एनपीएल उद्घाटन खेलको दुर्घटनाले गरेका संकेत


दर्शकको अभूतपूर्व लगाव र आकर्षणलाई चुस्त र भव्य व्यवस्थापकीय क्षमताले सम्बोधन गर्न नसक्दा अनपेक्षित र दुर्भाग्यपूर्ण नतिजा भोग्नुपर्ने संकेत उद्घाटन खेलको दुर्घटनाले संकेत गरेको छ ।

१६ मंसिर, काठमाडौं । सबैको व्यग्र प्रतिक्षाका बीच नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता शनिबारदेखि काठमाडौंमा सुरू भयो । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको नेपालकै पहिलो फ्रेन्चाइज क्रिकेट लिग सुरू भएपछि खेलाडीदेखि दर्शकसम्म सबै उत्साहित देखिन्थे । यस्तो लाग्थ्यो- कीर्तिपुरमा क्रिकेटको उत्सव चलिरहेको छ ।

नाम चलेका विदेशी खेलाडी ल्याउनेदेखि लिएर ‘होम अफ नेपाली क्रिकेट’ भनेर चिनिने त्रिवि क्रिकेट मैदान स्तरोन्नतिका काममा क्यानले राम्रो ध्यान दिएको देखियो ।

क्रिकेटप्रति नेपालीको लोभलाग्दो आकर्षणलाई पछ्याउँदै क्यान नेतृत्वले आयोजना गरेको एनपीएलको महत्व खेलमैदान र खेल आयोजकको हिसाबकिताबभन्दा बाहिर राजनीतिक, आर्थिक, सामाजिक-सांस्कृतिक रूपमै महत्वपूर्ण र बहुआयामिक छ । यसले खेल मैदानभन्दा बाहिर निस्किएर बहुआयामिक तरङ्ग नेपाली समाजमा पार्नेछ ।

उद्घाटन खेलअघिको पत्रकार सम्मेलनमा क्यान अध्यक्ष चतुरबहादुर चन्दले भने जस्तै ‘नेपाली क्रिकेटले नयाँ युगको सुरुवात गर्ने दिन’ बन्यो नोभेम्बर ३० ।

यी सबै कामका लागि क्यान नेतृत्व धन्यवादको पात्र छ । तर, दर्शकको अभूतपूर्व लगाव र आकर्षणलाई व्यवस्थापकीय चुस्तता र भव्यताले सम्बोधन गर्न नसक्दा अनपेक्षित र दुर्भाग्यपूर्ण नतिजा भोग्नुपर्ने संकेत उद्घाटन खेलमा देखिएको व्यवस्थापकीय त्रुटि र प्रहरी-दर्शक घाइते भएको खबरले संकेत गरेको छ ।

मैदानमा क्रिकेट समर्थकको क्रेजको उचाइलाई व्यवस्थापकीय शिल्पले सम्बोधन गर्नुपर्ने चुनौती क्यानका अगाडि देखिएको छ ।

मैदानभित्र मार्टिन गप्टिलले ब्याट चलाइरहँदा मैदानबाहिर दर्शकदीर्घामा भने प्रहरीको लाठी चल्दै थियो । केही व्यक्तिहरू गेटबाहिर भागिरहेका देखिन्थे भने अरू दर्शकहरू चिच्याइरहेका, कोही भित्रको खेल हेरेर त कोही बाहिरको खेल हेरेर ।

हुलमुलमा ८ जना घाइते

शनिबार एनपीएल हेर्न कीर्तिपुर रंगशाला पुगेका दर्शकहरू गेटबाट छिर्ने क्रममा धकेलाधकेल हुँदा सात जना घाइते भए । घाइते हुनेमा दर्शकदेखि प्रहरीसम्म छन् ।

गेटबाट छिर्ने क्रममा धकेलाधकेल भएपछि केही घाइते भएको र उनीहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पुर्‍याइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेले पनि सात जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए । उनका अनुसार वीर अस्पताल, टिचिङ अस्पताल लगायतमा घाइतेहरूको उपचार भइरहेको छ ।

शनिबार कीर्तिपुर मैदानमा खटिका ३८४ प्रहरी मध्ये घाइते २६ वर्षीय प्रहरी जवान अजय तामाङलाई कीर्तिपुर अस्पतालमा सामान्य उपचारपछि वीर अस्पताल हुँदै बाँसबारीस्थित न्युरो अस्पताल लगिएको छ ।

प्रतियोगिताको पहिलो दिन शनिबार बिदाका कारण यसै पनि धेरै दर्शक आउने अनुमान गर्न सकिन्थ्यो । पहिलो दिनको खेलको टिकटहरू पनि तीन दिनअघि नै ‘सोल्ड आउट’ भएको थियो ।

अनलाइनबाट टिकट काटेर कीर्तिपुर पुगेका धेरै दर्शकहरू मैदानभित्र प्रवेश गर्न पाइरहेका थिएनन् । कोही अनलाइनबाट टिकट काटिसकेपछि पनि टिकटको खोस्टो फेरि लिनुपर्ने कुराले असन्तुष्ट देखिन्थे । त्यसपछि सुरक्षार्थ खटिएका प्रहरीहरूले अब छिर्न नपाउने भनेर जानकारी गराएपछि टिकट लिएर बसिरहेकाहरू आक्रोशित बनेका थिए ।

केहीबेरमा त्यहाँ एक प्रकारको घम्साघम्सी देखियो । फ्यानहरू गेटको सुरक्षा घेरा तोडेर भित्र प्रवेश गर्न खोजेका थिए भने त्यहीबीचमा भीड नियन्त्रण गर्नका लागि प्रहरीले लाठीचार्ज गर्‍यो ।

मैदानभित्र मार्टिन गप्टिलले ब्याट चलाइरहँदा मैदानबाहिर दर्शकदीर्घामा भने प्रहरीको लाठी चल्दै थियो । केही व्यक्तिहरू गेटबाहिर भागिरहेका देखिन्थे भने अरू दर्शकहरू चिच्याइरहेका, कोही भित्रको खेल हेरेर त कोही बाहिरको खेल हेरेर ।

लाठीचार्जका क्रममा लाठीले कम र धकेलाधकेलले धेरै चेपिए । केही गम्भीरसहित ८ जना घाइते नै भए । उनीहरूको उपचार भइरहेको छ ।

घम्साघम्सिमा परी घाइते भएकाहरूको उद्धारमा नेपाल प्रहरी नै खटिएको तस्वीर प्रहरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्‍यो । त्रिवि मैदानको दक्षिणी भाग अर्थात् चोभार इन्ड क्षेत्रमा उक्त घटना घटेको थियो ।

केही फ्यानहरूले आफूले आफ्नै आँखाअगाडि देखेको कारुणिक दृश्यको बारेमा बोलिरहेका छन् ।

टिकट व्यवस्थापन कमजोर

सुरूवाती चरणमा टिकट काटेर ढुक्क भएर बसेका समर्थकहरू मैदानमा पुगेपछि भने बाहिरै बस्नुपर्ने भएपछि आक्रोशित बनेर नाराबाजी गर्न थाले । टिकट नभएकाहरूले मैदानमा प्रवेश पाएको र क्षमताभन्दा बढी टिकट बेचेको भन्दै केहीले टिकेटिङ पार्टनर खल्तीलाई गाली गरिरहेका थिए ।

खल्तीले भने रकम फिर्ता हुने सूचित गरिरहेको थियो । तर खेल हेर्न नपाएकोमा दर्शकहरू निराशसँगै आक्रोशित थिए । विदेशी खेलाडीको खेल हेर्न भनेर उत्साहित हुँदै टिकट काटेपछि पनि मैदानमै प्रवेश नपाउँदा आक्रोश पैदा हुनु त स्वाभाविक नै थियो ।

क्यानका सचिव पारस खड्काले खेलअघि शुक्रबार फेसबुकमा एक स्टाटस राख्दै टिकट नभएकाले घरमै बसेर हेर्न अनुरोध गरेका थिए । तर उनको स्टाटसमा लभ रियाक्ट गर्दै दर्शकहरू भने मैदानमै पुगे र एङ्ग्री रिएक्ट गर्नुपर्ने अवस्थामा पुगे ।

मैदानबाहिर पनि हजारौंको संख्यामा दर्शक उपस्थित थिए । यसरी विगतमा पनि दर्शक व्यवस्थापनमा चुक्ने गरेको क्यान यसपटक पनि चुकेको देखियो ।

एनपीएल उद्घाटन खेलको दुर्घटनाले गरेका संकेत
क्रिकेट हेर्न रुखमा चढेकाहरु

टिकट भएर पनि मैदान जान नपाएका केही समर्थकहरू मूल गेटमा पनि पुगेका थिए जहाँ पारस खड्का आफैं आएर दर्शकहरूसँग अनुरोध गरिरहेका थिए । ‘हामीले रिफन्ड गर्ने भनिसकेका छौं, प्लिज यहाँबाट हट्दिनुस् यहाँ मैडिकल टिम छ, के हामी तपाईंहरूलाई लाठीचार्ज गरौं ?’ उनी भन्दै थिए ।

त्यसैगरी मैदानबाहिरको अर्को भागमा पनि पारस पुगेर दर्शकहरूसँग कुरा गरिरहेका थिए । केही दर्शकहरू ४५ हजार क्षमता भएको र १२ हजार मात्र टिकट बेचिएको कुरा गरिरहेका थिए जसलाई पारसले सोझै नकारिरहेका थिए ।

उनले मैदानमा १२ हजार नै क्षमता रहेको बताइरहे । उनी शनिबार खेल हेर्न नपाएका दर्शकलाई अर्को खेलमा आउन अनुरोध गर्दै थिए ।

व्यवस्थापनमा फेल क्यान

परिस्थिति अनुसार बदलिएका निर्णयहरू सञ्चारमा प्रहरी र क्यान व्यवस्थापनबीच राम्रै खाडल देखियो । कम्तिमा अनलाइन टिकट भएकालाई मात्र मैदानबाहिरको टिकट चेकिङ हुने स्थानमा जान दिइएको भए दर्शकहरू घाइते हुनेगरी आपत आइलाग्ने थिएन । यो भद्रगोल व्यवस्थापनलाई क्यानले आजसम्म आउँदा पनि एउटा योजना बनाएर हल गर्न सकेको छैन ।

एनपीएल उद्घाटन खेलको दुर्घटनाले गरेका संकेत

नेपाली टोलीको खेल होस् वा कुनै अर्को महत्वपूर्ण खेल, नेपाली समर्थकहरू ज्यानको बाजी लगाएर मैदानसम्म पुग्न खोज्छन् । तर उनीहरूको व्यवस्थापनमा ध्यान नदिंदा केही अप्रत्याशित घटनाहरू हुने गरेका छन् जसको संकेतलाई राम्ररी पछ्याएर सम्बोधन गर्न नसके आउँदा दिनमा ठूलै जोखिम ननिम्तिएला भन्न सकिंदैन ।

खेल व्यवस्थापन गर्न नसक्दा चुक्ता गर्नुपर्ने मूल्य गम्भीर हुन्छ । यसको उदाहरण प्रस्तुत गर्न पृथ्वीको सुदूर भूगोलको उदाहरण खोजिराख्नुपर्दैन । २०४४ सालमा दशरथ रंगशालामा फुटबल चलिरहँदा हावाहुरी र असिनापानीपछि दर्शकहरूले भागदौड सुरु गरे । त्यतिबेला ९३ जनाको ज्यान गयो ।

सम्भावित प्राकृतिक विपद् र मानवसिर्जित दुर्घटनाहरू न्यूनीकरण गर्न तदनुरूप पूर्वाधार निर्माण र चुस्तदुरुस्त व्यवस्थापन सुनिश्चित गर्नुपर्छ ।

मैदान टाढाबाट खेललाई विभिन्न माध्यमबाट हेर्दा लामै मिहिनेत र स्पोन्सरहरूको साथले दर्शकहरूले मैदानको झिलिमिली देख्न पाएका छन् । तर मैदान बाहिर दर्शकले पाएको सास्ती र तितो भोगाइ न टिभीको स्क्रिनमा देखिन्छ न क्यान नेतृत्वले बुझ्छ ।

‘सोल्ड आउट’ भइसकेको भनिएको टिकट पनि मैदानमै बिक्री भइरहेको केही दर्शकहरूले प्रत्यक्ष देखेको आरोप लगाइरहेका छन् । यदि यस्तो हो भने यसको निष्पक्ष रूपमा छानबिन हुनुपर्दछ ।

साथै, टिकटहरू सबै बिक्री भइसकेको थाहा हुँदाहुँदै मैदान पुगेर जबरजस्ती केही मानिसहरू प्रवेश गर्न खोजेको कुरा पनि बाहिर आइरहेको छ । यहाँनेर दर्शकले पनि आफ्नो तरिका बदल्नुपर्ने देखिन्छ ।

क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे संघले भिड व्यवस्थापनमा काम गर्नुपर्ने बताउँछन् । ‘क्रिकेटमा क्राउड म्यानेजमेन्ट एकदमै महत्वपूर्ण कुरा हो । अब क्रिकेट संघले पनि यसमा ध्यान दिनुपर्छ भन्ने लाग्छ’ पाण्डेले भने, ‘यस्तो दर्शक आएको पहिलो पटक होइन । पहिले पनि भएको थियो र अब भविष्यमा पनि राम्रा खेलहरू हुँदा दर्शक धेरै आउँछन् । त्यसैले क्यानले विशेष ध्यान दिनुपर्छ ।’

दर्शक प्रवेश गर्ने मात्र नभई निस्कने पनि राम्रो व्यवस्थापन हुनुपर्ने पाण्डे सुझाउँछन् ।

क्यानले आउँदा दिनमा यस्ता समस्याहरूको हल खोजी नेपाली क्रिकेटलाई जीवन्त बनाइरहन भूमिका निर्वाह खेल्नुपर्छ । अन्यथा, सानातिना दुर्घटनाले गरेका संकेत बुझेर सम्बोधन गर्न नसक्दा क्रिकेटको प्रतिष्ठालाई नै छायाँमा पार्ने दुर्घटना भोग्नुपर्ने हुनसक्छ ।

एनपीएललाई यो उचाइमा पुर्‍याउने क्यानको उच्च नेतृत्वले व्यवस्थापनमा आफ्ना केही ‘आत्मकेन्द्रित शैली’ सच्याउनुपर्ने संकेत घटनाले प्रस्ट रूपमा गरेको छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School