विश्वभर एचआईभी एड्सविरुद्धको सचेतना अभियान (डिसेम्बर १ तारिख) चलिरहेको बेला अहिले हामीलाई दुईतीन कुराले सताइरहेको छ। पहिलो, सन् १९८८ देखि विश्वव्यापी समस्याको रूपमा देखापर्न थालेको एचआईभी एड्स अर्थात् ‘रोग प्रतिरोधात्मक क्षमताको ह्रास हुने घातक रोग’ विगत सैँतिस वर्षमा पनि पूर्ण नियन्त्रण हुन सकेको छैन।
दोस्रो, विगतमा यसको प्रकोप नियन्त्रणका लागि केही सफल प्रयासमा विकसित देशले उपलब्ध गराउने गरेको सहयोगको क्रम घट्न जाने वा बन्द हुने क्रम चलेसँगै विश्वका कम विकसित तथा विपन्न राष्ट्रहरूमा एक किसिमको भय र त्रास बढिरहेको छ।
संक्रमितहरूलाई उपलब्ध गराइने औषधि तथा सुईको मूल्य महँगो हुने हुँदा सोको आपूर्तिमा बाधा उत्पन्न हुन गई खासगरी तेस्रो विश्वका कमजोर राष्ट्रहरूमा एचआईभी एड्स नियन्त्रण तथा रोकथामका उपायहरू कम प्रभावी वा निरर्थक बन्दै जाने आशङ्का बढेको अवस्था छ।
पर्यटन र एचआईभी एड्स
यात्रा र सरुवा रोग अर्थात् पर्यटन र महामारीजन्य प्रकोपको नितान्त घनिष्ट सम्बन्ध हुन्छ। एक ठाउँका घातक रोग अर्को ठाउँमा सहजै सर्न सक्छ। एचआईभी एड्स त्यस्तै प्रकोप वा महाविपद् हो। यात्राबाटै अफ्रिकादेखि विश्वभर फैलिँदै गएको यो एचआईभी रोग वा यसका कारण हुन जाने अन्य ‘प्रतिकारात्मक शक्ति क्षय हुने रोग’ तथा विविध विमारले अहिलेसम्म विश्वमा झण्डै पाँच करोड व्यक्तिको ज्यान गएको छ।
त्यसैगरी एचआईभी एड्सपछिको अर्को विश्वव्यापी संकटजन्य ‘प्यान्डेमिक रोग’ अर्थात् कोरोना (कोभिड १९) ले पनि सन् २०१९ को डिसेम्बर महिनादेखि हालसम्म करिब ७१ लाख २० हजार मानिसलाई यो विश्वबाट लगिसकेको छ। छिटोछिटो फैलिएर विश्वका सबै मानिसमा त्रास बढाएको यो रोगलाई संक्रमण र विनाशका हिसाबले एचआईभी एड्सभन्दा पनि झनै खतरा मानियो। हामीले यसलाई महाघातक, महासंहारक आदिका संज्ञा पनि दिइयो। सन् २०१९ को डिसेम्बरदेखि चीनबाट तीव्र रूपमा फैलिन सुरु गरेको ‘कोभिड १९’ सन् २०२५ मा पनि विश्वका कतिपय ठाउँमा नयाँनयाँ ‘भेरियन्ट’ को रूपमा देखापरेबाट हामी अझ पनि कोरोनाजन्य महाविपत्बाट पूर्णतः सन्त्रासरहित हुन सकेका छैनौँ।
भयावहता
चाहे एचआईभी होस् वा कोरोना, मानिसमा छाला, रगत र सासका माध्यमबाट सर्ने समस्याले पर्यटनका लागि यी आपत्जन्य वा जोखिमजन्य कुरा हुन्। एक ठाउँको पर्यटक अर्को ठाउँमा जाँदा संक्रामक रोग लिएर जान्छ र त्यसबाट स्थानीय परिवेशमा रोग फैलिने त्रास हुन्छ भने त्यसले निश्चय नै पर्यटन विकासमा ठूलो अवरोध ल्याउँछ। कोभिडका बेला विश्वभर झण्डै ९५ प्रतिशत पर्यटकीय गतिविधि ठप्प हुन पुगे। पर्यटक आगमनमा पनि त्यही दरमा कटौती भयो। सन् २०२० र २०२१ मा विश्वको पर्यटन तहसनहस बन्न पुग्यो। नेपालको पर्यटनको हविगत पनि झनै दुरुह बन्न पुग्यो। सन् २०१९ मा करिब १२ लाख पर्यटक आगमन रहेकोमा सन् २०२० र २०२१ मा त्यो संख्या डेढ–दुई लाखको हाराहारीमा झर्नु भनेको नेपालका लागि अत्यन्त पीडादायी र नैराश्यको स्थिति थियो।
नेपालको पर्यटन विकासको प्रक्रिया र गतिमा त्यो ठूलो झट्का थियो, अनपेक्षित महासंकट नै थियो। सन् २०२२, २०२३ र २०२४ मा पर्यटनको लयलाई कम्तीमा पुरानै हालतमा पुर्याउने हाम्रा प्रयास भए पनि ती पूर्ण रूपमा सफल हुन सकेनन्। पर्यटनको ‘रिकभरी’ हुन अझै केही समय कुर्नुपर्ने भएको छ।
कोभिड १९ ले पारेको प्रभावलाई अहिलेसम्मकै अत्यन्त ठूलो प्रभाव मानिएको छ तर एचआईभी संक्रमणले कोभिडले जस्तो एकै पटक ध्वस्त नपारे पनि भित्रभित्र समाज खाइरहेको हुन्छ। पर्यटन समुदायलाई कमजोर र ग्लानियुक्त बनाइरहेको हुन्छ।
पछिल्ला तथ्यांकहरूले भनिरहेछन् विश्वमा एचआईभीको भयावहता घटेको छैन, भविष्यमा आइपर्न सक्ने चुनौतीको ढोका बन्द भएको छैन। नेपालमा मात्रै अहिले पनि करिब ३४ हजार एचआईभी संक्रमित हुनु, करिब आठ हजार संक्रमितले नियमित औषधि सेवन गरिहनुपर्ने अवस्था हुनु र विश्व आर्थिक संकट बढ्दै गए अनुसार वैदेशिक सहयोगको रकम घट्दै जानुले सरकारले मात्र यस्ता एचआईभी संक्रमितहरूलाई नियमित औषधिको प्रबन्ध गर्न सक्ला नसक्ला भन्ने द्विविधा र संशय कायमै छ।
त्यसै त हामी ऋणमा चुर्लुम्म डुबिरहेका छौं, अझ विरामी उपचारका लागि पनि वैदेशिक ऋण खोज्नुपर्ने अवस्था आयो भने हाम्रो हालत के होला? यस्तो स्थितिमा दिगो विकासको समग्र चक्रलाई प्रभाव त पर्छ नै त्यसमा पनि पर्यटनको चक्रमा थप दूरगामी असर पुग्छ।
पर्यटनको रूप र धूप बढ्दै गएपछि त्यसले यौनबजारलाई बढावा दिन्छ। नाफाखोरिताको चरम नमूना ‘यौन पर्यटन बजार’ हो। हरेक विकृति त्यहाँ भेट्न सकिन्छ। ‘समाजलाई बिगार्छ’ भन्ने कुरा मान्न यो समूह कहिल्यै तयार हुँदैन। यो एउटा तीतो सत्य हो। हामीलाई सुन्न मन नलागे पनि सुन्न बाध्य बनाउने यथार्थ हो।
विश्वका कतिपय देशले यस्तो यौनबजारलाई वैधता प्रदान गरेको भए पनि नेपालले हालसम्म वैधता दिएको छैन। यद्यपि केही नीतिनिर्माता तथा व्यवसायीहरू यसको पक्षमा छन् तर जनमानस र स्थानीय समुदायले भने यस्तो प्रस्तावको खरो विरोध गरिरहेका छन्।
पाँच प्रतिशतको लाभका लागि पञ्चानब्बे प्रतिशत जनताको अहित कसैले भित्र्याउनु हुँदैन। बहस हुँदैछ, भविष्यमा वैधता पाउला नपाउला तैपनि नेपालमा अवैध रूपमा यस्ता यौनधन्दा भइरहेको कसैसामु छिपेको छैन। लुकेको सत्यबारे धेरै पत्रकार तथा साहित्यकारहरूले उजागर गर्दै आएका छन्।
विश्व अनुभव र अबको सचेतता
विश्वको अनुभवले भन्छ, महिला, पुरुष, तेस्रो लिंगी, फरक यौन चाहना भएका व्यक्ति आदि सबै खालका मानिसहरू रुचि वा अरुचिपूर्वक पनि यस्तो बजारमा तानिने गरेका छन्। यसमा बढी आर्थिक लाभ हुन्छ भन्ने भनाइ छ तर पीडित तथा संक्रमितहरू यो धर्तीबाट छिट्टै माथि लाग्छन् भन्ने कुरा लोभीपापीले बुझेका हुँदैनन्। ‘पैसैपैसा …’ भन्ने मदनकृष्ण श्रेष्ठको गीतजस्तै त्यो जमातले पैसाभन्दा यो दुनियाँमा अर्को महत्त्वपूर्ण कुरा छ भन्ने कुरा ख्यालै गर्दैन। यौन व्यवसाय चलाएर रातारात ‘कार चढ्न आतुर’ त्यस्तो जमातलाई अब छुटकारा दिनु हुँदैन। नवपुस्ता (जेनजी) ले पनि यस सवालमा एउटा आँखा लगाउनुपर्ने बेला भएको छ।
सबैले बुझ्नुपर्छ, बहुव्यक्तिसँग यौनसम्बन्ध कायम हुनु भनेको यौनजन्य रोगको सहज आमन्त्रण हुनु हो। यौनजन्य रोगमा एचआईभी एड्स सबैभन्दा घातक रोग भएकाले एक जनामा सर्नेबित्तिकै त्यस्तो रोग केही दिन वा महिनामा हजारौँमा सर्न सक्छ।
पर्यटनको केन्द्र वा गन्तव्यमा यस खालको नकारात्मक खबर आयो भने त्यो ठाउँ सदाका लागि पर्यटनबाट वञ्चित हुन सक्छ। टिकाउ पर्यटन अर्थात् दिगो पर्यटन व्यवस्थापनमा त्यो सन्दर्भ महाचुनौतीको रूपमा देखापर्दछ। थाइल्याण्डजस्ता देशले पनि यस मामिलामा पछिल्लो समय केही सचेतता देखाउन थालेका छन्। पुँजीवादी र भौतिक संसारमा लिप्त प्रवृत्ति र संस्कारले यौन उपभोगवादलाई ‘किन्ने बेच्ने वस्तु’ र ‘किन्ने बेच्ने सेवा’ ठान्ने प्रवृत्ति नहटेसम्म पर्यटन जगतबाट प्रत्यक्ष होस् वा अप्रत्यक्ष, यस्तो यौनव्यापार हटाउन कठिन छ। कतिपयले यसै माध्यमलाई पर्यटनको ‘दिगो स्रोत’ पनि ठान्न सक्छन्। त्यो क्षणिक हो।
तसर्थ हामीले आजैदेखि सोच्नुपर्छ बुद्धको देश, सीताको देश, भृकुटीको देश, सगरमाथाको देश हाम्रो महागौरवमय नेपालमा त्यस खालको पर्यटनले बढावा पाउनु हुँदैन। यहाँको प्रकृति, यहाँको संस्कृति, यहाँको इतिहास र यहाँका हजारौं रैथाने खानापिना र नाना–गाना–बजानाले विश्वका जुनसुकै कुनाका पर्यटकलाई दुई हप्ता बसाउन काफी छन्। केही विन्दु र कुनामा चलाउन आँटिने यौनकर्ममय पर्यटन हाम्रो चाहना र नीतिगत प्राथमिकता कहिल्यै पनि हुनु हुँदैन।
एड्सले ग्रस्त नेपाल हाम्रो चाहना होइन, यौनकर्मीको प्रदूषित भूमि नेपाल बनाउनु पनि छैन। चाहे सहर होस्, चाहे गाउँ होस्, व्यावसायिक यौनकर्म हुने ठाउँमा सरकार र स्थानीय समुदायले कडा निगरानी राख्नुपर्ने आवश्यकता छ। विश्वभर एड्सविरुद्धको सचेतना दिवस मनाइरहेको बेला आजको मूल सन्देश पनि यही हो। हामी सबैलाई चेतना भया।
( डा. कणेल दिगो पर्यटन विकासविज्ञ हुन् र भियतनाममा समेत अन्तर्राष्ट्रिय परामर्शदाताको रूपमा समुदायमुखी पर्यटनमा काम गरिसकेका छन्।)
प्रकाशित: १५ मंसिर २०८२ १२:०० सोमबार
