एनपीएल : यस्तो छ सुदूरपश्चिम र जनकपुरको फाइनल यात्रा

एनपीएल : यस्तो छ सुदूरपश्चिम र जनकपुरको फाइनल यात्रा


५ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल समीकरण पूरा भइसकेको छ । बिहीबार दोस्रो क्‍वालिफायर खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई हराएसँगै सुदूरपश्चिम रोयल्स र जनकपुरको बीचमा फाइनल भिडन्त पक्का भएको थियो ।

लिग चरणमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्सले पहिलो क्वालिफायर खेलेका थिए जहाँ सुदूरपश्चिम विजयी हुँदै सिधा फाइनलमा पुगेको थियो । त्यसैगरी चितवनविरुद्ध इलिमिनेटर जितेर आएको कर्णालीलाई त्यसपछि जनकपुरले दोस्रो क्‍वालिफायरमा हराएको हो ।

लिग चरणका सुरूवाती ४ खेलमा लगातार जित निकालेको जनकपुरले त्यसपछि एक खेल हार्दा एक खेल जितेर अन्तिम खेल हारेको थियो । त्यसैगरी सुदूरपश्चिमले सुरूवाती ३ खेल जितेपछि एक खेलमा पराजित भएको थियो । त्यसयता सुदूरले हार देखेको छैन ।

शनिबार हुने बहुप्रतिक्षित फाइनलअघि दुवै टोलीको लय कस्तो छ र सबैभन्दा महत्वपूर्ण खेलाडी कोको हुन सक्छन् चर्चा गरौं ।

सुदूरपश्चिम रोयल्स

लिग चरणका ७ मध्ये ६ खेलमा जित निकालेको सुदूरपश्चिमले पहिलो क्‍वालिफायरमा जनकपुरलाई नै हराएर फाइनलमा पुगेको हो । फाइनल पुग्ने यात्रामा सुदूरले जनकपुरलाई लिग चरण र प्लेअफ गरेर दुईपटक हराइसकेको छ ।

हालसम्म आइपुग्दा सुदूरको ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्ष राम्रो देखिएको छ । सुदूरपश्चिमका विदेशी खेलाडीहरूसँगै नेपालीहरूले पनि शानदार प्रदर्शन गरिरहेका छन् । विदेशी खेलाडीमा ब्रान्डन माकमुलेन र सेफ अली जैबले ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रदर्शन गर्दा स्कट कुग्लेइन र हर्मीत सिंहले बलिङमा लिड गरिरहेका छन् ।

त्यसैगरी नेपाली खेलाडीहरूको कुरा गर्दा कप्तान दीपेन्द्रसिंह ऐरी आफैं कप्तानका रूपमा अगाडिबाट लिड गरिरहेका छन् । उनले कप्तानीसँगै ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा राम्रो गर्दै आएका छन् । इशान पाण्डेले ब्याटिङ र बलिङ दुवैमा योगदान दिएका छन् । बलिङमा नरेन साउद, अविनाश बोहराले पनि राम्रो गरिरहेका छन् ।

सुदुरको ओपनिङमा विनोद भण्डारी र सेफ अली जैब राम्रो देखिएका छन् । दुवै मिलेर मध्यम सुरूवात दिलाएका छन् । विनोदको किपिङमा पनि राम्रो प्रेजेन्स अफ माइन्ड देखिएको छ । उनले केही महत्वपूर्ण रनआउट र स्टम्पिङ पनि गरेका छन् । सुदूरले फाइनलमा पनि यी दुवै जोडीलाई नै ओपनिङको जिम्मा दिने लगभग निश्चित छ ।

कप्तान दिपेन्द्रसिंह ऐरी आफैं पनि टिमका लागि महत्वपूर्ण साबित भइरहेका छन् । दिपेन्द्रले ७ खेलमा एक अर्धशतकसहित १९८ रन बनाएका छन् भने ५ विकेट पनि लिएका छन् । आरिफ शेखले पनि ठीकठाक ब्याटिङ गरिरहेका छन् ।

बलिङमा न्युजिल्याण्डका बलर स्कट कुग्लेइनले पूर्णरुपमा लिड गरिरहेका छन् । उनले हालसम्म ७ खेलमा १५ विकेट लिइसकेका छन् । सेफ जैबले ब्याटिङसँगै बलिङमा पनि योगदान दिएका छन् । उनले कुग्लेइनपछि सबैभन्दा धेरै ११ विकेट लिएका छन् । त्यस्तै नरेन साउदले ६ खेलमा ६ विकेट लिएका छन् । उनले काठमाण्डुविरूद्ध एकै खेलमा ५ विकेट पनि लिएका थिए । अविनाश बोहराले ७ खेलमा ६ विकेट लिएका छन् ।

यता हर्मीत सिंहको आगमनले टिममा बाँयाहाते बलिङ र पिन्च हिटिङमा सहयोग पुगेको छ । प्रतियोगिताको मध्यभागमा टिममा अनुबन्ध भएका हर्मीतले ३ खेल मात्र खेल्दा ८ विकेट लिइसकेका छन् । उनी राम्रो लयमा पनि देखिएका छन् ।

यसरी हेर्दा सुदूरपश्चिमको टिम सन्तुलित देखिएको छ । टप अर्डरदेखि मिडल अर्डर र लोअर अर्डरसम्मै म्याच विनिङ खेलाडीहरू रहेका छन् । उनको र स्कटको चार ओभर डेथ बलिङ खेलमा महत्वपूर्ण हुन सक्छ । बीचका ओभरहरूमा दिपेन्द्र र अन्य स्पीनरहरूले ब्याटरलाई दबाबमा राख्न सक्छन् ।

सुदूरका लागि चार महत्वपूर्ण खेलाडीहरूमा कप्तान दिपेन्द्रसिंह ऐरी, स्कट कुग्लेइन, विनोद भण्डारी सेफ अली जैब रहेका छन् ।

दिपेन्द्रले हालसम्म टिमका लागि सबैभन्दा धेरै २१८ रन बनाएका छन् भने ५ विकेट पनि लिएका छन् । त्यस्तै सेफ अली जैबले त्यसपछि सबैभन्दा धेरै २०६ रन बनाउँदा ११ विकेट पनि लिएका छन् । स्कट कुग्लेइनले ८ खेलमा १६ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । विनोद भण्डारीले एक अर्धशतकसहित १९४ रन बनाएका छन् । ओपनिङमा उनको भूमिका महत्वपूर्ण हुनेछ ।

जनकपुर बोल्ट्स

एनपीएल : यस्तो छ सुदूरपश्चिम र जनकपुरको फाइनल यात्रा

जनकपुरले लिगमा ७ मध्ये ५ खेल जितेर दोस्रो स्थानमा फिनिस गरेको थियो । सुरूवाती चार खेलमा लगातार जित निकालेको भएपनि त्यसपछि लय गुमाउँदा जनकपुरले सुदूरसँग लज्जास्पद हार व्यहोरेको थियो भने त्यसपछि एक खेल जित्दा फेरि अन्तिम खेलमा पराजित भएको थियो ।

पहिलो क्‍वालिफायरमा सुदूरपश्चिमसँगै पराजित भएको जनकपुरले अर्को मौकामा दोस्रो क्‍वालिफायर खेल जित्दै फाइनलमा फेरि सुदूरसँगकै भेट पक्का गरेको हो ।

सुरूवाती चार खेल हेर्दा जनकपुरको टप अर्डर ब्याटिङदेखि मिडल अर्डर र बलिङमा पनि सबैकुरा मिलेको देखिएको भएपनि त्यसपछिका प्रदर्शनले जनकपुरको ब्याटिङमा केही चिन्ता थपेको छ ।

नियमित कप्तान अनिल शाह चोटग्रस्त भएपछि प्लेअफका दुई खेलमा फरक-फरक ओपनिङ जोडीको प्रयोग भएपनि त्यति सफल भएको छैन । टप अर्डरबाट पछिल्लो समय राम्रो प्रदर्शन हुन नसक्दा जनकपुरको ब्याटिङ मिडल अर्डरमा त्यसमाथि पनि जिमी नीशममा निर्भर छ । नीशमले हालसम्म ८ खेलमा २४३ रन बनाएका छन् भने बलिङबाट पनि ६ विकेट लिएका छन् ।

कप्तान आसिफ शेख तथा सुरूवाती खेलमा चलेका लाहिरु मिलान्थाको ब्याटबाट निरन्तर रूपमा रन नबन्दा जनकपुरको टप अर्डर निकै फितलो देखिएको छ ।

बलिङमा ललित राजवंशीले शानदार गरिरहेका छन् । उनले ९ खेलमा १६ विकेट लिएका छन् र सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा सुदूरका स्कटसँगै शीर्षमा छन् ।

त्यस्तै हर्श थाकर र किशोर महतोले समान ११ विकेट लिएका छन् । मोहमद मोहसिनले ९ विकेट लिएका छन् । पार्ट टाइम बलर शेर मल्लले ७ खेलमा ७ विकेट लिएका छन् ।

यसरी हेर्दा जनकपुरको बलिङमा त्यस्तो समस्या देखिएको छैन । जे समस्या छ त्यो ब्याटिङमा नै देखिएको छ । टप अर्डरका तीनजना ब्याटरहरूले राम्रो सुरूवात दिलाउनुपर्ने हुन्छ । आसिफसँगै अर्का ओपनर आकाश वा मयनसँगै मिलान्थाले ब्याटिङमा राम्रो प्रदर्शन नगरेमा मिडल अर्डरलाई ठुलो दबाब पर्छ जुन कुरा जनकपुरका पछिल्ला खेलहरूमा प्रष्ट रूपमा देखिएको छ ।

जनकपुरका लागि चार महत्वपूर्ण खेलाडीहरूमा जिमी निशम, ललित राजवंशी, लाहिरु मिलान्था र किशोर महतो हुनेछन् ।

नीशमले हालसम्म ८ खेलमा २४३ रन बनाउनुका साथै ६ विकेट पनि लिएका छन् । त्यस्तै ललितले ९ खेलमा सर्वाधिक १६ विकेट लिएका छन् । उनले किफायती बलिङ पनि गरेका छन् । त्यस्तै मिलान्थाले ९ खेलमा २०६ रन बनाएका छन् जसमा एउटा ७५* को स्कोर पनि समावेश छ । जनकपुरले उपाधि जित्नका लागि टप अर्डरमा उनको ब्याट पनि चल्नुपर्ने हुन्छ । मुख्य पेस बलर किशोरले ९ खेलमा ११ विकेट लिएका छन् ।

प्रशिक्षक पुबुदु दासानायकेले पनि प्लेअफअघि ब्याटिङमा केही कमजोरी देखिएकाले सुधार्ने बताएका थिए । ‘टप अर्डरहरू पछिल्लो समयमा चलेका छैनन्, उनीहरू चल्न थालेपछि हामी पहिलेका खेलजस्तै लयमा आउनेछौं’ उनले भनेका थिए ।

कप्तानहरू के भन्छन् ?

फाइनलअघि शुक्रबार त्रिवि क्रिकेट मैदानमा सानो अन्तरक्रिया कार्यक्रम राखिएको थियो जहाँ दुई कप्तानहरू दिपेन्द्रसिंह ऐरी र आसिफ शेख सँगै उपस्थित थिए । दुवै टिमका कप्तानले आफूहरू शनिबारको फाइनल खेलका लागि तयार रहेको प्रतिक्रिया दिए ।

सुदूरका कप्तान दिपेन्द्रले लिग चरणमा दुईपटक हराएको भएपनि जनकपुरलाई हल्का रूपमा लिन नहुने बताएका थिए । ‘जनकपुरको टिम पनि राम्रो छ, टफ नै हुन्छ । हामी जुन प्लानिङ गर्दै खेलिरहेका छौं त्यसैगरी फाइनलको लागि पनि तयारी गरिरहेका छौं’ दिपेन्द्रले भने ।

जनकपुरका कप्तान आसिफले राम्रो क्रिकेट खेल्ने र सकेको बेस्ट प्रदर्शन गर्ने बताए । ‘हाम्रो पछिल्लो खेलहरूमा ब्याटिङमा अली समस्या देखिएको छ, त्यसलाई सुधार गरेर फाइनलमा चाहिँ राम्रो खेल्ने छौं’,आसिफले भने ।

एनपीएल : यस्तो छ सुदूरपश्चिम र जनकपुरको फाइनल यात्रा

‘पछिल्ला दुई खेलमा आफ्नो बेस्ट दिन सकेका छैनौं । आशा छ शनिबारको फाइनलमा हामी आफ्नो बेस्ट दिने कोसिस गर्ने छौं’, आसिफले थपे ।

विशेषगरी यी दुई टोलीबीचको खेलमा दर्शकहरूको पनि उल्लेख्य संख्यामा उपस्थिति हुने गरेको छ । मैदानमा दर्शकको यस्तो उपस्थिति हुनु समग्र नेपाली क्रिकेटकै लागि राम्रो भएको र यस्तो समर्थनले खेलाडीहरूलाई मोटिभेट गराउने दुवै कप्तानको साझा धारणा थियो ।

एनपीएलको फाइनल खेल शनिबार दिउँसो १२ बजेदेखि सुरू हुनेछ  ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School