्षभर उत्कृष्ट काम गर्ने विभिन्न क्लब, प्रदेश भलिबल संघ र जिल्ला भलिबल संघहरुलाई पनि सम्मान गरेको थियो ।
उत्कृष्ट अवार्ड प्राप्त गर्नेहरु
वर्ष खेलाडी पुरुष : रविन चन्द, नेपाल पुलिस क्लब
वर्ष खेलाडी महिला : उषा भण्डारी, नेपाल पुलिस क्लब
उदियमान खेलाडी पुरुष : हेमन्त बहादुर मल्ल, एपिएफ
उदियमान खेलाडी महिला : प्रगती नाथ, न्युडायमण्ड
उत्कृष्ट प्रशिक्षक पुरुष : रमेश केसी, गण्डकी प्रदेश
उत्कृष्ट प्रशिक्षक महिला : रुपेश विष्ट, नेपाल पुलिस क्लब
उत्कृष्ट टिम पुरुष : गण्डकी प्रदेश
उत्कृष्ट टिम महिला : नेपाल पुलिस क्लब
फोटो : विशाल पन्थ/राखेप