News Summary
Generated by OK AI. Editorially reviewed.
- नेकपाका उम्मेदवार गिरिराजमणि पोखरेलले महोत्तरी–१ मा सामूहिक जीवनशैलीको आधारशिला बस्ती स्थापना गरेको बताउनुभयो।
- आधारशिला बस्तीमा पाँच परिवारले सामूहिक जीवनशैली अभ्यास गर्दै सामाजिक–सांस्कृतिक रूपान्तरणमा जोड दिएको उहाँले उल्लेख गर्नुभयो।
- पोखरेलले चुनावमा मतदातालाई ‘जनता–सांसद संवाद कार्यक्रम’ मार्फत स्थानीय समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
चुनावी अभियान चलिरहेको छ। यसै क्रममा उम्मेदवारहरूले विगतमा आफूले गरेका कामहरूको सूची बाँडेर भोट मागिरहेका छन्। महोत्तरी–१ का नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार गिरिराजमणि पोखरेलले भने आफ्नो भोट माग्ने एउटा आधार सामूहिक जीवनपद्धतिलाई पनि बनाएका छन्।
यो क्षेत्रबाट निरन्तर चुनाव जित्दै आएका उनले बर्दिवासमा ‘आधारशिला’ नामक एउटा सामूहिक बस्ती खडा गरेका छन्। यही बस्तीमा पुगेर अनलाइनखबरकर्मी दुर्गा खनालले नेता पोखरेलसँग गरेको चुनावी संवादः
खासमा यो आधारशिलाको अवधारणा के हो ?
५० को दशकमा नेपालमा द्वन्द्व निकै चर्किएको थियो। एकातिर राजतन्त्र र राज्यको दमन थियो भने अर्कोतर्फ जनयुद्ध तीव्र गतिमा अगाडि बढिरहेको थियो। त्यतिबेला हामी कमरेड नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ को वरिपरि तत्कालीन एकता केन्द्र र पछि एकता केन्द्र मसाल हुँदै साङ्गठनिक विकासमा थियौँ।
त्यो समयमा सहिदका बालबालिका र पूर्णकालीन राजनीतिमा होमिएका नेता-कार्यकर्ताका छोराछोरीको व्यवस्थापन गर्ने ठूलो जिम्मेवारी हाम्रो काँधमा आयो। उनीहरूको भविष्यलाई लिएर कसरी अगाडि बढ्ने भन्नेमा हामीले एउटा नयाँ सोच बनायौँ।
त्यसबेला हाम्रो एउटा ठूलो बहस थियो- विश्वमा समाजवादी आन्दोलनले किन हार खायो? प्रतिक्रान्तिका शिक्षाहरूलाई हेर्दा वस्तुगत र आत्मगत दुई खाले समस्या देखिए। विशेषगरी आत्मगत कोणबाट (नेतृत्व र जीवनशैलीको हिसाबले) हामीले नयाँ ढङ्गले सोच्नुपर्छ भन्ने निष्कर्ष निकाल्यौँ।
सुरुमा हामीले सिरहाको गोलबजारमा १८ जना बालबालिकालाई राखेर यो अभियान सुरु गरेका थियौँ। दुई वर्ष त्यहाँ बसेपछि हामीलाई के महसुस भयो भने, केटाकेटीको व्यवस्थापनका लागि ‘होस्टेल’ मोडेल मात्र पर्याप्त हुँदैन।
त्यसपछि हामीले सामाजिक–सांस्कृतिक रूपान्तरणका लागि ‘आधारशिला’ स्थापना गर्यौँ। अहिले नै पूर्ण ‘कम्युन’ बनाउन नसके पनि ‘कम्युनउन्मुख’ सामूहिक जीवनशैलीको अभ्यासस्वरूप यो बस्ती निर्माण गरेका हौँ।
यहाँ विभिन्न परिवारहरू बसिरहनुभएको देखिन्छ। अहिले यहाँ कति परिवार हुनुहुन्छ? यो प्रणाली तपाईंहरूको सैद्धान्तिक कम्युनिस्ट ‘कम्युन’ नै हो कि अर्कै केही हो?
यो कम्युनउन्मुखतामै आधारित भएर सुरु भएको हो। सुरुका दुई वर्षको अभ्यासपछि हामीले आफ्ना पैतृक सम्पत्ति पनि एकै ठाउँमा जम्मा गर्ने र निजी सम्पत्तिको मोह (ग्रन्थि) बाट माथि उठ्ने निर्णय गर्यौँ। सामाजिक–सांस्कृतिक रूपान्तरणसँग जोडेर परिवारलाई लैजाने र ती परिवारले कम्युनिस्ट आन्दोलनलाई सहयोग गर्नुपर्छ भन्ने भावका साथ यसको सुरुवात भयो।
स्थापनाकालमा हामी पाँच परिवार थियौँ। पाँच वर्षजति सिरहाको गोलबजारमा बस्यौँ र पछि यहाँ (बर्दिबास) जग्गा प्राप्त गरेर आवासीय रूपमा बस्न थाल्यौँ। यो बिल्डिङमा हामी सबैका लागि एक–एकवटा कोठा छन्। उदाहरणका लागि, उता देखिने कोठा वर्तमान अध्यक्ष दीपबहादुर योञ्जनको हो। म यसको संस्थापक अध्यक्ष थिएँ।
यहाँ पाहुनाहरूका लागि बस्ने कोठाहरू पनि छन्। यो आधारशिलाभित्र एउटा पुस्तकालय छ भने माथिल्लो तलामा ध्यान गर्ने र कार्यक्रमहरू सञ्चालन गर्ने हल छ। हामीले किसान नेता जयगोविन्द शाह (जसको निर्वासनमै मृत्यु भयो र पार्थिव शरीरसमेत ल्याउन पाइएन) को नाममा ‘जयगोविन्द शाह अध्ययन केन्द्र’ खोलेर विभिन्न गतिविधि गरिरहेका छौँ।
यतापट्टिको भवनचाहिँ स्कुल हो। हाम्रा केटाकेटीहरूलाई हामीले सार्वजनिक विद्यालयमै पढायौँ र खुसीको कुरा, यो विद्यालय अहिले नेपालका १० उत्कृष्ट सामुदायिक विद्यालयभित्र पर्छ।
अहिलेको समाज त एकदमै व्यक्तिवादी भइसकेको छ नि! एउटै परिवारभित्रका सदस्यहरू त मिलेर बस्न नसकेर विग्रह आइरहेको अवस्था छ। यस्तो बेला तपाईंहरूले गर्न खोज्नुभएको यो सामूहिकताको अभ्यास कत्तिको दिगो होला? के यो मोडल अहिलेको समयमा चल्न सक्ने खालको छ र?
पहिलो कुरा त, राजनीति र समाजमा अगाडि बढेका नेताहरूको जीवनशैलीले नै सबै कुरा बोल्नुपर्छ। म विद्यार्थी छँदाको एउटा प्रसङ्ग सम्झन्छु- म्याक्सिम गोर्कीले आफ्नो कथा लेखेर लियो टल्सटायलाई देखाउन जानुभयो। टल्सटायले भन्नुभयो, ‘मैले तिम्रो कथा पढेँ, तर मलाई तिम्रो कथाभन्दा तिम्रो जिन्दगी बढी मन पर्यो।’ म पनि यही दर्शनबाट प्रभावित छु। आम जनतासँग एकाकार भएर अगाडि बढ्ने एउटा क्रान्तिकारी र वैकल्पिक जनमुखी जीवनशैली सम्भव छ भन्ने विश्वासका साथ हामीले यो अभियान सुरु गरेका हौँ।
तपाईंले ठीक विषय उठाउनुभयो- आजको समाज निकै व्यक्तिवादी र स्वार्थी हुँदै गएको छ। हामी भने त्यही समाजभित्र सामूहिकतामा जीवन खोजिरहेका छौँ। हामीले ‘आधारशिला’ का विभिन्न परिषद्हरूमा एउटा गम्भीर छलफल गरेका थियौँ- ‘सामूहिकता र वैयक्तिक स्वतन्त्रताको मिलान कसरी गर्ने?’ यो निकै महत्त्वपूर्ण विषय हो।
अहिलेको उत्पादनको ढाँचा र सामाजिक संरचनाले व्यक्तिलाई स्वार्थी बनाइरहेको छ, तर विडम्बना! धार्मिक क्षेत्रमा भने अहिले पनि सामूहिक संस्थाहरूले काम गरिरहेको देखिन्छ। त्यसैले, यदि तपाईं समाजवादी वा साम्यवादी हो भने पुँजीवादले ल्याएका स्रोतसाधनको न्यायोचित वितरणका लागि यस्ता सामूहिक अभ्यासको विकल्प नै छैन। हामीले आफ्नो चेतना, जीवनशैली र कामद्वारा यो कुरा स्थापित गर्नुपर्छ।
तपाईंले अलि सैद्धान्तिक कुरा गर्नुभयो। एकातिर समाज पुँजीवादी बन्दै गएको भन्नुहुन्छ, अर्कोतिर यहाँ समाजवादी अभ्यास गरिरहेको दाबी गर्नुहुन्छ। तर, के तपाईं र तपाईंका पार्टीका नेताहरूको जीवनशैली यो सामूहिकतासँग मेल खान्छ? तपाईंको पार्टी कतिपय अवस्थामा त झन् बढी पुँजीवादी हुँदै गएको देखिन्छ नि?
पुँजीवादका पनि आफ्नै प्रगतिशील पक्षहरू त होलान्, तर अहिले विश्वव्यापी रूपमा र नेपालमा जुन शैलीको पुँजीवादको अभ्यास भइरहेको छ, मैले त्यसको विकृत पक्षको कुरा गरेको हुँ।
थोरै यसैमा थपूँ- प्रगतिशील पुँजीवाद मात्रै सही ढङ्गले लागू गर्न सके पनि त्यो समाजका लागि निकै उपयुक्त हुन्थ्यो। हामीले यो अभियान सुरु गर्दा जनयुद्ध चलिरहेको थियो र त्यसबेला ठाउँ–ठाउँमा कम्युनहरू बनिरहेका थिए। तर, हामीले कसैको देखासिकीमा यो गरेका होइनौँ। हामीले त आफ्नै आन्तरिक जीवनको आवश्यकता र चेतनाका कारण यो सुरु गरेका हौँ।
अहिले धेरैजसो त्यस्ता अभ्यासहरू विघटन भइसकेका छन्, तर हामी जेनतेन टिकिरहेका छौँ। अरू नेताहरू कहाँ पुगे भन्ने कोणबाट म यसलाई हेर्दिनँ, बरु हाम्रो आदर्श र सपना के थियो भन्ने कुरा महत्त्वपूर्ण हो। यसको एउटा शिक्षात्मक महत्त्व छ।
पछिल्लो समय मैले नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू- झलनाथजी, माधवजी र प्रचण्डजीलाई पनि यहाँ निमन्त्रणा गरेँ, उहाँहरू आउनुभयो। यदि पार्टीको दस्तावेज र व्यवहारबीचको खाडल पुर्ने हो भने, यस्तै खालका संस्था र जीवनपद्धतिको वरिपरि गोलबन्द हुनुको विकल्प छैन जस्तो मलाई लाग्छ।
सैद्धान्तिक रूपमा हामी अहिले लोकतान्त्रिक शासन व्यवस्थामा छौँ, जसले व्यक्तिगत स्वतन्त्रतालाई सर्वोपरी मान्छ। तपाईंहरूले सामूहिकताको कुरा गरिरहँदा यहाँ हुर्किँदै गरेका सन्तति वा सदस्यहरूको व्यक्तिगत स्वतन्त्रतामा यसले असर पार्दैन?
पहिलो कुरा त, ‘स्वतन्त्रता’ भनेको के हो भन्ने कुरा हामीले सही ढङ्गले बुझ्नु र बुझाउनुपर्छ। स्वतन्त्रताको नाममा अचेल स्वच्छन्दता र अराजकता पनि बढ्दो छ। तर, यदि हामीले आफ्ना आवश्यकताहरूलाई सही ढङ्गले पहिचान गरेर त्यसको परिधिभित्र रहेर अगाडि बढ्नु नै स्वतन्त्रता हो भन्ने बुझ्यौँ भने, यसलाई निकै व्यवस्थित रूपमा अगाडि लैजान सकिन्छ।
मैले अघि पनि भनिसकेँ, यो केवल सैद्धान्तिक कुरा मात्र होइन। सामूहिकता र वैयक्तिक स्वतन्त्रताबीच सही सन्तुलन मिलाउन सकिएन भने यस्ता संस्थाहरू टिक्न सक्दैनन्। यहाँ प्रतिभाहरू हुन्छन् र उनीहरूको विकासको अवसर हामीले दिनुपर्छ। फेरि, हामी जसरी हिँड्यौँ, हाम्रा सन्तानहरू पनि ठ्याक्कै त्यही दिशामा जान्छन् भन्ने छैन। तर हाम्रो जोड के रहन्छ भने उनीहरूको वैयक्तिक स्वतन्त्रतालाई सामूहिकताले सुनिश्चित गर्नुपर्छ। यो हाम्रो मात्र होइन, यदि हामी समाजवाद वा साम्यवादतिर जान चाहन्छौँ भने राज्य र परिवार दुवैले यसलाई गम्भीरतापूर्वक लिन जरुरी छ।
महोत्तरीमा तपाईंले यस्तो सामूहिक अभ्यास गरिरहनुभएको छ, उता पश्चिमतिर विप्लवजीहरूले पनि यस्तै अभ्यास गर्दै आउनुभएको छ। तर यस्तो अभ्यासमा लाग्नेहरू राजनीतिक रूपमा चाहिँ खुम्चिँदै गएको देखिन्छ। तपाईंहरूको यो ‘मोडल’ नै ठीक छैन कि ?
म यसको शिक्षात्मक महत्त्व देख्छु। यदि सबै नेतृत्वले आफ्नो वरिपरि यस्तो काम सुरु गर्ने हो भने त्यसले एउटा समग्र प्रणाली विकास गर्छ।
हामीले एउटै भान्सामा खाना खान थालेको २४ वर्ष भयो। मानिसहरूलाई लाग्न सक्छ- सबैको स्वाद फरक हुन्छ, इच्छा फरक हुन्छ, यिनीहरूले कसरी मिलाउँछन् होला? तर सिर्जनात्मक ढङ्गले लाग्ने हो भने यो सम्भव छ।
एकपटक प्रदीप गिरिजीले पनि एउटा आश्रम बनाउनुभएको थियो, म लहान पुगेको थिएँ। उहाँको पनि यहाँ आउने सोच र केही प्रस्तावहरू थिए। यसरी फरक–फरक ढङ्गले प्रयोग गर्दै जाँदा समाजलाई एउटा बाटो पनि देखिन्छ। जहाँसम्म राजनीतिमा खुम्चिने वा फैलने कुरा छ, त्यो अरू धेरै कुरामा निर्भर गर्छ।
अहिलेको नेपाली समाजको विकास र विशेषगरी डिजिटल पुस्ताको शक्तिशाली उपस्थितिपछि यस्ता सङ्घसंस्थाहरूलाई कसरी अगाडि बढाउने भन्ने चुनौती छ। अब हामीले यसलाई प्रविधिमैत्री बनाउँदै उनीहरूको विकासको प्रक्रियासँग जोड्न सक्नुपर्छ। अहिले सङ्ख्यात्मक रूपमा सानो समूहले मात्र यस्तो अभ्यास गरेकाले राजनीतिमा यो त्यति प्रभावशाली हुन सकेको छैन।
अहिले चुनावी अभियान चलिरहेको छ र तपाईं पनि प्रचारप्रसारमै हुनुहुन्छ। यो चुनावमा भोट माग्न जाँदा मतदाता र नेताहरूको ‘मुड’ कस्तो पाउनुभयो?
आवधिक निर्वाचनको समयतालिकाअनुसार यो चुनाव २०८४ मा हुनुपर्ने थियो। तर, विशेष परिस्थितिका कारण अहिले नै गर्नुपर्यो। त्यसैले यो सामान्य चुनाव होइन। मतदातालाई ‘किन २०८२ मै चुनाव आयो?’ भनेर बुझाउनुपरेको छ, जुन त्यति सहज छैन। नेपाली राजनीति जुन विशिष्ट र जटिल मोडमा पुगेको छ, त्यसकै परिणाम यो निर्वाचन हो।
मैले के देख्छु भने, बौद्धिक वर्गमा एक खालको बुझाइ त छ, तर आम मतदातामा यो प्रतिनिधिसभाको चुनाव हो र यसको मुख्य काम ऐन–कानुन बनाउने हो भन्ने तहको बुझाइ अझै पुग्न सकेको छैन।
जेनजी आन्दोलन र त्यसपछिको राजनीतिक हलचलकै बीचमा यो चुनाव हुन लागेको हो। यो आन्दोलन र यसले सिर्जना गरेका बहसहरूलाई कसरी हेर्नुहुन्छ? चुनावमा ‘पुराना र नयाँ’ दलहरूबीच जुन ठूलो बहस छ, यसलाई तपाईंले कुन रूपमा लिनुभएको छ?
‘नयाँ र पुरानो’ भनेर जुन ढङ्गले वर्गीकरण गरिएको छ, त्यो मलाई ठीक लाग्दैन। वास्तवमा नयाँ वा पुरानो भन्ने कुरा व्यक्तिको उमेरले होइन, उसको विचार, दृष्टिकोण, कार्यक्रम, जीवनशैली र आचरणका आधारमा निर्धारण हुने कुरा हो। मुख्य कुरा नयाँ–पुरानोभन्दा पनि नेपाली समाजको आजको आवश्यकता के हो र त्यसलाई कसरी सही ढङ्गले सम्बोधन गर्ने भन्ने हो।
यो चुनाव किन जरुरी भयो भनेर मैले मतदातालाई कुरा बुझाउने कोसिस गरिरहेको छु । पहिलो, अहिले देश निकै अप्ठ्यारो मोडमा छ। हाम्रो संविधान र लोकतान्त्रिक प्रणाली दुवै कताकता ‘घाइते’ जस्तो भएका छन्। संविधानलाई सही ठाउँमा ल्याउन र प्रणालीको रक्षा गर्न यो चुनाव अपरिहार्य छ। दोस्रो, संविधान बनेको एक दशक भयो र तीन तहका सरकारले काम गरेको पनि आठ वर्ष भइसक्यो। हामी आठ वर्षको यो अनुभवसहित चुनावमा छौँ।
अहिले तपाईंहरूको पार्टी कुन अवस्थामा छ? धेरै साना समूहहरूलाई समेटेर ‘नेपाल कम्युनिस्ट पार्टी’ भनी नयाँ नाम पनि राख्नुभएको छ। २२–२३ वटा समूह पुगिसके भनिन्छ। यस्तो अवस्थामा एउटा दल र व्यक्तिगत रूपमा तपाईं स्वयम् उम्मेदवार हुँदा भोट माग्ने मुख्य आधार के हो?
अहिले चुनावी मैदानमा जाँदा मतदाताका भावना र समस्याहरू निकै आधारभूत छन्। कतै बिजुलीका दुईवटा पोल गाडिएका छैनन्, कतै सानो पहिरो जाँदा पनि कोही पुगेको छैन। दलित बस्तीका ३०० घरमा सार्वजनिक धारा र शौचालयको अभाव छ।

अहिले हामी जहाँ बसिरहेका छौँ, यो अव्यवस्थित बसोबास क्षेत्र हो। भूमि आयोग बन्यो, नापनक्सा सकियो तर राज्यले लालपुर्जा वितरण गर्न सकेन। कतै खानेपानी, कतै बाटो त कतै बिजुलीको समस्या छ। यो क्षेत्रमा धेरै खोल्सा र खहरेहरू भएकाले नदी नियन्त्रण र सिँचाइको पनि उत्तिकै ठूलो चुनौती छ। पानीका मुहानहरू सुक्दै गएका छन्। मतदाताले यिनै विषयका वरिपरि प्रश्न गरिरहनुभएको छ।
मैले यसपटक एउटा नयाँ कार्यक्रम घोषणा गरेको छु- ‘जनता–सांसद संवाद कार्यक्रम’। मैले के प्रतिबद्धता जनाएको छु भने, जितेपछि कुन काम वडाले गर्ने हो, कुन प्रदेशले र कुन काम सङ्घीय सरकारले गर्ने हो, त्यसको वर्गीकरण गरेर समाधान खोजिनेछ। यहाँको आवश्यकताले नै यो नयाँ सोच सिर्जना गरेको हो।
जहाँसम्म पार्टी एकताको कुरा छ, हामीले २०७९ को चुनावताका नै तत्कालीन माओवादी र तत्कालीन नेकपा (एकीकृत समाजवादी) बीच एकताको कुरा गरेका थियौँ। वास्तवमा केपी शर्मा ओलीजीले संसद् विघटन गरेकै बेला हामीले एकता गरौँ भनेका थियौँ। अहिले यो नवयुवाहरूको आन्दोलनपछि मात्र हाम्रो एकता सम्भव भएको छ।
अहिले तपाईंको पार्टीमा धेरै व्यक्ति र घटकहरू जोडिनुभएको छ। यसपालिको चुनावमा तपाईंहरूको स्थिति कस्तो रहला?
अहिले चुनावी दौडधुपले गर्दा मैले बाहिरका सबै समाचारहरू त विस्तृत रूपमा हेर्न पाएको छैन। तर मधेसको कुरा गर्दा, पहिलेको तुलनामा हाम्रो अवस्थामा निकै सुधार देख्छु। यस क्षेत्रमा हाम्रो प्रतिनिधित्व बढ्ने निश्चित छ। केही समयअघि मैले सुदूरपश्चिममा पनि काम गरेको थिएँ, त्यहाँको रिपोर्ट पनि निकै उत्साहजनक छ।
सङ्ख्यात्मक रूपमा ठ्याक्कै भन्न नसके पनि एमालेभित्र अहिले एक खालको हतासा देखिन्छ, विशेषगरी केपीजी प्रधानमन्त्री हुँदाको शासन शैलीका कारण। लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा लागेका र पहिलेको ‘नेकपा’ को कडी टुट्दा दुःखी भएका मतदाताहरूका लागि हाम्रो यो एकीकृत पार्टी एउटा बलियो विकल्प बनेको छ। हामी कम्युनिस्ट आन्दोलनको एउटा मूल धार बन्न सक्छौँ भन्ने सम्भावनाका बीच उभिएका छौँ। यसको विस्तृत कार्यदिशाबारे चुनावपछिको महाधिवेशनमा छलफल होला, तर अहिले हामीसँग पहिचानका पक्षधर, अधिकारका लागि लड्ने समूह, कम्युनिस्ट र सोसलिस्टहरू सबै गोलबन्द हुनुहुन्छ।
यसपालिको संसद्मा पनि ‘नेपाल कम्युनिस्ट पार्टी’ को म्याजिक नम्बर चल्छ त?
एकदम चल्छ। अहिले सबै दलहरू छुट्टाछुट्टै चुनाव लडिरहेकाले कसको वास्तविक हैसियत के हो भन्ने कुरा यसैपालि देखिनेछ। तत्कालीन माओवादी, एकीकृत समाजवादी र अन्य धेरै समूहहरू एकै ठाउँमा आएका छौँ। यहाँ व्यक्ति मात्र आएका हुन् कि समुदाय नै आएका हुन् भन्ने कुरा त चुनावले नै देखाउला, तर संसद्मा नेपाल कम्युनिस्ट पार्टी एक सम्मानजनक स्थानमा रहनेछ।
यस्तो सामूहिक जीवनशैली पनि सम्भव छ, तर नेतृत्वले आँट नगरी यस्ता कुरा अगाडि बढ्दैनन्। दोस्रो, यो विशिष्ट चुनावी स्थितिमा तीनै तहका सरकारले आफ्नो जिम्मेवारी बुझ्नुपर्छ। र तेस्रो, देशको आवश्यकताअनुसार संविधान संशोधन गर्न पनि हामी तयार हुनुपर्छ।
फोटो/भिडियोः कमल प्रसाईं
