प्रकाशित मिति : जेष्ठ ९, २०८२ बिहीबार
युद्धले ध्वस्त भएको गाजामा ४ सन्तानका पिता महमूद अल-हव र अन्य प्यालेस्टिनीहरू हरेक दिन सूप किचन वरिपरि भिड गर्छन् ।
खाद्य सामग्रीको खोजीमा हतासले भाँडाहरू हल्लाउँदै भौतारिन्छन् । साना बालबालिकाहरू अगाडि ठेलमठेलमा परेर आँसुमा छन्, कतिपयले प्लास्टिकको बेसिन समातेर सूपको आशा गर्छन्। ३९ वर्षीय हवले आफ्ना बच्चाहरू भोकै मर्ने डरले हरेक दिन ६ घण्टासम्म भिडमा पर्खेर परिवारलाई खुवाउन मुश्किलले पर्याप्त खाना जुटाउँछन्।
‘मेरी छोरी बिरामी छ, म उनलाई केही दिन सक्दिन। रोटी छैन, केही छैन’, हवले भने- ‘म बिहान आठ बजेदेखि यहाँ छु, केवल ६ जनालाई एक प्लेट खाना लिन, तर यो एक जनालाई पनि पर्याप्त छैन।’
इजरायलले मार्चदेखि गाजामा चिकित्सा, खाद्य र इन्धन आपूर्ति रोकेपछि २ दशमलव ३ मिलियन प्यालेस्टिनीहरूको घर रहेको यो क्षेत्रमा भोकमरीको खतरा बढेको छ। अन्तर्राष्ट्रिय दबाबपछि सोमबार केही ट्रकहरूलाई गाजा प्रवेश गर्न अनुमति दिइए पनि मंगलबार रातसम्म संयुक्त राष्ट्रसंघले कुनै सहायता वितरण नभएको जनाएको छ।
यसैबीच, गाजामा युद्ध तीव्र भएको छ। गत हप्ता इजरायली सेनाले हमासविरुद्ध ठूलो सैन्य अपरेशन सुरु गरेको घोषणा गरेको थियो। स्वास्थ्यकर्मीहरूका अनुसार विगत आठ दिनमा इजरायली हमलामा ५०० भन्दा बढी मानिस मारिएका छन्। इजरायलको यो अभियानले विश्व समुदायसँगको सम्बन्धमा तनाव ल्याएको छ। फ्रान्स, जर्मनी र बेलायतजस्ता युरोपेली देशहरूले गाजाको अवस्था असहनीय भएको बताएका छन्, भने संयुक्त राज्य अमेरिकाको समर्थन पनि कमजोर देखिन्छ।
इजरायलले गाजामा भोकमरीको संकट नरहेको दाबी गर्दै आफ्नो नाकाबन्दी हमास उग्रवादीहरूलाई सहायता हडप्नबाट रोक्ने उद्देश्यले गरिएको बताएको छ। तर हमासले यस्तो आरोप अस्वीकार गर्दै इजरायलले भोकमरीलाई सैन्य रणनीतिका रूपमा प्रयोग गरेको आरोप लगाएको छ।
हवजस्ता गाजावासीहरू, जो अक्टोबर ७, २०२३ मा हमासको आक्रमणले सुरु भएको २० महिनादेखिको युद्धको केन्द्रमा छन्, यो बहसमा कुनै आवाज राख्न सकिरहेका छैनन्। उक्त आक्रमणमा १,२०० मानिस मारिए र २५१ जना बन्धक बनाइएका थिए। इजरायलको सैन्य अभियानले ५३,००० भन्दा बढीको ज्यान लिएको प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरू बताउँछन्।
हवको परिवारले युद्धअघि नै संघर्ष गरिरहेको थियो। उनकी भतिजी ह्वीलचेयर प्रयोग गर्छिन् र उनकी छोरीलाई मुटुको रोग र दम छ। हरेक दिन उनी सूप लिएर एक कोठाको अपार्टमेन्टमा फर्किन्छन्, जहाँ उनका बच्चाहरू म्याट्रेसमा बसेर पर्खिरहेका हुन्छन्। ‘यो हाम्रो बिहान, दिउँसो र रातको खाना हो’, उनले भने- ‘हाम्रा बच्चाहरू बिस्तारै मरिरहेका छन्।’